पार्टीको पदाधिकारी चयन थप पेचिलो

|

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी) व्याख्यात्मक घोषणासहित अनुमोदनका पक्षमा उभिएपछि नेकपा (माओवादी केन्द्र) भित्रको विवाद उत्कर्षमा पुगेको छ।

पार्टीका शीर्ष नेताहरुले असन्तुष्टि राख्दै गर्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतले पेलेर निर्णय गरेपछि विवादले उग्र रुप लिएको हो।

तर, एमसिसीबारे निर्णय गर्न बोलाइएको पूर्वस्थायी कमिटीको बैठकमै नेता नारायणकाजी श्रेष्ठसहित पूर्व एकताकेन्द्र लाइनका नेताहरुले असहमति राखेका थिए। 

एमसिसीको पक्षमा उभिने निर्णयविरुद्ध नेता श्रेष्ठसहित लीलामणि पोखरेल, देव गुरुङ, गिरिराजमणि पोखरेल र कृष्णबहादुर महरालगायतले असन्तुष्टि जनाएका थिए। तर, संसदीय दलको प्रमुख सचेतक नै भएकाले गुरुङ एमसिसीबारे टिप्पणी गर्न छाडेको भएपनि अन्य नेताहरुले खुलेरै विरोध गरिरहेका छन्। 

पार्टीकै समर्थनमा एमसिसी पास भएलगत्तै नेता श्रेष्ठले त्यसका विरुद्ध कडा रुपमा प्रस्तुत हुन आह्वान गरेका थिए। उनले एमसिसी पारित भएको दिनलाई कालो दिनको रुपमा व्याख्या गरे। 

‘अन्तत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट अनुमोदन गराई छाडे। आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्। सम्पुर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं’ नेता श्रेष्ठको भनाइ थियो। 

एमसिसीमा माओवादीले संशोधनबिनाको अडान कसिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन नै तोडेर भएपनि पास गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्यको प्रस्ताव अघि सारेपछि प्रचण्ड पनि बाध्य भए। तर, चुनावको मुखमा गठबन्धन जोगाउनका लागि एमसिसीको अनुमोदन गर्ने पक्षमा निर्णय लिएका प्रचण्डलाई अहिले आफ्नै पार्टी जोगाउन चुनौती बनेको छ। 

प्रचण्डको प्रयास 

प्रचण्डले पार्टीको ८ औँ महाधिवेशन विपरीत एमसिसी अनुमोदन गर्ने निर्णय गरेको भन्दै पूर्वएकता केन्द्रका नेताहरुले ‘विद्रोह’को संकेत गरिसकेका छन्। त्यही सुइँको पाएपछि प्रचण्ड नेता श्रेष्ठलाई फकाउन मंगलबार श्रेष्ठ निवास हात्तीवन नै पुगेका थिए। 

प्रचण्डले आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठलाई संकेत गर्दै खरो टिप्पणी गरेका थिए। प्रचण्डले भनेका थिए, ‘नारायणकाजी कमरेडले बैठकमा असहमति राख्नुभयो। तपाईंलाई मतभेद राख्ने अधिकार पार्टीमा हुन्छ। तपाईंको विचारलाई सम्मान गरिन्छ। तर, एमसिसीको विरोध गर्दा भएभरका कार्यकर्ता र सबै जनता आफूतिर केन्द्रित हुन्छन् भन्ने नठाने हुन्छ।’ 

उनले नेमकिपाका एकमात्रै सांसद प्रेस सुवालसँग तुलना गर्दै एमसिसीको विरोध गर्दैमा आफूतिर जनता आउने भए नेपालभरका सबै उनै तिर जानुपर्ने टिप्पणी गरेका थिए। 

‘तत्कालीन एमालेले महाकालीमा राष्ट्रघात गर्यो भनेर वामदेवजी पार्टी केन्द्रीय समितिको आधा लिएर जानुभयो। भोट आउने बेला जिरो भयो। त्यसैले एमसिसीमा कोही सेन्टिमेन्टमा आउन जरुरी छैन। त्यसमा सबै स्पष्ट हुनु पर्छ’ प्रचण्डको भनाइ थियो। 

तर, प्रचण्डको यस्तो अभिव्यक्तिले नेता श्रेष्ठ झनै चिढिए। उनले अब प्रचण्डसँग सँगै बस्न नसक्ने निष्कर्षसहित पूर्वएकता केन्द्रलाई ब्यूँताउनेबारे छलफल चलाएको सुइँको पाएपछि प्रचण्ड नेता श्रेष्ठलाई फकाउन लागिपरेका छन्। प्रचण्डसँग रुष्ट बनेका नेता श्रेष्ठले मंगलबारको भेटवार्तामा प्रचण्डसँग हामीलाई पार्टी छाडेर जाने वातावरण तपाईंले बनाउन खोज्नुभएको हो? भन्दै प्रश्न गरेका थिए। 

तर, प्रचण्डले आफ्नो अभिव्यक्तिलाई नकारात्मक ढंगले नलिन भन्दै पार्टीमा मिलेर जान आग्रह गरेका थिए। ‘अब पार्टीको बैठक बस्दैछ। तपाईंहरुको सबै कुरा त्यहीँ राख्नुस्। त्यहीँ समाधान गरेर जाऔँ’ प्रचण्डको भनाइ थियो। 

‘विद्रोह’सम्मको तयारी  

एमसिसी विवादले पार्टीभित्र बढ्दो असन्तुष्टिको बेला विभिन्न विकल्पबारे छलफल भएको स्वीकार गर्छन् नेता गिरिराजमणि पोखरेल। 

उनी भन्छन्, ‘हामीले आठौँ महाधिवेशनबाट एमसिसी यथास्थितिमा पास नगर्ने निर्णय गरेका थियौँ। हाम्रो कोणबाट त्यो भन्दा सर्वोच्च निकाय छैन। 

महाधिवेशनको निर्णयलाई केन्द्रीय समितीले काट्न पनि मिल्दैन। त्यही पनि यो बिचमा केन्द्रीय समितिको बैठक पनि बसेको छैन। अब पूर्वस्थायी समितीको बैठक अध्यक्षज्युले राख्नुभएको थियो। हामी पार्टीका ५ शीर्ष नेताहरुले त्यसको असहमति राखेको पनि हौँ। तर, त्यहाँ हाम्रो माग सम्बोधन भएन।’

उनले एमसिसी अनुमोदन गरेर राष्ट्रियताको सवालमा माओवादी अडानबाट च्युत भएको समेत टिप्पणी गरे। 

‘पार्टीको केन्द्रीय समितीको बैठक यही २० गते बस्दैछ। महाधिवेशनमा एमसिसी संशोधन नगरि पास नगर्ने सहमति बनेको छ। तर, अध्यक्षले त त्यसअघि नै शेरबहादुरजीसँग मिलेर अमेरिकालाई पत्र पठाइ सक्नुभएको रहेछ’ उनले भने, ‘हाम्रो असन्तुष्टिको विषयमा बैठकमा कुरा राख्छौँ। समस्यालाई कसरी लानुहुन्छ भन्ने नेतृत्वकै हातमा छ।’ 

छलफल जारी 

त्यसो त अध्यक्षले नै सार्वजनिक रुपमै पार्टी छाडे हुने जस्तो कुरा गरेपछि आफूहरु सोच्न बाध्य भएको नेता श्रेष्ठ बताउँछन्। 

उनले भने, ‘हामी पार्टीको समस्या बाहिर लाने वा पार्टीबाट बाहिर जानेमा थिएनौँ। तर, उहाँले सार्वजनिक रुपमै दिएको अभिव्यक्तिले सोच्न बाध्य भएका हौँ। हिजो पनि छलफल भएको थियो। त्यसलाई जारी राख्ने कुरा भएको छ। त्यसबारेमा कुनै निर्णयमा पुगिसकेको छैनौँ।’

यता, केन्द्रीय समितिको बैठक बोलाएपछि पार्टीका सबै बिषयमा छलफल भइरहेको प्रवक्ता कृष्णबहादुर महराले बताए। 

उनले भने, ‘एमसिसीको विषयले पार्टीमा केही असन्तुष्टि पनि आएको छ। सबै विषयलाई कसरी समेटेर जान सकिन्छ। अध्यक्षज्यूले पनि त्यहाँ आफ्नो कुरा राख्नुहोला। त्यहीँ समाधानको प्रयास पनि हुनसक्छ।’

बैठकमा पार्टी पदाधिकारी, सत्ता गठबन्धनको भविष्य, निर्वाचनको तयारी लगायत समसामयिक विषयमा छलफल हुने उनको भनाइ छ। 

‘पार्टीमा असहमति राख्न पाइन्छ’

एमसिसीको विवादलाई लिएर पार्टीभित्र असन्तुष्टि बढेको स्वीकार गर्छिन् नेतृ रेखा शर्मा। 

उनी भन्छन्, ‘एमसिसीलाई लिएर महाधिवेशनदेखि अहिलेसम्म एउटा निर्णय थियो। अहिले नेतृत्वले अर्को निर्णय गर्दा पार्टीमा असहमति बढेको प्रष्ट सत्य हो। तर, यो समस्या पार्टीको बैठकबाटै समाधान गर्नुपर्छ भन्ने पक्षमा छौँ।’

पार्टीभित्रको असहमतिमा पार्टी नै छाड्नेसम्मको तयारीमा कोही नपुगेको उनको दाबी छ। 

‘पार्टीका सबै कुरामा नेताहरुको कुरा नमिल्न सक्छन्। तर, यही बिषयलाई लिएर निर्वाचनको मुखबाट पार्टी नै छाड्नेसम्मको कुराले कसैलाई फाइदा हुँदैन पनि। त्यस्तो अवस्थामा कोही नेताहरु पुग्नुभएको छ जस्तो पनि लाग्दैन’ उनले भनिन्।

पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष आफैँ लागिपरेको उनले बताइन्।

उनले भनिन्, ‘हिजो पनि उहाँहरुले कुराकानी गर्नुभएको थियो। त्यो संवादलाई निरन्तरता दिएर केन्द्रीय कमिटीको बैठकबाट पार्टीलाई एकताबद्ध बनाएर कार्यविभाजन गरेर निर्वाचनको तयारीमा जुट्नुपर्छ।’

त्यसो त केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखा पनि पार्टीमा एकताबद्ध हुनुको कुनै विकल्प नभएको बताउँछन्। 

उनी भन्छन्, ‘न छोडेर जा भनेर होच्याउन हुन्छ, न ‘जान्छु कि जान्छु’ भनेर धम्क्याउन हुन्छ। अलिकति मतभेद हुनेबित्तिकै टेढो आँखा लाउने र झोली-गुन्टा सुमसुम्याउँदै दैलो नाघिहाल्ने दुवै प्रवृत्ति घातक हुन्छन्। एकता नै बल हो भन्ने कुरा पटकपटक पुष्टि भईसकेको सत्यलाई इगोले पराजित गरेपछि हुने यस्तै हो। हामी सबैले एकअर्काको अस्तित्व र आवश्यकता स्विकार गरौं। एकताबद्ध होऔं।’

पार्टीमा कसैले कसैलाई छोडेर जा भन्न र जान्छु भनेर धम्क्याउन नहुने उनको भनाइ छ। मतभेद हुनेबित्तिकै  पार्टी नै छाड्नेसम्मका प्रवृत्ति घातक रहेको सुझाउँछन्। 
 
अनि गए विप्लव 

अध्यक्ष प्रचण्डसँग नेता श्रेष्ठ रिसाएको बेलामा नेपाल कम्युनिस्ट पार्टीका  महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सहकार्यको प्रस्ताव गरेका छन्। माओवादीमा पार्टी छाड्ने चेतावनी दिइरहेको नेता श्रेष्ठलाई विप्लवले आगामी सहकार्यको प्रस्ताव गरेका हुन्। 

विप्लवको भनाईलाई उदृत गर्दै नेता श्रेष्ठ निकट एक नेताले भने, ‘राष्ट्रियताको विषयमा प्रचण्ड पटक-पटक असफल हुनु भइसक्यो। त्यसैले अब हामीले एकजुट भएर लाग्नुपर्छ। सहमतिमा अगाडि बढौँ।’

तर, नेता श्रेष्ठले आफू आन्तरिक छलफलमै रहेको कारणले अहिल्यै आवश्यक निर्णय दिन नसक्ने बताएका थिए। विप्लव नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले एमसिसी खारेज गरिनुपर्ने माग राखेर संयुक्त रूपमा सडक आन्दोलन गरिरहेका छन्। 

भलै, प्रचण्ड आफैंले विप्लवसँग पार्टी एकताबारे छलफल चलाइरहेको बेलामा माओवादीले एमसिसी अनुमोदनमा साथ दिएपछि त्यो सम्भावना कमजोर बनेको छ। तर, विप्लव भने कम्युनिष्ट घटकलाई एकताबद्ध गर्नेबारेमा छलफल चलाइरहेका छन्।  
   
पदाधिकारी छान्नै सकेनन्

एमसिसी विवादले पार्टी एकता जोगाउनु नै चुनौति बनेको बेला प्रचण्डलाई पार्टी पदाधिकारी चयन गर्नेपर्ने अर्को दबाब छ। पुषमा भएको महाधिवेशनले अध्यक्षबाहेक अरु पदाधिकारी चयन गर्न सकेको छैन। 

माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ। 

माओवादीले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्य र अध्यक्षमा प्रचण्डलाई चयन गरेको थियो। पार्टी पदाधिकारी सर्वसम्मत रुपमा चयन गर्ने प्रचण्डले प्रयास गरेको भएपनि आकांक्षी धेरै भएकाले समस्या परेको छ। 

पार्टीको अध्यक्षपछिको जिम्मेवार पद महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले बलियो रुपमा अडान लिइराखेका कारणले प्रचण्डलाई समस्या परेको छ। त्यसो त देव गुरुङ र पम्फा भुसालले पनि महासचिवकै दाबेदार हुन्। 

महासचिवका दाबेदार भुसाल र गुरुङलाई प्रचण्डले उपाध्यक्ष बनाउने माओवादी वृत्तमा चर्चा छ। प्रचण्ड सर्वसम्मत रुपमा पदाधिकारी छान्न चाहन्छन्।  तर, नेताहरुको अडान सानो छैन। 

महासचिव कसलाई बनाउने भन्ने विषयमा नेता कार्यकर्ता पंक्ति विभाजित हुन थालिसकेका छन्। विश्वास पात्रहरू नै महासचिवको दौडमा रहेको र नेता श्रेष्ठको असन्तुष्टिले पदाधिकारी चयन प्रचण्डका लागि थप पेचिलो बनेको छ।

प्रचण्डले पुन वा शर्मामध्ये एक जनालाई चयन गर्ने स्थितिमा भने पुनको सम्भावना बलियो देखिएको छ। एकीकृत माओवादी कालमा सचिव भइसकेकाले वरियतामा शर्माभन्दा पुन नै अगाडि छन्। पुनकै कारणले पदाधिकारी चयन रोकेर राखेका प्रचण्ड अहिले आन्तरिक गृहकार्यमा व्यस्त छन्। 

शर्मा अर्थमन्त्रीको जिम्मेवारीमा रहेकाले पनि उनलाई उपाध्यक्षमा लगेर पुनलाई महासचिवको जिम्मेवारी दिने प्रयास प्रचण्डले गरिरहेको स्रोतको दाबी छ। वरिष्ठ उपाध्यक्षमा नारायणकाजीको स्थान सुरक्षित रहे पनि उनी अहिले पार्टी निर्णयबाट रुष्ट छन्। महासचिव दौडबाट बाहिरिने नेताहरूलाई उपाध्यक्षमा लगेर व्यवस्थापन गर्ने प्रचण्डको तयारी छ।

स्थायी कमिटीमा रहेका नेताहरूले पदाधिकारीको आकांक्षा गरेको हुनाले केन्द्रीय कमिटीबाट पदाधिकारीको संख्या थप गरेरै भएपनि सर्वसम्मतको पदाधिकारी चयनको प्रयास भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.