|

सल्यान: विदेशबाट फर्किएका युवा गाउँमै कृषि व्यवसायमा लाग्‍न थालेका छन्। तरकारी खेती, पशुपालन र अन्य घरेलु उद्यममा लागेका सल्यानका युवा उदाहरणीय बनेका छन्।

५ वर्ष मलेशियामा बिताएका शारदा नगरपालिका-१४ स्याल पानीका प्रेमबहादुर खड्का १२ रोपनी जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्। विदेशको दुःख सहेर फर्केपछि उनलाई गाउँमै मिहिनेत खर्चिने चाहना पलाएको उनी सुनाउँछन्।

‘५ वर्षको विदेश बसाइपछि मलाई लाग्यो यो दुःख चाहिँ म नेपालमै गएर गरेँ भने पनि महिनाको ३०-४० हजार कमाउन सक्छु भन्ने सोच आयो, त्यसपछि मैले विदेशको यात्रा त्यागेँ', उनले भने।

६ रोपनी जमिन वार्षिक २५ हजारका दरले भाडामा र आफ्नो ६ रोपनी गरी १२ रोपनी क्षेत्रफलमा व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आइरहेका खड्काले भने अहिले वार्षिक १० लाखको कारोबार गरिरहेका छन्।

‘मलेशियामा बस्दा मलेसियाको तलब मासिक ५ देखि ६ सय हुन्थ्यो। नेपालीमा त्यति बेलाको मूल्‍यमा हिसाब गर्दा १५ देखि २० हजार हुन्थ्यो। तर, अहिले मैले आफ्नै जमिनमा मासिक ३० देखि ४० हजारसम्म आम्दानी गर्दै आइरहेको छु', उनले भने।

 विदेशमा २० घण्टासम्म खटिएर पनि काम गर्न सक्नेले स्वदेशमा दैनिक १० देखि १२ घण्टा मात्र राम्रोसँग काम गर्न सकियो भने सुन फलाउन सकिने उनको अनुभव छ। ‘विदेशमा १८ घण्टादेखि २० घण्टासम्म लगातार काम गर्न सक्नेले स्वदेशमा १० देखि १२ घण्टासम्म मात्र काम गर्न सकियो भने विदेशको भन्दा धेरै राम्रो आम्दानी आफ्नै घरमा कमाउन सकिन्छ', उनी सुनाउँछन्।

वार्षिक १० लाखको कारोबार, एकजनालाई रोजगारी

विदेशको दुःख र पीडालाई बुझेर स्वदेश फर्केर तरकारी खेती गर्दै आइरहेका खड्काले वार्षिक १० लाखको कारोबार गर्दै आइरहेका छन्। सबै खर्च कटाएर ७ देखि ८ लाख नाफा हुने उनले सुनाए।

'विदेश जाँदा र जग्गा खरिद गर्दाको सबै ऋण अहिले तरकारी खेतीबाट आएको आम्दानीले तिर्दै आइरहेको छु', उनले भने। बजारमा तरकारीको राम्रो मूल्य पाइयो र खेतीमा रोग किरा लागेन भने तरकारीबाट राम्रो आम्दानी हुने खड्काको भनाइ छ। आठवटा प्लास्टिक टनेलमा तरकारी खेती गर्दै आइरहेका खड्काले ४८ र ४६ मिटर लामो दुईवटा टनेलमा मात्र ५ हजार टमाटरको विरुवा लगाउन सकिने उनको दाबी छ। 

घरका सदस्यहरू मात्रले काम गर्न नसक्ने भएकाले खड्काले एकजनालाई रोजगारीसमेत दिएका छन्। मासिक १३ हजारका दरले एकजनालाई रोजगारी दिएको उनले सुनाए। 

तरकारीसँगै व्यावसायिक भैँसीपालन

मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आइरहेका खड्काले व्‍यावसायिक भैँसीपालनसमेत गरेका छन्। ठूला ५ वटा, साना ४ वटा र एक गाई गरी १० गाईभैँसी उनका गोठमा रहेका छन्।

तरकारी खेतीका लागि मलको आवश्यकता पर्ने भएकाले भैँसीपालन गर्दै आइरहेको उनको भनाइ छ। उनले भने, ‘तरकारीमा रासायनिक मल भन्दा प्रांगरिक मल प्रयोग गर्ने सोचका साथ भैँसी पाल्दै आइरहेको छु। जसबाट अर्गानिक तरकारी पनि उत्पादन भइरहेको छ भने दूधबाट पनि आम्दानी भइरहेको छ।’ मानव स्वास्थ्यलाई ख्यालमा राखी आफूले अर्गानिक उत्पादनलाई जोड दिँदै आइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.