|

काठमाडौं : साताको पहिलो दिन आज सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार ३९.४० अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार ६९३.१० को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि आज ४.९९ अंकले घटेर ५१३.६४ को विन्दुमा झरेको छ। आज कारोबार रकम चार अर्ब रुपैयाँभन्दा बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटा मात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ। अन्य समूह ०.४२ प्रतिशतले उकालो लागेको छ।

आज जीवन बीमा समूह सर्वाधिक २.४४ प्रतिशतले ओरालो लागेको छ भने उत्पादन तथा प्रशोधन समूह २.३७ प्रतिशतले घटेको छ। बैंकिङ समूहमा १.४७ प्रतिशत, व्यापार समूहमा १.९५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४३ प्रतिशत, विकास बैंक समूहमा १.९३ प्रतिशत, वित्त समूहमा २.०२ प्रतिशतले ओरालो लागेको आज निर्जीवन बीमा समूहमा २.२५ प्रतिशत, लघुवित्त समूहमा १.२६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.१२ प्रतिशत र लगानी समूहमा १.८८ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरू

आइतबार नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ७१ लाख २२ हजार २९९ कित्ता सेयर चार अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँमा किनबेच भएका छन्। जीवन विकास लघुवित्तको सर्वाधिक ५८ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यस्तै नेपाल टेलिकमको १९ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको १७ करोड १२ लाख रुपैयाँ, अपी पावरको १६ करोड ५९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १५ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै नेसनल हाइड्रोपावरको १२ करोड ३० लाख रुपैयाँ, एचआईडीसीएलको ९ करोड २७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ८ करोड ६४ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड १८ लाख रुपैयाँ र निफ्राको ८ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज युनाइटेड इदी मर्दीका सेयरधनीहरूले सर्वाधिक कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। तेह्रथुम पावरको सेयरमूल्यमा पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इन्स्योरेन्सका सेयरधनीहरूले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्य ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.