|

काठमाडौं :  स्वदेशमा रोजगारीको अवसर नपाएर रोजीरोटीका लागि वैदेशिक रोजगारीमा जाने नेपालीहरू समस्यामा पर्न थालेका छन्।  

एकजना नेपाली वैदेशिक रोजगारीमा जाने तयारी गर्दादेखि नेपाल फर्कने बेलासम्म विभिन्न किसिमको ठगीमा पर्ने गरेका  छन्। सरकारी तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जाने नेपाली व्यक्ति तथा म्यानपावर कम्पनीबाट  बार्षिक ३ अर्ब ठगी हुने गरेको छ। 

त्यस्तै सरकारले ७ वर्ष अगाडिदेखि लागु गरेको फ्रि भिसा फ्रि टिकट (१० हजारमा) नेपाली हालसम्म उड्न पाएका छैनन्। अर्कोतिर म्यानपावर व्यवसायीले श्रमिकसँग बढी पैसा उठाएर विभागमा १० हजारको बिल पेस गर्दै आएको विषय गम्भीरताका साथ उठाउनु पर्ने देखिएको छ।  

विश्वभरी फैलिएको कोरोना महामारीले त झन वैदेशिक रोजगारीमा ठूलो चुनौती देखिएको छ। सोहि चुनौतीका चाङमाथि भर्खरै मात्र वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी शेषनारायण पौडेलले सम्हालेका छन्। वैदेशिक रोजगारीलाई व्यवस्थित,सुरक्षित र छिटो छरितो बनाउनका लागि उनको आगामी योजना र व्यवस्थापन लगायतका विषयमा थाहाखबरकर्मी सञ्जिता आचार्यले विभागका महानिर्देशक पौडेलसँग गरेको कुराकानीको अंश :

नेपालमा श्रम बजारको अवस्था कस्तो छ ? 

नेपाल श्रम सर्वेक्षण अनुसार नेपालमा बेरोजगारी दर ११.४ प्रतिशत छ। श्रमको अल्प उपयोग दर ३९.३ प्रतिशत छ। ६१.५ प्रतिशत जनसंख्या औपचारिक रोजगारीका क्षेत्रभन्दा बाहिर रहेको अबस्था छ। प्रति वर्ष ५ लाख थप श्रमशक्ति श्रमबजारमा प्रवेश गर्छन्। हालको अवस्थामा बेरोजगार युवाहरूको संख्या उल्लेख्य  रुपमा बृद्धि भएको छ।

अहिलेको अबस्थामा हेर्दा नेपालको जनसंख्याको ठुलो हिस्सा रोजगारीको खोजीमा देश छोडेर विभिन्न देशमा रोजगारी गर्दै आएका छन्। केहि समयदेखि विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेश जानेको संख्यामा कमि आएको छ। ती युवाहरुले स्वदेशमा रोजगारीको राम्रो अवसर भने पाउन सकेका छैनन्। 

देशमा रहेको उर्जा शिल जनशक्तिलाई उपयोग गर्न सकेको अबस्था छैन्।  देशमा रोजगारीको अवसर अभावकै कारण युवा शक्ति देशमा देखिन छाडिसकेका छन्। यसरी विदेशिने युवा जनसंख्यालाई कसरी स्वदेशमा राखेर रोजगार दिने विषय यतिबेला चुनौतीको रुपमा देखा परेको छ। यस वर्गलाई विभिन्न पेसा र व्यवसायमा संलग्न गरी उत्पादन वृद्धि गर्न सके बेरोजगारी समस्या समाधान गर्न सकिन्छ। यद्यपी सरकारले यस विषयमा विभिन्न किसिमले पहल गर्दै आएको छ। 

यतिबेला कोरोना महामारीको प्रभाव श्रम बजारमा कस्तो छ ? विभागले कसरी काम गर्दै आएको छ? 

कोभिड–१९ महामारीको असर विश्व श्रम बजारमा देखिएको छ। दुई वर्षभन्दा बढी समयदेखि कोराना भाइरस महामारी कायम रहसँगै विशेष गरी आर्थिक क्षेत्र प्रभावित  जस्तै बनेको छ। जसका कारण यसको प्रत्यक्ष असर श्रम र रोजगारीमा देखापरेको छ। कोरोनाका कारण धेरै रोजगारदाता कम्पनीमा कार्यरत श्रमिकले रोजगारी गुमाए। सेवा क्षेत्र, उत्पादन र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू बढी प्रभावित भएका छन्। यसबाट वैदेशिक रोजगार क्षेत्र पनि प्रभावित भएको छ। कोरोनाकै कारण वैदेशिक रोजगारीमा कार्यरत कैयौँ नेपाली स्वदेश फर्किएको अवस्था छ।

यसरी महामारीका समयमा स्वदेश फर्किएका अधिकांश नेपाली रोजगारीका लागि पुन विदेशिएका छन्।  वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ। त्यसैले कोरोना महामारी चल्दै गर्दा पनि स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालनमा ल्याउनु पर्ने अवस्था छ।  

वैदेशिक रोजगारीलाई चलायमान बनाउनका लागि व्यक्तिको उपस्थिति बिना अर्थात प्रविधि मैत्री सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ। 

विभागको काम कारबाहीलाई थप प्रभावकारी बनाउनका  कस्ता योजना छन्?

मैले वैदेशिक रोजगार विभागको जिम्मेवारी सम्हालेको एक साता पनि पुगेको छैन्। तर,बाहिरबाट हेर्दा नै यस क्षेत्रमा समस्या देखिन्छ।  विगतका समयदेखि  नै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने नाममा प्रक्रियामाथि प्रक्रिया कानुन माथि कानुन माथि कानुन  निर्माण गरियो।  तर व्यवस्थित बनाउन सकिएन। 

कानुन संबाद तरिकाले वैदेशिक रोजगारीमा जान्छु भन्ने युवाका लागि धेरै समय,लगानी खर्चनु पर्ने अबस्था छ। वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई सहज बनाउनु पर्छ। यसमा भएको (दोहोरो,तेहरो) झन्झटिलो प्रक्रियाका कारण भिजिट भिसा प्रयोग गर्न थालेका छन् जुन विकराल समस्याको रुपमा देखा परेको छ। पहिलो कुरा वैदेशिक रोजगारीमा रहेका चरण वा प्रक्रिया घटाउने,सम्पुर्ण काम अनलाइन गर्नू पर्छ। 

त्यस्तै गरी पछिल्लो समय वैदेशिक रोजगारीमा ठगी अलपत्र पर्ने गरेका छन्, भिजिट भिसामा गएर वर्किङ भिसामा बसेका छन्। सरकारले वैदेशिक रोजगारीलाई  व्यवस्थित गर्नका लागि ट्रयाकिङ सिस्टम  लागु गर्नु पर्छ। वैदेशिक रोजगारीमा जाने फर्कने,म्यानपावर र रोजगारदाताको सम्पुर्ण विवरण अनलाइन सिस्टममा हुनु पर्छ।  जसले वैदेशिक रोजगारीमा गएका श्रमिकको समस्या समाधान गर्न सहयोग गर्छ। 

विभागमा भनौं या श्रम क्षेत्रमा देखिएको समास्या समाधान गर्नका लागि विभिन्न चरणमा काम गर्ने योजना बनाएको छु।  अर्थतन्त्रको  आधा हिस्सा ओगटेको वैदेशिक रोजगारी क्षेत्रलाई क्षेत्रलाई सुरक्षित  व्यवस्थित र मर्यादित बनाउनु पर्ने आवश्यकता छ। जसलाई सहज बनाउनका लागि प्रविधि मैत्री बनाउन जरुरी छ। त्यसै अनुरुप विभागले पुन श्रम स्वीकृतिलाई अनलाइन मैत्री बनाएको छ।
  
वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै गएका छन्, कम गर्न कस्ता योजना छन्? 

वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा पनी वर्षमा  १ अर्बको हाराहारीमा ठगी भएको देखाउँछ। श्रम स्वीकृति लिएर गएकाको पनि ठगीमा पर्ने गरेका छन्। छिटो गर्ने र अर्काको भरमा पर्दा ठगीका  घटना बढेको हो। सम्पुर्ण प्रक्रिया  पुरा गरी गएकाे खण्डमा  वैदेशिक रोजगारी नियमावली २०६४ श्रम स्वीकृति लिएर गएका श्रमिकको क्षतिपुर्ति उद्धार गर्दै आएकाे छ। वैदेशिक रोजगारको ठगीको उजुरी दिनानुदिन परेको छ। कानुनी प्रक्रिया झन्झटिलो भएकाले  ठगी बढेको हुनसक्छ। त्यसैले प्रक्रिया र लागत घटाउने तयारीमा छौ। 

भिजिट भिसा  विभागको कार्यक्षेत्र पर्दैन। तर म्यानपावर व्यवसायीले  भिजिट भिसामा  कामदार पठाएको खण्डमा विभागले निगरानी कारबाही गर्दै आएको छ। पछिल्लो समय भिजिट भिसाको समस्या जटिल बन्दै गएको छ। 

म्यानपावर व्यवसायीले श्रमिकबाट धेरै पैसा उठाउने र विभागमा पेस गर्दा १० हजारको बिल पेस गर्छन भन्ने सुनिन्छ नी ?
 
सरकारले  योजना  ल्याएको ७ वर्षमा मलाई लाग्छ ७ जना  नेपाली  श्रमिक पनि  फ्रि भिसा फ्रि टिकट अर्थात १० हजार शुल्कमा उड्न पाएका छैनन्।  अस्वाभाविक शुल्क लिएको खण्डमा विभागमा उजुरी गर्दा विभागले कारबाही गर्छ। सरकारले फ्रि भिसा फ्रि टिकट  लागु गर्याे। १० हजारमा कामदार पठाउने  योजना बनायो। तर,यसको व्यावहारिक पाटो हेरिएन। यसमा अब पुन विचार गर्नू पर्ने अबस्था छ।  यस विषयमा मन्त्रालयले काम गरिरहेको छ।  

श्रमिक र कम्पनीबीच झुटो सम्झौता गराई विदेशमा पठाइ श्रमिकलाई अलपत्र पार्ने वा ठगी गरिरहेका म्यानपावर व्यवसायीलाई कस्तो  कारबाही हुन्छ?

भिसा अनलाईनमा चेक गर्न सकिन्छ।  नक्कली हुने  कम सम्भावना  छ। तर,पनि सम्झौता पत्रमा एक किसिमको सम्झौता र व्यवहारी रुपमा अर्कै  भएको गुनासो आउने गरेका छन्। राजदूतावास वा विभागमा कुनै पनि माध्यमबाट उजुरी गर्ने सक्ने छ। दुतावासले वा विभागले कारबाही गर्न सक्ने छ।  यसरी ठगी गर्ने  रोजगारदाता कम्पनीलाई कालो सुचिमा राखिन्छ। त्यस्तै गरी म्यानपावर व्यवसायलाई पनि कारबाही गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.