६ महिनामा बालबालिकासहित ३१ सय ९२ ले गरे आत्महत्या

|

काठमाडौं : केहिदिन अघि भक्तपुरको सानोठिमीमा एक जना युवती (नम्रता) मृत भेटिइन। उनी आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेकी थिइन्। घटना लगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरको टोली पुगेको थियो।

घटनालाई अनुसन्धान गर्दा उनको ल्यापटपमा 'हाउ टु सुसाइड?' टाइपिङ गरेर आत्महत्या सम्बन्धी विभिन्न तरिकाबारे जानकारी लिएको देखियो।

'ती युवतीले आत्महत्या गर्न सजिलो तरिका ल्यापटपमा खोजेको देखिन्छ', परिसरबाट अनुसन्धानमा खटिएका एक प्रहरीले भने, 'अचेल सन्तानलाई खुशी दिने नाममा आफ्ना छोराछोरीले के आफ्नो ग्याजेटमा के खोजिरहेका छन् भनेर बुबा आमाले हेरिदिएको भए ती युवतीलको ज्यान जोगिन सक्थ्यो।' 

अचेल आत्महत्याका धेरै घटना आवेग र उच्च महत्वाकांक्षाले भएको देखिने ती प्रहरीको अनुभव छ। 'पुरुषहरु करिअरको सोचाई, अत्याधिक मद्यपान, लागू औषध दुर्व्यसनमा लागेर देखिएको छ भने महिलाहरू भने परिवारको दबाब सहन नसकेर भएको देखिन्छ', ती प्रहरीले भने।

त्यसैगरी पुस २३ गते कपनमा एक जोडी मृत फेला परे। पब्जीका लती रहेका प्रेमीले प्रेमिकाको हत्या गरे। अनि आत्महत्या गरे। त्यो घटनाको अनुसन्धान गरेको महानगरीय प्रहरी परिसरका एक प्रहरीले आवेगले निम्ताएका यस्ता घटना समाजका लागि चुनौती थपिएको बताए।

पछिल्लो समय आत्महत्याको घटना ह्वात्तै बढेको छ। पछिल्लो ६ महिनामा देशभर करिब ३ हजार १ सय ९२ जनाले आत्महत्या गरेका छन्। यसरी हेर्दा दैनिक सरदर १७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ।

आत्महत्यामा बालबालिकाहरूको संख्या पनि भयावह स्थितिमा छ। आ.व २०७८-२०७९ पुससम्ममा देशभरमा १ हजार ७ सय ६१ जना पुरुषले आत्महत्या गरेका छन्। त्यस्तै, १ हजार १ सय ४ जना महिलाले आत्महत्या गरेका छन्।

त्यसैगरी बालक र बालिका क्रमश : १ सय ३१ जना बालक र १ सय ९६ जना बालिकाले आत्महत्या गरेको देखिन्छ।

कहाँ कतिले गरे आत्महत्या?

यो ६ महिनाको अवधिमा सबैभन्दा बढि प्रदेश नम्बर १ मा आत्महत्याका घटना भएका छन्। जहाँ ३ सय ९२ जना पुरुष, २ सय १३ जना महिला, ३२ जना बालक र २० जना बालिका रहेका छन्। त्यसपश्चात आत्महत्याका लुम्बिनीमा देखिएको छ। जहाँ ३ सय ६९ पुरुष, २ सय ३ जना महिला, २६ जना बालक र २९ जना बालिका गरेर ६ सय २६ जनाले आत्महत्या गरेका छन्। मधेस प्रदेशमा १ सय ८० जना पुरुष, १ सय ५८ महिला, ३१ जना बालक र ७५ जना गरि ४ सय ४४ जना रहेका छन्। बागमती प्रदेशमा २ सय ३२ पुरुष, १ सय ५५ महिला, १४ जना बालक र २३ जना बालिका  गरि ४ सय २४ जना रहेका छन्।

गण्डकी प्रदेशमा २ सय २७ जना पुरुष, ११२ जना महिला, ८ जना बालक र ८ जना बालिका गरि ३ सय ५३ ले आत्महत्या गरेका छन्। कर्णाली प्रदेशमा ७८ जना पुरुष, ४८ जना महिला, ४ जना बालक, १४ जना बालिका गरि १ सय ४३ जनाले आत्महत्या गरेका छन्।

यस्तै, सुदुर पश्चिम प्रदेशमा १ सय ३४ जना पुरुष, १ सय २३ जना महिला, १३ जना बालक र २१ गरि बालिका गरेर २ सय ८७ जना रहेका छन्। यसैगरी उपत्यकामा ६ महिनामा १ सय ४९ जना पुरुष, ९२ जना महिला, ३ जना बालक र ६ जना बालिका गरि २ सय ४७ जना रहेका छन्।

बढ्दो आत्महत्या समाजमा डरलाग्दो स्थिति

त्रिवि शिक्षण अस्पताल मानसिक रोग विशेषज्ञ प्रा.डा सरोज ओझाले आत्महत्या मानसिक र सामाजिक समस्या रहेको बताउँछन्।  पछिल्लो समय नेपालमा बढेको आत्महत्याको दर निक्कै डरलाग्दो अवस्थामा पुगेको छ। यसको पहिलो कारण डिप्रेशन रहेको डा. ओझाले जानकारी दिए। 

जब मान्छे पारिवारिक रुपमा, सामाजिक रुपमा एक्लिएको महसुस गर्छ उसले आत्महत्याको बाटो रोज्ने गरेको छ। उनीसँग परामर्श लिन आउनेहरू विशेष गरेर २५ देखि ४० वर्ष उमेरसमुहका व्यक्ति अधिक रहेको उनले सुनाए।

करिअरको तनाव, परिवारको टर्चर, सामाजिक तथा आर्थिक अवस्था जस्ता विषयले यो उमेर समुहका व्यक्तिहरू योजनाबद्ध तथा आवेगमा मृत्यु अगालिरहेको देखेको छु', डा.ओझाले भने।

बालबालिका तथा युवाहरूमा पनि उच्च महत्वाकांक्षी भावना बढिरहेको र त्यसमा आफूले सफलता हात पार्न नसके आत्महत्या गरेका छन्। 'मान्छेको उच्च महत्वकांक्षा पुरा नहुँदा पनि उसले आवेगमा आत्महत्या गरिरहेको देखिन्छ', उनले भने, 'यो सबैमा लागू हुँदैन। तर, आत्महत्याको कारण खोज्ने हो भने उच्च महत्वकांक्षा पनि एक हो।'

समाजले मानसिक समस्यालाई अझै पनि जटिल समस्याका रुपमा चित्रण गरिरहेकाले पनि बिरामी चिकित्सकसँग पुग्न पुगिरहेका हुँदैनन्। यो पनि अन्य रोग जस्तै उपचार गरेर निको हुन्छ भन्ने चेतनाको अभावले पनि आत्महत्याको बाटो रोज्ने गरेको उनले बताए।

मानसिक बिरामीसँग परिवार कनेक्ट हुने, उसको समस्या मनोचिकित्सकसँग कम्युनिकेट गर्ने र मानसिक रोग एक सामान्य रोग हो भनेर केयरिङ गर्न सकेको खण्डमा आत्महत्यालाई रोक्न  सकिने डा ओझा बताउँछन्।

रोकथामका उपाय

- अत्यन्तै दुःखी, चिन्तित र पीडित बनाएको र ऊ तपाईँका लागि महत्वपूर्ण व्यक्ति हो भन्ने महसुस गराउनुस।

-मानसिक समस्याका बिरामीलाई चिकित्सकसँग पुर्‍याउनुस्।

-सामान्यतया मानसिक समस्याका लक्षण देखिनासाथ बिरामीलाई उचित मानसिक परामर्श र उपचार गर्नुस्।

-मानसिक विचलन जो सुकैलाई पनि हुन सक्छ। उनीहरूको कुरा सुनौं। यो सामान्य हो भन्दै उपेक्षा नगरौं।

-राज्यले मानसिक स्वास्थका लागि व्यापक जनचेतना फैलाउनुपर्छ।

'बालबालिकालाई सामाजिक बनाउनुपर्छ'

अहिलेको समयमा बालबालिकाहरू पनि आत्महत्याका घटना पनि बाहिरिएका छन्। प्रहरीको तथ्यांकले पनि बालबालिकाहरू आत्महत्या गरिरहेको देखाइरहेको छ।

अचेल बालबालिकालाई मोबाइल र टेलिभिजनको नशामा छन्। जसका कारण उनीहरूलाई बाहिरी दुनियाँको आवश्यकता पर्दैन। यसले उनीहरु एकोहोरो हुने, तर समाजमा घुलमिल हुन नसक्ने अवस्थामा छन्। सामान्य जस्ता लाग्ने यस्ता घटनाले दिगो रुपमा गम्भीर मोड लिन सक्छ। एउटा बच्चा वा व्यक्ति दिनको १ देखि २ घण्टा स्क्रिन हेर्नुलाई डिसअर्डर मानिँदैन। यदि स्क्रिनबिना उसले केहि काम गर्न सक्दैन भने त्यो समस्या हो।

मनोविज्ञ अनन्त केसीले केहि समयअघी अझ धेरै बालबालिका 'स्क्रिन डिपेन्डेन्सी अर्डर'को शिकार भएको बताएका थिए।

'यो उमेर समूहका सबैसँग मोबाइल छ। उनीहरूसँग हाम्रा अभिभावकले कहिल्यै पनि तिम्रो मोबाइल मलाई देउ भनेर कसैले चेक गरेको पाईंदैन। बच्चा रिसाउँछ भनेर हाम्रा अभिभावकले मोबाइल माग्दैनन्। बच्चालाई खुसी बनाउने नाममा बच्चाहरू कसरी मोबाइल चलाइरहेका छन् भन्ने कुरा नै अभिभावकहरू जानकार छैनन्', उनी सुनाउँछन्। अचेल आफ्ना बच्चाहरूले चलाउने मोबाइल तथा ल्यापटपमा निरीक्षण गर्नुपर्ने भएको छ। के थाहा उनीहरुले आत्महत्याको बाटो त समातिरहेका छैनन्?

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.