|

काठमाडौं : सरकारले भिजिट भिसाको नाममा चर्काे शुल्क असुली कामदार पठाउने म्यानपावर कम्पनीमाथि कारबाही थालेको छ। म्यानपावरमार्फत विभिन्न प्रलोभनमा परी विदेश गएका नेपाली अलपत्र पर्न थालेसँगै सरकारले गैरकानुनी काम गर्ने व्यवसायीलाई कारबाही थालेकाे हाे। 

लामो समयदेखि म्यानपावर व्यवसायीले भिजिट भिसामा चर्को शुल्क असुली कामदारलाई विदेश पठाइ रहेका छन्। रोजगारीको प्रलोभन देखाई विदेश गएका युवाहरू अलपत्र पर्न थालेसँगै श्रम मन्त्रालयले विषेश चासो देखाएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए।  

श्रम मन्त्रालयले गत आइतबार वैदेशिक रोजगारीमा जाने कमदार समस्यामा परे गुनासो सुन्नका लागि भन्दै कल सेन्टर सुरु गरेकाे छ। पहिलो दिनमै म्यानपावर व्यवसायीले ठगी गरेको गुनासो कल सेन्टरमा आयो। सो सूचनाको आधारमा मन्त्रालयको मार्सल टोलीले अनुसन्धान गरी कारबाही गरेकाे मार्सल टोलीका संयोजक विष्णु लामिछानेले बताए।

काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरले कतार पठाउनका लागि १ लाख २० हजार लिएकाे एक युवकले गुनासाे गरे। सोमबार नै मार्सल टोली सो कम्पनीमा पुगेर वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहेका अली मुस्तफासँग १ लाख २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा म्यानपावर सञ्चालक हेमराज राई, कर्मचारी साहरा थापा तथा एजेन्ट महोम्मद इसाक मियाँलाई रकमसहित नियन्त्रणमा लिइएको संयोजक लामिछानेले बताए। 

त्यस्तै गरी त्रिनेत्र म्यानपावर, ई-बैंकिङ म्यानपावर,ट्रिपलस्टार इम्पोइमेन्ट लगायतका म्यानपावरलाई कारबाहीको दायरामा ल्याइएको संयोजक लामिछानेले बताए। अनुसन्धान गरेका अधिकांश म्यानपावरले गैरकानुनी काम गरेको पाइएको छ। 

भिजिट भिसामा विदेश पठाइ राम्रो कमाइको प्रलोभन देखाएर प्रतिव्यक्ति ७ लाखसम्म लिएको पाइएको संयोजक लामिछानेले बताए। नेपालमा यतिबेला ८ सय ६० म्यानपावर कम्पनी रहेका छन्। ती मध्ये २४ वटा कम्पनीले भिजिट भिसामा कामदार पठाएको सुचना आएको श्रम मन्त्रालयले जनाएको छ। गैरकानुनी काम गर्नेलाई कानुनको दायरामा ल्याउने काम भइरहेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए।

सरकारले तोकेभन्दा धेरै रकम लिने म्यानपावरका बारेमा सूचना पाए तत्काल स्टिङ अपरेसन गरिने लामिछानेले बताए। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग पहिलो फोनमा गुनासो कर्ताले म्यानपावरले सरकारले तोकेभन्दा बढी पैसा असुली गर्ने गरेको बताएका थिए। 

मन्त्री श्रेष्ठले धेरै पैसा लिने म्यानपावरका बारेमा कल सेन्टरमा जानकारी गराउन आग्रह गरेका थिए। वैदेशिक रोजगारीको खोजीमा रहेका, जाने क्रममा रहेका र विदेशमा अलपत्र पार्ने म्यानपावर कम्पनीमा अनुगमन तीव्र पारिने मन्त्री श्रेष्ठले बताए।

म्यानपावर वर्गिकरण गर्दै 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीलाई वर्गिकरण गर्ने भएको छ। मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा मेनपावर कम्पनीका प्रतिनिधि सदस्य छन्। कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समूहमा वर्गिकरण गर्न मापदण्ड तथा सूचकहरु तयार गर्नेछ।

वर्गिकरण पश्चात म्यानपावर कम्पनी कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउन सजिलो हुने श्रम मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउँदै ठोस सुधारका लागि वर्गिकरण गर्न लागिएको श्रम मन्त्री कृष्णकुमार  श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.