|

काठमाडौं : म यस्तो गीत गाउँछु २ को टिकटका लागि लाइनमा बस्दा मभन्दा अगाडिका दाइले नौवटा टिकट काटे। ती दाइभन्दा अगाडि आउनेले पाँचवटा टिकट लिएर निस्किसकेका थिए।

मभन्दा पछाडि पनि सोही फिल्मको टिकटका लागि लामै लाइन थियो। कोही मैले नै काटेको शोको टिकट काट्दै थिए भने कोही एक, दुई दिनपछिका लागि टिकट लिन आउनेहरू पनि थिए। 

सबै कामकाज सुचारु रहेका दिन दिउँसोको शोमा अगाडिको दुईवटा रोलाई नगन्ने हो भने सो हाउसफूल थियो। मान्छेको भिड देख्दा फिल्म हेर्न नआएको भए राम्रै कुरो छुट्ने रहेछ भन्ने भान भइरहेको थियो। 

पपकर्नसँगै कोही तातो, कोही चिसो पेय पदार्थ लिएर आफ्नो सिटमा बसिसकेका थिए। त्यसपछि फिल्म सुरु भयो, म यस्तो गीत गाउँछु २। 

फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा देखिएका छन्। पलले पलकै भूमिका निर्वाह गरेका छन्। जो त्यो समयको स्टार गायक हो र पूजा छायाको भूमिकामा देखिएकी छन्।

छाया पलकी एकदमै ठूलो(फिल्ममा भनिए अनुसार) फ्यान हुन्। तिनै पात्रको वरिपरस फिल्म घुमेको छ। 

मध्यान्तरसम्ममा ती पात्रले धेरै उतारचढाव देखिसकेका हुन्छन्। धेरै आँसु बगिसकेको हुन्छ। मेरा आसपास बस्ने दर्शकको पनि अलिअलि स्वाँक्कसुँक्क सुन्न पाइयो। कोही त मध्यान्तरको १५ मिनेट ब्रेकमा पनि बाहिर निस्किन खोजिरहेका थिएनन्। मेरा लागि चाहिँ त्यो दोस्रो ब्रेक भयो। 

पुरुष शौचालयमा कसैले कसैलाई सोध्दै थियो, कस्तो खत्रा फिल्म है? कसैले उत्तर दियो, अँ भन्या। यत्तिको त सोचेको थिइनँ। एकजना साथीले मलाई सोधे, 'दाइ फिल्म सकिएको त छैन है?' मध्यान्तर अगाडिको सिनले होला उनी अलि हतारमा थिए, मैले छैन भनेँ।

'अनि कस्तो लागिरा'छ फिल्म?', सोधेँ। एकदम राम्रो उनी यति बोले। अनि हिँडे। 

स्मोकिङ जोनमा केही साथीहरू धुवाँ उडाउँदै थिए। त्यहाँ पनि फिल्मकै कुरा भइरहेको थियो, खास पलले के गरेको हो र? कसैले सोध्यो। ...........(कथा नखुलोस् भनेर) त्यही भएर त रोएका हुन्। अब के गर्छन्। 

कोही फिल्म यसरी चलिरहेका वेला पल प्रहरीको हिरासतमा परेको कुरालाई लिएर दुःख मनाउ पनि गर्दै थिए। उक्त केसमा आफ्नो आफ्नो विचार पनि राख्दै थिए, त्यता नजाम्। 

अघिल्लो फिल्ममा भन्दा चाहिँ राम्रो गरेका रै'छन्। एकजना साथीले चुरोट सल्काउँदै भने, 'यत्तिको एक्टिङ गरे त भइहाल्यो नि।'

मलाई पनि हो कि जस्तो लाग्यो। फेरि सँगै उभिएका उनकै साथीले काट्दै भने, 'यस्तो पनि राम्रो हुन्छ?' मुख चलाएर मात्रै गाएको हुन्छ? म्युजिकल फिल्म भनेको छ, नसा नसामा संगीत छ भनेको छ, त्यसरी गाउँछन् यार गीत नसा नसामा संगीत भएको मान्छेले?'

यो साथीको कुरा पनि हो कि जस्तो लाग्यो। (उनी संगीतमा राम्रै दक्खल भए जस्तो देखिन्थे। नहुन पनि सक्छ।)

राम्रो भन्ने साथीले स्पष्टीकरण दिन थाले‚ पहिलेको भन्दा त राम्रै छ नि। कन्सर्टमा आएको हो र गीत कस्तो गायो कसरी गायो भनेर हेर्न? फिल्म हो भो।  मलाई पनि त्यही त फिल्म पो हो त भन्ने लाग्यो। 

अर्को कुनामा अर्को साथी बोल्दै थिए, 'कस्तो चाहिँ बनाएका रै'छन् भनेर हेर्न आको। आई पासो भयो। म त, बिचमा पनि एक चोटि आएर चुरोट खाएर गएको।' यो साथीसँग पनि अलिअलि कुरा मिल्यो। 

फिल्मको स्टोरी पलसँग पनि मिल्छ भन्दै थिए। के रै'छ। अर्को साथीले धुवाँ उडाउँदै भने। ठ्याक्कै त होइन होला, त्यही पुलिस केस पर्ने होला। अर्का साथीले भने। 

उता कोही हलबाट निस्किन खोजिरहेका थिएनन्। यता केही साथीहरू स्मोकिङ जोनबाट हलतिर जान खोजिरहेका थिएनन् तर फिल्म त हेर्नै पर्‍यो। हल छिरियो, फिल्मको मध्यान्तरपछिको भाग सुरु भयो। 

पलले छायालाई किन त्यस्तो गरेको रहेछ भन्ने कुरा थाहा भयो। दर्शकलाई पनि र छायालाई पनि। बिस्तारै उनीहरू बिचको दूरी कम हुँदै गयो। जेका लागि फिल्म बनाइएको थियो कथा त्यहाँसम्म पुग्यो। फिल्म सकियो। ताली बज्यो। दर्शक चिच्याए पनि। 

कस्तो राम्रो है?, अनि यसको तीन चाहिँ आउँछ कि आउँदैन होला है? पूजा रोएको भएर हेर्न आ'को, ठिकै हो यत्तिको फिल्म, बेकार हेरिएछ बाहिर निस्किने क्रममा यस्तै यस्तै कुरा सुनियो। फिल्मको नाम मात्रै म्युजिकल रहेछ। भनेको पनि सुनियो। 

फिल्ममा दुवै पात्रलाई संगीतमा पोख्त गायक गायिकाको रूपमा चित्रण गरिएको छ। फिल्म हो, पात्र एउटा कुशल गायक हो भन्दैमा कलाकार पनि उत्तिकै पोख्त हुनुपर्छ भन्ने हुँदैन तर एउटा गायक पात्रको आवाज एउटै नै हुनुपर्छ कि पर्दैन होला? यो चाहिँ मलाई लागेको। 

गीत गाउँदा पलको आवाज सुरुमा सुगम पोखरेलको जस्तो हुन्छ तर पछि सुरेश लामाको जस्तो। छायाको केसमा पनि पहिले अस्मिता अधिकारीको जस्तो हुन्छ पछि अन्जु पन्तको जस्तो। छायासँग त कारण छ भन्न सकिन्छ तर त्यसलाई कारण मान्ने हो भने संवाद बोल्दा आवाज जस्ताको त्यस्तै छ।

ल मानौँ त्यो पाइयो तर सुहाउँदो अभिनय त चाहिने होला। म्युजिकल फिल्म भनेपछि त्यति अपेक्षा त गर्न सकिन्छ। बाल्यकालदेखि नै हार्मोनियमसँग खेल्दै हुर्केकी, छायाले गीत गाउँदा मुख मात्रै चलाएको जस्तो मात्रै देखिनु। तर, अघिको साथीले भने जस्तो कन्सर्ट हेर्न गएको त होइन। फिल्म हो। 

फिल्मको अर्को कमजोर पक्ष द्वन्द्व हो। वास्तवमा एउटा घटनापछि त्यो घटनाले गराएको अर्को घटना घट्नुपर्ने हो। फरक फरक घटना भए पनि एकै ठाउँमा जोड्दा त्यो स्वभाविक देखिनुपर्ने हो तर फिल्ममा पछिको घटना घटाउनका लागि अगाडिको घटना घटाए जस्तो देखिन्छ। जुन स्वभाविक लाग्दैन। 

जस्तो छाया र पल बिचको दूरी बढाउनका लागि चुपचाप जिन्दगी गीत रेकर्डिङ वाला सिन लेखिएको जस्तो लाग्छ। नहुन पनि सक्छ तर त्यो स्वभाविक लाग्दैन। फिल्म हो भन्दै गर्दा यो स्वभाविक लाग्नै पर्छ भन्ने पनि छैन। त्यही भनेर छायाको गाउँमा भएको महोत्सवलाई नजरअन्दाज गर्न सकिन्छ। छायाको अन्तिम कन्सर्टअघिको संवाद र कमजोर भिएफएक्सलाई नजरअन्दाज गर्न सकिन्छ। 

फिल्मको ट्रेलर हेरेर धेरैलाई बलिउड फिल्म आशिकी-२ सँग मिल्दो छ जस्तो पनि लागेको थियो। आशिकी-२ मा राहुलले आरोहीलाई गाउन प्रेरित गरे जस्तै म यस्तो गीत गाउँछु २ मा पनि पलले छायालाई गाउन प्रेरित गर्छ। एउटाको करिअर ओरालो लाग्छ, अर्कोको करिअर उकालो लाग्छ। यस्तै फर्मुलामा बनेका अरू फिल्म पनि धेरै छन्‚ त्यसैले ठ्याक्कै कपी भने भन्न मिल्दैन। 

फिल्मको कथा पलको वास्तविक जीवनसँग मिलेको रहेछ भन्ने कुरा पनि आएको छ। पल र फिल्मको पात्रको नाम मिलेको छ, दुवैको फ्यान फलोइङ राम्रो छ। फिल्ममा पनि पललाई प्रहरीले समातेको छ। वास्तविक जीवनमा पनि पल यतिवेला प्रहरी हिरासतमा छन् तर कारण फरक छन्। बाँकी कति कुरा मिलेको छ‚ कति मिलेको छैन त वास्तविक पललाई नै थाहा होला। 

समग्रमा भन्दा मलाई फिल्म ठिकै लाग्यो (नराम्रो लाग्यो भन्दा राम्रो  सुनिँदैन) तर प्रदर्शनको पहिलो हप्तामै फिल्मले दर्शकको उत्साहजनक साथ पाइरहेको छ। दुई करोडभन्दा बढीको कमाइ गरिसकेको छ (निर्माण टोलीका अनुसार) धेरैले फिल्म मन पराएका पनि छन्। 

नेपाली फिल्मलाई माया गर्नुहुन्छ, फुर्सद छ, एउटा टिकट काट्दा त्यति ठूलो आर्थिक झट्का लाग्दैन भने फिल्म हेर्न जान सक्नुहुन्छ। नहेरेर छुटाएँ भन्ने पनि केही छैन। हेरेर ओहो धन्य भइयो भन्ने पनि लाग्दैन। दर्शक नै भगवान हो भन्छन्। भगवानको जय होस्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.