|

काठमाडौं :  रसियाले युक्रेनमाथि आक्रमण गरेपछि हजारौं युक्रेनी र त्यहाँ रहेका विदेशीहरू विस्थापित भएका छन्। आक्रमण जारी रहेकाले उनीहरूले बंकरमा लुक्दै भागेको बताएका छन्। जतिबेला गोलाबारुदको आवाज बन्द हुन्छ‚ तब विस्तारै सुरक्षित गन्तव्यतिर जाने गुरेको उनीहरूको भनाइ छ।

बमबारीबाट जोगिन बंकरमा लुक्दै भाग्नेको भीडमा नेपालीहरू पनि छन्। ती नेपालीमध्ये एक हुन् विशाल देवकोटा। रसियाली सेनाको आक्रमणबाट ज्यान जोगाउ युक्रेनबाट बाहिरिने युक्रेनीसँगै सीमा पार गरेको उनले बताए।

‘सवारी साधन चलेको थिएन। चार दिनको पैदल यात्रापछि पोल्याण्डको सिमानामा पुग्यौं‚’ देवकोटाले सुनाए‚ ‘करिब १०० किलोमिटर पार गरी सिमानामा पुग्यौं।’

सीमासम्म पुग्न पाएको दुःखको पहाड नै भएको उनले बताए। आफूसँगै धेरै नेपालीले सीमा पार गरेको देवकोटाको भनाइ छ। युक्रेनबाट ज्यान बचाएर पोल्याण्ड पुगे पनि देवकोटा अहिले के खाने‚ कहाँ बस्ने भन्ने चिन्तामा परेको उनले बताए। ‘आफूसँग भएको धेरै सामान बोक्ने अवस्था थिएन‚’ उनले भने, ‘आफूसँग भएको पैसा सकियो। अब खान र बस्नको चिन्ता छ।’

त्यसैगरी युक्रेनको द्वन्द्प छिचोलेर पोल्याण्डको सिमानामा पुग्नेमा अनिश विष्ट पनि हुन्। उनले नेपालीले धेरै दुःख पाएको सुनाए। 

ऋण तिर्नै समस्या 

रुसले युक्रेनमाथि आक्रमण गरेपछि समस्यामा पर्नेमा दाङका कमल पोखरेल हुन्। उनी सात लाख रूपैयाँ खर्चेर विद्यार्थी भिसामा गत फेब्रवरी १० मा युक्रेन पुगेका थिए। युक्रेन पुगेको १५ दिन बित्न नपाउँदै युद्ध सुरु भयो।

अहिलेसम्म सुरक्षित रहे पनि मर्न र बाँच्नेको टुंगो नभएको कमलले बताए। ‘अहिलेसम्म त सुरक्षित छौं। तर‚ अबको दिन कस्तो हुने हो थाहा छैन‚’ उनले भने, ‘एकातिर मर्ने बाच्ने टुंगो छैन अर्कातिर  विदेश आउँदाको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ।’

केही सहज भएपछि युक्रेन छोड्ने तयारीमा रहेको कमलले बताए। जर्मनीस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेको र उद्धार गर्ने आश्वासन पाएको उनले बताए।

‘यहाँबाट निस्किन पाए हुन्थ्यो भन्ने मनमा छ। तर‚ बिहान सातदेखि बेलुका पाँच बजेसम्म कर्फ्यु लाग्छ। सवारी साधन केही चल्दैन। कसरी निस्किनु!’ उनले भने‚ ‘केही सहज भयो भने युक्रेन छोड्ने तयारीमा छौं। हामी जर्मनीस्थित नेपाली राजदूतावासको सम्पर्कमा छौं। उद्धार गर्ने आश्वासन  पाएका छौं।’ 

जर्मनीस्थित  नेपाली राजदूतावासका अनुसार युक्रेनबाट मंगलबार साँझसम्म २९३ जना नेपाली बाहिरिएका छन् । यीमध्ये सबैभन्दा बढी पोल्याण्डमा २३२ जना पुगेका छन्। त्यस्तै, स्लोभाकियामा ३९, रोमानियामा २३ र हंगेरीमा तीनजना पुगेको  दुतावासले जनाएको छ।

युक्रेनमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्ने र आवश्यक प्रक्रियाअगाडि बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल नै फर्काउने विषयमा हालसम्म छलफल भएको छैन। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले युक्रेनमा रहेका नेपाली स्वदेश फर्कन चाहेको जानकारी नआएको बताइन्। त्यसैले सुरक्षित स्थानमा राख्ने काम भइरहेको उनको भनाइ छ।

नेपालीहरू युक्रेनमा भाषा र मेडिकल शिक्षासँगै रोजगारीका लागि पनि जाने गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.