|

बझाङ : बझाङ जिल्ला अदालतले छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहलाई खुँडा प्रहार गरी हत्या गर्ने ३ जनालाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले आइतबार छविसपाथिभेरा गाउँपालिका–२ का ३२ वर्षीय ज्ञानबहादुर कठायत, २८ वर्षीय प्रकाश ऐडी, ३० वर्षीय केदारमान ऐडीलाई जन्मकैदको फैसला गरेको हो।

तीनै जनालार्ई जन्मकैदसहित जनही २ लाख रूपैयाँ जरिवानासमेत तोकिएको छ। साथै उक्त घटनामा संलग्न भनिएका छविसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष ३६ वर्षीय विकास ऐडी र सोही ठाउँका जयबहादुर रोकायाले सफाइ पाएर आइतबार कारागारबाट छुटेका छन्। २०७७ माघ १३ गते छविसपाथिभेरा गाउँपालिकाको–३ मा रहेको बन्निचौर माविको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि छविसपाथिभेरा–३ को झरखेलामा खुँडा प्रहार गरी सिंहको हत्या गरिएको थियो।

सिंहको हत्या आरोपमा ५ जनालाई २०७७ फागुन ११ गते मंगलबार पूर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको थियो भने घटनामा संलग्न मानिएका जयबहादुर रोकायालाई १ लाख धरौटीमा रिहा गर्ने आदेश भए पनि धरौटी जम्मा गर्न नसकेपछि रोकाया पनि कारागार चलान भएका थिए। उक्त घटना बझाङ जिल्लाकै विभत्स घटना थियो भने सिंहको हत्या भएको १ वर्षपछि जिल्ला अदालत बझाङले फैसला सुनाएको हो।

घटनामा संलग्न भनिएका उनीहरूलाई २०७७ माघ १४ गते थलारा गाउँपालिकाबाट प्रहरीले प्रकाउ गरेको थियो। सिंहका आफन्त शेरबहादुर सिंहको जाहेरीमा पाँचै जनालाई २०७७ फागुन ९ गते कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.