एमसिसी भीख हो

|
तस्वीर : शीला तिम्सिना

काठमाडौं : बुधबार माइतीघरमा एमसिसी खारेजका लागि ६ राजनीतिक दल र २ मोर्चाले प्रदर्शन गरे। त्यो भीडमा एउटा आवाजले भनिरहेको थियो- 'एमसिसी पास नगर। हामीलाई राष्ट्रघाती सम्झौता आवश्यक छैन।'

त्यो आवाज उमेरले ६५ नाघिसकेकी कोटेश्वरकी माया खड्काको थियो। खड्काले बुढेसकालमा पनि युवा जोश निकालेर अग्रमोर्चामा एमसिसीविरुद्ध नारा लगाइरहेकी थिइन्।

'म नेता जोगाउन आन्दोलनमा आएकी होइन है, न्यायको पक्षमा आन्दोलनमा आएकी हुँ', उनले यति भन्दै पुनः नारा लगाउन थालिन्। प्रदर्शन माइतीघरबाट नयाँ बानेश्वर पुग्यो।

त्यसपछि उनी एउटा कुनामा बसिरहेकी थिइन्। उनलाई लाग्छ- एमसिसी नेताले सजिलै पास गरिदिन्छन्। आफूहरूले यो विरुद्ध सडकमा लगाएको नारा खेर जान्छ। यसका लागि जनता एकजुट हुनुपर्ने उनको बुझाइ छ।

'यो पार्टी र त्यो पार्टी नभनी देश जोगाउनुपर्छ भनेर जनता एक मत हुुनुपर्‍यो। आ-आफ्ना पार्टी भन्न थाल्यो भने एमसिसी पास हुन्छ', उनी भन्छिन्।

'एमसिसी पास भए म त के नै गर्न सक्छु र! मेरो त उमेरले डाँडा काटिसक्यो। हाम्रा छोरा नातिले दुःख पाउँछन्। पास नगर भनेर ज्यानको बाजी राखेर आन्दोलनमा आएकी छु। मर्ने वेला मलाई किन देश चाहिएको छ र? म मर्दा तिमीहरू पनि एकैपटक मर्ने होइन होला नि, तिमीहरूलाई देश चाहिँदैन?', उनले आफ्नो सन्ततिको चिन्तामा बोलिन्। बुढेसकालमा एमसिसीविरुद्धको आन्दोलनमा आउनु आफ्नो बाध्यता रहेको उनले सुनाइन्। 'मलाई गलत कुरा मन पर्दैन। गलत छ भन्ने जान्दा जान्दै घरमा बस्न मन लाग्दैन', उनले प्रदर्शनमा आएको कारण बताइन्।

एमसिसी सम्झौतालाई खड्का भीखका रूपमा चित्रण गर्छिन्। 'यति ठूलो देश छ। यति धेरै युवा छन्। नेताले युवालाई काम दिनुपर्छ। आत्मनिर्भर बनेमात्र देश बन्छ। काम केही नगर्ने भीख मागेर देश बन्छ?', उनी प्रश्न गर्छिन्।

एमसिसी किन गलत लाग्यो? पंक्तिकारले जिज्ञासा राख्यो। 'हामीले पनि समाचार हेर्छम्। सही र गलत छुट्टाउँछम्। एमसिसी हाम्रा लागि गलत छ। मैले जानेको यत्ति हो। यदि एमसिसी गलत छैन भने समाचारमा गलत भनेर किन व्याख्या गरेको?', उनले खुलेर यसको जवाफ दिँदै भनिन्, 'यदि एमसिसी सही थियो भने यति धेरै जनता सडकमा त्यसै आएका हुन् त?'​

देशमा हुने राजनीतिक दल र तिनका नेताको काम कामकारबाहीप्रति आफ्ना थुप्रै गुनासा रहेको बताइन्। नेतालाई मेरो सन्देश भनिदिनु है भन्दै उनले थपिन्, 'जनताको पक्षमा काम गर्छौं भने गर, नत्र  जनताले लखेट्छन्।'

यसअघि एमसिसीविरुद्धको आन्दोलनमा प्रहरीले प्रदर्शनकारीलाई लाठी प्रहार गरेर घाइते बनाएकोमा उनको चित्त दुखाइ छ।

उनले भनिन्‚ 'मैले यसअघिका थुप्रै आन्दोलनमा प्रदर्शनकारीलाई प्रहरीले घाइते बनाएको देखेकी छु। देश र जनताको रक्षाका लागि प्रदर्शन गर्नेहरूलाई प्रहरीले कुटेको देख्दा मलाई दु:ख लागेको छ।'

उनी एमसिसीविरुद्धको आन्दोलनमा मात्र होइन‚ यसअघि निर्मला पन्त हत्या प्रकरणमा धेरै पटक सडकमा आएको बताइन्। 'त्यो पन्त नानीको हत्यारा पत्ता लगाऊ भनेर धेरै पटक नारा लगायौँ तर हत्यारा पत्ता लागेन', उनले थपिन्, 'अब पन्तको हत्यारा पत्ता लगाउँदैनन् बाबु। हामी साधारण मान्छेले हत्या गरेको भए पो हत्यारा पत्ता लाग्छ। ठूलाबडाले हत्या गर्‍या हुन्। केको पत्ता लाग्नु?' 

कुराकानीका बीचमा उनले एमसिसी आयो भने देश सकिन्छ भन्ने कुरा दोहोर्‍याइरहिन्। सडकमा जनताभन्दा धेरै सरकार (प्रहरी)को भीड छ। सरकार जसरी पनि एमसिसी पास गर्नुपर्छ भनेर लागेको प्रमाण यही रहेको उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.