गम्भीर अवस्थाका बिरामीबारे मन्त्रालय नै बेखबर

|

काठमाडौं : पछिल्लो साता कोरोना संक्रमणको दर ओरालो लाग्दै गएको भए पनि अस्पतालहरूमा जटिल अवस्थाका संक्रमितहरूको संख्या घट्न सकेको छैन।

गत माघ ८ गते उच्च विन्दुमा पुगेको कोरोना संक्रमण दर विस्तारै ओरालो लागेको छ।

कोरोना संक्रमणको तेस्रो लहरमा (ओमिक्रोन भेरियन्ट फैलिएपछि) सबैभन्दा बढी माघ ८ गत ५० दशमलव ८ प्रतिशत पुगेको थियो। त्यसपछि विस्तारै ओरालो लागेको संक्रमण दर आज आइतबारसम्म आइपुग्दा १५ दशमलव ० प्रतिशतमा झरेको छ।

संक्रमणदर सँगै दैनिक थपिने संक्रमितको संख्यामा कमी आउँदा गत शनिबार (माघ १५) देखि संक्रमणमुक्त हुनेको संख्या बढी भएको थियो। उक्तदिन ४ हजार ९०४ जनामा संक्रमण देखिँदा ५ हजार ९ सय २४ जना कोरोनामुक्त भएका थिए।

नेपालमा ओमिक्रोन भेरियन्ट भित्रिएपछि उकालो लागेको संक्रमण ग्राफलाई संक्रमणमुक्त हुनेको संख्याले जितेकै दिन थपिएका संक्रमितभन्दा १ हजार २० जना कोरोनामुक्त भएका हुन्।

एक महिनाको अवधिमै कोरोना संक्रमण ओरालो र संक्रमणमुक्त हुनेको दर उकालो लागे पनि जटिल स्वास्थ्य समस्या लिएर अस्पतालमा गएका संक्रमितको संख्या भने स्थिर रहेको हो।

कति छन् जटिल अवस्थाका संक्रमित?

कोभिड १९ का निको हुनेको संख्यामा उल्लेख्य वृद्धि भए पनि स्वास्थ्य अवस्था जटिल रहेका बिरामीको चाप अस्पतालमा उस्तै छ।

अझै एक साताभन्दा बढी समय गम्भीर अवस्थाका कोरोना संक्रमितको संख्यामा कमी नआउने वीर अस्पतालका उपनिर्देशक एवं फोक्सो तथा श्‍वासप्रश्‍वास रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठले जानकारी दिए।

‘अहिले अस्पतालमा भएका गम्भीर अवस्थाका संक्रमित तेस्रो लहरकै हुन्। संक्रमणमा कमी आए पनि अझै एकसाता बिरामी र मृत्यु हुनेदर स्थिर नै रहन्छ।’, डा. श्रेष्ठले भने, ‘भेन्टिलेटरमा राखेका संक्रमित बिरामीलाई उपचार गर्न लामो समय लाग्छ, त्यसैले पनि अझै ४-५ दिन मृत्युदरमा कमी आउने देखिँदैन।’

अस्पतालका सामान्य कक्षमा भर्ना भएका कोरोना संक्रमितहरू भने ३ देखि ५ दिन भित्रैमा निको भएर घर फर्कने गरेका छन्। तर, आइसियु र भेन्टिलेटरमा भएका संक्रमितको भने लामो समय उपचार हुने गरेको डा. श्रेष्ठले बताए।

कोरोना संक्रमणको तेस्रो लहरमा आइसियु र भेन्टिलेटरमा उपचार गराइरहेका संक्रमितहरू कोरोना भाइरसका कारण मात्रै गम्भीर समस्या आएको भने होइन।

‘यस्ता बिरामीहरू धेरैजसो दीर्घरोगी र वृद्धवृद्धाहरू छन् आइसियु र भेन्टिलेटरमा’ उपनिर्देशक डा. श्रेष्ठले भने,
‘प्रतिरोधात्मक क्षमता कम भएका वयस्क उमेरका पनि छन्, कोरोना विरुद्धका खोप नलगाएका र एकमात्रा मात्रै खोप पाएकामा पनि गम्भीर समस्या देखिएको छ।’

उनले थपे, ‘आइसियुमा उपचाररत संक्रमित निको हुने सम्भावना धेरै छ। तर, भेन्टिलेटरमा राखेका ६५ देखि ९४ प्रतिशत कोरोना संक्रमितको मृत्यु भएको छ।’

देशभरका विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा आज आइतबार ३१५ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । तीमध्ये २ सय ६९ आइसियु र ४६ जना भेन्टिलेटरमा उपचाररत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत पुस ३० मा १ सय ३६ संक्रमितमा जटिल स्वास्थ्य समस्या रहेको थियो। यसको संख्या २ सातामै बढेर दोब्बरभन्दा बढीले वृद्धि भएर ३०१ जना पुगेको थियो। माघ १४ मा गम्भीर अवस्थाका ३०१ जना संक्रमितमध्ये २ सय ५६ जना आइसियु र ४५ जना भेन्टिलेटरमा थिए।

गत एकसातामा पनि जटिल अवस्थाका संक्रमित स्थिर रहेको हो। पछिल्लो सातामा गत आइतबार (माघ १६) गते २सय ८५ आइसियु र ५१ जना भेन्टिलेटरमा त्यसैगरी क्रमशः माघ १७ मा २ सय ८८ र ५०, माघ १८ मा २७९ र ५०, माघ १९ गते २७० र ५२, माघ २० गते २८१ र ५९, माघ २१ मा २४३ र ५१, माघ २२ गते शनिबार २५१ जना आइसियु र ४९ जना भेन्टिलेटरमा थिए।

कोरोनाको दोस्रो लहरमा डेल्टा भेरियन्टका कारण गम्भीर अवस्थामा पुगेका संक्रमितले अस्पतालमा बेडदेखि अक्सिजनसम्मको अभावका कारण धेरै मानिसले ज्यान गुमाएका थिए।

तेस्रो लहरमा ओमिक्रोन भेरियन्ट देखिएपछि कोरोना भाइरसकै कारण मृत्युवरण गरेकाहरू भने एकदमै न्यून रहेको डा. श्रेष्ठको भनाइ छ।

उनले भने, ‘पहिल्यै स्वास्थ्य कमजोर भएका संक्रमितहरू गम्भीर अवस्थामा पुर्‍याएको छ ओमिक्रोनले। मृत्यु भएकाहरू पनि कोभिड १९ का मात्रै रोगी होइनन्।’

देशभरका आइसियु र भेन्टिलेटरमा रहेका संक्रमितहरूमा ओमिक्रोन वा डेल्टा भेरियन्ट भने नछुट्याईएको डा. श्रेष्ठले बताए।

अबको एक हप्तामा घट्छन् बिरामी

कोरोना संक्रमण उत्कर्षमा पुगेको दुईहप्ता पछि अस्पतालमा संक्रमितको भर्नादर बढ्ने भएकाले अबको सातामा पनि बिरामीहरू नघट्ने जनस्वास्थ्यविद्को आँकलन छ।

जनस्वास्थ्य विद् डा. समीरमणी दिक्षितले भने ‘ संक्रमण उत्कर्षमा पुगेको दुईहप्ता भयो। अर्को एक हप्तामा अस्पतालमा बिरामीहरू घट्छन्।’

दोस्रो लहरको तुलनामा भने अस्वाभाविक रुपमा अस्पताल भर्ना नबढेको डा दीक्षितको भनाइ छ।

गम्भीर अवस्थाका बिरामीबारे मन्त्रालय बेखबर

गम्भीर अवस्थाका संक्रमित बिरामीहरू किन घटेको छैन भन्ने बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने बेखबर छ। 

‘यसबारेमा भर्खरै विज्ञहरूसँग छलफल चलिरहेको छ’ मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले भनिन् ‘कुन प्रकृतिका बिरामीहरू भेन्टिलेटरमा छन्, हामी छिट्टै सार्वजनिक गर्छौं।’

उनका अनुसार रोगी व्यक्तिहरूलाई कोरोना संक्रमण भएको हो वा कोरोना संक्रमण भएर  स्वास्थ्य अवस्था गम्भीर भएका हो भन्ने विषयमा मन्त्रालयले अनुसन्धान विश्लेषण गरेको छैन।

यस मौसममा कोभिड १९ आउनुअघि पनि रुघाखोकी र दमका बिरामी बढ्ने गरेकाले अहिले अस्पतालमा भएका गम्भीर अवस्थाका बिरामी कोरोनाकै कारण त्यो अवस्थामा पुगेको हो भन्ने यकिन नभएको प्रवक्ता मिश्राले बताइन्।

कोरोनाका कारण माघ १६ गते पछिल्लो चार दिनको सहित ३२ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो। माघ १७ गतेदेखि क्रमशः ८ जना, ९ जना, १२ जना, १४ जना, १६ जना र माघ २३ गते आइतबार ११ जना संक्रमितले ज्यान गुमाएका छन्।

संक्रमितभन्दा कोरोनामुक्त हुने बढी

गत एक सातामा कोरोना भाइरसलाई परास्त गर्ने संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ। कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण नेपाल भित्रिएसँगै उकालो लागेको संक्रमणसंख्या माघ ६ गते हालसम्मकै उच्च विन्दुमा पुग्दा १२ हजार ३३८ संक्रमित देखिए। सो दिन ६ सय ४९ जनाले कोरोना संक्रमणलाई परास्त गरेका थिए।

संक्रमण दरको ग्राफ सबैभन्दा उच्च ५० दशमलव ८ प्रतिशत पुग्दा भने माघ ८ गते १० हजार २५४ जना संक्रमित हुँदा ७०८ जना संक्रमणमुक्त भएका थिए।

गत पुसको अन्तिमसातादेखि नै कोरोनामुक्त हुनेको संख्यालाई उछिन्दै आएको संक्रमितको संख्या गत शनिबार (माघ १५ गते) देखि पछि परेको हो।  उक्त दिन ५ हजार ९२४ संक्रमणमुक्त हुँदा ४ हजार ९०४ संक्रमित थपिए।

अघिल्लो दिन ५ हजार ४ सय ३२ जनाले कोरोना भाइरसलाई परास्त गर्दा ६ हजार ८ सय २७ जनामा संक्रमण पुष्टि भएको थियो।

गत शनिबारदेखि थपिने संक्रमितको संख्यालाई जितेको निको हुने दर आज आइतबारसम्म आइपुग्दा ६ गुणाभन्दा बढी छ। आज एक हजार ३६८ जना कोरोना संक्रमित हुँदा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा गत मंसिर २० गते सोमबार दुई विदेशी नागरिकमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको एकमहिना पछि कोरोना संक्रमणको ग्राफ विस्तारै उकालो लागेको थियो।

माघको पहिलोसातादेखि भने तीव्र गतिमा बढेको कोरोना संक्रमण दर तेस्रो सातासम्म आइपुग्दा २० प्रतिशतमा झरेको मन्त्रालयले जनाएको छ।

आइतबार सम्ममा ९ लाख ९ हजार ३४३  जनाले कोरोना भाइरसलाई जितिसकेका छन्।

नयाँ भेरियन्ट नआए संक्रमण निर्मूलतर्फ

नेपालमा तेस्रो लहरको कोरोना संक्रमण एक महिनामै ओरालो लाग्ने क्रम जारी रहेकाले अब नयाँ भेरियन्ट नआए अब छिट्टै निर्मूल हुने जनस्वास्थ्य विद्हरुको भनाइ छ।

कोरोना भाइरसकै पहिलो र दोस्रो लहरमै पनि एकपटक ओरालो लागेको संक्रमण दर न्यून हुँदै गएकाले अब संक्रमण निर्मूल हुने अवस्थामा पुग्ने जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले बताए।

‘जति धेरैले खोप पायो त्यति नै कोरोना भाइरसको नयाँ भेरियन्ट आउने सम्भावना कम हुन्छ।’ डा. दीक्षितले भने ‘जनसंख्याको ७० प्रतिशतले खोप पाएका छन्। अब संक्रमण फैलिने सम्भावना कम छ।’

उनले अझै थपे, ‘नयाँ भेरियन्ट आउने सम्भावना सधैँ रहन्छ तर हामीले खोपलाई निरन्तरता दिए अबको जोखिम घट्ने पक्का छ।’ 

सक्रिय संक्रमित

गत एकसातादेखि थपिने संक्रमितभन्दा कोरोनामुक्त हुनेको संख्या बढी हुँदा सक्रिय संक्रमितको संख्यामा समेत उल्लेख्य कमी आएको छ।

गत शनिबार देशभर ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेकोमा आज आइतबार देशभर ४५ हजार २४८ जना सक्रिय संक्रमित छन् ।

गत शुक्रबार ५६ हजार ४५७ जना, बिहीबार ६३ हजार २९६ जना, बुधबार ६९ हजार २८७ जना सक्रिय संक्रमित रहेका थिए।

तेस्रो लहरको संक्रमण उच्च बिन्दुमा पुग्दा देशभरका सक्रिय संक्रमितको संख्या माघ १३ गते ९० हजार ५७६ जनासम्म पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.