यसकारण राखियो क्लबको लोगोमा रेड पान्डा

|

इलाम : एक सफल वकिल रहेका सुहाङ नेम्बाङलाई अन्य कुनै विशेषणले परिचय गराइरहनु पर्दैन। यस वर्ष उनको परिचय वकिलमा मात्र सीमित नभएर खेल प्रवर्द्धकका रुपमा समेत थपिएको छ। पूर्वसभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङका छोरा भए पनि बाबुको नामसँग नजोडिकन चिनिने व्यक्तिगत पहिचान बनाइसकेका व्यक्ति हुन् सुहाङ।

उनले फ्रेन्चाइज नेपाल सुपर लिगको दोस्रो संस्करणबाट एउटा क्लबका स्वामीका रुपमा समेत पहिचान बनाएका छन्। उनी नेपाली फुटबलको हब प्रदेश १ को इलामलाई जोडेर बनाइएको ‘स्पोर्टिङ इलाम एफसी डि मेची’ लाई एनएसएलमा डेब्यू गराउने पर्खाइमा छन्। पछिल्लो समय नेपाली फुटबलले लिएको उचाइ र पूर्वको फुटबल क्रेजबाट लोभिएर नै एनएसलमा सहभागी हुन उत्साहित भएको बताउँछन् उनी।

३२ वर्षीय सुहाङ मात्र नभएर उनको तीन पुस्ता वकालत पेशामा छ। उनका हजुरबुवा रामचन्द्र राजा महेन्द्रका पालामा न्यायाधीश थिए। पछि बाबु सुवास वकालत हुँदै राजनीतिमा प्रवेश गरे। 

त्यसो त सुहाङका बाबु सुवास पनि एक जमानामा चर्चित फुटबलरका रुपमा इलाममा चिनिएका थिए। झापा, पाँचथर, दार्जिलिङलगायत फुटबल टोलीविरुद्ध समेत उनले खेलेको समकक्षी र अग्रजहरू सुनाउँछन्। क्याम्पसमा अध्ययनरत हुँदा इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको फुटबल टिममा आक्रमण नै सम्हाल्थे सुवास।

सुवासका दुई छोरा र दुई छोरीमध्ये सुहाङ कान्छा छोरा हुन्। ‘स्पोर्टिङ इलाम एफसी डि मेची’ उनको एकल स्वामित्वको क्लब भने होइन। एनएसएलमा क्लबको मालिकको रुपमा सुहाङसँगै पियुष न्यौपाने देखिए पनि क्लबमा अरु लगानीकर्तासमेत रहेको उनले सुनाए। ‘युवाहरु मिलेर निर्माण गरेका हौँ। मजस्तै फुटबललाई माया गर्ने डाक्टर, इन्जिनियर र केही व्यावसायिक घरानाका साथीहरूलाई टोलीमा समेटेका छौँ,’ सुहाङले भने।

उनले क्लबको नामजस्तै होमग्राउन्डसमेत इलाममा नै रहने बताए। ‘काठमाडौँमा बसेर बनाइएको क्लबको होमग्राउन्ड कहाँ होला भनेर नसोध्नुस्। क्लबको नाममा नै इलाम राखेका छौँ, होमग्राउन्ड पनि इलाममा नै रहनेछ,’ उनले भने, ‘अहिले तयारीका कारण धेरै हतार भइरहेको छ। अक्सन पनि नजिकिँदैछ, त्यही भएर हामीले त्यहीँ (इलाम) आएर परिचय दिन सकेका छैनौँ। तर चाँडै इलाम आएर हामीलाई चिनाउँछौँ। इलामेलीहरूसँग हातेमालो गर्दै क्लब अघि बढ्छ।’

टिम स्थापनासँगै आगामी दिनमा क्लबलाई कुन बाटोमा लैजाने भनेर योजना बनाउँदै गरेको उनले सुनाए। क्लबले फुटबल मात्र नभएर खेलकुदमा युवा आकर्षित गर्ने कार्यक्रमहरूमा समेत जोड दिएर अघि बढ्ने बताए।

‘युवालाई अगाडि सार्नु पर्छ भन्ने मेरो सोच हो। किनभने अबको सम्भावना र भविष्य नै युवा हुन्। हामीले अहिले प्रदेश १ का युवामा फुटबलको जुन प्रकारको क्रेज देखेका छौँ, त्यसले नै हामीलाई फुटबलमार्फत अघि बढ्न उत्साहित गरेको हो,’ सुहाङले भने, ‘तर हाम्रो उद्देश्य फुटबल मात्र हैन, बास्केटबल, क्रिकेट, भलिबलसँगै परिचित र परिचय गराउन बाँकी अरु खेलमा समेत युवालाई उत्प्रेरित गर्ने हो। अहिले एनएसएलमार्फत ‘स्पोर्टिङ इलाम एफसी डि मेची’ लाई युवामाझ लिएर आएका छौँ।’

उनले क्लबको मार्की खेलाडीबारे थाहाकर्मीको प्रश्नमा केही दिनपछि सार्वजनिक गर्ने बताए। ‘मार्की प्लेयर र विदेशी खेलाडीबारे छलफल अन्तिम चरणमा पुगेको छ यही साताभित्र तपाईँहरूले इलामको मार्की प्लेयरको नाम थाहा पाउनुहुनेछ,’ सुहाङले भने।

सुदूरपूर्वको प्रतिनिधित्व गर्दै ‘स्पोर्टिङ इलाम एफसी डि मेची’ नेपाल सुपर लिगमा आएपछि आगामी २६ चैतमा शुरु हुने प्रतियोगितामा प्रदेश १ बाट ३ टोली देखिने छन्। गत संस्करणमा सहभागिता जनाएको विराटनगर सिटीसँगै नेपाली फुटबललाई सबैभन्दा धेरै राष्ट्रिय खेलाडी दिन सफल झापाबाट झापा एफसीले एनएसएलमा सहभागिता जनाउँदै छ।

एउटै क्षेत्रबाट धेरै टोलीको सहभागिताले टिमको समर्थनमा असर पर्ने आँकलन हुँदै गर्दा सुहाङ भने फरक तर्क राख्छन्। ‘टोली संख्या थप हुँदा समर्थकमा अझ बढी ऊर्जा र उच्चस्तरीय प्रतिस्पर्धा हुन्छ। टोलीको संख्या जति बढ्छ, उति नै प्रतिस्पर्धामा समेत रोमाञ्च आउँछ,’ उनले भने।

यसकारण इलामको लोगो रेड पान्डा

विश्वमा लोपोन्मुख मानिएको रेड पान्डालाई उनले क्लबको पहिचान बनाएका छन्। रेड पान्डा नै किन भन्ने थाहाकर्मीको प्रश्नमा उनले गज्जबको तर्क प्रस्तुत गरे। ‘मुख्य त प्रदेश १ र इलामको आधिकारिक जनावरका रुपमा रेड पान्डालाई लिइन्छ। साथै यसलाई शालीन जनावर पनि मानिन्छ। तर परेको बेला आक्रामक रुपमा समेत उत्रिन सक्छ। ‘स्पोर्टिङ इलाम एफसी डि मेची’ यस्तै क्लब बनाउने लक्ष्य छ।’

उनले लोगोको माध्यमबाट विश्वबाट रेड पान्डा लोप हुने अवस्थामा पुगेकाले संरक्षण गर्नुपर्छ भन्ने सन्देशसमेत समेटिएको बताए। उनले भने, ‘हाम्रो लोगोमा देख्न सक्नुहुन्छ पञ्जा फिजाएको रेड पान्डा छ। जब रेड पान्डा आक्रामक हुन्छ पञ्जा उठाएर उभिन्छ। हामी खेल जगतमा आक्रामक छौँ भनेर चिनाउनसमेत लोगोमा रेड पान्डा राखिएको हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.