|
धान कुट्न प्रयोग गरिने ढिकी

धनकुटा : बिहान र बेलुकीपख ढिकी–जाँतोको आवाजले गुञ्जायमान हुने धनकुटाका गाउँघर पछिल्लो समय सुनसान झै बनेको छ। अन्न कुटानी पिसानीका लागि चलाइने ढिकी–जाँतोको आवाज नसुनिँदा गाउँघरमा अन्न उत्पादन हुनै पो छाडेको हो कि भन्ने पनि भान हुन्छ। गाउँका सबै मानिस तराईको चामलमा भर परेर क्रमशः परनिर्भर बनेका पो हुन् कि भनेर आँकलन गर्न सकिन्छ।

तर‚ गाउँघरमा भित्रिएका आधुनिक मेसिनको प्रचलन बढ्दै गएपछि कुटानी–पिसानी गर्ने ढिकी–जाँतोजस्ता परम्परागत उपकरण हराउँदै गएको हो। सुविधाभोगी स्वभाव र आधुनिकताको प्रभावले ग्रामीण भेगबाट ढिकी, जाँतो, हाते मुसल, कोललगायतका परम्परागत उपकरण लोप हुँदै गएको हो।

बिहानैको मिर्मिरेमा भालेको डाकसँगै उठेर कुटानी–पिसानी गर्नुपर्ने बाध्यता भोगेका गाउँका महिला पछिल्लो समय गाउँघरमा भित्रिएका आधुनिक मिलले सुविधा भएको बताउँछन्। आधुनिक मेसिन आएपछि आफूहरू अल्छी भने नभएको धनकुटा नगरपालिका-१० की कुमारी थापा बताउँछिन्।

‘पहिले ढिकी–जाँतो र हाते मुसलले गर्दा हामीलाई दुःख हुन्थ्यो, मिल आएपछि सुविस्ता भएको छ,’ धनकुटा नगरपालिका-१० की कुमारी थापाले भनिन्‚ ‘कुटानी–पिसानीबाट बचत भएको समयलाई बालबच्चाको सरसफाइ र तरकारी खेतीमा लगाउने गरेका छौं।’

ग्रामीण क्षेत्रमा मिल राखिएपछि कुटानी पिसानी गर्ने परम्परागत उपकरणको प्रयोग गर्न छाडिएको हो। यससँगै गाउँघरको रहन–सहनमा समेत परिवर्तन हुँदै आएको छ। पहिला दसैँ–तिहार जस्ता चाडबाडका लागि ढिकी, जाँतोमा कुटानी पिसानी गरेको अन्नबाट बनाइएको खानपिनलाई विशेष महत्वका साथ लिइन्थ्यो। तर, अहिले त्यो अवस्था नरहेको धनकुटा नगरपालिका-२ का होमप्रसाद बराल बताउँछन्। आधुनिक मिलले गर्दा गाउँमा उत्पादन भएका अन्नको खास स्वाद हराएको उनको भनाइ छ।

‘महिलाका दुःखमा कमी भए पनि खानाको स्वाद नै बिगार्‍यो,’ बरालले भने, ‘ढिकी र जाँतोमा कुटानी पिसानी गरिएका अन्नमा जुन स्वाद पाइन्छ, त्यो स्वाद अहिले पाइँदैन।’

पहिले-पहिले गाउँघरमा आफैंले उत्पादन गरेको तोरी पेलेर शुद्ध तेल निकाल्ने गरिन्थ्यो। तोरी पेल्न गाउँघरमा कोल बनाइएको हुन्थ्यो। तर, अहिले बजारमा पाइने विभिन्न प्रकारका तेल किनेर प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ। कोलमा तोरी पेल्ने प्रचलन देख्नसमेत पाइँदैन। झण्डै दुई दशक अगाडिसम्म चलनचल्तीमा आएका यी घरेलु यन्त्र अहिले कतै देख्न नपाइने ज्येष्ठ नागरिकहरू बताउँछन्।

अन्न पिसानी गर्न प्रयोग गरिने जाँतो

गाउँघरमा आधुनिकताले एकातिर मान्छेहरुलाई अल्छी बनाएको छ भने उत्पादनमा कमी भई परनिर्भर बनाउँदै लगेको छ। तथापि, परम्परागत यन्त्रलाई लोप हुन नदिन सरकारी निकायबाट योजना ल्याउन आवश्यक रहेको महालक्ष्मी नगरपालिका-३ डाडाँगाउँका गोपालचन्द्र पौडेल बताउँछन।

‘हाम्रा परम्परागत यन्त्रले त गाउँघरमा पर्यटक भित्र्याउन सकिन्छ। मान्छेहरु बाहिरबाट घुम्न आए भने रमाइलो मान्दै हेर्छन्,’ उनले भने, ‘यहाँ यस्तो परम्परा रहेछ भन्छन्। अझै पनि यहाँका मान्छे यस्ता साधन प्रयोग गर्छन् भनेर सहर बजारका मानिस आकर्षित हुन्छन।’

आधुनिक यन्त्रले सहजता प्रदान गरेको साँगुरीगढी गाउँपालिका–९ आहालेकी मनकुमारी राई बताउँछिन्। ‘आधुनिक यन्त्रले किशोरी र महिलाका जीवनमा परिर्वतन आएको छ‚’ उनले भनिन्‚ ‘७–८ वर्ष पहिला हामी विद्यालय जानुभन्दा पहिला कुटानी पिसानी गर्न जानुपर्थ्यो। अहिले स्कुल बिदाको दिन नजिकैको विद्युतीय मिलमा गएर पिसेर ल्याइहाल्छम्।’

धनकुटा नगरपालिकाकी उपप्रमुख शकुन्तला बस्नेत आधुनिक उपकरणले महिलालाई सुविधा भए पनि गाउँघरका परम्परागत उपकरण ढिकी, जाँतोलाई हटाउनै पर्छ भन्ने पक्षमा आफूहरू नरहेको बताउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.