|

रुकुम (पूर्व) : पुथाउत्तरगंगा–१४ र सिस्ने गाउँपालिका–२ नायगाड सडकखण्डमा सडक बनाउन ब्लास्टिङ गरे चट्टान फुटाए पनि निर्माणले गति लिन सकेको छैन। कडा चट्टानका कारण निर्माणाधीन जामाबगर–नायगाड सडकखण्डमा ठेकेदारले ब्लास्टिङ गरेर सडक खनिरहेको हो। 

रुकुमकोट–बालुवा–देउखोला–नायगाड–जामाबगर अन्तर्गतको रुकुमपूर्वको दक्षिण र उत्तरी भेगका लागि यो सडक नै मुख्य नाका हो। जसमध्ये ४ वर्षअघि दक्षिणतर्फ रुकुमकोटदेखि देउखोलासम्म सडक पुगिसकेको छ भने उत्तरी खण्डबाट नाखादेखि जामाबगरसम्म पनि सडक पुगेको छ। अब देउखोला र जामाबगर जोड्ने अन्दाजी ५ किलोमिटर सडक निर्माण हुन बाँकी छ।

कडा पहरोले दक्षिणतर्फको देउखोला र उत्तरतर्फको जामाबगरदेखि न उत्तरतर्फ न त दक्षिणतर्फ नै सडक निर्माणले गति लिन सकेको छ। सडक खन्न पिएच/शंकरमाली निर्माण सेवाले ठेक्का लिएको छ। एक वर्ष डोजरले सडक खन्ने प्रयास गरिएको थियो, त्यसबाट सम्भव नभएपछि पहिलो पटक २०७७ जेठमा पहरो फुटाउन ब्लास्टिङ गरेर सडक खनिरहेको ठेकेदार कम्पनीका प्रतिनिधि दिपक तामाङले जानकारी दिए। तर, पनि कडा पहराकै कारण कामले गति लिन नसकेको उनले बताए।

देउखोला र जामाबगर जोड्न सडक निर्माण थालेको ४ वर्षमा पनि काम ‘ज्यूँका त्यूँ’ छ। सडक खन्न ढिलाइ भइरहेको स्थानीयको गुनासो छ। ठेकेदारले भने कडा पहराकै कारण सडक खन्न ढिलो भइरहेको दाबी गरिराखेको छ। आगामी असार मसान्तसम्म जसरी भएपनि जामाबगर–नायगाड–देउखोला सडक जोड्नुपर्ने परिस्थिति रहेको तामाङको भनाइ छ।

ठेक्का तोडिन सक्ने

आउने असार मसान्तसम्म यो सडक जोड्न नसके सरकारले ठेक्का तोड्ने चुनौति रहेकाले पनि त्यतिन्जेलसम्ममा सडक जसरी पनि जोड्ने तरखरमा आफूहरू लागिपरेको तामाङले बताए। अहिले पुथाउत्तरगंगा–१४ को मानममा ब्लास्टिङ भइरहेको र अब नायगाड पुर्‍याउन करिब ६/७ मिटर बाँकी रहेको उनले बताए।

केही दिनमै दक्षिणतर्फ देउखोलादेखि नायगाडतर्फ पनि ब्लास्टिङ गर्ने तयारी भइरहेको तामाङले जानकारी दिए। समयमै सडक निर्माण हुन नसकेपछि सरकारले पटक–पटक म्याद थप गर्दै आएको थियो। अब भने आगामी असार मसान्तसम्ममा काम सम्पन्न हुन नसके उक्त ठेक्का तोडिनसक्ने ठेकेदार कम्पनीले बताएको छ।

कडा पहराले गर्दा सडक निर्माण हुन नसक्दा सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकाका बासिन्दाले दुःख पाइरहेका छन्। पहरा भएकै कारण सडक निर्माण अघि नबढ्दा सर्वसाधारण हिँड्न बाध्य छन्, भने अरू सरसामान पनि पिठ्युँमा बोकेर ओसार्नु परिरहेको छ। 

ग्रामीण सडक सञ्जाल सुधार आयोजना आरसिआइपीको बजेटबाट उक्त सडक निर्माण थालिएको हो। ११ दशमलव ६ किलोमिटर लामो यो सडकमा आस्फाल्ट कंक्रिट (३० एमएम बाक्लो पिच) गर्न ठेकेदार कम्पनीले सम्झौता गरेको छ।

सम्झौताअनुसार पहिलो वर्षमा ट्रयाक खोल्नेदेखि ग्राभेलसम्मको काम गर्नुपर्ने र अर्काे वर्ष कालोपत्रे गर्ने भनिएको थियो। एशियाली विकास बैंक र नेपाल सरकारको लगानीमा उक्त सडक बनाउन लागिएको हो। भ्याटबाहेक २८ करोड ६९ लाख २८ हजार ६ सय १ रूपैयाँ ८० पैसामा उक्त सडक निर्माणको ठेक्का सम्झौता भएको छ।

उक्त सडक निर्माणपछि सिस्ने गाउँपालिकाका १ र २ नम्बर वडाका सिस्ने, प्वाङ, पुथाउत्तरगंगा गाउँपालिकाका जाङ, राङसी, कोल, हुकाम र रन्मामैकोट सडक सञ्जालमा जोडिने छन्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.