|

काठमाडौं : अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न डेडलाइन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँले तोकेको खुलेको छ। 

एमसिसीको विषयले नेपालमा जनस्तरबाटै चर्को विरोध भइरहेको बेलामा देउवा र प्रचण्डले २९, सेप्टेम्बर २०२१ मा ५ महिनाको समयसीमा थप गर्न माग गरेको खुलेको छ। 

अमेरिकालाई ५ महिनाभित्र संसदमा बहुमत बनाएर एमसिसी पास गर्ने प्रतिबद्धता जनाएका प्रचण्ड बाहिरी रूपमा भने संशोधनबिना अगाडि बढ्न नसक्ने अडान राख्दै आएका थिए। 

प्रचण्ड र देउवाले सामूहिक हस्ताक्षरमा अमेरिकालाई पठाएको पत्रमा भनिएको छ, ‘‘एमसीए नेपाललाई आयोजनाका प्राविधिक पक्ष र सञ्चारसम्बन्धी गतिविधिलाई पूर्णता दिई सकेसम्म छिटो कम्प्याक्ट कार्यान्वयनलाई तीव्रता दिने तर्फ प्रोत्साहित गर्नेछौं। र, प्रतिनिधिसभाका सभामुखलाई संयुक्त रूपमा सकेसम्म छिटो कम्प्याक्ट टेबुल गर्ने योजनाका सम्बन्धमा अनुरोध गर्नेछौं।’
 
२९ सेप्टेम्बर २०२१ मा पत्र पठाउँदा देउवा प्रचण्डले आगामी चारदेखि पाँच महिनाभित्र संसदमार्फत कम्प्याक्ट अनुमोदनका लागि सहज अवस्था सिर्जना हुने विश्वास अमेरिकालाई दिएका थिए। 

तर, देउवा र प्रचण्डको प्रस्तावपछि अहिलेसम्म कुरेको अमेरिकाले प्रतिबद्धताअनुसार एमसिसी अगाडि बढाउन पत्र काटिसकेको छ। 

यही पत्रको जवाफ फर्काउँदै अमेरिकाले माघ २० गते प्रतिबद्धताअनुसार अघि बढ्नुपर्ने प्रस्ताव गरेको छ। अमेरिकी सरकारको सहायता परियोजना एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महम्मुद बाले काटेको पत्रमा अब धेरै बेर नेपाललाई कुर्न नसकिने उल्लेख गरिएको छ। 
 
महम्मुद बालेको पत्रमा भनिएको छ, ‘तपाईंहरूले नै मागेको समयानुसार आगामी २८ फेब्रुअरीभन्दा ढिलो नगरी संसदबाट एमसिसी अनुमोदनका लागि काम थाल्न आग्रह गर्दछौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.