|

दाङ : शान्तिनगर  गाउँपालिका-५ बैँसामा रहेको हात्तीखाल जनशक्ति प्राथमिक विद्यालयमा चालु शैक्षिक सत्रमा विभिन्न बोर्डिङ स्कुल छाडेर २६ जना विद्यार्थी पढ्न आए। २०५७ सालमा स्थापना भएको विद्यालय कक्षा ५ सम्म सञ्चालन भइरहेको छ।

कक्षाकोठा र शिक्षकको अभावले गर्दा विद्यालयमा एउटा कोठामा २ वटा कक्षाका विद्यार्थी पढाउन बाध्य भएको विद्यालयकी शिक्षिका एवं पूर्व-प्रधानाध्यापक रमा बुढाथोकीले बताइन्।

अहिले विद्यालयमा ८५ जना विद्यार्थी रहेको उनले बताइन्। विद्यालयमा अहिले ५ वटा कोठा रहेको र शिशुदेखि कक्षा ५ सम्म पढाइ हुने हुँदा कक्षाकोठा अभावले बहुकक्षा सञ्चालन गर्नुपरेको उनको भनाइ छ।

उनले भनिन्, ‘पहिलेको तुलनामा अहिले विद्यालयमा धेरै परिवर्तन भएको छ। म १८ वर्षसम्म यो विद्यालयमा प्रधानाध्यापक भएर काम गरेँ।  त्यति वेला हामीले शुक्रबार कक्षा कोठा बिदा भएपछि लिपपोत गर्ने गर्थ्यौँ। अहिले पक्की भवन बनेको छ तर कक्षाकोठा अभाव भएको छ।’

उनले विद्यालयको भौतिक संरचनासँगै पढाइ पनि राम्रो हुँदै गएपछि अभिभावकले निजी विद्यालयबाट आफ्ना छोराछोरी यहाँ ल्याउन गरेको जानकारी दिइन्।  

विद्यालयमा कक्षाकोठाका साथै शिक्षकको पनि अभाव छ। ‘कक्षाकोठा र शिक्षकको अभावले गर्दा पनि बहुकक्षा सञ्चालन हुन्छ’, उनले भनिन्, ‘शिशु कक्षाका विद्यार्थीलाई भित्र कोठामा र कक्षा एकलाई बाहिर बसाएर पढाउँछौँ। त्यस्तै विद्यालयमा ५ जना शिक्षक छौँ। एकजना स्थायी, दुईजना राहत कोटाबाट, एकजना निजी कोटाबाट र एकजना शिशु कक्षाका लागि हुनुहुन्छ।’

खुशी अभिभावक

यता अभिभावक रामु चौधरी पनि पछिल्लो समय सरकारी स्कुलमा राम्रो पढाइ हुन थालेपछि आफूहरूले निजी विद्यालय छाडेर सरकारीमा पढाउन लागेको बताए।उनले भने, ‘पहिला सरकारी स्कुलमा राम्रो पढाइ हुँदैनथ्यो।

अहिले त बोर्डिङ स्कुलको जस्तै पढाइ सरकारी स्कुलमा भइरहेको छ। अहिले सरकारी स्कुलमा पनि बोर्डिङको जस्तो सेवा पाएका छन्।’ उनले सरकारले अब सरकारी विद्यालयको पढाइ राम्रो बनाउन प्राविधिक शिक्षासँगै पर्याप्त मात्रामा शिक्षक र कोठाहरूको व्यवस्था गरे अझ विद्यार्थीहरू बढ्न सक्ने बताए।  

बन्द भएको विद्यालय पुनः खुला

सोही वडामा रहेको रात्रि प्रावि रगैँजा पनि विद्यार्थी नहुँदा गाभिएर २०७४ सालमा बन्द भएको थियो। फेरि २०७५ सालदेखि यो अंग्रेजी माध्यमबाट पढाइ गर्दै विद्यालय सञ्चालनमा आएको हो।  विद्यालयमा शिशु कक्षामा २३ जना र कक्षा १ देखि ३ सम्म ३६ जना गरी ५९ जना विद्यार्थी रहेको विद्यालयकी प्रधानाध्यापक रीमा वलीले बताइन्। उनका अनुसार विद्यालयमा स्थायी, निजी र कार्यालय सहयोगी गरी ६ जना शिक्षक कर्मचारी रहेका छन्। उनले विद्यालयमा कक्षाकोठाको समस्या रहेको बताइन्। त्यस्तै उनले चालू आर्थिक वर्षमा ५० प्रतिशत विद्यार्थीहरू बढेको उनले बताइन्।

उनले भनिन्,‘ म आउँदा कक्षा १ सम्म मात्र पढाइ हुन्थ्यो।  कक्षा १ मा ३ जना मात्र विद्यार्थी थिए। ती पनि बाल विकास विद्यार्थीहरूसँग एक बजे घर गइहाल्थे। अहिले ३ कक्षासम्म ३६ जना विद्यार्थी छन्। त्यो समयमा अफिस पनि थिएन। कक्षाकोठामा ह्वाइट बोर्ड तथा मार्कर पनि थिएन। मैले व्यक्तिगत रूपमा ल्याएर पढाएँ। अहिले कक्षा ३ सम्म पढाइ हुँदै छ। धेरै प्रगति भएको छ।’

आगामी शैक्षिक सत्रदेखि विद्यालय कक्षा ४ सम्म सञ्चालन गर्ने योजनामा रहेको विद्यालयले जनाएको छ। उनले आफ्नो विद्यालयमा बाल विकासका लागि निजी विद्यालयको जस्तो सेवा सुविधा रहेको भन्दै अबको शैक्षिक सत्रमा विद्यार्थी बढ्ने पनि बताइन्। विद्यालयलाई वडा कार्यालयबाट विभिन्न सामग्री सहयोग भइरहेको समेत उनको भनाइ थियो।   

यसैगरी सोही वडामा रहेको आदर्श माध्यमिक विद्यालय काशीपुरमा पनि पछिल्लो समय विद्यार्थीहरू बढ्दै गएका छन्। २०५० सालमा चौतारोबाट सञ्चालनमा आएको विद्यालय अहिले धेरै फड्को मारेको कक्षा ९ सम्म विद्यालय सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक विनोद डाँगीले बताए।

उनले विद्यालयको पछिल्लो समय भौतिक संरचना राम्रो हुँदै गएको भए पनि ठाउँको समस्या रहेको पनि बताए। उनले स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि विद्यालयलाई धेरै सहयोग गरेको जानकारी दिए।

विद्यालयमा विद्यार्थीअनुसार शिक्षकहरूको दरबन्दी पनि राम्रो हुँदा वर्षेनि विद्यार्थी बढ्दै गएको उनको भनाइ छ। शिशु कक्षादेखि ९ सम्म २३३ जना विद्यार्थी रहेको भन्दै उनले ५ जना दरबन्दीका, एकजना शिक्षक अनुदानका, ४ जना गाउँपालिका अनुदानका र एकजना कार्यालय सहयोगी गरी १२ जना रहेको बताए।

उनले विद्यालयका पुराना २ वटा भवन जीर्ण भएको हुँदा पढाइमा समस्या रहेको बताए। कक्षाकोठाको अभावले एउटा कोठालाई २ भागमा बाँडेर दुइटा कक्षा सञ्चालन गर्दै आइरहेको उनले जानकारी दिए।

विद्यालयमा पुराना संरचनामा बनेका शौचालय जीर्ण बन्दै गइरहेको र भवन तथा शौचालयमा निर्माणका लागि गाउँपालिकामा पहल गरेको उनले बताए।  

विद्यालयको सुधारमा त्रिपक्षीय ध्यान
पछिल्लो समय सरकारी विद्यालयको पढाइ सुधारको लागि विद्यालयका शिक्षक र अभिभावक र सरकारी पक्षहरूले पनि ध्यान दिनुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल केसीले बताए।

व्यवस्थापकीय पक्षबाट आफूहरूले राम्रो काम गर्दै आएको र स्थानीय तहले  पनि सहयोग गर्दै आएपछि शिक्षामा धेरै परिवर्तन आएको उनी बताउँछन्।  

सरकारी विद्यालयहरू निजी विद्यालयभन्दा पछाडि पर्नुको कारण नेतृत्व गर्ने व्यक्तिले ध्यान नदिनु रहेको उनको निष्कर्ष छ। उनले भने, ‘म आएको करिब डेढ वर्ष भयो। मैले धेरै प्रयास गर्दा विद्यालयमा धेरै परिवर्तन आएको छ। शिक्षामा सुधार ल्याउन हेड सरको पनि हात हुन्छ। सरकारी स्कुलहरू पनि प्रशासनिक लगायत नियमहरू कडा भए कुनै पनि सरकारी विद्यालयको शिक्षा माथि उठ्छ।'

राजनीतिबाट विद्यालय मुक्त गरौं

राजनीतिक कारणले गर्दा पनि सरकारी विद्यालयको शिक्षामा समस्या हुने उनको दाबी छ। उनले सरकारी विद्यालयको व्यवस्थापन समितिको नेतृत्व लिनका लागि पनि  राजनितिक प्रभाव पर्ने भएकाले त्यसलाई चिरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे।

उनले भने, ‘सरकारी विद्यालयको शिक्षा खस्किनुमा विद्यालय व्यवस्थापनको पनि हात हुन्छ। यदि विद्यालयमा राजनीति भयो भने त्यसले प्रगति गर्न सक्दैन। मैले राजनीतिलाई विद्यालयको पर्खाल बाहिर राखेको छु। म विद्यालयको शैक्षिक तथा भौतिक सुधार गरेर नमुना विद्यालय बनाउन लागेको छु।’

विद्यार्थीका अनुहारमा देखिएको खुशी
विद्यालयमा विस्तारै परिवर्तन हुँदै गएपछि अध्ययनरत विद्यार्थीहरू पनि खुशी देखिन्छन्। कक्षा ८ मा पढ्ने आयुष  चौधरीले विगतका वर्षझै योपटक पनि विद्यार्थी संख्या बढेको बताए। उनले विद्यार्थीको संख्या बढेपछि खानेपानी, शौचालय र खेल्नका लागि मैदानको समस्या रहेको बताए।

आयुष मात्र नभई सोही विद्यालयमा पढ्न पाउँदा कक्षा ७ मा पढ्ने सम्झौता शाही पनि निकै खुशी छिन्। पहिलेको तुलनामा विद्यालयको पढाइमा पनि सुधार भएको उल्लेख गर्दै उनले खेल्ने ठाउँको अभाव रहेको उनले बताइन्।  

यता आफ्नो वडाका सरकारी विद्यालयमा शैक्षिक सुधारका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको शान्तिनगर गाउँपालिका-५ का वडाध्यक्ष गिरिराज बस्नेतले बताए। उनले काशीपुर विद्यालयका लागि दुईतले पक्की भवन, रात्रि प्राविको लागि शैक्षिक सामग्री र वडाका सबै सरकारी विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरेको जानकारी दिए।

उनले आदर्श माविमा खेल मैदानको र भवनको समस्या रहेको भन्दै त्यसका लागि पनि गाउँपालिकामा पहल गरेको बताए। ‘पछिल्लो समय सरकारी विद्यालयमा विद्यार्थीहरू बन्द भएका छन्। मेरै वडामा रहेको रात्रि प्रावि विद्यार्थी नहुँदा गाभिएको थियो। अहिले त्यहाँ वर्षेनि बढ्दै गएका छन्। त्यसैले अब राज्यले शिक्षालाई विशेष ध्यान दिएर काम गरे सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार हुन्छ', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.