|

काभ्रे : पर्यटकीय क्षेत्र धुलिखेल नगरपालिका–९ स्थित देवीस्थान डाँडामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। देवीस्थान डाँडामा रहेको चुच्चे ढुंगामा सेल्फी खिच्नेदेखि पिङको मज्जा लिन र घोडा चढ्न, शालिक तथा वरपरका रमाइलो दृश्य अवलोकन गर्न पाउनुका साथै पिकनिक क्षेत्रसमेत प्रसस्त भएको हुँदा पर्यकटकको रोजाइमा पर्दै गएको हो।

कोभिड–१९ महामारीका कारण लामो समय सुनसान रहेको पर्यटकीय क्षेत्र देवीस्थान डाँडामा पछिल्लो समय चहलपहल बढ्दै गएको छ। देवीस्थान डाँडामा पुग्ने पर्यटकले पिङ प्रतिव्यक्ति १५० रुपैयाँमा ५ मिनेटसम्म खेल्न पाउने छ। त्यस्तै‚ चुच्चे ढुंगा चढेर सेल्फी लिन प्रतिव्यक्ति १० र घोडा चढ्न १५० रुपैयाँ तोकिएको छ।

व्यवसायी सिर्जना थापाका अनुसार पिङ नजिकै रहेको लभ आकारको फोटो खिच्ने ठाउँ र नेपालको झण्डासमेत राखिएको मिनी टावरमा भने निःशुल्क चढ्न र सेल्फी लिन पाउँछन्। पहिला चुच्चे ढुंगा मात्रै रहेको उक्त स्थानमा अहिले पिङ, घोडाचडी‚ सेल्फी खिच्ने ठाउँ र सानो पार्क समेत निर्माण गरिएको छ। थापाका अनुसार सात रोपनी पाँच आना जग्गा भाडामा लिएर सञ्चालन गरिएको हो।

आन्तरिक पर्यटकको आउजाउ बढ्दै गएपछि व्यवसायले पनि रूप फेर्ने आशामा रहेको व्यवसायीहरू बताउँछन्। देवीस्थान डाँडामा बिदाको दिन र शनिबार घुम्न आउनेको पर्यटक धेरै हुन्छन्। पिङ, चुच्चे ढुंगा, घोडाचडी लगायतबाट दैनिक ७ हजारदेखि १५ हजार रूपैयाँसम्म उठ्ने व्यवसायीहरू बताउँछन्।

हाइकिङ र हजार सिँढी चढ्दै देवीस्थानमा रहेको काली देवीको दर्शन तथा शान्ति वनस्थित बुद्धमूर्ति, चुच्चे ढुंगा, पिङ, घोडचढी, शहीद भलभद्र कुवँरको शालिकसँगै वरिपरिको हरियाली वन जंगलको माथि अग्लो डाँडामा बसेर स्वच्छ हावामा खेलेर मनोरम हिमशृङ्खलाका दृश्य नियाल्न पाउने भएको हुँदा देवीस्थान डाँडा पर्यटकको रोजाइमा पर्ने गरेको हो।

त्यससँगै धुलिखेल नगरपालिकाले पर्यटकलाई मनोरञ्जन प्रदानसँगै दक्षिण एशियामा नै सबैभन्दा बढी पार्क भएको शहरका रुपमा परिचित गराउने उद्देश्यका साथ नगरका विभिन्न स्थानमा बुद्ध पार्क, बाघ पार्कदेखि पृथ्वीनारायण शाह लगायतको ६० वटा भन्दा बढी पार्क निर्माण गरेका छन्। 

संघीय राजधानी काठमाडौंबाट करिब ३२ किलोमिटरको दूरीमा अवस्थित पर्यटकीयस्थल देवीस्थान डाँडामा जिल्लाको मात्रै नभई काठमाडौं, भक्तपुर र ललितपुर लगायतका पर्यटकहरु आउने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.