उच्च जोखिमको अवधि हामीले पार गरिरहेका छौँ

|

काठमाडौं : नेपालमा पुसको दोस्रो सातादेखि सुरु भएको कोरोना महामारीको तेस्रो लहर ओरालो लागेको छ। ओमिक्रोन भेरियन्टका कारण पुनः उकालो लागेको संक्रमण पछिल्ला केही दिनयता कम हुँदै गएको हो।

संक्रमण कम हुँदै गएपछि तेस्रो लहर मत्थर हुँदै गएको बताइएको छ। तेस्रो लहर मत्थर हुँदै गर्दा के नेपालमा अब कोरोना महामारीको अन्त्य हुन लागेको हो? तर‚ संक्रमण घटे पनि दैनिक मृत्यु हुने संख्या घट्न सकेको छैन। किन यस्तो भइरहेको छ?

यही विषयमा थाहाखबरले स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी) निर्देशक डा. कृष्ण पौडेलसँग गरिएको कुराकानी : -

पछिल्लो समय दैनिक संक्रमित हुनेको संख्या कम हुँदै गएको देखिन्छ? अब  कोरोनाको तेस्रो लहर ओरालो लागेको हो?

यो पटक मुख्यतः ओमिक्रोन भेरियन्ट अझै यसको सबभेरियन्ट बीए.२  ले  पुसको १५/ १६ गतेपछि विस्तारै संक्रमण उकालो लागेको देखिन्छ। सुरुमा विशेष गरी भारतबाट आउनेमा संक्रमण देखिए पनि पुसको तेस्रो साता संक्रमण ह्वात्तै बढेको थियो।

यसअघि हामीकहाँ देखिएको भेरियन्टभन्दा यो ज्यादै संक्रामक भएको हुँदा धेरै व्यक्ति छिटो संक्रमित भएको पनि देखिन्छ। त्यसैले माघको पहिलो सातासम्म पिक आवरमा पुगेर दुई सातामै हाम्रोमा संक्रमण विस्तारै ओरालो छ। जसले गर्दा हाल तुलनात्मक रूपमा उच्च जोखिमको अवधि हामीले पार गरिरहेका छौँ।

त्यसैले हामीले ठाउँ विशेषको जोखिम हेरेर हाम्रो सार्वजनिक सेवाहरू विस्तारै फागुन १ गतेदेखि खोल्ने निर्णय गरेका हौँ।

यसअघि त माघको दोस्रो सातादेखि तेस्रो सातामा दैनिक १९/२० हजार संक्रमित भेटिने मन्त्रालयको अनुमान गरेको थियो। तर‚ त्यसरी त संक्रमित त बढेन नि?

हामीले पूर्व अनुमान गरेको जस्तो ठ्याक्कै संक्रमित देखिएन। तर‚ यसमा महत्त्वपूर्ण कुरा के हुन्छ भने हामीले संक्रमण उच्च तहमा पुगेका बेला कति परीक्षण गर्‍यौँ भन्ने हो। पहिलो कुरा त हामीले परीक्षण नै कम गर्‍यौँ।

अर्को महत्त्वपूर्ण कुरा यो पटक धेरैलाई सामान्य लक्षण भयो। कतिले व्यक्तिगत रूपमा परीक्षण गरेका केशको रिपोर्ट गर्नु भएन भने कतिले सामान्य लक्षण देखिएर एक/दुई दिनमै कम भएपछि परीक्षण नै गराउनु भएन।

संक्रमण उच्च तहमा पुगेर संक्रमणदर ५० प्रतिशत पुगेका बेला हामीले दैनिक ४० हजारसम्म परीक्षण गरेको भए २० हजार संक्रमितको संख्या दैनिक देखिन सक्थ्यो।

यसरी संक्रमण कम हुँदै गएको समयमा पनि किन मृतक संख्या घट्न सकेन?

दुई साताअघिको तुलनामा संक्रमण दरमा ६ गुणाले कमी आएको छ। संक्रमण उच्च तहमा पुगेर घट्दो क्रममा रहेको हुँदा यो बीचमा संक्रमित भएर गम्भीर भएका संक्रमितहरू अस्पतालमा उपचार गराइरहेको समय छ। जसले गर्दा हाल मृत्युको संख्या स्थिर रहेको हो। अब संक्रमणदर कम हुँदै गएको छ। एकदुई सातामा मृत्यु दरमा पनि कमी आउँछ।

हाल कस्ता संक्रमितहरूको धेरै मृत्यु भइरहेको छ त?

रोगसँग लड्ने सबैको क्षमता एकै हुँदैन। ओमिक्रोन संक्रमणबाट पनि संक्रमितमा जटिलता हुने र मृत्यु हुने भइरहेको छ। यो भेरियन्टले खोप लगाएका व्यक्तिहरू पनि संक्रमित भइरहेका छन्।

मृत्यु दरको हिसाबले कुरा गर्ने हो भने औसत मृत्युदर यसपूर्व १.४ प्रतिशत थियो भने योपटक एन्टिजेन परीक्षण सहित जोड्ने हो भने मृत्युदर १. १ प्रतिशत छ। ६० वर्षभन्दा माथि संक्रमितको हुनेको मृत्युदर भने ६ प्रतिशत छ। अहिले पनि मृत्यु हुने धेरै दीर्घरोग भएकाहरू छन्।

उमेर समूहको हिसाबले कुरा गर्ने हो भने त ८५ वर्षमाथि संक्रमित हुनेहरूमा मृत्युदर १४ प्रतिशत छ।  

ओमिक्रोन भेरियन्ट संक्रमण कम भएर तेस्रो लहर ओरालो लागेसँगै नेपालबाट हाललाई कोरोना महामारी अन्त्य भएको भन्न सकिन्छ त?

हामीले दैनिक जीवनमा जनस्वास्थ्यको मापदण्ड राम्रोसँग पालना गर्‍यौँ। पहिलेको तुलनामा हाललाई संक्रमण अलिकति कम जोखिम भएको भन्न सकिन्छ। तर‚ महामारीकै अन्त्य भएको भन्न सकिँदैन।

किनभने संसारभर नै भाइरस व्यापक फैलिएको छ। हाल पनि युरोपका मुलुकहरू, दक्षिण एसियाका देशहरूमा संक्रमण घटेर पनि पूर्वी एसियाली देश कोरियामा संक्रमण बढ्दो छ।

भाइरस धेरै फैलिएको ठाउँमा नयाँ भाइरस बढ्ने जोखिम रहन्छ। त्यहाँको प्रभाव ढिलो छिटो हामीलाई पर्ने हुँदा र यसपछि अब अर्को भेरियन्ट आयो भने अब आउने भेरियन्ट कस्तो आउँछ भन्ने कुराले मात्रै महामारी अन्त्य हुने कुरालाई असर गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.