|

काभ्रे : जिल्लाको चौरीदेउराली-५ स्थित कुडारीमा जनयुद्धका क्रममा सहिद भएकाहरूको सालिक अनावरण गरिएको छ। बुधबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको प्रमुख आतिथ्य तथा बागमती प्रदेशका खेलकुदमन्त्री रत्न ढकालको विशेष आतिथ्यमा १० जना सहिदको अर्धकदको सालिक अनावरण गरिएको हो।

जनयुद्धका क्रममा बागमती प्रदेशकै सबैभन्दा बढी चौरीदेउराली गाउँपालिकाबाट २५ जना सहिद र १० जना बेपत्ता भएका थिए। तीमध्ये चौरीदेउराली-५ बाट मात्रै १० जना सहिद भएका थिए।

संघ र प्रदेशका खेलकुदमन्त्रीले अनावरणसँगै सहिदको सालिकमा खादा, माला लगायत लगाएर सम्झिएका छन्। चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले परिवर्तनका लागि बलिदान दिने सहिदहरुको सम्झना र सम्मान लागि सालिक निर्माण गरिएको बताए।

गाउँपालिकाले सहिद तथा बेपत्ताका परिवारलाई मासिक २ हजारका दरले सहयोग वितरण गरेको छ। सहिद तथा बेपत्ता परिवारलाई आगामी दिनमा निरन्तर मासिक २ हजार रुपैयाँका दरले सहयोग प्रदान गर्ने गाउँपालिकाले जनाएको छ।

सहिद बद्रीप्रसाद तिवारीका काका ५८ वर्षीय सूर्यप्रसाद तिवारी भन्छन्, 'भतिज यो देश र समाज परिवर्तनका लागि लागेका रहेछन्। गर्व महसुस भएको छ।'

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.