|

काठमाडाैं : नेपालमा कोरोना भाइरस भित्रिएको २ वर्ष भएको छ। पहिलो वर्ष त्राहि त्राहि बनाएको यो भाइरस तेस्रो चरणमा आइपुग्दा त्रास केही कम भएको छ। स्वास्थ्य सुरक्षाका लागि मास्क लगाउनैपर्ने अवस्था कायमै छ।

विश्वमा फैलिएको कोरोना महामारीकै रूपमा रहन्छ कि विस्तारै हट्छ भन्नेबारे नेपालका चिकित्सकहरू पनि यकिनका साथ भन्न सक्दैनन्। त्यसो त यो मानव सिर्जित हो या प्राकृतिक हो भन्नेमा शक्तिशाली देशका वैज्ञानिकहरू आपसमा वाक्‌युद्ध गरिरहेका छन्।

कहिले स्पेनिश फ्लु, कहिले इबोला भाइरस त कहिले स्वाइन फ्लुले मान्छेको शरीरमा आक्रमण गर्‍यो। पछिल्लो दुई वर्षदेखि महामारीको रूपमा विश्वभर नै फैलिरहेको छ कोरोना। यसले विश्वभरका ५८ लाख २९ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। शनिबारसम्म नेपालका ११ हजार ८ सय ८२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अझै पनि कोरोना संक्रमणबाट मान्छे मरिरहेका छन्। के यो कोरोनाले मान्छे मारिरहने हो त ? नेपाली चिकित्सकहरू पनि यसै भन्न सक्दैनन्।

दुई वर्षअघि नेपाल भित्रिएको कोभिड १९ कै कारण मुलुक लामो समय सर्वसाधारणको दैनिकीदेखि उद्योगी व्यवसायीको चहलपहल ठप्पै भयो। यसले हुँदाखानेदेखि हुनेखानेसम्म सबैको जीवनस्तर खस्काएको छ।

रैथाने बन्ला त कोरोना भाइरस ?

पटक पटक झम्टिँदै सर्वसाधारणको जीवनयापन तथा आर्थिक स्तर लुछिरहेको कोरोना कहिले सेलाउँछ त भन्ने प्रश्नमा अहिले अनुमान नै लगाउन नसकिने जनस्वास्थ्यविद्‌हरू बताउँछन्। तर कुनै पनि भाइरस प्रकृतिमा आइसकेपछि कालान्तरमा रैथाने बनेर बस्ने विशेषज्ञहरूको दाबी छ।

जीवाणुविज्ञ एवं अनुसन्धान वैज्ञानिक डा. सन्तोष दुलाल इतिहास हेर्दा सयौं वर्षअघि ‘स्पेनिस फ्लु’ को रूपमा चिनिएको महामारी अहिले मौसमी रुघाखोकीको रूपमा लिइएको उदाहरण दिन्छन्।

‘यसले विश्वका धेरै मानिसलाई संक्रमित गरेर २ करोडभन्दा बढी मानिसको मृत्यु गराएको पाइन्छ’‚ डा. दुलाल अर्को उदाहरण पेश गर्छन्‚ ‘कुनै समयमा झाडा पखाला, हैजा पनि महामारीको रूपमा फैलिएको थियो, अहिले रोगको रूपमा छ।’

तेह्रौँ चौधौँ शताब्दीतिर युरोपमा महामारी फैलाएको कुष्ठ रोग पनि अहिले सामान्य रूपमा रहेको उनको भनाइ छ। उनले थपे‚ ‘इतिहासको महामारीका विकास प्रकृति हेर्दा पनि कुनै पनि महामारी कस्तो अवस्थामा रहन्छ र कसरी जान्छ भनेर पूर्वानुमान गर्न सकिँदैन।’

नेपाल कोरोना भाइरस संक्रमणको तेस्रो लहरको अन्त्यमा आइपुगेको छ। अन्य विदेशी मुलुक क्यानडा, इजरायल र बेलायततिर चौथो लहर पनि आइसकेको छ।

कोभिड १९ (सार्स कोरोना भाइरस–२) स्वरूप परिवर्तन गर्दै अल्फा, बिटा, डेल्टा‚ गामा र ओमिक्रोन गरी पाँचवटा भेरिएन्ट देखिएका छन्। नेपालमा भने पहिलोमा अल्फा, दोस्रोमा डेल्टा र अहिले तेस्रो लहरमा ओमिक्रोनले धेरै मानिसलाई संक्रमित बनाएको छ।

‘अब पनि फेरि अर्को लहर नआउला भनेर अहिले नै भन्न सकिन्न’‚ डा. दुलालले भने‚ ‘अर्को भेरिएन्ट बन्ने सम्भावना उत्तिकै छ किनकि एउटा ठाउँमा कोरोना संक्रमण घट्दै जाने अर्को ठाउँमा बढ्दै जाने भइरहेको छ।’

कोरोना भाइरस (सार्स कोरोना भाइरस २) अप्रत्यासित र परिवर्तनशील रहेकाले आफू बाँच्नका लागि परिवर्तनको शिलशिलामा आफ्नो स्वरूप परिवर्तन गरेर अर्को चरण ल्याउने सम्भावना रहेको विशेषज्ञहरू बताउँछन्। यद्यपि, भाइरसको नियमानुसार केही कालान्तरमा गएर कमजोर हुनुपर्छ र कमजोर भएरै पृथ्वीमै रहने धेरै महामारीको नियम रहेको डा. दुलाल बताउँछन्।

उनले भने‚ ‘सार्स कोरोना भाइरस-२ कति समयपछि कमजोर हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन।’

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं सरुवा तथा संक्रामक रोग अनुसन्धान विशेषज्ञ प्रा. डा. जीवनबहादुर शेरचन पनि कोरोना भाइरस रैथाने रोगको रूपमा हुने स्वीकार गर्छन्। ‘यसले महामारी (पेन्डामिक)को रूप त लियो, अब स्थानीय (इन्डेमिक) हुने सम्भावना धेरै छ’‚ प्रा.डा. शेरचनले उदाहरण दिए‚ ‘फ्लु भाइरस (मौसमी रुघाखोकी) जस्तै स्थिति हुन सक्ने सम्भावना हुन्छ।’

स्थानीय रोगको रूपमा रहने पूरा सम्भावना भए पनि कोरोना भाइरस अहिले नै रैथाने रोग नबन्ने तर्क गर्छन्, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्वप्रमुख डा. बाबुराम मरासिनी। ‘स्थानीय रोग मात्रको रूपमा रहन गाह्रो पनि छ किनभने संसारभर मान्छेको आवतजावत बढी छ, घुम्न, पढ्न, रोजगारीका लागि पनि मानिसहरू संसारभर आउजाउ हुन्छ’, उनले थपे‚ ‘यसले गर्दा रैथाने मात्रै हुन गाह्रो छ। तर पछि गएर कहीँ न कहीँ रैथाने रोगमा सीमित हुन सक्ने सम्भावना छ।’

उनले अझै थपे‚ ‘जस्तै इबोला भाइरस (इबोला पनि भाइरस हो, अहिले इबोलालाई नियन्त्रण गर्‍यो नि त।’ यद्यपि इबोला र कोरोना भाइरस फरक प्रकृतिको भएको भने उनी स्विकार्छन्। डा. मरासिनी अर्को उदाहरण पेश गर्छन्‚ ‘इन्फ्लुएन्जा भाइरसलाई पनि सन् २००९ मा विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गर्‍यो। ६ महिनापछि फेरि महामारीबाट रैथाने भयो भनेर भन्यो।’

उनी भन्छन् ‚‘यसरी नै कोरोना भाइरस पनि ठूला देशहरूमा कम भयो, नियन्त्रण भयो भने रैथाने घोषणा हुने सम्भावना उच्च देखिन्छ।’ नेपाल भने दुई ठूला देश (उत्तरमा चीन र दक्षिणमा भारत) का बीचमा रहेकाले ती दुई देशबीचको संक्रमणको असर पर्ने तर्क डा. मरासिनीको छ। उनले भने‚ ‘खुला सीमा र धेरै ठूला देशहरूको बीचमा रहेको हुनाले नेपालमा यस्तै हुन्छ भनेर भन्न सकिन्न।’

कोभिड १९ का लागि 'ककटेल' भ्याक्सिन विकास आवश्यक

विगत २ वर्षदेखि महामारीका रूपमा रहेको कोरोना भाइरसले यो अवधिमा स्वरूप परिवर्तन गर्दै पाँचवटा भेरिएन्ट बनिसकेको छ।

कोरोना भाइरसका लागि कुनै औषधि उपचार नभएकाले यसको नियन्त्रणका लागि खोप नै सबैभन्दा महत्त्वपूर्ण रहेको संक्रामक रोग अनुसन्धान विशेषज्ञ प्रा. डा. शेरचन बताउँछन्। ‘भाइरस प्रकृतिमा आइसकेको छ, जबसम्म प्रकृति रहन्छ, तबसम्म फ्लुजस्तै वेलावेला आउने जाने भइरहन्छ’, उनले थपे‚ ‘वर्षमा एक चोटि कम्तिमा अथवा त्योभन्दा लामो समयसम्म काम गर्ने खोपको विकास गरे भने कोरोना भाइरस नियन्त्रणमा आउन सक्छ।’

हेपाटाइटिस, निमोनियाका लागि बनेको खोपले ५ वर्षलाई काम गरेको उदाहरण दिँदै डा. शेरचनले कोभिड १९ को लागि पनि खोपको विकास गर्न सके संक्रमण अलि पर धकेलिन सक्ने बताए।

यद्यपि कुनै पनि भाइरस प्रकृतिमा बसिसकेपछि शतप्रतिशत नजाने तर खोपले धेरै सुरक्षित भने राख्ने उनको भनाइ छ।

‘अहिले फ्लुको भ्याक्सिन पनि शिशुहरूलाई पनि लगाउन मिल्ने गरेर ४ किसिमको भाइरसबाट बनेर आएको छ’, प्रा.डा. शेरचनले थपे‚ ‘अब त्यस्तै किसिमका ककटेल भ्याक्सिन कोभिड १९ का लागि विकास भए महामारी कम गर्न सकिन्छ।’

उनका अनुसार यसरी विकसित खोप सर्वसुलभ रूपमा पाइने गरी बजारमा आए, मान्छेले आफैँ लगाउँछन् र सुरक्षित रहन्छन्। ‘अहिले खोप नलगाउनेमा बढी संक्रमण देखिइरहेको छ’‚ उनले थपे ‘ ग्रामीण भेगका १५ प्रतिशत मानिसले खोप नै लगाएका छैनन्। बालबालिकाले खोप पाएका छैनन्। त्यसैले भाइरस फैलिन रोकिएको छैन।'

खोप सबैले लगाउने हो भने सबैमा प्रतिरोधात्मक क्षमता विकास भई स्वतः भाइरस विस्तारै उन्मूलनतर्फ लाग्ने चिकित्सकहरू बताउँछन्। खोप नलगाएकै कारण भाइरस सक्रिय रहन मद्दत पुगेको विश्लेषकको दाबी छ।

मानिस र जंगली जनावरबीच द्वन्द्व, बढ्दो शहरीकरण, मानिसको अप्राकृतिक जीवनयापनले भाइरस प्रकृति वा जंगली जनावरबाट घरपालुवा जनावरमा सर्ने र त्यसबाट मानिसमा महामारी फैलिएको जीवाणुविज्ञ एवं अनुसन्धाता वैज्ञानिक डा. दुलाल बताउँछन्।

‘यसले गर्दा अब हामीले जिउने तरिका सुधार्नु पर्छ, जनस्वास्थ्यका मापदण्ड उचित ढंगले अपनाउने गर्नुपर्छ’‚ डा. दुलालले भने‚  ‘प्रकृति संरक्षण गर्ने विनाश नगर्ने, जंगली जनावरहरूसँग निश्चित दूरी कायम राख्ने गर्नुपर्छ।’

उनले जंगली जनावरको काँचो मासु खाएका कारण अफ्रिकामा इबोला भाइरस आएको उदाहरण पेश गरे। प्रकृतिलाई संरक्षण गर्दै प्राकृतिक नियममा बाँच्न सके महामारीसँग जुध्न र जोगिन सकिने तर्क उनको छ।

कोरोना मानवनिर्मित कि प्राकृतिक ?

‘वैज्ञानिक आधारबाट हेर्ने हो भने यो प्रकृतिबाटै आएको भाइरल स्किल ओभर भएको भन्ने बुझिन्छ। किनकि यसको आनुवंशिक अध्ययनले त्यो देखाएको छ’‚ डा. दुलाल भन्छन्‚ ‘तर, प्रयोगशालाबाट चुहिएको भन्ने आशंकालाई अझै अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ।’

अहिले कोरोना भाइरस प्रकृतिबाट आएको हो भन्नेमा अलि बढी विश्वास गरिने उनको भनाइ छ।

उनले थपे‚ ‘यस्ता भाइरस प्रयोगशालाबाट पोखिएर संक्रमण भएको भन्ने कुरा अझै गहिरो अध्ययन अनुसन्धानबाट प्रमाणित हुनसक्ने कुरालाई नकार्न सकिँदैन तर अहिलेको अवस्थामा प्रकृतिबाटै पोखिएर संक्रमण फैलिएको कुरा अलि बढी सान्दर्भिक छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.