|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक लेन छुट्याउन लेन सेपरेटर(लेन छुट्याउने डिभाइडर) राख्न थालेको छ। महाशाखाले रातिसमेत सडक लेन छुट्याउने खालको बत्ती राखेको हो।

महाशाखाका प्रवक्ता संजिव शर्मा दासका अनुसार पहिलो चरणमा ट्रायलका लागि बबरमहल क्षेत्रको सडक लेनमा ५० वटा लेन सेपरेटर राखिएको छ। ‘हामीले त्यहाँ कतिको प्रभावकारी हुन्छ, हुँदैन भनेर लेन सेपरेटर राखेका हौँ, नेपालीको बानी फुटाउने चोर्नेलगायत छ, केही भएन भने यस्ता खालका सेपरेटर उपत्यकाभित्रका अरु सडकमा पनि राख्ने छौँ,’ उनले भने।

लेन सेपरेटर नेपालमै उत्पादित हो। यो आफैँ ढल्दैन। नट हालेर सडकमा गाडिएको छ। यसमा डोरी टाँग्न पनि मिल्छ। ‘यो सोलार सिस्टमको छ,राति आफैँ अटोमेटिक बत्ती बल्छ,’ उनले भने, ‘बिहान भएपछि आफैँ निभ्छ, यो घामको सौर्यशक्ति सञ्चित भएर बल्छ।’

उनले एउटा लेन सेपरेटरको ८ हजार रूपैयाँ पर्ने बताए। ‘अहिलेलाई हाम्रै महाशाखाको स्रोतबाट राखेका हौँ,’ उनले भने। योबाट सवारीसाधन दुर्घटना नहुने बरु सर्वसाधारणबाट भने जोगाउन चुनौती थपिएको उनको भनाइ छ।

८० प्रतिशत जरिवाना तिर्नेको संख्या घट्यो

महाशाखाले गत भदौदेखि ट्राफिक जरिवाना ‘क्यूआर पे’ मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। यो व्यवस्थाले ८० प्रतिशत बैंक र महाशाखामा जरिवाना तिर्ने चालकको संख्या घटेको महाशाखा प्रवक्ता शर्माले बताए।

‘क्यूआर पेमार्फत भुक्तानी गर्ने व्यवस्था धेरै प्रभावकारी भएको छ, बैंकमा लाइन बस्ने बाध्यता ८० प्रतिशत घटेको छ,’ उनले भने। उनका अनुसार ट्राफिक जरिवानाबाट देशभर दैनिक १५ लाख रूपैयाँ राजश्व उठ्छ। यही क्यूआरबाट काठमाडौं उपत्यकाभित्र मात्र दैनिक २ लाख भुक्तानी हुने गरेको बताए। उनले भने, ‘उपत्यकाबाहिर पनि यही व्यवस्थामा जरिवाना तिर्छन्।’ 

महाशाखाका प्रमुख जनक भट्टराईका अनुसार सीधै ग्लोबल बैंकको क्यूआर पेबाट जरिवाना तिर्न सकिन्छ। महाशाखाले कोभिड १९ का कारण अहिले भर्चुअल माध्यमबाट सचेतना कक्षा लिँदै आएको छ। दैनिक मापसे, लापरवाही गरी चलाउनेलगायत ट्राफिक नियम उल्लंघन गर्ने २ सय ५० जना सवारीचालकलाई सचेतना दिइरहेको महाशाखाका प्रवक्ता शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.