निर्णय पुनःविचार गर्न सरोकारवालाको माग

|

सोलुखुम्बु : सातवटा मन्त्रालयलाई फुटाएर १३ वटा बनाएको प्रदेश १ सरकारले बागवानी केन्द्र फाप्लु सहित कृषि क्षेत्रका ५ वटा फार्म कृषि ज्ञानकेन्द्रमा समायोजन गाभेको छ।

गत माघ २३ गते प्रदेश १ को मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको कृषि मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले जानकारी दिए।

यो क्षेत्रका विज्ञले भने बागवानी केन्द्रलाई कृषि ज्ञान केन्द्रसँग समायोजन गर्ने प्रदेश १ सरकारको निर्णय पुनःविचार गर्नुपर्ने बताउँछन्। प्रविधि क्षेत्रको कृषि फार्मलाई प्रशारसँग सम्बन्धित ज्ञानकेन्द्रमा समायोजन गर्ने निर्णय समय सान्दर्भिक नभएको उनीहरूको भनाइ छ। 
 

बागवानी र कृषि ज्ञानकेन्द्रको उद्देश्य फरक

हिउँदे फलफूलको बिरुवा उत्पादन तथा अनुसन्धान गरी हिमाली तथा पहाडी क्षेत्रमा फलफूलको उत्पादन बढाउने उद्देश्यले २०३४ सालमा सोलुखम्बुको फाप्लुमा स्थापना भएको बागवानी केन्द्र कृषकसँग प्रत्यक्ष जोडिएको र महत्त्वपूर्ण कार्यालय रहेको नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालयका पूर्वसचिव योगेन्द्र कार्कीको भनाइ छ।

प्राविधिक ज्ञान तथा सीप सहित कृषकलाई सहयोग गर्ने केन्द्रलाई कृषि प्रशारको क्षेत्रमा काम गर्ने कार्यालयमा लगेर गाभ्नु कुनै पनि कोणबाट सान्दर्भिक नभएको उनको भनाइ छ।

'यदि प्रदेश सरकारले बागवानी केन्द्रलाई कृषि ज्ञान केन्द्रसँग एकै ठाउँमा राख्ने निर्णय गरेको भए त्योविना अध्ययन गरिएको निर्णय मानिन्छ'‚ पूर्वसचिव कार्कीले भने, 'ज्ञानकेन्द्रलाई दुई वा सोभन्दा बढी जिल्लामा पायक पर्ने ठाउँमा राख्न सकिन्छ तर फार्मको रूपमा रहेको बागवानीलाई त्यसरी कतै लग्नु र गाभ्नु समय सान्दर्भिक होइन, त्यसो गर्नु हुन्न।'

मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले एकातिर मन्त्रालयको संख्या बढाउँदै लगेको छ भने अर्कोतिर किसानसँग प्रत्यक्ष सरोकार रहेको कृषि क्षेत्रका प्राविधिक कार्यालय घटाउन थाल्नु अवैज्ञानिक कार्य भएको प्रदेश सांसद एवम् नेकपा एमाले प्रदेश १ का संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको भनाइ छ।

सामाजिक सञ्जाल फेसबुक पेजमा उनले लेखेका छन्, 'बागवानी र कृषि ज्ञानकेन्द्र एउटै होइन भन्ने परमादेशबाट निर्माण र टालाटुलीले बनेको बेकामे सरकारलाई होक्का रहेनछ ? गजब !!! सन्दर्भ मन्त्रीलाई पैसा जोहो र कार्यकर्ता पोस्ने काइदा।'

सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (सुरवीर)ले पनि प्रदेश १ सरकारको उक्त निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए।

कृषिमा आधुनिकीकरण तथा यान्त्रीकरण सहित आत्मनिर्भरको सवाल उठिरहेका वेला प्रदेश सरकारले गरेको निर्णय पुनःविचार हुनुपर्ने मागसहित प्रदेशका कृषिमन्त्रीदेखि मुख्य मन्त्रीलाई समेत फोन गरी ध्यानाकर्षण गराएको उनको भनाइ छ।

हावापानी अनुसारका नयाँ नयाँ प्रजातिका फलफूलका विरुवा उत्पादनमा खोज अनुसन्धान सहित कृषकलाई समेत आकर्षित गराउने खालको प्रवर्धनात्मक काम गर्नुपर्नेमा गलत निर्णय गर्नु प्रदेश सरकारको गम्भीर कमजोरी रहेको उनको भनाइ छ। जसको असर भविष्यमा पर्ने भएकाले तत्काल पुनःविचार हुनुपर्नेमा सांसद राईले जोड दिए।

बागवानी केन्द्र फाप्लुका प्रमुख उपेन्द्र ठाकुरले पनि कृषि ज्ञानकेन्द्र र बागवानी फार्मको कार्य प्रकृति फरक भएकाले एकै ठाउँमा हुँदा काम गर्न गाह्रो हुने बताए।

बागवानी कार्यालयले हिउँदे फलफूल स्याउ, नास्पाती, आरुबखडा, ओखर र किवी लगायतका बिरुवा उत्पादन र बिक्री गर्ने कार्यक्षेत्र रहे पनि ज्ञानकेन्द्रले अनुदानको कार्यक्रम सञ्चालन गर्ने भएकाले यसको प्रकृति नै फरक भएको उनले प्रष्ट पारे। तर मन्त्रालयको परिपत्रअनुसार आफूहरूले काम गर्नुपर्ने उनको धारणा छ।

यस्तै पूर्ववागवानी विकास अधिकृत एवं बागवानी विज्ञ चन्द्रमान श्रेष्ठले प्रदेश १ सरकारको उक्त निर्णय अपरिपक्क भएको बताए।

छुट्टै कार्यालयबाट किसानलाई सेवा प्रवाह गर्दै आएका फार्मले अब कृषि ज्ञानकेन्द्रको एउटा एकाइबाट सेवा दिने गरी खुम्च्याउनुले कृषि क्षेत्रप्रति प्रदेश सरकारको दृष्टिकोण उजागर भएको श्रेष्ठको भनाइ छ।

राजनीतिक भागबण्डा मिलाउनका लागि प्रदेश १ सरकारले ७ मन्त्रालयलाई फुटाएर १३ वटा बनाएको छ तर प्रदेश मातहत रहेका कृषि क्षेत्रका फार्म केन्द्रअन्तर्गतका ८ वटा कार्यालयमध्ये ५ वटा सम्बन्धित जिल्लाका कृषि ज्ञानकेन्द्रमा समायोजन गरेको छ।

मन्त्रालयको संख्या बढाएपछि लेखा र प्रशासनको कर्मचारी अभाव भएकाले प्रदेश अन्तर्गतका २ वटा कार्यालय खारेज र कृषिअन्तर्गतका फार्म क्षेत्रका ५ वटा कार्यालय प्रदेश सरकारले समायोजन गरेको जनाएको छ।

अनावश्यक खर्च बढाउन जान्ने सरकारले अत्यावश्यक कार्यालय घटाउने कार्य गर्नु निन्दनीय भएको प्रदेश सांसद एवम् नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीको भनाइ छ।

प्रदेश सरकारले बागवानी केन्द्र जौबारीलाई कृषि ज्ञानकेन्द्र इलाममा र बागवानी केन्द्र फाप्लुलाई कृषि ज्ञानकेन्द्र सोलुखुम्बुमा, रेशम विकास कार्यक्रम धनकुटालाई कृषि ज्ञानकेन्द्र धनकुटामा, रेशम प्रशोधन कार्यक्रम इटहरीलाई कृषि ज्ञानकेन्द्र सुनसरीमा र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गालाई कृषि ज्ञानकेन्द्र झापामा समायोजन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.