|

इलाम : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली महत्त्वाकांक्षी हुँदा संकट आएको बताए।

इलाम नगरपालिका–९ मा निर्माण भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग उद्घाटन गर्दै खनालले ओलीले पार्टीका नीति, सिद्धान्त कार्यदिशा बिर्सिएर महत्त्वाकांक्षी हुँदा देशले निरंकुशता शासन पाएको आरोप लगाए।

‘उनले प्रधानमन्त्रीको शपथ लिएपछि जुन दिन आफ्नो पार्टी र पार्टीको नीति बिर्सिए, कार्यदिशा, कार्यक्रम र चुनावी घोषणापत्रमार्फत आमजनता सामु जुन प्रतिबद्धता गरिएको थियो‚ त्यो सारा प्रतिबद्धता बिर्सिए। त्यसपछि आफ्नै ढंगले आफ्नै महत्त्वाकांक्षाको उडान चढेर कता हुइँकिन थाले थाले। हामी कसैलाई थाहै भएन। देशले निरंकुशतावादी शासन र प्रशासन पायो।’

उनले ओली आफू कहाँबाट दुई तिहाइको प्रधानमन्त्री भएको समेत बिर्सिएपछि नेकपा विभाजन र देश अस्थिरतामा गएको दाबी गरे।

‘देश विकासमा तीव्रता, देशको अर्थतन्त्र विकसित हुँदै गरिबी र निरक्षता उन्मूलन, देशले काँचुली फेर्ने आशा थियो तर दुई तिहाइको सरकार गठनपछि प्रधानमन्त्रीले म कहाँबाट यो ठाउँमा आइपुगे भन्ने बिर्सिए।’

उनले ओली सत्तामा आएपछि भूमिसुधार र कृषि क्रान्तिको आवश्यकता पूरा नभएको आरोप लगाए। ‘देशमा भूमिसुधारको आवश्यकता थियो‚ ‘भ’ पनि उच्चारण भएन। कृषि क्रान्तिको आवश्यकता थियो‚ ‘क’ पनि उच्चारण भएन। भूमिहीन र गरिब किसानले एक चपरी माटो समेत पाउन सकेनन्’, खनालले भने।

उनले विमानस्थल निर्माणले काठमाडौँ र इलामबीचको दूरी नजिकिएको बताए। खनालले अब जहाज चढेर १ घण्टामा इलाम–काठमाडौँको यात्रा गर्न सहज हुने उल्लेख गरे। उनले सुविधा थपिएसँगै नयाँ दायित्व समेत थपिएको बताए।

कुर्सीमा रहुन्जेल शिर झुक्न दिन्नँ : पर्यटनमन्त्री आले

कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफू कुर्सीमा रहुन्जेल जनताको शिर झुक्न नदिने उद्घोष गरे, ‘छातीमा हात राखेर भन्छु जति महिना जति दिन जति घण्टा जति मिनेट र सेकेण्ड प्रेम आले कुर्सीमा बस्छ जनताको शिर निहुरिने काम गर्दैन।’

उनले क्यासिनो र पाँचतारे होटलबाट राज्यले पाउनुपर्ने कर लिएरै छाड्ने बताए।

आलेले पशुपति कोष मातहतको अतिक्रमण भएको जग्गा फिर्ता गराउन मन्त्रालयले काम गरिरहेको बताए। 

सिंगो प्रदेशको पर्यटन लाभान्वित हुन्छ : मन्त्री लङ्वा

प्रदेश १ कL संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वा लिम्बुले इलाममा एयरपोर्ट सञ्चालनमा आएपछि सिंगो प्रदेश १ को पर्यटन लाभान्वित हुने बताइन्।

उनले इलाममा धेरैजसो भारतीय पर्यटक आउने भएकाले यहाँको कृषि, होटल र होमस्टे क्षेत्रले समेत फाइदा लिने बताइन्। उनले प्रदेशबाट समेत कार्ययोजना बनाएर इलामका पर्यटकीय गन्तव्यमा लगानी गर्ने वातावरण तयार गर्न आफू तयार रहेको बताइन्।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता परियार, सूर्योदय नगरप्रमुख रणबहादुर राई, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी लगायतले आफ्नो भनाइ राखेका थिए। कार्यक्रममा सहभागी हुन खनाल र आले सहितको टोली नेपाल एयरलायन्सको जहाज चढेर इलाम आएको थियो। 

एमालेका जनप्रतिनिधि आएनन्

इलाम नगरपालिकाभित्र विमानस्थल निर्माण भए पनि त्यो क्षेत्रका नेकपा एमालेबाट निर्वाचित कोही पनि जनप्रतिनिधि कार्यक्रममा आएनन्। कार्यक्रममा नेकपा एमाले इलाम अध्यक्ष समेत रहेका इलाम नगरप्रमुख महेश बस्नेतलाई वक्ताको रूपमा राखिएको थियो।

उनी कार्यक्रम स्थलमै नआएपछि सूर्योदय नगरप्रमुख रणबहादुर राईले मन्तव्य राखे।

पूर्वी पहाडका जनतालाई सहज

७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग सहितको विमानस्थल निर्माणले पूर्वी पहाडका बासिन्दालाई हवाइजहाज चढेर काठमाडौँ पुग्न सहज हुने भएको छ।

समुद्री सतहबाट १ हजार १५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्रायः घाम लागिरहने भएकाले विमानस्थलका लागि उपयुक्त भएको बताइएको छ।

यो विमानस्थलले पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्जीलिङ, सिक्किम लगायतका बासिन्दाका लागि सहज हुने ठानिएको छ।

२०६८ सालमा शिलान्यास गरेर निर्माण थालिएको विमानस्थलमा फागुन ८ देखि इलाम–काठमाडौं नियमित उडान हुँदै छ।

इलाम नगरपालिकाले तारा एयर प्रालिसँग उडानका लागि सम्झौता गरेको छ। अब ३ महिना प्रत्येक आइतबार इलाम–काठमाडौँ उडान हुने जनाइएको छ। तारा एयरको १६ यात्रु क्षमताको जहाज यहाँबाट चल्नेछ। इलाम–काठमाडौँ एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ तोकिएको छ।

गत चैत अन्तिम साता नै विमानस्थल तयार भए पनि कोरोनाको महामारी रहेकाले एक वर्षपछि सुरु हुन लागेको हो। विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विमानस्थल निर्माणमा स्थानीयस्तरको करिब ४ करोड रुपैयाँ लगानी गरिएको इलाम नगरपालिकाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.