भाषागत समस्याले विद्यार्थीको न्यून उपस्थिति

|

धनकुटा : मुलुकभरमा धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोवास गर्ने अल्पसंख्यक आठपहरिया जातिको मातृ भाषामा पठनपाठन हुँदै आएको भाषा कक्षा बन्द भएको छ।

भाषागत समस्याका कारण विद्यालयहरूमा पहिलेभन्दा अहिले विद्यार्थीको कम उपस्थित हुन थालेको छ। विद्यालयले घरदैलो अभियान चलाउँदा भाषा नबुझेका कारण विद्यार्थी विद्यालय नआएको पाइएको देउराली माविका प्रधानाध्यापक यमबहादुर बस्नेतले बताए।

आठपहरिया जाति धनकुटा नगरपालिकाका सबैजसो वडामा बसोवास गर्दै आए पनि वडा नं. ८ मा मुख्य बाहुल्य क्षेत्र हो।

उक्त वडामा आठपहरिया जाति ९७ प्रतिशत रहेकाले त्यहाँस्थित चारवटा विद्यालयमा आठपहरियाको भाषा कक्षा पढाइ हुँदै आएको थियो।

वडा नं. ८ को रहेको जिमी प्राथमिक विद्यालय (याक्ते), जनता राष्ट्रिय आधारभूत विद्यालय (टेकुनाला), देउराली माध्यमिक विद्यालय (सान्ताङ) र ​चुलीवन प्राथमिक विद्यालय (च्याङ्जिबुङ)मा पढाइ हुँदै आएको थियो।

देउराली मावि सान्ताङमा नगरपालिकाले दिएको एउ६ा दरबन्दी र अन्य विद्यालयमा निजी स्रोतबाट १‚ १ जना शिक्षकले भाषा पढाउँदै आएका थिए।

हाल ती ४ वटै विद्यालयमा भाषा कक्षाका शिक्षक नरहेको वडा नं. ८ का वडाध्यक्ष सुमन आठपहरियाले बताए।

दश वर्षसम्म पठनपाठन भइसकेका कक्षा बन्द भएको देउराली माविका प्रधानाध्यापक बस्नेतले बताए। भाषा कक्षाका शिक्षकको दरबन्दी धनकुटा नगरपालिकाले कटौती गरेका कारण कक्षा बन्द भएको हो। पाठ्यपुस्तक बनाएर २०६६ देखि २०७६ सम्म पठनपाठन भएको थियो।

‘दरबन्दीका शिक्षक बढुवा भएर सरुवा भएपछि वैकल्पिक शिक्षक व्यवस्थापन हुन नसक्दा भाषा कक्षा बन्द भएको हो’, उनले भने, ‘आठपहरिया भाषा कक्षाका लागि शिक्षक जुटाउन प्रयास गरिए पनि सम्बन्धित निकायको चासो गएन।’

दरबन्दीका शिक्षक माग गर्दा उपलब्ध नहुने समस्या रहेको उनले बताए। अझ विषयगत शिक्षकको समस्या बढी रहेको प्रधानाध्यापक बस्नेतको भनाइ छ।

बजार क्षेत्रका विद्यालयमा यस्ता शिक्षकको आकर्षण हुने र ग्रामीण तहका विद्यालय उपेक्षित हुने समस्या रहेको उनको भनाइ छ।

धनकुटा नगरपालिकाले दिएको शिक्षक दरबन्दी कटौती, वडा कार्यालयले दिएको अनुदान बन्द भएपछि र भाषा शिक्षक समेत अभाव भएपछि ती विद्यालयमा भाषा कक्षा स्थगित हुन पुगेको जनता राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक शुक्रबहादुर लिम्बुले बताए।

भाषागत समस्याका कारण विद्यालय आउन विद्यार्थी संख्या नै कमी हुँदै गएको देउराली माविका प्रधानाध्यापक बस्नेतले बताए। यस्तै अन्य विषयगत पढाइ भए पनि मातृभाषाको कक्षा नहुँदा बालबालिकाको संख्या कमी हुने अभिभावक संघका अध्यक्ष सोमबहादुर आठपहरियाको भनाइ छ।

फिनल्याण्ड सरकारको सहयोगमा सञ्चालन बहुभाषिक शिक्षा (एएलइ–मल्टी ल्याङवेज एजुकेशन) कार्यक्रमअन्तर्गत २०६६ सालदेखि ती विद्यालयमा आठपहरिया भाषा कक्षा पढाइ हुँदै आएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ।

दश वर्षपछि कक्षा स्थगित भएको एकाइ प्रमुख मोहनलिंखा राईले बताइन। मातृभाषामा शिक्षा पाउने अधिकार सुनिश्चित गर्न विभिन्न भाषामा पढाइ गरिने उद्देश्यअनुसार आठपहरिया भाषाको कक्षा सञ्चालन गरिएको उनले जानकारी दिइन्।

शिक्षक दरबन्दी र जनशक्ति व्यवस्थापन नहुँदा भाषा कक्षा स्थगित भएको उनको भनाइ छ। ‘मातृभाषाको पाठ्यक्रम बनाएर पठनपाठन हुँदै आए पनि स्थगित गरिन नहुने थियो’, उनले भनिन्, ‘यस्ता कक्षालाई निरन्तरता दिन र जनशक्ति व्यवस्थापन गरिन जरुरी छ।’

यता धनकुटा नगरपालिकाले बहुभाषिक कक्षा सञ्चालनका लागि आगामी वर्षबाट बजेट विनियोजन गरेर काम गर्ने जनाएको छ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आगामी वर्षदेखि भाषा शिक्षकको व्यवस्थापन गर्न स्थानीयलाई भनिएको र त्यसका लागि आवश्यक बजेट धनकुटा नगरपालिकाले व्यवस्थापन गर्ने वचन दिइसकेको जानकारी दिए।

संविधानले नै मातृभाषामा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था गरे पनि धनकुटा नगरपालिकामा सञ्चालन सुरु भएको मातृभाषा कक्षा बन्द भएको हो।

‘राष्ट्रिय शिक्षा नीति, २०७६’ ले स्थानीय तहलाई मातृभाषा सम्बन्धी पाठ्यक्रम बनाउन सक्ने अधिकार दिएको छ। पाठ्यक्रम विकास केन्द्रका अनुसार १ देखि ८ कक्षासम्मको मातृभाषाको पाठ्यपुस्तक बनाउने अधिकार स्थानीय तहलाई छ।

स्थानीय तहले आफ्नो क्षेत्रको मातृभाषा, लिपि, साहित्य एवं संस्कृतिको संरक्षण तथा विकासका लागि सो भाषाको पठनपाठन गर्न सक्ने अधिकार पाएको छ।

नेपालमा मातृभाषा लिपि, साहित्य एवं संस्कृति संरक्षणका लागि नीति बन्दै आएका छन्। ती नीति कार्यान्वयन भने हुन सकेको छैन।

‘बहुभाषिक शिक्षा कार्यक्रम निर्देशिका, २०६६’ ले आधारभूत तहसम्म मातृभाषाको माध्यमबाट शिक्षा दिनुपर्ने बहुभाषिक नीति अघि सारेको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.