|

मानव सभ्यताको विकासदेखि नै मनुष्य जाति फरक फरक धर्म, परम्परा, आस्था, विश्वास र संस्कारको आधारमा जीवन विकास र सभ्यताको विकास गर्दै आएको छ।

हिन्दु, मुस्लिम, जैन, बौद्ध, किरात, बहाई आदि जुन धर्म र भूगोलको आधारमा होस्, सबै धर्मको आशय र सन्देश हो मानिस जाति आफ्नो स्वाभाविक गुणवत्तामा बाँचून् र समाजमा योगदान दिन सकून्।

व्यक्तिगत विकास, समाज र राष्ट्र विकासमा आफ्नो धार्मिक अर्थात् स्वभावमा अडिग रहेर कर्तव्य निर्वाह गर्न सकियोस्। धर्म, अध्यात्म या परम्परा आफ्नो स्वभावलाई स्थिर राख्दै मानव कल्याणका निम्ति मनुष्यको मानवीय पहिचान झल्काउने अभ्यास हो।

जहाँ धर्म हुन्छ त्यहाँ मात्र विज्ञानको प्रगति सम्भव हुन्छ र मानवीयताको विकास हुन्छ।

गीतामा भनिएको छ– ‘यतो धर्मस्ततो जयः’ अर्थात् जहाँ धर्म छ त्यहाँ  विजय सम्भव छ। यहाँनेर विजयको अर्थ एक अर्काको धर्मसँग युद्ध जितेर विजयी बन्नु होइन कि आफैंले आफ्ना रिपुहरू र हानिकारक विचार एवं अभ्यासमाथि विजय प्राप्त गर्नु हो।

सांसारिक अभ्यास र व्यवहारमा धेरैजसो धर्म, सम्प्रदायले आफ्नो धर्म र संस्कार मात्र सही अरूको गलत भनेर आफ्नै मात्र डम्फु बजाउने गरेको भेटिन्छ।

यस्तो अवस्थामा हालै अन्तरधार्मिक सञ्जाल (निरन नेपाल) ले आयोजना गरेको अन्तरधार्मिक सद्भाव सप्ताहको अन्तरसंवादात्मक कार्यक्रममा विभिन्न धर्म, अध्यात्म, परम्परा, राजनीतिक नेतृत्व र मानव अधिकारका निम्ति काम गर्ने व्यक्तिहरूको धारणा सुन्दा लाग्यो मानवबीचको सद्भाव र सामाजिक सहयोग नै धर्मको वास्तविक अर्थ रहेछ।

बाल विवाहमा न्यूनीकरण

समाजमा विद्यमान बालविवाह, छाउपडी लगायतका सामाजिक हानिकारक अभ्यासमा लामो समयदेखि नागरिक समाजमा सचेतना जगाउँदै आइरहेको निरन नेपालको अभियान उदाहरणीय अभियान बन्न पुगेको पाइन्छ।

सबै धर्म र आस्थालाई एकै थलोमा समेटेर राज्य र नागरिक नेतृत्व, राजनीतिक नेतृत्व पुग्न नसकेको जिल्ला र समुदायमा पुगेर धार्मिक अगुवाहरूले कसरी उत्प्रेरणा जगाउँदै परिवर्तन र रूपान्तरण ल्याउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ।

नेपालका विभिन्न जिल्लामा पुगेर बहुधार्मिक समुदायको परम्परागत मानसिकतालाई उजागर गर्दै जनचेतना जगाउने कार्य गरेको छ।

कुनै पनि धर्म र शास्त्रमा बालविवाहको उल्लेख छैन। धर्मको नाम लिएर असामाजिक र अन्यायका काम गर्नेहरूलाई धर्म र आस्थासँग डर लाग्छ भने आफ्नो धर्म र शास्त्रका पाना पल्टाउन अनुरोध गर्दै मानसिक सोचाइमा परिवर्तन ल्याउन सफल भएका धेरै उदाहरण रहेछन्।

एउटा विद्यालय स्थापना गर्न या अस्पताल निर्माण गर्न धार्मिक गुरुहरू, पण्डित र पुरेत मिलेर सप्ताह र पुराण लगाएर अर्थ संकलन गर्न सक्छन् भने त्यस्तै सामूहिक कार्यक्रम आयोजना गरेर असामाजिक र हानिकारक अभ्यास धर्मविपरीत छ भनेर सन्देश दिनासाथ मानसिकतामा परिवर्तन आउन सक्ने यथार्थता प्रस्तुत भए।

कतिपयमा धर्मले रजस्वला हुनुअघि कन्यादान गर्नु नै धर्म हो भन्ने मानसिकता छ। आर्थिक अवस्था कमजोर भएका परिवार र समुदायमा छोरीलाई उमेर हुन्जेल पालेर राख्नुभन्दा बिहे गरेर पठाइदिने मानसिकता व्याप्त रहेको अवस्थामा धार्मिक अगुवाहरू पनि राष्ट्र विकासका संवाहक बन्न सक्छन् भन्ने उदाहरण प्रस्तुत भएको थियो।

दान दिनु धर्म हो तर कन्यादानको नाममा उमेर नै नपुगेका छोरीलाई बिहे गरेर पठाउनु र तिनै बालिकालाई बुहारीको रूपमा काममा लगाउनु बालश्रम शोषण समेत हो।

विभिन्न धर्म र आध्यात्मिक नेतृत्वको सहयोगमा मानसिकता विकास र सकारात्मक सोचको सन्देश दिन सकेका उदाहरण निरन नेपालले प्रस्तुत गर्नु एउटा नयाँ अभियानको रूपमा प्रशंसनीय थियो।

यो धारणा अभियन्ताहरूको मात्र होइन। यसमा विभिन्न प्रदेशका नगरपालिका मेयर, सभासद्, मानवअधिकारकर्मी, योजना आयोगका प्रतिनिधि र नागरिक अभियन्ताले समेत ऐक्यबद्धता जनाउनु उत्साहप्रद कुरा हो।

जीविकोपार्जन रूपान्तरण

आर्थिक अभावको कारण छोरीलाई शिक्षा, स्वास्थ्य, पोषण र मातृत्व सुरक्षा दिन असम्भव भएका धारणा अभिभावक र समुदायबाट प्रस्तुत भएका कारण त्यसको समाधानको लागि जीविकोपार्जनका उपाय र सम्भावनाको खोजी गरिनुपर्छ।

यसका लागि स्थानीयस्तरमै उपलब्ध स्रोत र साधनको समुचित प्रयोग गरी कसरी रोजगारी वृद्धि गर्ने, सीपमूलक कार्यको विकास गर्ने र मानव संसाधनको समुचित उपयोग गर्न सकिन्छ।

सरकारी निकाय, अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको सहयोग लिएर सबैभन्दा जोखिम समूहमा परेका व्यक्ति, बालबालिका र समुदायको उत्थानमा स्रोत परिचालन गरिनु पर्छ। जसबाट शिक्षा, स्वास्थ्य र समावेशितालाई सबैले उपभोग गर्न पाउने आधार निर्माण गर्न धेरै सहयोग भएका धेरै उदाहरण छन्।

धर्म र आस्थालाई आधार मान्ने हो भने पनि ईश्वरको चाहना सबै बालबालिका र मानव जातिमा प्रेम, हेरचाह र सद्भाव फैलाउँदै आशाको ज्योति जगाउनु प्रत्येक धर्मको मूल मर्म हो भन्ने कुरालाई निरन नेपालसँग आबद्ध धार्मिक अगुवाहरूको सोचाइ पाइन्छ।

विश्व सबल दृष्टिकोण

निरन नेपालका छलफल मञ्चहरूमा धार्मिक आस्था र परम्परा अस्तित्वले प्रदान गरेको मानव शक्तिलाई रूपान्तरण र विकासमा कसरी सशक्त रूपमा प्रस्तुत गर्ने त्यसको अवधारणा र अभ्यासका नमुना समेत प्रस्तुत गर्दै आएको देखिन्छ। जब व्यक्तिको दृष्टिकोण र विचारमा सकारात्मक परिवर्तन आउँछ तब विकास र समृद्धिका ढोका खुल्दै जानेछन्।

आफ्ना सन्तानको शिक्षा, स्वास्थ्य, पोषण, रोजगारी र न्यूनतम आवश्यकता पूर्ति होस् भन्ने हरेक अभिभावकको चाहना हुन्छ तर जोखिम र सीमान्तकृत समुदायमा यो चाहना पूरा नहुने अवस्था भेटिन्छ। यसमा राज्यको आँखा पुग्न सकेन भने धार्मिक अगुवा र नागरिक अभियन्ताको भूमिका के त?

यसमा निरन नेपालले धेरै जनचेतना जागृत गराउने प्रयासमा निरन्तर लागिरहेको महसुस गर्न सकिन्छ। दृष्टिकोण भनेकै कुनै पनि कुरालाई वास्तविक रूपमा बुझ्ने र त्यसलाई व्यवहारिक अर्थ दिनु हो।

प्रकृतिको संरक्षण गर्दै, वातावरण शुद्धतामा सजग हुँदै मानव जीवनमा सकारात्मक प्रभाव पार्ने कर्मको अभ्यासलाई निरन्तरता दिनु विश्व सबलीकरणको मर्म हो। यसमा निरन नेपालले जोखिममा परेका समुदायलाई समेटी प्रशिक्षण दिने र व्यावहारिकतामा रूपान्तरण गर्ने अभ्यास अघि बढाउँदै छ।

ईश्वरले दिए पाइन्छ भन्ने परम्परागत धार्मिक सोचलाई परिवर्तन गर्दै पुरुषार्थ गरे जीवनस्तरमा सुधार आउँछ भन्ने मर्मलाई कर्मयोगमा प्रेरित गर्नु महत्त्वपूर्ण उदाहरण मान्न सकिन्छ। भाग्यवादबाट कर्मवादमा प्रेरित गर्नु अनि प्रशिक्षित गर्नु विवेकपूर्ण मानव कल्याण कार्यमा आउँछ।

सन् २००८ देखि निरन्तर अभियानको रूपमा लिएको निरन नेपाल यसमा अलिकति भए पनि सफल भएको पाइन्छ। ईश्वरको सृष्टि र मानवको कर्तव्य संसारमा विवेकको प्रयोग र अन्तस्करणमा शान्ति, प्रेम र बन्धुत्व विकास हो भन्ने मर्मलाई बहुधार्मिक दृष्टिकोणबाट प्रष्ट्याउनु उदाहरणीय अभियान मान्नुपर्छ।

माग्ने च्यादर होइन‚ आर्जनको औजार बोकौँ

विकास‚ परिवर्तन र रूपान्तरण भोको पेटले आउन सक्दैन। शान्ति र प्रेमको भाव भोको पेट र असहज जीवनमा प्राप्त हुन् सक्दैन। संस्कार, रचनात्मकता र परोपकारविना समृद्धि पनि सम्भव छैन। 

स्रोत साधन र शिक्षा अनि सीप छैन भनेर जिम्मेवारीबाट पन्छिन पनि मिल्दैन। यसमा धार्मिक अगुवाको सहभागिता र नेतृत्वमा कर्म योग, पुरुषार्थ जरूरी हुन्छ। समाजमा भनेको मान्ने, डरले भनौं या आस्थाको हिसाबले धर्म गुरुहरूको महत्त्वपूर्ण भूमिका रहन्छ।

एउटा गाउँमा एकजना व्यक्ति थिए, उनलाई आफू गरिब भएकोमा धेरै दुःख लाग्थ्यो। सबैसँग व्यक्त गर्थे, मसँग केही छैन। नजिकै मन्दिरका पुजारीले यो कुरा सधैं सुन्थे। एकदिन ति पुजारीले व्यक्तिलाई सोध्नुभो– वास्तवमै तिमीसँग केही छैन त ?

उनले भने – यही एउटा मैले ओढेको च्यादर त छ मसँग। त्यसपछि पुजारीले उनको त्यो च्यादर पनि लिए र बजारमा लगेर बेचिदिए। ती व्यक्ति अलमल परे, के गर्न खोज्दै छन् यी पुजारीले।

एकछिन पछि ती पुजारीले च्यादर बेचेको पैसाले बन्चरो किनेर ल्याएर दिए र भने– अब जंगल जाऊ, दाउरा काटेर लेऊ, बेच र पैसा कमाऊ। ती व्यक्तिले त्यसै गरे।

नभन्दै ३– ४ महिनाको बिचमा उनले केही पैसा जम्मा गर्न सके। राम्रो कोठा खोजेर बसे। खानपान लवाइ राम्रो भयो र झन्डै २ वर्षमा घडेरी किनेर घर बनाए।

एउटा बोध कथा हो यो तर आफूसँग भएको सीप र स्रोत नै हाम्रो मुख्य साधन हो। कर्ममा विश्वास गरौं भाग्यमा होइन।

ईश्वरले हामीलाई सिर्जना गर्नु नै उसले दिएको मस्तिष्क, सीप, हृदय, सृजनात्मक सोचले हामीलाई विकसित गराउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.