जनप्रतिनिधि भन्छन्- छिट्टै अस्पताल बन्‍छ, चिन्ता नगरौँ

|

काभ्रे :  जिल्लाको विकट खानीखोला गाउँपालिका–४ बाँसघारीका ४० वर्षीय ग्यान्जामाया लोप्चनलाई उपचारका लागि काठमाडौँस्थित् ट्रमा सेन्टर ल्याउन ८० हजार रुपैयाँ भाडा तिरेर हेलिकप्टर नै चार्टर गर्नुपरेको छ।

भीरबाट खसेर सिकिस्त लोप्चनलाई उपचारको लागि गाउँमा सुविधासम्पन्न अस्पताल नभएसँगै कच्ची सडकबाट तत्काल एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हेलिकप्टरकै सहारा लिन बाध्यता भएको हो।

बिहीबार घाँस काट्न जाने क्रममा भीरबाट खसेर बेहोस लोप्चनलाई परिवारले मनाङ एयरको हेलिकप्टरमार्फत उपचारको लागि अस्पताल ल्याएका थिए। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। अस्पतालका अुनसार बेहोस अवस्थामा नै रहेका उनको आइसियूमा राखेर उपचार गरिरहेको जनाइएको छ। उनी भीरबाट करिब २ सय मिटर तल खसेकी थिइन्।

सिकिस्त लोप्चनको उपचारको लागि अस्पताल ल्याउनुको विकल्प नभएपछि ऋण गरेर हेलिकप्टर चार्टर गरी परिवारले काठमाडौँ ल्याएका हुन्। ‘गाउँमा एउटा राम्रो स्वास्थ्य चौकी छैन, सडकको अवस्था पनि उस्तै छ',  विरामी लोप्चनको छोरा नविन लोप्चनले थाहा खबरसँग भने, ‘एउटा सुविधासम्पन्न अस्पताल र सडकको अभावमा ऋण गरेर आमालाई हेलिकप्टरमार्फत उपचारको लागि राजधानी ल्याउनुपर्यो। आमालाई हिँडाएर ल्याउने अवस्था थिएन, ऋण भनेका तिरौँला भन्ने लाग्यो, आखिर ज्यानभन्दा ठुलो केही छैन भनेर नै हामीले आमालाई ८० हजार तिरेर हेलिकप्टर चार्टर गरेर उपचारका लागि ल्यायौँ।'

खानीखोला–४ मा डाँडागाउँ स्वास्थ्य चौकी भएता पनि लोप्चनको समस्या स्थानीय स्वास्थ्य चौकीबाट समाधान हुन सक्ने खालको थिएन। स्वास्थ्यकर्मीले तत्काल उनलाई सदरमुकाम वा काठमाडौँ लैजान सुझाव दिएका थिए।

२०७८ साउन २५ मा सोही डाँडास्थित डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्वालाई सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा उपचारका लागि ७० हजार भाडा तिरेर हेलिकप्टर चार्टर गरी धुलिखेल ल्याउनु परेको थियो।

गत वर्ष साउनमै सोही वडा स्थित जगथलीको एक गर्भवती महिलाको गाउँमा उपचार सम्भव नभएपछि अन्तिम समयमा बचाउनका लागि हेलिकप्टरमार्फत नै उद्धार गरिएको थियो।

सोही महिनामै खानीखोला–६ को १७ वर्षीया किशोरी रञ्जिता थोकरलाई थप उपचारका लागि काठमाडौँ लैजान परिवारले हेलिकप्टर मगाइयो। विडम्बना हेलिकप्टर रित्तै फर्किनुपर्‍यो। तीन दिनदेखि झाडापखालाले ग्रस्त उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भयो।

गत साल साउन पहिलो साता महाभारत गाउँपालिका–२ की २१ वर्षीया गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको थियो।

सदरमुकामबाट जम्मा ७५ किलोमिटर दक्षिणको गाउँ खानीखोला–४ आँपटारबाट ०७४ साउन २३ मा देवान सिं वाइबालाई १ लाख १५ हजार तिरेर हेलिकप्टर चार्टर गरी उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको थियो।

डाँडा पारि क्षेत्रबाट पछिल्लो ५ वर्षमा करिब ५४ जना भन्दा बढी विभिन्न रोगका पीडितहरुलाई हेलिकप्टरबाट उद्धार गरेका छन्।

हेलिकप्टरबाट बिरामी-गर्भवतीको उद्धार गरिए पनि काठमाडौं लैजानुपर्ने बाध्यता रहेको छ। काठमाडौंबाट मगाइएपछि जिल्लाका अस्पताल लैजान हेलिकप्टर अवतरण लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने झन्झटिलो प्रावधानको कारण काठमाडौँमै लगेर उपचार गर्नु परेको हो।

काभ्रेको ‘कर्णाली’ भनेर चिनिने डाँडापारि क्षेत्रका खानीखोला र महाभारत गाउँपालिकाबाट सदरकुकाम आइपुग्न २ दिन पैदल हिँड्नुपर्छ। गाउँपालिकाले हेलिकप्टरमार्फत विरामीको उद्धार गर्न समन्वय गरेतापनि सदरमुकामबाट ६४ किलोमिटरको दुरीमा रहेका दुई गाउँपालिकाका बासिन्दाले एउटा सुविधासम्पन्न अस्पताल नहुँदा वर्षौँदेखि सास्ती खेप्दै आइरहेको छ।

कहिले बन्छ सुविधासम्पन्न अस्पताल ?

हेलिकप्टर चार्टर गर्न ऋण समेत खोज्ने सामर्थ्य नहुँदा अहिले पनि उपचारका अभावमा कयौँ विरामीले अकालमै ज्यान गुमाउनु परेका छन्। दुई गाउँपालिकाका वार्षिक ९ जनाभन्दा बढी स्थानीयले उपचारको अभावमा ज्यान गुमाउन बाध्य छन्।

‘चाहेर पनि ऋण गरेर हेलिकप्टरमार्फत उपचारका लागि लैजान सकेको हुँदैन र अकालमै ज्यान गुमाएको देखेको छु, यस्ता धेरै उदाहरण छ’, महाभारत–७ का कुशल लोले भने, ‘कतिलाई गाउँमा ऋण नै दिन मान्दैनन्, त्यसैले गाउँमै एउटा सुविधासम्पन्न अस्पताल नभएसम्म यस्तो घट्ना दोहरिरहने छ।’

दुई गाउँपालिकामा १० वटा स्वास्थ्य चौकी र केही समुदायिक स्वास्थ्य इकाई रहेका छन्। जसमध्ये खानीखेला–५ ताल्ढुंगा र महााभारत–८ घर्तिछापमा रहेको स्वास्थ्यचौकी अन्य स्वास्थ्य संस्थाभन्दा सुविधासम्पन्न रहेको देखिन्छ।

जनप्रतिनिधि भन्छन् काम भइरहेको छ, छिट्टै अस्पताल बन्ने छन्

खानीखोला र महाभारत गाउँपालिकाको सुविधासम्पन्न अस्पताल बनाउने योजनाले सोचे अनुरुपको गति लिन सकेको छैन। केन्द्रीय सरकारले १५ शैयाको अस्पताल खोल्न पाउने अधिकार दिएको भए पनि स्थानीय सरकारले त्यसलाई कार्यान्वयन ल्याउन सकेका छैनन्।

खानीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले सरकारले निर्दिष्ट गरे बमोजिम अस्पताल बनाउने योजना बनाएको भएपनि काम अगाडि बढाउन ढिलाई भएको बताए। उनले वैशाखसम्ममा सञ्चालनमा ल्याउने गरी खानीखोला–५ ताल्ढुंगमा १५ शैयाको अस्तपाल निमार्ण भइरहेको बताए। उक्त अस्पतालको लागि प्रदेश सरकारबाट १६ करोड छुट्याएकोमा १३ करोड रुपैयाँ टेण्डरमा निमार्ण भइरहेको हो।

त्यस्तै, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले सरकारको नीतिअनुरुप अस्पताल बनाउन कार्ययोजना नै बनाएर गम्भीरतापूर्वक लागेको बताए। उनले नेपाल सरकारसँग सम्झौता गरेर महाभारत–८ घर्तिछापमा ११ करोड १० लाख रुपैयाँ १० शैयाको अस्पताल निर्माण भइरहेको जानकारी दिए।

यसअघि गाउँ सभाले केन्द्रीय सरकारको नीतिअनुरुप अस्पताल बनाउन सकिने उचित वातावरण नभएको भन्दै तत्काल अस्पताल बनाउने प्रक्रिया थालनी गर्नका लागि आवश्यक कामकारबाही अगाडी बढाउन नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग माग गरेको थिए।

स्थानीय सरकार साढे ४ वर्ष स्वास्थ्य क्षेत्रको विकासको लागि कुनै ठोस कार्यक्रम अघि नसारेर वेवास्ता झै गरेर बसेका थिए। तर केही महिना यता जनप्रतिनिधिहरु अस्पताल बनाउने योजना बोकेर हिडेँका छन्।

डाँडा पारिका बासिन्दाले भने जनप्रतिनिधिले अस्पताल बनाउनुभन्दा अरू क्षेत्रमा करोडौं बजेट छुट्याउने गरेको बताउँछन्। खानीखोलाका प्रेम मगरले भने, ‘सरकारले अस्पताल बनाउन अधिकार दिँदादिँदै पनि त्यसलाई लत्याउँदै अरु विषयलाई प्राथमिकतामा राखेर बजेट छुट्याएको सुनेको÷देखेको छु, यो जनप्रतिनिधिको गैरजिम्मेवारीपनको पराकाष्ठा हो।’

सन्तोष आचार्यले डाँडापारि जस्तो विकट ठाउँमा अस्पताल बनाउने कुरामा स्थानीय जनप्रतिनिधिले ध्यान नदिनु अत्यन्त दुखद् भएको बताए। डाँडापारिबासीले गाउँमै कहिले राम्रो स्वास्थ्य सुविधा पाउँछ भन्ने प्रश्नको जवाफमा भने जनप्रतिनिधि पनि स्पष्ट छैनन्, अनुत्तरित छ।

एकरुपता छैन भाडादर

सरकारले भाडादर तोक्दा नसक्दा हेलिकोप्टरको सेवा प्रदायक कम्पनीले आफु खुसी भाडा लिएर सेवा प्रदान गरिरहेको छ। हेलिकप्टर चार्टड गर्दा यो गन्तव्यमा यति घण्टाको यति भाडा लिनुपर्ने भनेर तोकि नदिदा भाडादरमा एकरुपता हुन सकेको छैन। यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गृहकार्य गरिरहेको भने पनि भाडादर सार्वजनिक गरेर कार्यान्वयन गर्न सकेको छैनन्।

हेलिकप्टर सेवा निकै महंगो हुँदा विकट र गरिब परिवारकाले मारमा खेप्नु परेका छन्। तर विकट क्षेत्रका विरामीलाई सहुलियत भाडादरमा सेवा दिँदै आएको कम्पनीहरुको दाबी छ।

जिल्लाका दुई गाउँपालिकाको लागि हेलिकप्टर नै सबैभन्दा उत्तम यातायात साधन बनेको छ। विकट क्षेत्रका विरामीलाई तत्काल अस्पताल पुर्‍याउन हेलिकप्टर नै चाहिन्छ। तर आर्थिक अवस्था कमजोर हुनेले हेलिकप्टर प्रयोग गर्न सकिरहेका छैनन्, उनीहरुको अवस्था कहालीलाग्दो छ।

वर्षातमा झन् समस्या

ग्रामीण भेगमा जेनतेन चल्ने मोटरबाटो वर्षायाममा भत्किने र पहिरोले अवरुद्ध हुँदा डाँडापारिका बासिन्दाले बिरामी पर्दा हेलिकप्टरको भर पर्नुको विकल्प छैन। हेलिकप्टरको भाडा तिर्न नसक्नेले उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता छ।

गाउँपालिकाका अध्यक्षद्धय खुलाल र जिम्बा भौगोलिक विकटता कारण वर्षायाममा बाढीपहिरोले कच्ची सडक अवरुद्ध हुँदा गम्भीर प्रकृतिका बिरामी-गर्भवतीको लागि हेलिकोप्टरको विकल्प नभएको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.