|

२ जनवरी २०२२ मा ‘न्युयोर्क पोष्ट’माएउटा समाचार छापिएको छ जसको शीर्षक हो,‘ चीनले सूर्यभन्दा ५ गुणा तातो कृत्रिम सूर्य बनायो।

अर्थात् सूर्यको केन्द्रको तापक्रम १५ मिलियन डिग्री सेन्टीग्रेड हुन्छ चीनले ७५ मिलियन डिग्री सेन्टिग्रेड तापक्रम भएको सूर्य प्रयोगशालामा बनायो। जसमा १७ मिनेटसम्म त्यो तातो रहिरह्यो। यो विज्ञानले गरेको विकासको अति नै आश्चर्यको विषय हो।

विश्वका ७ देश चीन, अमेरिका, युरोपेली युनियन, दक्षिण कोरिया, भारत, जापान र रुस मिलेर यो प्रोजेक्टमा काम अलग्गै गरिरहेका छन्। सन् २०३५ सम्म कृत्रिम सूर्य बनाउने उनीहरूको योजना छ। यो विश्वमा भएको ठूलो विकासको झलक हो।  दुनियाँ परिवर्तन गर्नका लागि यी ठूला कुराहरू पनि चाहिन्छ तर साना कुरा बिर्सिनु हुँदैन।

राजा महेन्द्रले महेन्द्र राजमार्ग थुप्रै विमानस्थल बनाउनुभयो त्यसको महत्व हामीले बुझेका छौं। त्यसैले उहाँलाई विकासप्रेमी राजा भनिन्छ। सोही मूलमार्गका आधारमा पछिल्लो कालखण्डमा हाम्रो गाउँ-गाउँ, टोल-टोलमा हजारौँ किलोमिटर बाटो बनाइएको छ। तर, यसलाई हामीले विकासको रूपमा जस दिएका छैनौँ। जबकि दुवैको महत्व आ-आफ्नो ठाउँमा महान छ।  

हाम्रो दैनिकी, राजमार्गको साथसाथै घरमा पुग्ने सहायक मार्गबाट पनि सहज बनेको छ। चन्द्रमामा नील आर्मस्ट्रङ पुगेको खबरभन्दा चारघरेबाट छम्पी जोड्ने झोलुङे पुल लुकुन्डोलबासीका लागि ज्यादै ठूलो खुसीको खबर हो।

ठूला राजमार्गलाई विभिन्न सहायकपथले जनजीवनसँग जोडेन भने  मूलसडक भन्दा केही परका बस्ती त सधैँ बिराना रहिरहने थिए। त्यसैले नेपालमा अहिले ससाना बाटाहरूको विस्तारले विकास र निकासलाई धेरै सजिलो बनाएको छ। भलै यसका केही नकारात्मक पक्ष पनि छन्।

विकासको दीर्घकालीन लक्ष्य अनुमानको विषय मात्रै हो। यथार्थ कसैलाई थाहा हुँदैन। गाउँगाउँमा विद्यालय स्थापना गर्ने हाम्रा पूर्वजहरूलाई यो विद्यालयमा आउने ७० वर्षमा कति विद्यार्थीले पढ्लान्,त्यहाँको उत्पादन पछि गएर कस्तो बन्ला भन्ने थाहा थिएन होला। विद्यालय स्थापना गर्नु एक विकास हो; त्यहाँ धेरै विद्यार्थी ल्याउने क्षमता राख्‍नु र समयसापेक्ष पाठ्यक्रम बनाउनु अर्को विकास हो ।

शिक्षामा नि:शुल्क पाठ्यपुस्तकले विद्यार्थीलाई विद्यालयसम्म तान्न जति सहयोग भयो। त्योभन्दा बढी २०२४ सालदेखि ३७ जिल्ला २०६५ सालमा १९ थप जिल्ला र २०७५ सालमा १२ हुँदै अहिले सबै जिल्लामा लागू गरिएको दिवा खाजाले काम गरेको छ।

अहिले १ देखि ५ सम्मका लगभग ३१ लाख बालबालिकालाई दिनको १५ र कर्णालीमा २० रुपैयाँका दरले दैनिक खाजा ख्वाइन्छ।  यो कार्यक्रम देख्दा सुन्दा सामान्य लागे पनि यसले नेपालको शैक्षिक विकासमा ठूलो योगदान गरेको छ।

भारतमा यस्तै मिड डे मिल भन्ने कार्यक्रममार्फत ११ करोड ८० लाख विद्यार्थीलाई दिउँसोको खाजाको व्यवस्था गरिएको छ। सम्भवतः अहिले त्यहाँ यो रकम पनि बैंकमार्फत बच्चा वा अभिभावकको खातामा पठाएर बालबालिका खाजा खुवाइन्छ। यो अभियानले धेरै बालबालिकालाई स्कुल जान प्रेरित गरेको छ। इन्टरनेट, आइटी आदिको विकास एउटा विषय हो शिक्षाबाट मानव जीवनमा इन्लाइटमेन्ट आउनु अर्को विकास हो।

यसैगरी, देश विकासको सन्दर्भमा विदेशमा गएका लाखौँ युवाहरूले पठाएको रेमिटेन्स अति नै महत्वपूर्ण स्रोत हो। यो नहुने हो भने नेपालको अर्थतन्त्रज्यादै नाजुक अवस्थामा जाने थियो। विदेशबाट वार्षिक ८ खर्ब हाराहारीमा विप्रेषण अर्थात्  रेमिटेन्स आएको छ।

विप्रेषणबाट अर्बौं रुपैयाँ आउँदैनथ्यो भने नेपाल, भारत, पाकिस्तान र बंगलादेश जस्ता देशको अर्थव्यवस्था धर्मराउने थियो। विप्रेषण र तयार पोशाक निर्यातले गर्दा बंगलादेशको अर्थतन्त्रले १८ करोड बढी जनतालाई नेपाल जतिकै क्षेत्रफलमा पाल्न सक्षम भएको छ।

गुल्मीमा भार्से भन्ने एउटा गाउँ छ। जहाँ प्रत्येक घरबाट एक जना भारतीय, ब्रिटिश वा सिंगापुर सेना पुलिसमा कार्यरत वा पेन्सनर थिए। पछि उनीहरूमध्ये ९० प्रतिशत तराईमा खेत किनेर बसोबास गरेका छन्। पहिला विदेश जानेमा सबैभन्दा आकर्षक जागिर पल्टनमा भर्ती हुनु थियो।

विदेशको कुनै पनि पल्टनमा भर्ती भएपछि उसको परिवारले सुख पाउथ्यो। छोराछोरीको लवाई खवाई शिक्षा राम्रो हुन्थ्यो। यही कारणले त्यो गाउँका मानिसको जीवनस्तर आज पनि सन्तोषप्रद छ। 

सानो चिजले पनि कहिले काहीँ ठूलो परिवर्तन ल्याएको हुन्छ। जसरी काठमाडौं विश्वविद्यालयको नयाँ तरिकाको पढाइले धेरै नेपाली युवाहरूलाई विदेशमा जागिर पाउन र आफ्नो जीवनस्तर सुधार गर्न ठूलो सहयोग गरेको छ।

केहीपछि यस्तो समय आयो, दक्षिण कोरिया, जापान, इजरायलमा काम गर्न जानेहरूको जीवनस्तर पनि नाटकीय रूपमा परिवर्तन हुन थाल्यो। २०५६ सालसम्म नेपाली जनजीवनमा परिवर्तनको संवाहक वैदेशिक रोजगार नै थियो।

२०५६ सालतिर नेपाल सरकारले नेपाली कर्मचारीको तलबमा भारी वृद्धि गरेको थियो। असारमा ४२ सय पाउने शाखा अधिकृतले साउनमा  ७ हजार ५०० पाउन थाल्यो। सबै तहमा यही अनुपातमा तलबको वृद्धिले गर्दा विदेश जाने र सरकारी जागिरवालाको अवस्था सन्तुलनमा देखिन थाल्यो।

पेन्सनको कारणले तत्काल विदेशमा कमाई धेरै भए पनि सरकारी जागिर नै राम्रो भन्ने एउटा समूह आज पनि बग्रेल्ती भेट्न पाइन्छ। एउटा प्राविधिक विषय पढाउने शैक्षिक संस्थामा सबैले देख्‍ने गरी नोटिस बोर्ड झुण्ड्याइको रहेछ; जसमा त्यो संस्थाबाट पढेका र त्यो र्ष मात्र अर्थात् २०७८ मा लोकसेवा आयोग पास गरेका ४० जना विद्यार्थीको नाम लेखिएको देखियो। यसरी गौरव गर्ने अवस्था पनि हामीबीच आएको छ।

यसरी विज्ञान,शिक्षा, विद्यालय, विदेश जाने चलन वा प्रवृति आदि सबैको आफ्नो ठाउँमा ज्यादै ठूलो महत्व छ। त्यसैले बिकास सानो वा ठूलो भन्ने विशेषण दिनुभन्दा पनि हरेकले जग निर्माणमा दिने योगदानको रुपमाबुझ्न आवश्यक छ।

कुनै सानो देखिएको आविष्कार प्रत्येक मानव जातिका लागि अत्यावश्यक हुन सक्छ। कोरोनाको खोप, सिटामोल, विद्यालय, सडक पुल, रोजगारीका अवसर विकासका यस्ता महत्वपुर्ण विषय हुन्। जसको अन्तिम लक्ष निर्धारण गर्न सकिँदैन।

विप्रेषण अर्थात् रेमिटेन्स, शिक्षा र प्राविधिक शिक्षा र स-सानो पूर्वाधार जस्तै ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, मौरीपालन, ग्रामीण विद्युतिकरणयहाँउल्लेख भएका ३ वटा आधार नेपालको अर्थतन्त्रका ससाना अंश हुन्। जसमा कसै एकजनाको मात्र योगदान हुदैन कार्यारम्भको कुनै माइलस्टोन मिति हुँदैन। तर विस्तारै देशको अनुहार बदलिएको हुन्छ।

सानो चिजले पनि कहिले काही ठूलो परिवर्तन ल्याएको हुन्छ। जसरी काठमाडौं विश्वविद्यालयको नयाँ तरिकाको पढाइले धेरै नेपाली युवाहरूलाई विदेशमा जागिर पाउन र आफ्नो जीवनस्तर सुधार गर्न ठूलो सहयोग गरेको छ।

यसलाई उदाहरण मानेर विभिन्न प्राविधिक शिक्षालयहरुले पनि आफूलाई सुधार गरेका छन्। यसैगरी काठमाडौं स्कुल अफ ल मा कानून पढेका विद्यार्थि पनि धेरैलाई रोजगारी पाउन सहज भएको छ। यस्ता अनेक उदाहरण छन् जसको गुणात्मक प्रभाव परेको छ।

त्यसैले विकासलाई लक्ष्यको रूपमा नभएर निर्माणको रुपमा व्याख्या गरिनु पर्छ। घरले विद्धान वैज्ञानिक, परोपकारी, समाजसेवीलाई पनि आश्रय दिन्छ, चोर, डाँका र जुवा खेलाउनेलाई पनि आश्रय दिन्छ। विकासको मुल्य त्यसको कोर भ्यालुमा हुन्छ उपलब्धि त समयले दिँदै जान्छ।

विकास जीवनको मुल नारा हो तर यसको अन्तिम विन्दु कसैले भेट्न सक्दैन। गाउँको सामान्य स्कुलमा पढेको व्यक्ति देशको प्रधानमन्त्री बन्न सक्छ। दशौ हजार तिरेर महँगो विद्यालयमा पढेको व्यक्ति सामान्य कारिन्दा बनेर रहन पनि सक्छ।

त्यसैले विकासमा निष्काम कर्म हो। विकासको काम जहाँ जुन मुलुकमा भए पनि त्यो सबैका लागि उपयोगी हुन्छ, त्यसलाई गतिशील हुन दिनुपर्छ। यसमाथि कुनै पक्षबाट कुनै पनि निहुँमा अनावश्यक अवरोध गरिनु हुँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.