|

जति वेला कोरोनाका कारण फिल्म हल बन्द भए यसको प्रत्यक्ष असर प्रदर्शनको तयारीमा रहेका फिल्मलाई पनि पर्‍यो। करोडौँ लगानी भएका फिल्म प्रदर्शनका लागि तयार हुँदाहुँदै पनि थन्किएर बस्नु पर्‍यो। 

२०७६ चैत २८ मै प्रदर्शनको तयारीमा रहेको 'प्रेम गीत ३' का लागि भने त्यही गाह्रो समय महत्त्वपूर्ण बनेर आयो। त्यही समयमा फिल्म बलिउडका ठूला-ठूला फिल्मको काम हुने रियल टच स्टुडियो पुग्यो। जुन 'प्रेम गीत ३' का लागि मात्र नभएर नेपाली फिल्म उद्योगकै लागि ठूलो उपलब्धि थियो। 

यसै फिल्मबाट निर्माता सन्तोष सेन निर्देशकको रुपमा डेब्यू गर्दै थिए भने अर्का निर्देशक छेतेन गुरुङका लागि 'प्रेम गीत ३' अन्तिम फिल्म बन्न पुग्यो। छेतेनले गर्दा नै सन्तोष निर्देशनमा होमिएका थिए। छेतेन जहाँ भए पनि 'प्रेम गीत ३' जस्तो बनेर आउँदैछ त्यो देखेर उनको आत्मा खुसी हुने सन्तोष बताउँछन्। 

अहिले 'प्रेम गीत ३' लाई बहुप्रतीक्षित नेपाली फिल्मको रुपमा हेरिएको छ। यो फिल्मको कथा जन्मिँदादेखि फिल्मको रुपमा आउँदासम्मको यात्रा पनि साँच्चिकै फिल्मी छ। 

प्रेम गीत ३ का निर्देशक तथा निर्माता सन्तोष सेनसँग फिल्म र उनको फिल्मी करिअरलाई लिएर गरिएको कुराकानीः

'प्रेम गीत ३' कसरी मुम्बई पुग्यो? अनि फिल्मकाे मुम्बई यात्रा कस्ताे रह्याे?

पोस्ट प्रोडक्सनमा आइपुग्दा आफैँले गरेको काम हेरेर खुशी लागेको थियो। जुन विषय हामीले उठायौँ र जुन हिसाबले हामीले त्यसलाई क्याप्चर गर्न सक्यौँ त्यो आनन्द दिने खालको थियो।

सबै कुराको कम्बिनेशन जसरी मिल्यो हामीले सोच्यौँ रिल लगेर एक पटक इण्डियामा एउटा शो ट्राई गर्नु पर्छ। के थाहा जसरी हामी हिन्दी फिल्म रिलेट गरेर हेर्न सक्छौँ हाम्रो कथा पनि थोरै मात्र दर्शकले अथवा थोरै मात्र त्यहाँका डिस्ट्रिब्युटरले मन पराए भने पनि एउटा नयाँ ढोका खुल्थ्यो कि भन्ने लाग्यो।

उनीहरूले सुझाव नै दिए भने पनि हामीले भोलिका दिनमा अझै बेटर गर्न सक्छौँ भनेर ३ घण्टाको फिल्मको फुटेजलाई कथाको सार आउने गरी २६ मिनेटको शो रिल तयार गरी अंग्रेजीमा अनुवाद गरेर लिएर गयौँ।

एक महिना गल्ली गल्ली हिँड्यौँ तर त्यति राम्रो ठाउँमा पुग्न सकिएन। हरेस पनि खाइयो। यत्रो ठूलो स्पेसमा हामीले हाम्रो लागि कुनै ठाउँ नै भेट्न सकेनौँ। 

त्यसपछि एकजना साउथ इण्डियन फिल्म 'कञ्चना'का असोशिएट डाइरेक्टरसँग भेट भयो। उहाँले टिजर हेर्नुभयो। क्यारेक्टरहरूको लुक्स, टोन उहाँलाई एकदमै मन पर्‍यो। उहाँले चिनेका साउथका, हलिउडका धेरै हिट फिल्महरू किनेर हिन्दीमा डिस्ट्रिब्युसन गरेको एउटा प्रोडक्सन हाउस रहेछ। त्यो प्रोडक्सन हाउसको मालिकलाई स्क्रिनिङ गर्‍यौँ।

शो रिल पूरै हेरिसक्दा उहाँ इमोसनल भएर आँशु नै खसाल्नु भयो। उहाँलाई कथा मनपर्‍यो तर डिसिजन दिन भने सक्नुभएन। एकपटक पूरा फिल्म हेर्ने इच्छा गर्नुभयो। त्यसपछि आस जागेजस्तो भयो।

हामीले कसैलाई छक्क्याउनका लागि फिल्म बनाएका थिएनौँ। इमानदारीपूर्वक काम गरेका थियौँ। त्यसैले कुनै डर थिएन। त्यसपछि नेपाल आयौँ। २४/२५ वटा हार्डडिस्क थिए, सबै बोकेर फेरि गयौँ। 

सबै फिल्म हेरिसकेपछि उहाँले फिल्मलाई अझै बलियो बनाउन शुरुदेखि पोस्टको काम गर्नुपर्छ, तिमीहरूको डिमान्ड के छ भनेर सोध्नुभयो। त्यसपछि फिल्मकाे लगानी उठ्ने र केही रकम मुनाफा हुने गरी सम्झाैता भयाे। फिल्म प्रदर्शनमा आएर लगानी उठिसकेपछि ७० पर्सेन्ट उनीहरूले राख्ने र ३० पर्सेन्ट हामीलाई दिने कुरा भयाे। 

त्यहाँ सञ्जय लीला भञ्सालीका हरेक फिल्म मिक्स गर्ने जस्टिन जोसदेखि रोहित सेट्टीको एडिटर बन्टी नेगी, बलिउडका चर्चित ब्याकग्राउण्ड स्कोरर अमर मोहिलेजस्ता दिग्गजहरूसँग काम गर्न पाइयो। डबिङमा पनि 'बाहुबली' देखि लिएर 'केजिएफ'सम्मका फिल्म डब गरेका कलाकारले 'प्रेम गीत ३' मा डब गरेका छन्। 

रियल टच स्टुडियो जहाँ 'पद्मावत', 'प्याडम्यान'देखि 'गंगुबाई काठियावाडी' जस्ता बलिउडका ठूला फिल्मको काम हुन्छ, त्यहाँकाे चेयरम्यानदेखि स्टुडियोमा काम गर्ने टेक्निसियन, वाचम्यान, क्यान्टिनसम्म 'प्रेम गीत ३' चर्चामा थियो। त्यहाँ पाएको प्रतिक्रियाले नै मैले मेरो काम सफल भयो भनेर गद्‌गद्‌ भइसकेकाे थिएँ। 

दर्शकदेखि निर्माता हुँदै अहिले निर्देशक बनुन्जेलसम्मकाे यात्रा कसरी सुनाउनुहुन्छ?

म नेपाली फिल्मकाे लाखमा गन्दा पनि टप टेनमा पर्ने दर्शक हाे। म कामकाे शिलशिलामा सि‌ंगापुरमा थिएँ। जब भ्याकेसनमा आउँथेँ फिल्मदेखि लिएर मह जाेडीकाे सिरियलसम्म केही पनि छाड्दिनथेँ। त्यति वेला सिडी चल्थ्याे मैले यहाँबाट भिसिडी लगेर सिंगापुरमा डिस्ट्रिब्युसन पनि गरेकाे छु। 

त्यसयता जिन्दगीमा धेरै घटना घटे। विदेश छाडेर नेपालमै केही गर्नुपर्छ भनेर म नेपाल आएँ। नेपाल आएर हाेटलदेखि लिएर यातायात व्यवसायमा पनि हात हालेँ। तर म एउटै बिजनेसमा हाेल्ड भएर बस्न सकिनँ, न त घरमा यत्तिकै बस्न सक्थेँ। मेरा केही साथीहरू थिए फिल्म बुझेका। उनीहरूकाे संगतले फिल्म मेकिङमा छिरेँ।

मलाई केही थाहा थिएन। जसले जस्ताे कथा सुनाए पनि मख्ख हुने। हाेइन यसमा त फिल्म बनाउनुपर्छ भन्ने खालकाे ऊर्जा आउने। 'चङ्खे शङ्खे पङ्खे' बनाउनुभन्दा अगाडि एउटा टिमसँग आबद्ध भएकाे थिएँ। फिल्मकाे कथा, गीत, कलाकारहरू सबै फाइनल भइसकेकाे थियाे। तर त्याे फिल्म बनेन। फिल्म इन्डस्ट्रीकाे धेरै कुरा यहाँ छिरिसकेपछि मात्र थाहा हुँदाे रहेछ।

त्यसपछि 'चङ्खे शङ्खे पङ्खे' जुर्‍यो भनम् न। अहिले आएर त्यसलाई म स्कुल मान्छु। त्यति वेलासम्म कहिल्यै शुटिङ हेरेकाे थिइनँ। एक्सन कट भनेकाे के हाे थाहा थिएन। पहिलाे पटक शुटिङ हेरेकाे भनेकाे आफ्नै फिल्मको। फिल्म कसरी बन्छ भनेर पैसा हालेर सिक्दै रहेछु!

त्यसबाट धेरै टेक्निकल कुराहरू सिकियाे। शुटिङ कसरी गरिँदाे रहेछ, कथालाई कसरी पाेट्रे गरिँदाे रहेछ, पाेस्ट प्रोडक्शनमा आएर कस्ताे चिज काट्ने, कसरी जाेड्ने, क्लाेज अप भनेकाे के हाे? लङ्ग सट भनेकाे के हाे? पाेस्टमा आएर त्याे सबै कुरा कसरी मर्ज हुँदाे रहेछ? मार्केटिङ कसरी गर्ने? जस्ता यावत कुराहरू सिक्न पाएँ। 

त्यसपछि 'प्रेम गीत'मा चाहिँ आइडियादेखि नै बस्न थालेँ। आफैँले पनि इनपुट दिन सकेँ। प्रेम गीतमा आएपछि बल्ल प्राेड्युसर भएँजस्ताे लाग्याे। लास्टमा आएर क्याप्टेनकाे जिम्मेवारी पनि सम्हालेँ। जुन मैले साेचेकाे पनि थिइनँ। यसमा मेराे आदरणीय दाइ छेतेन गुरुङकाे हात छ। 

मैले उहाँलाई जिम्मेवारी दिएकाे थिएँ। प्राेजेक्ट बृहत थियाे, दाइले 'तिमी अडियन्स पाेइन्ट अफ भ्युबाट हेर्न सक्छाै, क्यारेक्टर अब्जर्ब गर्न सक्छाै। मलाई सहयाेग गर यार दाजुभाइ मिलेर डाइरेक्सन गराैँ' भन्नुभयाे। अनि आधी जिम्मेवारी मलाई थमाइदिनु भयाे। मलाई एउटा निर्देशककाे ट्याग गिफ्टका रुपमा दिएर उहाँ जानु भयाे। 

अहिले सम्झिँदा उहाँ दूरदर्शी लाग्छ। उहाँ बीचमै छाडेर जानु भयाे। हाम्राे डबिङ पनि सकिएकाे थिएन। क्याप्टेनकाे जिम्मेवारी मैले नै सम्हालेँ। 

'प्रेम गीत ३' काे शुरुवात चाहिँ कहाँबाट र कसरी भयाे?

'प्रेम गीत २' पछि चाइल्ड साइकाेलाेजीमा आधारित 'मेरी मामु' बनाउँदै थियाैँ। 'मेरी मामु'काे स्टाेरीकाे फाइनल ड्राफ्ट करेक्सन भइरहेका वेला छेतेन दाइलाई पनि बाेलाएकाे थिएँ। त्यहीँ खाजा खाने क्रममा ५ वर्षपछि यस्ताे फिल्म बनाउने साेचिरा'काे छु भनेर हिमालयका दुई जना छिरिङ डाेल्माकाे लभ स्टाेरी सुनाउनु भयाे।

दाइले सुनाएकाे कथामा आफ्नाे मान्छे मरेपछि ढु‌ंगामा नाम लेखेर धुलाे उडाउने कुरा पनि थियाे। जुन मेराे दिमागमा घुम्न थाल्याे। फिल्म सकिइसकेपछि मैले छेतेन दाइलाई तपाईंले ५ वर्षपछि बनाउने भनेकाे फिल्मकाे एउटा सिक्वेन्सले चाहिँ मलाई हान्याे, त्यसलाई डेभलप गरेर 'प्रेम गीत ३' बनाउनु पर्‍यो भनेँ। त्यसपछि कन्टेन्ट बलियाे बनाएर त्यसलाई ब्राण्ड नेम दिएर काम गर्ने प्रस्ताव गरेँ। 

छेतेन दाइले तिमी चुनाैती माेल्न सक्छाै? भनेर साेध्नुभयाे। मैले ट्राई गराैँ न त भनेँ। हिजाे गरिसकेकाे काम फेरि के गर्नु त्याे बनिसक्याे। नयाँ गर्नलाई रिस्क लिनु पर्थ्याे म रिस्क लिन तयार थिएँ।

म दुई वटा कुरा गर्न सक्थेँ- एउटा सामान्य कथामा १ कराेडसम्मकाे बजेटमा फिल्म बनाउने। फिल्मले २ कराेड नै कमाए पनि १ कराेड नाफा नै हुन्थ्याे। तर यति ठूलाे क्यानभासमा काम गर्दाकाे मजा अनि सिकाइ पाइँदैनथ्याे। उताकाे १ कराेड नाफाभन्दा अलिकति धेरै लगानी गरेर साउँकाे ताउँ हुनु अथवा एक डेढ कराेड घाटा नै भए पनि म घाटा सहन तयार थिएँ।

हाम्रोमा ऐतिहासिक कथामा एकदम थोरै फिल्म बनेका छन्। बनेका पनि एकदमै कमजोर मानिन्छन्। याे फिल्म बनाउँदै गर्दाका चुनाैती कस्ता थिए, अनि तिनलाई कसरी चिर्नु भयाे?

ऐतिहासिक भए पनि मेराे फिल्म विशुद्ध काल्पनिक थियाे। मैले मनाङकाे कथा उठाएकाे हाेइन एउटा हिमाली राज्यकाे काल्पनिक कथालाई मनाङमा लगेकाे हाे। त्यसले गर्दा भाषा, वेशभूषा, रहनसहनमा अलिकति सजिलाे भयाे। 

शुटिङमा भने निकै नै गाह्राे भयाे। शुटिङ गर्ने ठाउँमा ५/६ फिट हिउँ परेकाे, हाम्रा डान्सरहरू सिकिस्त बिरामी भएर लडेकाे जस्ता घटना त धेरै भए। हेल्थपाेस्टबाट स्वास्थ्यकर्मी बोलाएर स्ट्याण्डबाई राख्नुपरेकाे थियाे। 

दिउँसाे २/३ बजे नै घाम अस्ताउने। माइनस १६/१७ डिग्री टेम्प्रेचर थियाे। त्यस्ताे चिसाेमा बिहान ७ बजे नै शुटिङ स्पटमा पुगिसक्नुपर्ने हुन्थ्याे। ए छिटाे हिँड भनेर कराउन पनि मिल्दैनथ्यो। तर काम पनि निकाल्नै पर्ने थियाे। २/३ सय दिन लगाएर शुटिङ गर्न सक्ने अवस्था हाम्राे छैन। फेरि त्याे माैसम कति बेर रहने हाे भन्ने पनि टुङ्गाे थिएन। मलाई त त्यसकाे कन्टिन्युटी पनि चाहिन्थ्याे।

मैले कसैलाई पनि ढिला भयाे भनेर ढाेका ढकढक गरिनँ बरु बिहान छिटाे उठेर तयार भएर सबैभन्दा पहिले मै शुटिङ स्पटमा पुगेँ। किचन डिपार्टलाई ए छिटाे चिया पकाउ भनिनँ पहिले मै गएर आगाे सल्काएँ। त्यसरी काम गर्दा ऊर्जा पनि अर्कै आउने रहेछ।

अर्थपूर्ण रुपमा 'लिडर'काे भूमिका निभाउनु भयाे..

एक्लैले त केही पनि हुँदैनथ्याे। सबैकाे सपाेर्ट पनि त्यसरी नै पाएँ। धेरै घटना त अहिले सम्झँदा पनि सिरिङ्ग हुने खालका छन्। प्रतिकूल माैसमले गर्दा हाम्राे डिओपी राजेश श्रेष्ठलाई हार्टअट्याक भयाे। अनि हेलिकप्टर ल्याण्ड गर्ने ठाउँ थिएन। ३८ घण्टा काखमा राखेर मालिस गर्‍यौँ। माैसम अनुकूल भएपछि बल्ल हेलिकप्टर ल्याण्ड भयाे र पाेखरा पुर्‍यायाैँ।

त्याे दु:ख भाेलि दर्शकमाझ गएपछि आउने रिजल्टले भुलाउँछ र सन्तुष्टि दिन्छ भन्ने आशा छ। 

छेतेन दाइ गएपछि सबै जिम्मेवारी तपाईँकाे काँधमा आयाे हाेइन?

सबैले साथ दिए। प्रदीपले एकदम धेरै साथ दिए। सहकर्मी साथीहरूकाे सकारात्मक साेचले गर्दा पनि याे सम्भव भयाे। ऊर्जा सञ्चार भइरह्याे। 

छेतेन दाइ भएकाे भए दुई जना दाजुभाइ अझै कति खुसी भइन्थ्याे हाेला। हामी दुवैले नदेखेकाे सपना त्याे ठाउँमा गएर काम गर्न पाउनु याे हाम्राे लागि ठूलाे कुरा हाे।

'प्रेम गीत ३' काे काम जसरी भयाे त्याे हामीले कल्पना पनि गरेका थिएनाैँ। दाइले अधुराे छाडेकाे आफ्नाे अन्तिम कामलाई यसरी ल्याउन पाउँदा म खुशी छु। दाइ पनि जहाँ हुनुहुन्छ खुशी हुनुहुन्छ हाेला। 

छेतेन दाइले छाडेर गएपछि तपाईंकाे अवस्था कस्ताे थियाे? कसरी काम गर्नुभयाे?

'प्रेम गीत ३' पछि हामी 'हुतुतु' पनि दुवै जनाले डाइरेक्सन गर्ने तयारीमा थियाैँ। त्यसैकाे स्टाेरीमा बस्दाबस्दै दाइ बिरामी हुनुभयाे। दाइ त्यसरी गएपछि म त डाउन भइहालेँ नि। 

काममा हाम्राे बाेण्डिङ कस्ताे थियाे भने म एक साेच्थेँ दाइले तीन पुर्‍याइदिन्थे। दाइले एक साेचे मैले दुई पुर्‍याइदिन्थेँ। अथवा उसैलाई दुई पुग्ने वातावरण बनाइदिन्थेँ। एक अर्काकाे कमजाेरी पनि त्यसरी नै केलाउँथ्याैँ। हामी जे पनि गर्न सक्छाैँ भन्ने एनर्जी थियाे। 

दाइ गइसकेपछि काम गर्ने त्याे जाेश पनि गयाे। तर सम्झेर मात्रै पनि भएन। गन्तव्यकाे लागि दाैडिएपछि कहिलेकाहीँ बाटाेमा ठेस लाग्छ, कहिले लडिन्छ पनि तर अगाडि बढ्नुकाे विकल्प हुँदैन। त्यही साेचेर सम्हालिँदै फेरि काममा फर्कियाैँ।

'चङ्खे शङ्खे पङ्खे' आफ्नाे लागि एउटा विद्यालय जस्ताे हाे भन्नु भयाे। 'प्रेम गीत ३' मा त झन्‌ कथादेखि अभिनय, निर्माण, निर्देशनमा समेत तपाईं हुनु्हुन्छ। 'प्रेम गीत ३' बाट के के नयाँ कुरा सिक्न पाउनु भयाे?

सबैभन्दा मुख्य कुरा त मैले साेचेकाे कुरा पर्दामा उतार्न पनि सक्दाेरहेछु भन्ने थाहा पाएँ। हरेक मान्छेसँग कथा हुन्छ तर ती कथा पर्दामा उतार्ने आइडिया सबैसँग हुँदैन। खिचेर मात्रै हुँदैन। जाेडेर मात्रै पनि हुँदैन। साउण्डकाे कुरा हुन्छ त्यसमा फिलकाे कुरा हुन्छ। 

'प्रेम गीत ३' सम्म आउँदा मैले साउण्ड के हाे? एम्बियन्स भनेकाे के हाे? कथाले एउटा हस्पिटल मागेकाे छ भने कस्ताे खालकाे हस्पिटल चाहिने हाे? हाेटल मागेकाे छ भने कस्ताे खालकाे हाेटल? पुलिस स्टेसन मागेकाे छ भने कस्ताे पुलिस स्टेसन चाहिने हाे? के गर्दा कथा मर्छ, के कुराले कथालाई अझ बलियाे बनाउँछ? भन्ने कुरा निर्देशकले नभने पनि म बुझ्न सक्छु। अब चाहिँ वास्तवमा एउटा प्राेड्युसरकाे भूमिका निभाउन सक्छु भन्ने भएकाे छ।

यति वेला नेपाली फिल्म उद्याेगलाई लिएर एकदमै निराशाजनक कुराहरू सुनिन्छ। याे विषयमा तपाईंकाे राय चाहिँ के छ?

वर्षमा पन्ध्र जना प्राेड्युसर सेभ भयाे भने बल्ल फिल्म इन्डस्ट्री बाँचेछ भनेर मान्न सकिन्छ। हाम्राेमा एक वर्षमा ५ जनाभन्दा बढी प्राेड्युसर बाँचेकाे छ त? अवस्था पहिले र अहिले उस्तै नै हाे। अहिले पनि सिरियस फिल्ममेकरहरूले फिल्म ल्यायाे भने चल्छ। 

जाे म फिल्ममेकर हाे, यसकै लागि म आएकाे हाे, म एउटा गुणस्तरीय फिल्म दिन्छु भनेर फिल्ममा हात हाल्दैन, विभिन्न स्वार्थ लिएर प्रलाेभनमा परेर यस क्षेत्रमा आउँछ त्याे सफल हुने चान्स छैन। जति पनि प्राेड्युसर हुनुहुन्छ उहाँहरूले म किन लगानी गर्दैछु, केमा लगानी गर्दैछु र त्यसकाे आउटपुट के आउँछ भनेर पहिले नै क्लियर हुनुपर्छ। त्याे भयाे भने फिल्म पक्कै सफल हुन्छ। नभए पनि पतन भएर जाँदैन। हाम्राेमा त्यस्तै मेकरहरूकाे कमी भएकाे हाे। 

अर्काे कुरा मेकर, मिडिया र अडियन्सकाे सम्बन्धकाे पनि हाे। अस्ति 'स्पाइडर म्यान' र 'पुष्षा' एकै दिन हलमा आउँदा सबैतिर 'स्पाइडर म्यान'मा अडियन्स धेरै थियाे तर साउथमा 'स्पाइडर म्यान'मा भन्दा 'पुष्पा'मा धेरै अडियन्स थिए। जबकि मेकिङकाे हिसाबले त 'स्पाइडर म्यान'काे लेभल 'पुष्पा'भन्दा कति हाे कति माथि थियाे।

त्यहाँका अडियन्सले आफ्नाे भाषा आफ्नाे कल्चर आफ्नाे प्रान्तकाे फिल्मलाई बढी प्रायाेरिटी दिए। हाम्राेमा नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने चलन छ। यसमा मेकरकाे पनि दाेष छ। फिल्म उद्याेग माथि लैजान मेकर, मिडिया र दर्शकबीच सन्तुलन कायम हुन जरुरी छ। राम्राे फिल्म बन्याे भने त्यसले मिडियामा राम्राे स्थान पायाे भने र दर्शक नाक नखुम्चाइ नेपाली फिल्म हेर्न आए भने सन्तुलन मिल्छ। 

मेकर, मिडिया र दर्शक एक भएर अहिलेकाे अवस्थालाई जिराे मानेर काम थाल्ने हाे भने पनि अबकाे १० वर्षमा त्यसकाे नतिजा देखिन्छ। नेपाली फिल्म उद्याेगकाे अनुहार फेरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.