उनैलाई रिझाएर विरोधी स्वर रोक्न चाहन्छन् देउवा

|

काठमाडौं : पछिल्लाे समय नेपाली राजनीतिमा एक उदाउँदा हस्ती हुन् गगन थापा। कांग्रेसको १४औँ महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा विजयी भएसँगै गगनको राजनीतिक पहुँच बढेको उनको पछिल्ला सहभागिताले प्रष्ट हुन्छ। 

संस्थापनइतर पक्षबाट महामन्त्रीमा जितेका गगन पछिल्लो समय सभापति शेरबहादुर देउवासँग नजिक भएर काम गरिरहेका छन्। पार्टीभित्र मात्रै होइन सत्तापक्ष होस् वा प्रतिपक्षी दुवैतर्फको शीर्ष नेतृत्वमा गगनलाई देउवाले अगाडि बढाएका छन्।

नेपाली राजनीतिमा चतुर खेलाडी देउवाले गगनलाई अगाडि बढाउनुलाई पार्टी अर्थपूर्ण रूपमा हेर्छन् उनी निकटस्थहरू। तर, उनको सक्रियताले गगनकाे राजनीतिक कद भने पक्कै बढेको छ।

देउवाले आफूलाई पार्टी सञ्चालनमा सहज बनाउनको लागि गगनको साथ खोजेका छन्। पार्टीभित्र संस्थापन पक्षबाट सशक्त रूपमा विरोध गर्नेमध्ये एक हुन् उनी। त्यसैले गगनलाई आफ्नो साथमा लिँदा पार्टीभित्र एकतर्फी हालीमुहाली गर्न पाउने देउवाको रणनीति नहोला भन्न सकिन्न पनि। 

पार्टीभित्र देउवालाई एकलौटी निर्णय गर्नबाट रोक्ने प्रमुख महामन्त्री थापा नै हुन्। उनी मात्रै होइन अर्को महामन्त्री विश्वप्रकाश शर्मा पनि कमजोर छैनन्। तर, पछिल्ला राजनीतिक घटनाक्रमले गगन अग्र स्थानमा देखिएका छन्। 

अमेरिकी सहयोग परियोजना (एमसिसी) विवादले पाँच दलीय सत्ता गठबन्धन धर्मराउँदा सभापति देउवा हच्किए। तर, उनी पछि हटेनन्। एमसिसी पास गराउँदा गठबन्धन नै टुटे पनि पछि नहट्ने अडान कसिरहे। 

उनैको पहलमा प्रधानमन्त्री देउवासमेत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एमसिसी पारित गराउन साथ खोज्न बाध्य भए। एमालेसँगको सहकार्यमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नै अग्र स्थानमा देखिए। 

तर, एमालेले सोचेजस्तो परिणाम नदिएपछि गगनकै प्रस्तावमा गठबन्धनमा एमसिसीमा ‘व्याख्यात्मक प्रस्ताव’ तय भयो।  जुन सफल पनि भयो। 

एमसिसी यथास्थितिमा पारित भए गठबन्धन र सरकार नै छाड्ने निर्णय गरिसकेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी समेत एमसिसीको पक्षमा उभिन बाध्य भए। 

दुवै पार्टीभित्रका शीर्ष नेताहरूले त्यसको विरोध जनाइरहेका छन्। तर, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको ‘फेस सेभिङ’को लागि मात्रै व्याख्यात्मक प्रस्ताव ल्याइएको समेत टिप्पणी भइरहेको छ। 

प्रधानमन्त्री देउवाले गठबन्धनको शीर्ष नेताहरूको बैठकमा समेत गगनलाई अघि ल्याएपछि फागुन ५ गते बालुवाटारमा बसेको गठबन्धन उनले एमसिसीको ‘व्याख्यात्मक टिप्पणी’ को प्रस्ताव ल्याएका थिए। तर, त्यसमा प्रचण्ड-माधव राजी नभए पनि गगनकै दबाबमा एमालेसँगको सहकार्यको प्रयास सुरु भयाे। त्यसपछि प्रचण्ड-माधव अडानबाट ‘व्याक’ भए। 

कांग्रेस-एमाले सहकार्य हुँदा सभामुख अग्निप्रसाद सापकोटाको पद र माधव नेपालसहित एमालेले कारबाही गरेको १४ सांसद हटाउन कांग्रेस तयार भएपछि प्रचण्ड-माधव एमसिसीको पक्षमा उभिन बाध्य बनायो। जुन कुरा प्रचण्ड आफैले खुलाइसकेको छन्।  

देउवाको चलाखी

त्यसो त पार्टीभित्र आफूमाथि उठ्ने चर्को आवाजलाई रोक्नका लागि देउवाले गगनलाई साथ लिएको स्वीकार गर्छन् देउवानिकट केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा। 

उनी भन्छन्, ‘शीर्ष तहको बैठकमा प्रधानमन्त्री तथा सभापतिले एक उपसभापति र एक महामन्त्री लिएर हिँड्नुभएको छ। पार्टीको फोरममा अरूले हेर्नुभएको भए पनि शीर्ष तहको बैठकमा गगनजीलाई लिएर हिँड्नुभएको हो। उहाँ सांसद पनि हुनुहुन्छ। उहाँलाई लिएर हिँड्दा संसदमा सजिलो हुने भएकाले गगनजीलाई लगेको जस्तो लाग्छ।’ 

पार्टीभित्र शेखर कोइरालाले गरेको गुटबन्दीलाई रोक्न गगनलाई आफ्नो साथमा ल्याउनु देउवाको चुनौती रहेको उनको बुझाइ छ। 

‘गगनजीलाई लिएर हिँड्दा पार्टीमा पनि धेरै फाइदा पुगेको छ। सभापतिको उम्मेदवार शेखर कोइरालाले पार्टीलाई जसरी दरारको अवस्था सिर्जना गर्नुभएको छ। उहाँले उम्मेदवारी दिँदा गुटबन्दीको अन्त्य गर्छु भन्नुभयो’ उनले भने, ‘तर, चुनाव हारेको भोलिपल्टबाटै आफैँले सुरु गर्नुभएको छ।’

पार्टीमा कोइराला जस्तो विभाजित मनस्थिति लिएर निर्वाचनमा जाँदा असर पर्ने उनको भनाइ छ। ‘अब पार्टीभित्र विभाजित मनस्थितिले आम चुनावमा समेत असर गर्छ। त्यसैले पदीय हिसाबले पनि मिलेको, महामन्त्री, सांसद, युवा र क्षमता पनि भएको भएकाले गगनजीलाई लिएर जाँदा सबै समस्या समाधान हुने उहाँको मनोविज्ञान छ’ नेता विश्वकर्माले भने। 

सभापतिले नेता थापाको साथ पाउँदा पार्टीभित्र विमति राख्नेको माग सम्बोधन गर्नसमेत सहज हुने उनको बुझाइ छ। 

‘सँगै काम गरेपछि उहाँ देउवाजीको पक्षमा त भइहाल्नुभयो। त्यति मात्रै नभएर पार्टीमा विमति राख्नेहरूको माग सम्बोधन गर्नसमेत सहज हुन्छ भन्ने हो’ उनी सुनाउँछन्।

जब संसदमा गर्जिए 

एमसिसी संसदबाट अनुमोदन गर्दैगर्दा एमाले आफ्नै पुरानै अडानसहित नाराबाजीमा केन्द्रित थियो। तर, एमालेकै सांसद भीम रावलले एमसिसीको विरोध गरिरहे। 

नेता रावलले एमसिसीलाई राष्ट्रघातीको ट्याग लगाएपछि त्यसको प्रतिरोधमा उत्रिए कांग्रेस महामन्त्री थापा।  उनले भनेका थिए, ‘यसअघि विभिन्‍न समयमा नेपालको मन्त्रिपरिषद्‍मा बस्नुभएको सबै सदस्यहरूले यो सम्झौता राष्ट्रघाती भन्नुभन्दा पहिला एकपटक ख्याल गरौँ, होइन भने केही समय अगाडि माननीय मन्त्रीजीले म क्याबिनेटमा थिएँ।’

उनले एमसिसीमा गोप्य सम्झौता भएको भन्दै भ्रम छरेको दाबी गरे। 

‘म यति मात्रै आग्रह गर्न चाहन्छु। हामी सबैले गल्ती गर्यौं। त्यसलाई स्वीकारौँ होइन, हामी सवैले जिम्मेवारी लिऊँ। गलत केही गरेका छैनौँ। सही गरेका छौँ’ नेता थापाको भनाइ थियो। 

एमसिसी अनुमोदन गरेपछि अमेरिकी सेना आए जस्तोसुकै चुनौती सामना गर्न तयार भएको प्रष्टाए। स्वाधीनता तलमाथि सम्झौताका कारणले नहुने उनको दाबी छ। 

‘कहीँकतै तलमाथि भयो भने नेपालले जे व्यहोर्छ म आज हस्ताक्षर गर्ने सांसद भएर सरी भनेर मात्र पाउँदिनँ। यदि त्यस्तो भयो भने म काठमाडौँको सांसद हुँ। थानकोट कटाइयोस्। नागरिकता खोसियोस्। चारपाटा मोडियोस्। सम्पत्ति विवरण बुझाएको छु। सम्पत्ति खोसियोस्’ उनले भनेका थिए।

‘यदि यही ५ वर्षभित्रमा आज जनतालाई भनिएको कुरा अमेरिकाको सेना आउँछ, स्वाधीनता लुटिन्छ, सम्पत्ति अरूले लिएर जान्छ, अमेरिकी कानुन लागू हुन्छ भनिएको कुरा ५ वर्षमा सम्झौता सकिँदै गर्दा भएन भने त्यो कुरा गर्नलाई तयार हो?’

अझै पनि एमसिसी अनुमोदनको विरोधमा माओवादी, एकीकृत समाजवादी पार्टीका केही नेताले विरोध जनाइरहेका छन्। भने, सत्ता गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाले गठबन्धनबाट अलग भएको घोषणासमेत गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.