स्पष्ट कानुनको अभावमा मुद्दा कमजोर

|

काठमाडौं : नेपालमा पछिल्लो समय अपराधका घटना बढ्दै गएका छन्। समाजमा विभिन्न खालका अपराधका श्रृखंला एक पछि अर्को थपिनु राज्यका लागि चुनौती हो।

पछिल्लो समयमा लागू औषधको मात्र विषय हेर्ने हो भने दैनिक ६ जना पक्राउ पर्ने प्रहरीको तथ्यांकले देखाउँछ।

यसबाहेक हत्या, मानव बेचविखन, अनलाइन ठगी, हत्या हिंसा, हत्या दुरुत्साहन, तस्कर, स्रोत बिनाको रकमको ओसारपसार, अनलाइन जुवा, क्रिप्टो करेन्सीको धन्दा, चोरी, डकैत, बलात्कार, एसिड आक्रमणजस्ता घटना दिनकै सुनिँदै आएका छन्।

बढ्दो प्रविधिका कारण  पनि अपराधमा शैली पनि फेरिँदै गएका छन्। यसको नियन्त्रण नेपाल प्रहरीलाई सहज पक्कै छैन। त्यसमाथि विभिन्न अपराधका विषयमा स्पष्ट कानुन नबन्दा मुद्दा कमजोर हुने र यसमा संग्लन व्यक्ति सहजै छुट्ने पनि देखिएको छ।

नेपालमा पछिल्लो दुई वर्षमा भएका अपराधका प्रमुख प्रकृति यस्ता छन् :

घटना-१ : बलिको लागि मोडलिङको अफर

२०७६ पुस १० गते मोडलिङ गराउन भन्दै मानव बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गर्‍यो।  काठमाडौंबाट प्रेममाया तामाङ, विराटनगरबाट कृष्ण तामाङ, मुख्य योजनाकार दिलिप पोदार,उमेश माझी, उमेश शाह, दिलकुमारी बुढामगर, रंजितकुमार चौधरी पक्राउ परेका थिए।

युवतीलाई मोडल बनाइदिने नाममा बलि चढाउन लगेको आरोपमा उनीहरुमाथि थियो।  उमेशले युवतीको महिनावारी भए नभएको, घाउ चोट लागेको नलागेको, कुनै अप्रेशन भए नभएकाेबारे सोधपुछ गरेपछि ती युवतीको मनमा चिसो पसेको थियो। त्यसपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन्।

घटना-२ : धारिलो वस्तुले घोच्ने

२०७६ असारमा उपत्यकामा महिलामाथि नयाँ शैलीमा आक्रमण सुरु भएको थियो। श्रृखंलाबद्ध रूपमा महिलामाथि बेलुकीपख तीखो वस्तुले घोचेर भाग्ने क्रम बढेपछि प्रहरीले विशेष अप्रेशन नै चलाएको थियो।

लगातार 'तिखो वस्तुले आक्रमण' भइरहेपछि पीडितहरु प्रहरीकहाँ पुग्न थाले। अनुसन्धानका क्रममा महाराजगन्जबाट महानगरीय प्रहरी परिसरले रामेछाप घर भइ नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको थियो।

घटना-३ : नक्कली कार्डबाट बैंकबाट रकम चोरी

२०७६ भदौमा नेपालमा एटिएम बुथबाट नक्कली कार्डबाट पैसा निकाल्ने चिनियाँ गिरोहलाई प्रहरीले  पक्राउ गर्‍यो। उनीहरूले यो चोरीका लागि १३२ वटा नक्कली कार्ड प्रयोग गरेका थिए। १६ वटा व्यक्तिगत एटिएम कार्ड प्रयोग गरिएको थियो।

अनुसन्धानमा दरबारमार्ग, कमल पोखरी र ठमेल क्षेत्रका तीनवटा एटिएम बुथबाट चिनियाँ ह्याकरले रकम निकालेका थिए।  उनीहरूको साथबाट एक करोड २६ लाख २९ हजार ४५ नेपाली रूपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार १ सय ११ चिनियाँ नगद, २ सय ५० युरो, कम्बोडियन ५ हजार र ८० हजार हङकङ डलर प्रहरीले बरामद गरेको थियो।

घटना-३ : अवैध सम्बन्ध लुकाउन आमाको हत्या

५ असार २०७६ मा  भक्तपुर चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ की ६१ वर्षीया सावित्री भट्टराईको हत्या भयो।

 हत्यामा आफ्नै छोरीको संलग्नता देखिएको थियो। प्रहरीले भट्टराईको हत्यामा छोरी ईश्वरी भट्टराई र मोहम्मद नौसादको प्रेम सम्बन्ध मुख्य कारण बताएको थियो। बिहे भएपछि समेत उनीहरुबीच सम्बन्ध रहेको र त्यही अवैध सम्बन्धको कारण आफ्नो आमाको हत्या गर्न लगाएको अनुसन्धानमा खुलेको थियो।

घटना-४ पब्जीको लतमा प्रेमिकासहित आत्महत्या

गत पुस २३ गते कपनमा अनिश जिमि राईले आफूसहित आफ्नी प्रेमिकाको हत्या गरे। पब्जी खेलमा दुवै जनाको लत बसेको थियो। राईले हत्यामा प्रयोग गरेको चक्कु पब्जी खेलमा प्रयोग हुने एडभान्स खालको रहेको थियो।

अहिले अनलाइन वा इन्टरनेटमा खेलिने विभिन्न खाले गेमले पनि समाजमा अपराधका श्रृखंला बढ्दै गएका छन्।

घटना-५: बिरामी निको बनाउन त्रिशुलको प्रयोग गरेर हत्या

२७ पुस २०७८ सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–७ बस्ने १४ वर्षीया रोशनी श्रेष्ठलाई उपचारका नाममा त्रिशुल प्रयोग गरेर हत्या भयो।

हत्यामा संग्लन माता उमा शाही ठकुरी हाल पुर्पक्षका लागि जेल चलान भएकी छिन्। श्रेष्ठको  शरीरमा त्रिशुलका प्वाल र डामहरू थिए। अनुहारमा घाउ थियो। नाकमा रगत थियो। शरीरभरि निलडाम थियो। शरीर आगोको भुंग्रोमा हालेको जस्तो देखिन्थ्यो।

घटना-६ : व्यवसायिक कारोबारको रकम एकलौटी बनाउन साझेदारको हत्या

गत माघ २१ साझेदारी व्यवसायीक कारोबारको रकम एकलौटी बनाउन सिरहाका अनिलकुमार मण्डलको योजनामा मण्डलकै योजनामा सुनसरीको धरान–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भु चौधरी र तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बुको हत्या भएको  थियो।

तीन साझेदारको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। उनीहरूको मोरङ र ललितपुरमा हत्या भएको थियो। श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान–७ स्थित उखुबारीमा हत्यापछि गाडिएको अवस्थामा थियो भने लिम्बूको शव ललितपुरको थेचोमा गाडिएको अवस्थामा फेला परेको थियो। उनीहरूलाई खाल्डो खनेर छिटो सडोस भनेर नुनको समेत प्रयोग गरिएको थियो।

घटना-७ :  मलद्वारमा लुकाएको एक किलो सुन !

२० माघ २०७८ मा​ मलद्वारभित्र झण्डै एक करोड रुपैयाँ बराबरको सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्‍यो।

रौतहटको गौर नगरपालिका–१० का ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरीका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपलिका–३ का दावाछिरिङ शेर्पा छन्। उनीहरुमध्ये शेर्पाले सुन मलद्वारभित्र लुकाएर ल्याएका थिए। तौलिँदा उक्त सुन एक किलो ५५ ग्राम रहेको फेला परेको थियो।

सम्भावित घटनाबारे मिहिन छलफल गर्छ प्रहरी

समाजमा हुने र हुनसक्ने सम्भावित घटनाहरूबारे प्रहरीले वृहत छलफल गर्ने गरेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले मुलुकभित्र हुने सम्पूर्ण घटनाको विश्लेषण गर्ने, हुन सक्ने घटनाका लागि प्रहरीलाई तालीम दिने काम गर्ने बताए।

'हामीले प्रहरीका विभिन्न युनिट संघीयदेखि प्रदेश मातहतका प्रहरीलाई समाजमा हुने भवितव्य घटनाबारे जानकारी गराउने, सुझाव संकलन गर्ने तथा योजना तर्जुमा गर्ने गर्छौ', उनले भने, 'देशका विभिन्न क्षेत्रमा हुने विभिन्न घटनाबारे प्रहरी सदैव चनाखो नै रहन्छ।' यसका रणनीतिहरू भने मुलुकका हरेक क्षेत्रमा उस्तै भने नहुन सक्छन्। 

'हामीले अपराध अनुसन्धानमा हुने ऐनको व्याख्या नहुँदा मन्त्रालयलाई ऐनका लागि सुझाव दिने गर्छौं',उनले भने।

कानुनी अस्पष्टताले समस्या

समाजमा हुने फरक शैलीका अपराधले प्रहरीलाई चनाखो बनाउनु पर्ने समय भएको छ। तर,बढ्दो अपराधका क्रमसँगै ऐन निमार्ण हुन नसक्दा मुद्दा कमजोर हुने गरेको पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

'साइबर सम्बन्धी ऐन बनेको छ तर, अहिले जसरी साइबर अपराधमा नयाँ नयाँ प्रयोग भइरहेको छ। त्यसलाई पूर्ण निस्तेज गर्न अपर्याप्त रहेको छ। जसका लागि ऐनलाई थप मजबुत बनाउनुपर्ने देखिन्छ', उनले भने, 'लागुऔषधमा पनि नयाँ नयाँ लागुऔषधको प्रयोग भइरहेका छन्। यी सबै लागुऔषधलाई हाम्रा ऐनले स्पष्ट व्यवस्था गरेको छैन्।'

समय अनुसार अपराधको स्वरुप फरक भएकोले त्यहि अनुसार सरकारले कानुनको निर्माण गरिदिनुपर्छ। जसले मुद्दा चलाउने वा कानुन कार्यान्वयन गर्ने इकाइहरुलाई पनि सहज हुने मल्ल सुनाउँछन्।  

'यहाँ एउटा अपराध हुन्छ तर, ऐनमा स्पष्ट व्यवस्था नहुँदा सार्वजनिक अपराधमा मुद्दा चलाएका घटना छन्। अहिले हरेक कुरा जिम्मेवार निकायले जिम्मेवारी नलिई सबै जिम्मेवारी नेपाल प्रहरीलाई दिने गर्दा पनि अनुसन्धान झन् जटिल बनेको छ', उनले भने।

प्रहरीले समाजमा भएका अपराध र तीनलाई चलाउने मुद्दाको विषयमा गृह मन्त्रालयलाई बेला बेलामा सुझाव दिने गर्छ।

'ऐन निर्माण गर्ने समय प्रहरीलाई त्यहाँ समावेश गरिँदैन। प्रहरीलाई यदि ऐन निर्माणमा समावेश गरिदिने हो भने ग्राउन्डमा भएका समस्याहरु ऐनमा आउन सक्थ्यो। व्यवहारिक पाटोको बारे त प्रहरीलाई ज्ञान हुन्छ नि !', मल्ल भन्छन्।

कानुनको स्पष्ट व्याख्या नै सजायको मुख्य कडी

समाजले गलत हो भन्दैमा राज्यले त्यसको स्पष्ट व्याख्या गरेन भने सजाय दिन मिल्दैन। कानुनको निर्माण समाज विकाससँगै हुने कुरा रहेको वरिष्ठ अधिवक्ता महेश नेपाल बताउँछन्।

'हामी के प्रष्ट हुनुपर्छ भने कानुनले व्यक्ति र संस्थाबारे स्पष्ट व्याख्या गरेको छ। व्यक्ति (प्राकृतिक)को  हकमा -कानुनले निषेध गरेका बाहेक सबै कार्य गर्न सक्ने,  प्राकृतिक व्यक्ति बाहेक (संघ संस्था, संस्थान आदि इत्यादि)  हकमा कानुनले यो कुरा गर्न हुन्छ भन्ने बाहेक अरु कुरा गर्न पाउँदैन', उनले भने।

अपराधहरू विभिन्न समयमा विभिन्न तरिकाले भइरहेका छन्। तर, त्यसलाई विधायिकाले अपराधका रुपमा स्पष्ट व्याख्या गर्नुपर्ने नेपालले बताए। 'ऐनमा स्पष्ट व्याख्या नगरेको खण्डमा त्यस्ता अपराधमा मुद्दा चलाउन मिल्दैन। जसले मुद्दा कमजोर हुने गर्छ, उनले भने।

लागुऔषध सम्बन्धी ऐन आउनुअघि नेपालमा सार्वजनिक रुपमा सजिलै बिक्रीवितरण हुने गर्थे। त्यो ऐनले लागुऔषध बिक्री बितरण गर्न पाइँदैन भनिसकेपछि त्यो कार्यमा संग्लनलाई सजायको व्यवस्था भयो। 

कुनै बेला अपराध नमानिएका काम अहिले अपराधका रुपमा रहेका छन्। अहिले गाँजालाई औषधिको प्रयोगका लागि पुन: खुलाउने तयारी गरिएको छ। तर, अहिलेसम्म यसको कारोबार वा ओसारपसार गर्दा अपराध मानिँदै आएको छ।

'समाजमा हुने सम्भावित अपराधहरूबारे सरकारले मिहिन ढंगले आफ्ना कानुन कार्यान्वयन गर्ने निकायबाट सुझाव लिने गर्छ। समाजको गति कसरी बढिरहेको छ भन्ने कुरा राज्यले हेर्छ। त्यहि अनुसार ऐन तथा कानुन निर्माण गर्छ', उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.