लार्के र यांग्रीको अध्ययन हुँदै

|
फाइल तस्वीर

काठमाडौं : बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मर्मत यतिखेर चिनियाँ कम्पनी सिनो हाइड्रोले धमाधम मर्मत गरिरहेको छ। आयोजनाका अनुसार अहिले बाढीले पुरिएको गेग्य्रान निकालिँदै छ। तर, गेग्य्रान र माटो निकाल्दै गर्दा ठूला ढुंगा निस्किएपछि काम गर्न कठिन भएको छ।

आयोजना प्रमुख वासुदेव पौडेलले त्यस्ता ठूला ढुंगा विस्फोट गरेर फुटाइरहेको जानकारी दिए। ‘पुरिएको टनेलको माथिल्लो भागकाे लेदो सबै हटाएपछि टनेल देखिएकाे छ,’ उनले भने, ‘अब टनेल खन्ने हो, खन्दै गर्दा गहिराइमा पुग्यौं, ठुल्ठूला ढुंगा भेटिए, एक्स्काभेटरले पनि पन्छाउन नसक्ने खालका भेटिए, विस्फोट गरेर फुटाउन शुरु गरेका छौँ।’

उनका अनुसार माटो, लेदो सबै निकालेर टनेल भेट्न अझै १५ दिनजति समय लाग्ने छ। अहिले १० वटा डोजर प्रयोग गरिएको छ। हालसम्म करिब ६० हजार घनमिटर माटो निकालिएको उनले बताए।

आउला वैशाखमा मेलम्ची पानी ?

आयोजना शुरु भएको दुई दशकपछि गत चैत १५ मा काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिँदै आएको थियो।

तर, गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले खानेपानीको हेड वर्क्समा धेरै क्षति पुगेको छ भने सुरुङको डाइभर्सन माटोले पुरिएको छ। आयोजनामा बाढीले १ अर्ब रूपैयाँभन्दा बढीको क्षति पुगेको आयोजनाको आँकलन छ।

आयोजनामा क्षति पुगेको ७ महिनापछि मर्मत माघको तेस्रो साताबाट शुरु भएको छ। सरकारले पहिलो चरणमा मर्मत गर्न ३६ करोड रूपैयाँ विनियोजन गरेको छ। आगामी वैशाखसम्ममा अस्थायी रुपमा त्यहाँको खानेपानी उपत्यकामा ल्याउने सरकारको योजना छ। त्यस वेलासम्ममा ल्याउन सकिने आयोजना प्रमुख पौडेल बताउँछन्। ‘काम धमाधम गरिरहेका छौँ, कति सुरुङ पुरिएको छ भनी माटो फालिसकेपछि मात्र थाहा हुन्छ, १५ दिनभित्रमा टनेल देखिन्छ।’

​मेलम्चीको पानी नआएपछि अहिले काठमाडौं उपत्यकामा पानीको समस्या फेरि बल्झिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार यतिखेर उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर छ। तर अहिले बोरिङ, कुवालगायत स्रोतबाट दैनिक १० देखि ११ करोड लिटर मात्र पानी आपूर्ति भएको छ। 

पानी आए पनि वर्षातको समयमा बन्द गरिने

खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकाल वैशाखसम्ममा पानी उपत्यकामा ल्याए पनि फेरि वर्षातको समयमा बन्द गरिने बताए। 

‘वर्षातको वेला अझै पनि पहिरोको ढुंगा, माटो, लेदो आउन सक्छ,’ उनले भने, ‘यस्तो सम्भावना देखिएको छ, ती माटो फेरि बगेर आयो भने त पानी बन्द नै गर्नुपर्छ।’

लार्के र याँग्रीकाे पनि अध्ययन हुँदै

सरकारको मेलम्ची खानेपानीपछि सिन्धुपाल्चोककै याँग्री र लार्के खोलाबाट उपत्यकामा पानी ल्याउने योजना छ। यस विषयमा अहिले अध्ययन भइरहेको खानेपानी मन्त्रालयका प्रवक्ता ढकालले बताए।

‘पानीबारे एशियाली विकास बैंक (एडिबी)ले अध्ययन गरिरहेको छ, अध्ययन प्रतिवेदन आइसकेपछि मात्रै काम अघि बढ्छ,’ उनले भने। याँग्री, लार्के र मेलम्चीको १७/१७ करोड गरी उपत्यकाभित्र कुल दैनिक ५१ करोड लिटर खानेपानी ल्याउने सरकारको योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.