|

जनकपुरधाम : जयनगर–जनकपुर रेल कुर्थासम्म सञ्चालन गर्न औपचारिक उद्घाटनको मिति तय गर्न कानूनी अडचन उत्पन्न भएको छ। सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि रेल गत फागुन १ देखि जयनगर–जनकपुर कुर्थासम्म ड्राई रनमा यात्रु नै नराखी दैनिक एक पटक सञ्चालन भइरहेको छ।

ड्राई रनको सफलतापश्चात यसै महिनाको दोस्रो साताभित्र प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएका थिए। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाका अनुसार रेल सञ्चालन गर्न प्राविधिक हिसाबले सबै कुरा तयार भइसकेको छ, तर रेल सेवासम्बन्धी अध्यादेश निष्क्रिय भएकाले अड्चन पैदा भएको छ।

कानून अभावमा नेपाल रेल सञ्चालन गरिए कुनै घटना/दुर्घटना भए समस्या आउन सक्ने महाप्रबन्धक झाले बताए। संघीय सदनको बैठकमा ६० दिनभित्र रेल सेवासम्बन्धी अध्यादेश सदनमा पेश गरिसक्नु पर्ने कानुनी प्रावधान रहेको बताए। उनले थाहाखबरसँग यस अवधिमा रेल अध्यादेश २०७८ पेस नभएकाले स्वतः निष्क्रिय भएको बताए।

'रेल उद्घाटन गरेर मात्र हुँदैन, सेवा सञ्चालन गर्न कानून चाहिन्छ। कानून (अध्यादेश) निष्क्रिय भएको कारणले तत्काल यात्रुसहित रेल सञ्चालन गर्न सकिँदैन,' महाप्रबन्धक झाले भने, 'पुनः कानूनको व्यवस्था भएपछि उद्घाटनको मिति तय गरिनेछ।' तत्काल कानूनबिना यात्रु रेल सञ्चालन गर्न जोखिम रहेको र  रेलको औपचारिक उद्घाटन गरेर सञ्चालन गर्न कानून नभइ नहुने उनले बताए।

'त्यसको विकल्पमा सदन नचलेको अवस्थामा फेरि अध्यादेश ल्याउन सकिन्छ वा मन्त्रालयले छोटो अवधिका लागि कार्यविधि बनाएर रेल सञ्चालन गर्न सकिनछ,' झाले भने। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले गत मंसिर १५ गते रेल तत्काल सञ्चालन नगर्दा रेलको इन्जिनमा समस्या आउने र संरचनामा थप नोक्सानी हुनसक्ने भन्दै रेलसम्बन्धी कानून व्यवस्था गरी रेल सञ्चालन गर्न कारणसहित अध्यादेश पेश गरेकी थिइन्।

त्यसवेला संघीय संसदको अधिवेशन नभएको र रेलसम्बन्धी कानून व्यवस्था गर्न आवश्यक भएकाले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ गत मंसिरमा जारी भएको थियो।

कुर्था–जयनगरसम्मको दुरी ३४ किलोमिटर ९ सय मिटर छ। ०७७ असोज २ गते भारतीय रेल कम्पनीबाट ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको दुई सेट डेमो रेलमा दुई वटा इन्जिनसहित १० वटा बोगी छन्। दुवै बोगीले १ हजार ३ सय ५० यात्रु बोक्न सक्छन्।

जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रति यात्रु ७० रूपैयाँ र एसी सिटमा ३ सय रूपैयाँ भाडा निर्धारण गरिएको छ। रेल सञ्चालनका लागि ५८ जना नेपाली र १२ जना भारतीय कर्मचारीलाई सोमबारसम्म ५ लाख ५० हजार रूपैयाँ खर्च भएको उनले बताए। यसैगरि खाली रेलको ड्राई रनमा सोमबारसम्म २ हजार १ सय लिटर डिजल खपत भएको जानकारी झाले दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.