विमानस्थलमा कडाई गरेपछि धमाधम समातिँदै

|

काठमाडौं : पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुनसहित पक्राउ पर्ने घटना बढ्दै गएका छन्। मध्यफागुनमा मात्र प्रहरीले करिब ३ किलोग्राम सुन बरामद गरेको छ। यति सुनको मूल्य अहिलेको बजारअनुसार करिब २ करोड १ लाख ८९ हजार रूपैयाँ हुन्छ।

विमानस्थलमा सरकारले जाँचमा कडाई गरेपछि सुनसहित पक्राउ पर्नेको संख्या बढेको हो। वैदेशिक रोजगारीबाट आउने व्यक्तिले गरगहनाका रूपमा ५० ग्रामसम्म सुन ल्याउन पाउँछन्। तर, अनेकौं तरिकाले अवैध तवरबाट सुन भित्रिने गरेको छ। 

अहिले अवैध सुन ल्याउन व्यक्तिहरूले विभिन्न हतकण्डा अपनाइरहेका छन्। हातमा, गलामा सुनका गहना भिरेर आउने व्यक्तिका शैली फेरिएका छन्। विमानस्थलस्थित भन्सार कार्यालयका अधिकारीहरूका अनुसार सुन पेटमा, अण्डरवेयरमा, पेटीभित्र थप अर्को पेटी बनाएर, विभिन्न रसायन हालेर, धुलो बनाएर लगायत अनेक तरिकाले लुकाएर ल्याउने गरेका छन्।

सुन तस्करका 'टेक्निक'

अवैध सुन ओसारपसारका विभिन्न शैली अपनाएर तस्करले विमानस्थलबाट सुन लिएर बाहिर निस्किने प्रयास गर्दै आएका छन्।

गत माघ २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन र मोबाइलसहित ३ जनालाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ पर्नेमा गौर नगरपालिका-१० रौतहटका ३२ वर्षीय सुनीलकुमार साह, मकवानपुर मनहरी-७ का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका-३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा थिए। हिमालय एयरलाइन्स र एयर अरेबियाका विमानबाट दुबई र सारजाहबाट आएका उनीहरूलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको थियो।

तीनजनामध्ये शेर्पाले मलद्वारभित्र लुकाएर सुन ल्याएका थिए। सुनको तौल १ किलो ५५ ग्राम थियो।

यस्तै फागुन १ गते विमानस्थलबाट झण्डै ५ किलो सुनजस्तो पदार्थसहित एक चिनियाँलाई पक्राउ गर्‍यो। चिनियाँ झाङ लीले विमानस्थल भन्सार कार्यालयको जाँचलाई छली अगाडि बढेको अवस्थामा शंका लागेपछि प्रहरीको सहयोगमा जाँच गर्दा उनलाई करिब ४ किलो ८ सय ४० ग्राम सुनसहित पक्राउ गरिएको थियो। हिमालयन एयरलाइन्सको उडान नं एच ९५६६ मार्फत उनी दुबईबाट काठमाडौं आएका थिए। सुनलाई पेष्ट बनाएर त्यसमा केमिकल प्रयोग गरी शरीरमा लुकाएर उनी विमानस्थलबाट बाहिरिन खोजिरहेका थिए।

फागुन ९ गते करिब १ किलो सुनसहित बंगलादेशी नागरिकलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गर्‍यो। विमानस्थलमा जाँचका क्रममा उनको हिँडाई अस्वाभाविक देखिएपछि उनलाई जाँच गरिएको थियो। दुबईबाट नेपाल आएका उनको अन्डरवेयरमा सुन फेला परेको थियो। हिमालय एयरलाइन्सको उडान नम्बर एच ९५६६ बाट मोहमद तोफिक उल्लाह काठमाडौं ओर्लिएका थिए।

अर्धठोस (पेष्ट) स्वरूपमा ५ किलो सुनसहित  झाङ ली

५ महिनामा कति मूल्य बराबरको सुन पक्राउ?

५ महिनामा प्रहरीले करिब १६ केजी ९ सय ३४ ग्राम सुन बरामद गरेको छ। जसमा कात्तिकमा ९ सय २१ ग्राम सुन बरामद गरिएको थियो। यसको तत्कालीन बजार मूल्य ७३ लाख २२ हजार ५ सय ९२ हुन्छ।

यस्तै, मंसिरमा ६ केजी ५ सय ३ ग्राम सुन बरामद भएको थियो। यसको मूल्य करिब ५ करोड २० लाख ९० हजार ७ सय रूपैयाँ हुन आउँछ।  त्यसैगरी, पुसमा ९ सय २३ ग्राम बरामद गरिएको छ। यसको बजार मूल्य करिब ७४ लाख ३२ हजार ७ सय रूपैयाँ हुन्छ।

माघमा ६ केजी १ सय ६९ ग्राम सुन बरामद भएको थियो। यसको मूल्य करिब ५ करोड १ लाख १५ हजार रूपैयाँ हुन्छ भने फागुनमा २ केजी ४ सय १० ग्राम बरामद गरिएको छ। यसको मूल्य करिब २ करोड १ लाख ८९ हजार रूपैयाँ हुन्छ।

सुन तस्करी बढेको कि कारबाही तीव्र पारिएको?

दैनिकजस्तो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुनसहित पक्राउ पर्नेको संख्या बढ्दै गएको छ। यसले गर्दा नेपालमा सुन तस्करी बढिरहेको भन्ने पनि आम जनमानसमा पर्न सक्छ। तर, विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख महेश भट्टराई भने अवैध सुन ल्याउने व्यक्तिको निगरानी बढेको बताउँछन्।

'हामीले हरेक दिन कडाईका साथ जाँच गरिरहेका छौं। जसले गर्दा अवैध रुपमा ल्याइने सुनसहित पक्राउ गर्न सफल पनि भएका छौं', उनले दाबी गरे।

अवैध रुपमा सुन भित्र्याउनेहरूले नयाँ नयाँ टेक्निक प्रयोग गरिरहँदा कतिपय अवस्थामा छुट्ने सम्भावना पनि उनी नकार्दैनन्। 'अवैध सुन ल्याउनेहरूले विभिन्न टेक्निक प्रयोग गरेको हामीले देखेका छौं। जाँचमा प्रयोग गरिने  'वाक थ्रु गेट', ह्याण्ड मेटल डिटेक्टरले समेत फेला पार्न नसक्ने हिसाबले उनीहरूले सुन भित्र्याउने रहेछन्। यस्तो भन्दैमा हामीले हाम्रो जाँचको शैली उस्तै पुरातन प्रविधिबाट गरिरहेका छौं भन्ने होइन', प्रमुख भट्टराई भन्छन्, 'हामी अवैध सुन ल्याउने व्यक्तिहरूको शैलीसँग परिचित छौं। जसले गर्दा हामी पनि जाँचमा फरक फरक शैली अपनाइरहेका हुन्छौं। कतिपय शैली हामीले गोप्य राख्नुपर्ने हुन्छ।'

अहिले विमानस्थलमा भएका प्रविधिले मात्र सामानको सबै जाँच गर्ने क्षमता राख्दैनन् भन्ने कुरा उनी घुमाउरो पारामा स्विकार्छन्।  'प्रविधि र टेक्निकको हिसाबले अवैध काम गर्नेको शैली फेरिएकाले हामीले पनि विमानस्थलको जाँचमा नयाँ प्रविधि किन्ने प्रक्रिया अगाडि बढाएका छौं', उनले भने, 'हामीले केही दिनमा थप नयाँ प्रविधि जोड्ने हिसाबले काम गरिरहेका छौं।'

अन्डरवेयरमा लुकाएर ल्याएको सुन

भन्सारसँग हाम्रो समन्वय हुन्छ : ढकाल

यता विमानस्थल सुरक्षा प्रहरी कार्यालय प्रमुख एसएसपी भीम ढकाल कानुनले दिएको जिम्मेवारी आफूहरूले पूर्ण रुपमा पालना गरेको बताउँछन्। 'हामीले विमानस्थलभित्र मात्र होइन विमानस्थल बाहिर पनि सिभिल ड्रेसमा प्रहरी खटाएका छौं। जसले गर्दा अवैध सुन तस्करमात्र होइन कुनै पनि आपराधिक गतिविधि गर्ने व्यक्ति कानुनको दायरामा ल्याउन हामी सक्षम छौं', उनले भने, 'अवैध सुनको विषयमा कुरा गर्ने हो भने हामीले निगरानी र अप्रेशनलाई थप मजबुत गरेका छौं।'

विदेशबाट आउने व्यक्तिका हकमा कानुनी हिसाबले प्रहरी र कार्यालयको काम र जिम्मेवारी तोकेको छ। यद्यपि आपराधिक क्रियाकलापमा भने दुवै समूहको आपसी समन्वयमा काम गरिरहेको प्रमुख ढकालले जानकारी दिए।

वैदेशिक रोजगारमा जाने व्यक्तिलाई प्रयोग

अवैध सुन तस्करीमा वैदेशिक रोजगारमा जाने नेपालीहरू पर्ने गरेको सरकारी अधिकारीले स्विकार्छन्। कार्यालयमा कार्यरत एक कर्मचारी भन्छन्, 'वैदेशिक रोजगारीमा गएर फर्किएका विपन्न युवा, बीचमै काम छाडेर स्वदेश फर्किन लागेका युवालाई केही रकमको लोभ देखाएर सुन ओसारपसारको माध्यम बनाएको देखिन्छ।'

विमानस्थलमा कडाई गरे पनि सुन तस्करी बढिरहेको छ। यस विषयमा सरकारले व्यापक जनचेतना फैलाउन नसकेको हो की? भन्ने जिज्ञासामा प्रमुख भट्टराई भन्छन्, 'सूचनाको अभावमा अवैध कार्यमा संग्लन व्यक्ति ज्यादै न्यून हुनुहुन्छ। छोटो समयमा लाभ लिनका लागि यसमा संग्लन व्यक्ति धेरै हुनुहुन्छ। विदेशबाट ल्याएको सुनलाई यता बिक्री गर्दा बढी नाफा हुने मानसिकताको समेत विकास भएको पाइएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.