‘रोजगारीबाट फर्किएका‚ आफन्त विदेशमा भएकालाई यो प्रावधान छैन’

|

विभिन्न प्रलोभनमा परी वैदेशिक रोजगारीका लागि भिजिट भिसामा विदेश पुगेका नेपाली अलपत्र पर्न थालेसँगै सरकारले कडाइ गरेको छ। त्यसैले सरकारले ‘भिजिट भिसाको समस्या समाधान गर्नका लागि भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायसम्बन्धमा सिफारिस गर्न गठित कार्यदल’ गठन गरेको थियो।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा  गठन भएको कार्यदलले  तयार पारेको प्रतिवेदनमा सर्वसाधारणलाई विदेश जानका लागि वार्षिक १० लाख आम्दानी र पाँच लाख रूपैयाँ बैंक ब्यालेन्स देखाउनुपर्ने सर्त अगाडि सारिएको छ। उक्त प्रावधान अघि सारिएपछि सामाजिक सञ्जाल, सञ्चारमाध्यम तथा सरोकारवाला निकायले समेत यसलाई अव्यावहारिक भएको भनी टिप्पणी भएको छ।

कार्यदलले तयार पारेको प्रतिवेदनलाई लिएर भइरहेको टिकाटिप्पणीलाई लिएर कार्यदलका संयोजक एवं सहसचिव फणिन्द्रमणि पोखरेलसँग थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानी:

भिजिट भिसा के हो?

हालसम्मको  प्रचलनअनुसार भिजिट भिसा भनेको पर्यटकका लागि खुल्ला गरिएको भिसा हो। उक्त भिसा मानिसहरू एक देशबाट अर्को देशमा घुम्न जानका लागि जारी गरिन्छ। विदेशमा रहेका कुनै आफन्तकहाँ जानु परेमा वा विदेश यात्रामा जानु परेको खण्डमा प्रयोग गरिने भिसा भिजिट भिसा हो।

विश्वका विभिन्न मुलुकले भिजिट भिसाका लागि फरकफरक अवधि तोकेको हुन्छ। नेपालीको मुख्य गन्तव्य मुलुक मानिने युएईले भने तीन महिनाका लागि दिने गरेको छ। भिजिट भिसाका लागि सबैभन्दा महत्त्वपूर्ण दुईतर्फी हवाई टिकट र यात्रा गर्ने व्यक्तिसँग एक हजार अमेरिकी डलर आवश्यक पर्छ। कानुनतः भिजिट भिसामा गएका कुनै पनि व्यक्तिले सम्बन्धित देशमा पुगेपछि आम्दानीमुलक काम गर्न पाउँदैनन्।

तर, पछिल्लो समय भिजिट भिसामा विदेशमा गई रोजगारी गर्ने गरेको पाइन्छ। अर्कातिर म्यानपावर व्यवसायी, एजेन्टको प्रलोभनमा परी विदेश पुगेका नेपाली अलपत्र गरेका छन्। जसलाई रोक्न सरकार लागिपरेको छ।  

भिजिट भिसामा कस्ता समस्या देखा परेका छन्?

लामो समयदेखि भिजिट भिसाको नाममा वैदेशिक रोजगारी अझ भनौँ मानव बेचबिखन नै भएको छ। रोजगारीको प्रलोभनमा पारी म्यानपावर व्यवसायी वा एजेन्टको प्रलोभनमा परी विदेश पुगेको हजारौं युवा अलपत्र परेका छन्।

देशमा रोजगारी नपाए भौतारिएका युवाहरु रोजगारी पाइन्छ‚ राम्रो कमाइ हुन्छ भन्ने आशाले विदेशमा पुग्छन्। तिनै युवाहरू अलपत्र पर्ने गरेका छन्। ती युवाहरूलाई भिजिट भिसा के हो? किन वा के प्रयोजनका लागि जारी गरिन्छ भन्ने जानकारी समेत छैन। विदेश जाने र पठाउने व्यक्तिसँग प्रत्यक्ष भेटघाट कमै मात्र हुन्छ। ठगी गर्ने व्यक्ति वा संस्थाको नाम समेत थाहा नभएको अवस्था छ। 

विशेष गरी भिजिटमा गएका व्यक्ति अलपत्र पर्ने, ठगीमा पर्न समस्या छ। भिजिट भिसाको दुरुपयोग भएको पाइन्छ। केही समय नियन्त्रण गर्ने काम गरियो। हाल त्यसलाई व्यवस्थित गर्नका लागि समिति नै बनाएर प्रतिवेदन सरकारलाई बुझाइसकेका छौं।

भिजिट भिसाका विवाद समाधान गर्न पटकपटक कार्यदल बन्यो। तर, समस्या ज्युँका त्युँ रहेको छ नि?

भिजिट भिसाको समस्या अहिले मात्र समस्या होइन। लामो समयदेखिको हो। सरकारले भिजिट भिसाले ल्याएको समस्या समाधान गर्न पटकपटक छलफल गर्‍यो। छानबिन समिति पनि बने। तर‚ समाधान भएन। केही समयअघि अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने ४० वर्षभन्दा कम उमेरका महिलाको हकमा वडा कार्यालयको सिफारिस र परिवारको मञ्जुरिनामा चाहिने प्रावधान राखेको थियो। तर, त्यो प्रभावकारी भएन।

त्यसलगत्तै बनेको समितिले भिजिट भिसामा जानेको हकमा १५ लाख बराबरको बिमा र अभिभावकको स्वीकृति अनिवार्य गर्न सुझाएको थियो। तर, त्यो पनि व्यावहारिक बन्न सकेन। यसरी भिजिट भिसा व्यवस्थित गर्न नसक्दा समस्या ज्युँका त्युँ छ। पछिल्लोपटक बनेको कार्यदलले दिएको सुझाब व्यावहारिक भएको महसुस गरेका छौं। उक्त सुझाबलाई सरकारले कार्यविधिमा समेट्ने छ। त्यससँगै वर्षौंदेखिको समस्या समाधान हुने छ।

तपाईं संयोजक रहेको कार्यदलले भिजिट भिसामा जान वार्षिक १० लाख आम्दानी र पाँच लाख बैंक ब्यालेन्स देखाउनुपर्ने सर्त राखेको छ। यो व्यावहारिक छैन भन्ने गुनासो छ नि? 

मेरो नेतृत्वमा बनेको कार्यदलले वैदेशिक रोजगारी, भिजिट भिसाका विषयमा देखिएको समस्या समाधानका उपायसहितको प्रतिवेदन तयार पारी सरकारलाई बुझाएको छ। प्रतिवेदनमा धेरै कुरा समेटिएको छ। तर‚ चर्चा आर्थिक विषयको मात्र भयो। सामाजिक सञ्जाल र  विभिन्न सञ्चार माध्यमले १० लाख नहुनेले भिजिट भिसामा विदेश जान नपाउने भन्ने एकोहोरो चर्चा गरे।

तर‚ १० लाख वार्षिक आम्दानी‚ पाँच लाख खातामा राख्नुपर्ने प्रावधान अन्तिम विकल्पको रुपमा राखिएको छ। कुनै देशमा रोजगारी गरेर फर्किएका, प्लस टु वा सो सरह पढाइ, अंग्रेजी भाषामा दक्ष, आफन्त विदेशमा भएकालाई भिजिट भिसामा विदेश जान रोकिएको छैन। भिजिट भिसामा विदेश गएर कमाउने नै उद्देश्य भएकालाई रोक्नका लागि उक्त प्रावधान राखिएको हो। अरु कुनै विकल्प नभए पैसा भएकालाई मात्र जान दिन लागिएको हो। 

सम्पन्नका लागि मात्र भिजिट भिसा हो भन्न खोज्नु भएको हो

हो। तपाईं हाम्रो आर्थिक हैसियत भनेको पोखरा घुम्ने पनि छैन। आर्थिक अवस्था कमजोर छ‚ बिहान खाए बेलुका के खाने भन्ने अवस्था छ। त्यस्ता नागरिकले विदेश घुमेर आउँछु भन्न सक्ने अवस्था हुँदैन। त्यस्ता मानिसहरू भिजिट भिसामा विदेश गएर बिचल्लीमा पर्ने अवस्था हुन्छ। त्यसैले अन्तिम विकल्पका लागि पैसाको प्रावधान राखिएको हो। 

वैदेशिक रोजगारीको प्रक्रिया झन्झटिलो भएकाले भिजिट भिसाका प्रयोग बढेको भन्छन्‚ के भन्नु हुन्छ?

वैदेशिक रोजगारीका लागि जान हाम्रो सरकारी प्रक्रिया कठिन छ। प्रक्रिया लामो समय लाग्नुका साथै धेरै खर्चिलो पनि छ। यस कुरालाई कार्यदलको प्रतिवेदनमा समेटिएको छ। धेरै लामो समयदेखि रहेको यस समस्यालाई सरकारले तत्कालै सुधार्नुपर्ने अवस्था छ। हामीले अनुसन्धान गरी सुधारका लागि सुझाब दिएका छौं। अब कार्यविधि बनाउँदा केही संशोधन होला भन्ने अपेक्षा छ। 

कार्यविधि कहिले तयार हुन्छ?

भिजिट भिसासम्बन्धी प्रतिवेदन तयार पारी सरकारलाई पेस गरिसकेका छौं। वैदेशिक रोजगार विभाग र अध्यागमन विभागले त्यसलाई अध्ययन गरी कार्यविधि तयार पार्नेछ। कार्यविधि हामीले दिएका सुझाबलाई आधार बनाई तयार पर्ने हो।

तर, कतिपय विषय कार्यविधि आउँदासम्म छलफल गरी थप घट हुनसक्छ। जे जसरी आए पनि श्रमिकलाई सहज हुने र भिजिट भिसामा गई वर्किङमा परिणत गर्ने या लुकेर बस्नेलाई कडाइ गर्ने गरी तयार हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.