|

फागुनको पहिलो साता लागेपछि सूर्यनारायण बल्ल कठ्याङ्ग्रिँदो चिसोको मुखबाट बाहिरिँदै थिए। स्वर्गका वाटिकाहरूमा पनि वसन्त ऋतुको प्रवेश हुने सुरसार कसिरहेको थियो। एउटा हितैषीले स्वर्गका कुना कन्दरामा विचरण गर्न जाने प्रस्ताव गर्यो।

फुर्सद बढी भएर दिक्क मानेर बसिरहेको मैले यो प्रस्ताव नकार्ने कुरा भएन। हिँड्दै गर्दा एउटा कुनामा गुलाबको बँगैचाको बीचमा सानो घर देखियो। वाह क्या गजबको कटेज यार- साथीतिर फर्कँदै भनेँ। यो कटेज हैन केटा! कुटी हो कुटी- भ्यालेन्टाइन बाजेको आश्रम। साथीले जवाफ फर्कायो।

को? प्रणय दिवसवाला भ्यालेन्टाइन? मैले आश्चर्य मान्दै सोधेँ। हो त, भेट्ने हो बुढालाई? उसले मेरै मनको प्रस्ताव गर्यो। हामीले भेट्न पाइन्छ र? किन नपाइनु, बढो रसिक छन् बुढा। लौ हिँड् भनेर साथीले भ्यालेन्टाइनको आश्रमतर्फ डोर्यायो।

बुढा भर्खर सन्ध्यावन्दन सकेर बसेका रहेछन्। अभिवादन गरेर बुढाले इशारा गरेको सुकुलमा बसेपछि च्या खानुभो भनेर सोधेँ। मर्त्यलोकमा जस्तो यहाँ चियाको चलन छैन नि बाबु, भर्खर एक बटुको अमृत पान गरेर बसेको बुढाले जवाफ फर्काए।

बाबु कहिले आयौ मत्र्यमण्डलबाट? बुढाले म तर्फ हेर्दै सोधे। अस्ति मात्र आएको गुरु मैले छोटो जवाफ दिएँ। साथी त बुढासँग घनिष्ठ भइसकेको रहेछ। त्यसैले हाँसो ठट्टा गर्न थालिहाल्यो तर म परेँ नयाँ।

शुरुमा नै झ्याम्मिएर बोल्न अप्ठ्यारो मान्ने बानीले मर्त्यलोकका पनि दुःख पाइयो, यता आएपछि पनि त्यो रोगले छोड्ने संकेत गरेन।

उनीहरूका गफमा भन्दा मर्त्यलोकका हुँदा त्यत्रो चर्चा सुनेका आफूभन्दा २००० वर्ष अघिका महापुरुषलाई आँखै अगाडी देखेर दंग पर्दै बुढालाई नियाल्न थालेँ। सेतै फुलेका दारी कपालले घेरेको बुढाको अनुहारमा अलौकिक तेज झल्किन्थ्यो। शरीर पुरै गेरु वस्त्रले सजिएको थियो। साथीसँग गफिँदै गर्दा बुढाले मतिर नजर डुलाए।

अनि बाबु किन मौन? बुढालाई हेर्दै दंग परिरहेको मलाई एक्कासी उनकै आवाजले झस्कायो। बुढाको आवाज म तर्फ तेर्सिएपछि मैले सोधिहाले, गुरु मर्त्यलोकका त हजुर क्याथोलिकहरूको धर्मगुरु हुनुहुन्थ्यो भनेर पढेको थिएँ, यहाँ त हिन्दू धर्मगुरुको भेषमा देख्छु। म त दंग परेँ।

मर्त्यलोकका पो अनेक देश, अनेक भाषा, अनेक धर्म, अनेक जात, अनेक सम्प्रदाय, अनेक अनेक वर्ग, अनेक परम्परा थिए। यहाँ त एउटै देश, एउटै भाषा, एउटै धर्म, एउटै वर्ग, एउटै संस्कृति छ नि बाबु। त्यहाँ अनेकताका बीचमा एकता खोजिन्थ्यो। यहाँ एकताका बीचमा अनेकताको खोजी हुन्छ, बुढा मुस्कुराउँदै जवाफ दिए। बुढाको कुरा राम्रोसँग बुझ्न मेरो बौद्धिक स्तर पुगेन सायद।

बाबुले मर्त्यलोकमा कुन भुमिका निर्वाह गरेर आउनुभयो त? बुढाले फेरि सोधे। म सैनिक थिएँ गुरु। मेरो जवाफ सुनेपछि बुढा केही सोचमग्न भएझैँ गरेँ। सायद मर्त्यलोकको आफ्नो अतीत सम्झे कि भन्ने लागेर मैले प्रश्न सोझ्याइहालेँ, मर्त्यलोकको पूर्वस्मृति हुँदैन गुरु?

किन नहुनु? स्वर्गलोकको विशेषता नै पूर्वजन्मको स्मृति हुनु त हो नि।

स्मृतिपटलमा बसेका पूर्वजन्मका कुरा चित्रलहरी झैँ सलल बग्छन् मेरा पनि। बुढा हरेक बोलीमा मुस्कानलाई साथी बनाउँथे। सायद त्यो साधारण व्यक्ति र महात्माको विशेषता छुट्याउने गुण थियो। रोमन सम्राटसँग यता आएपछि पनि भेट भयो कि? मैले सोधेँ। त्यो अभागी लाई यमलोक लगे बाबु, यहाँ आउने हैसियत बनाएन त्यसले। बुढाको जवाफ आउनासाथ फेरि सोधेँ– अनि हजुरलाई त्यस्तो विषम परिस्थितिमा सम्राट क्लाउडियसको विरुद्धमा लाग्न डर लागेन? सांसारिक मोहमाया बुझिसकेको जोगीलाई के को डर हुन्छ र? बुढा मुस्कुराउँदै बोले।

मैले फेरि सोधेँ- त्यो बेला सैनिकहरूको विवाह गराइदिने हजुरको अभियानले रोमलाई कमजोर बनाउला भन्ने हेक्का थिएन? मेरो प्रश्न सुनेर बुढा आवाज निकालेरै हाँसे। प्रेमले कुनै देश, व्यक्ति वा संस्था कमजोर हुन्छ भन्नु भ्रम मात्र हो। प्रेममा प्रतिबन्ध लगाउनाले देश कमजोर हुनसक्छ तर घमण्डको महासागरमा पौडिरहेको सम्राट क्लाउडियसलाई यो कुरा कसले बुझाउन सक्नु?

बुढाको जवाफ सुनेपछि फेरि सोधेँ क्लाउडियस साँच्चिकै क्रूर थियो?

इमान्दार सिपाही र निमुखा जनता उसलाई क्रूर देख्थे तर मलाई भने हृदय विनाको अहंकारी केवल बेबकुफ लाग्थ्यो, बुढाले जवाफ दिए। लगातार मेरा प्रश्न सुनेर अल्छि लागेछ कि कुन्नि बुढाले मलाई प्रतिप्रश्न गरे – बाबुका जहान केटाकेटी के कति थिए नि मर्त्यलोकमा? म त अविवाहित नै उकालो लागेँ गुरु।

लौ किन नि? बुढा उत्सुक देखिए। हजुरले सिपाहीका जोडीलाई प्रणयसूत्रमा बाँधिदिने गर्नाले हजुर शूली चढ्नुपर्यो, त्यसपछि आजसम्म पनि मर्त्यलोकमा हजुरलाई मृत्युदण्ड दिएको दिनलाई भव्य पर्वका रुपमा मनाउने गर्छन्। त्यो पर्वको प्रभाव यतिविधि पर्यो कि आजकल म जस्ता मनले माया गर्न मात्र जान्ने तर माया देखाउन नजान्नेले जोडी पाउने जमाना नै हरायो।

मर्त्यलोकमा प्रणयकला नहुनेहरू आजकल म जस्तै जहान केटाकेटी विना नै त्यताको बसाइँ सकेर उकालो लाग्ने गर्छन् गुरु।

मेरो कुरा सुनिसकेपछि बुढाले फेरि भने – अनि प्रेमीका बनाउन नसके पनि मागी विवाहको प्रयास गर्नुपर्ने नि।

प्रयास त गरेको हो नि गुरु तर जमानाले रंग बदलिसकेछ।

आजकल मर्त्यमण्डलमा प्रणयकला नभएका त्यसमाथि सैनिक पेशा अँगालेकाहरू त अलिअलि झुकिएर बाँकी रहेका युवतीहरूको रोजाईमा समेत नपर्ने रहेछन्। मैले यति भनिसकेपछि बुढा हाँस्दै फेरि भन्न लागे, बुझ्यौ बाबु! वास्तवमा मर्त्यलोकमा घर गृहस्थी गरेर बाँच्नु भन्दा एक्लै जिन्दगी कटाउनु कैयौँ गुणा आनन्द हो। किन नि गुरु? मेरो प्रतिप्रश्न सुनेर बुढाले एउटा श्लोक भट्याए –

यावद्दारपरिग्रहं नकुरुते तावन्मनुष्यो द्विपात्

स्त्रीसंगादुवसूर्यतः स हि चतुष्पादो दरीदृश्यते।

पुत्राप्ते स हि षट्पदोन्यरसलुक् पुष्पेपि यो बध्यते

पौत्राप्तेष्टपदः स्वजालपतितो लूता कृमिः स्यान्न किम्।।

मेरो अनुहारको अवस्था देखेर पक्कै यसको मगजमा केही घुसेन भन्ने ठम्यायएर बुढाले स्पष्ट पार्न थाले – मर्त्यलोकको मानव जबसम्म अविवाहित रहन्छ तबसम्म दुईखुट्टे मानव नै रहन्छ तर जब विवाहित हुन्छ तब मानव चारखुट्टे पशुतुल्य हुन्छ।

जब सन्तान छोराछोरी थपिन्छन् तब छ खुट्टा हुने भँवरा तुल्य हुन्छ। जसलाई फूलले समेत सजिलै बन्धनमा पार्न सक्छ। अनि जब नातिनातिना समेत हुन्छन् तब आठ पाउ हुने माकुरो तुल्य हुन्छ र आफ्नै सांसारिक जालमा परेर माकुरो झैँ सकिन्छ।

बुढाको कुरा सुनेपछि हो कि जस्तो लाग्न थाल्यो। मर्त्यलोकमा अविवाहित नै रहेपनि गलत त भएको रहेनछ भन्ने लाग्यो तर फेरि एउटा प्रश्न भने सोधिहालेँ– अनि अविवाहित रहनु नै फाइदाजनक रहेछ त फेरि किन आफ्नो ज्यानको बाजी राखेर रोमका सिपाहीहरूको विवाह गराउन कस्सिनुभयो त? बुढाले हाँस्दै जवाफ दिए– त्यो बेलाको परिस्थिति नै फरक थियो नि, तर आजकल त मर्त्यलोकमा घरमा गाई भैँसी नपालेपनि दुध–घ्यू किनेर खान पाइने जमाना छ। बुढाको कुरा सुनेपछि महात्माहरू समय परिस्थिति र अवस्था हेरेर निर्णय लिने कुरामा निपुण हुने रहेछन् भनेर म विश्वस्त भएँ।

भ्यालेन्टाइन बाजेसँगको सत्संग बढो गज्जब आनन्ददायक भइरहेको थियो। यसैक्रममा मर्त्यलोकमा हुँदाका लभगुरु भ्यालेन्टाइन बुढा स्वयंको प्रेम प्रसंग कोट्याइदिने मनसायले फेरि अर्को प्रश्न गरेँ– अनि गुरु आजकल जेलरकी छोरीको याद आउँदैन? सधैँ मुस्कुराइरहने बुढा मेरो यो प्रश्न सुनेपछि भने केही जवाफ नदिई हाहाहाहा गर्दै ठुलो आवाज निकालेर हाँसे। कुटीको ढोकातिर हेरेँ अँध्यारो हुन लागिसकेछ। बाहिरबाट एउटा आवाज आएझैँ लाग्यो।

आवाज आएतिर नजर डुलाएँ। बुवाले ढोका ढक्ढकाउनु भएको रहेछ। बाबु तेरा भाग्यमा रहेछ भने भरे फेरि रात पर्छ, फेरि सुत्न पाउँछस् उठ् अब। बुवाको आवाज कानमा परेपछि घडी हेरेँ, नौ बजिसकेछ। यता उता हेरेँ। आफ्नै ओछयानमा पो रहेछु। सपनामा पो स्वर्ग पुगेर भ्यालेन्टाइन बाजेसँग गफमा मस्त भएको रहेछु।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.