|

महिला दिवसबारे लेखेकी रहिछौ नि त छोरी‚ पढें पूरै। कति राम्रो सबै कुरा मिलाएर लेखेकी। होत नि, हाम्रो पालामा जस्तो कहाँ सहन्छन् त आजकालका महिलाले।

मेरी आमाको बचपन काठमाडौंमै बितेको अनि न्यायाधीशको छोरी। घरमै गुरु राखेर अक्षर सिकाएर पढ्नुभएको। हजुरबुवाको जागिर कहिले कहाँ कहिले कहाँ सरुवा भइरहने। तै पनि घरमै शिक्षादीक्षा पाउनुभएको। नेपाली, अंग्रेजी लेख्न‚ पढ्न आउने। पत्रिका नियमित पढ्ने र टेलिभिजन, रेडियोका समाचार पनि नियमित हेर्ने र सुन्ने गर्नुहुन्छ।

उहाँलाई समाचारबारे हामीभन्दा बढी जानकारी हुन्छ। अष्ट्रेलियामा बाढी आउँदा नातिनीको चिन्ता लाग्छ। युरोपमा तुफान आउँदा छोराको चिन्ता। जापानमा भूकम्प र सुनामीको समाचार आउँदा नातिको चिन्ता। अमेरिकालाई हिउँले डुबाउँदा छोरी ज्वाइँको चिन्ता। बंगलादेशमा आगलागी भा छ ज्वाइँलाई फोन गरी हाल त। सबैको चिन्ता उहाँलाई नै लाग्छ।

हामीलाई फोन गरिहाल्नु हुन्छ- ल बुझ त कहाँ कहाँ के अवस्थामा छन्। यस्तै समाचारकै प्रसंगमा महिला दिवसको लेख पढ्नुभएछ। चर्चा गर्न सुरु गर्नु भो। आफूले मनमा लागेका कुरा बोल्नै नसकेकोमा आज धेरैपछि परेको महसुस गर्नुहुन्छ।

बोल्नुपर्छ भन्ने नै थाहा भएन

काठमाडौं मै हुँदा लमजुङको केटासँग बिहे भयो १६ वर्षको उमेरमा। काठमाडौंमै राष्ट्र बैंकमा जागिरे केटा सायद बुवालाई थाहा भएन होला फेरि लमजुङ फर्केर बस्नुपर्छ या चाडबाडमा गाउँ जानुपर्छ भनेर। बिहेको दिनपछि दुईजना भान्से बाहुन पनि सँगै दिएर पठाएका बाआमाले त्यति बेलासम्म आफूले खाना पकाएको अनुभव थिएन।

तरकारी केलाउने, पूजा सामग्री ठिक पारिदिने र लेखपढमै समय बिताउने यस्तै दिनचर्या हुन्थ्यो। न त अहिले जस्तो बालविवाह गर्न पाइन्न भन्ने थाहा थियो न त किन बिहे गर्न लागेको यति सानो उमेरमा भन्ने कुरा नै व्यक्त गर्न सकिन्थ्यो। बुवाले भनेपछि सकियो। बुवासँग दोहोरो कुरागर्ने चलन नै थिएन। न त आमाले पनि यी कुराको मेसो पाउनु हुन्थ्यो। समय नै त्यस्तै थियो।

स्कुल गएर हाइस्कुलसम्म पढ्नुपर्छ भन्ने जरुरी पनि थिएन छोरीका लागि। बिहे भएको करिब डेढ वर्षमा ६ महिनाकी छोरी च्यापेर लमजुङ घर पुगियो। गाउँघरका दिदीबहिनीले मेरो अवस्था देखेर होला यो कुवाको पानी खायो भने त गाँड आउँछ भने‚ मैले पत्याएर तीन दिनसम्म पानी नै खाइनँ। पछि सबैले त्यही कुवाको पानी खाएको तर गाँड त कसैको थिएन। अनि चौथो दिनबाट पानी खान थालें।

सासु, ससुरा, श्रीमान कसैलाई सोध्नै सकिनँ। सासुले बाख्रा सार, भैंसीलाई घाँस देऊ जस्ता काम अह्राउनुभयो। बाख्रा लगेर रुखको हाँगामा बाँधेछु। यत्ति ढंग पनि छैन भनेर कराउन थाल्नुभयो। भैंसीलाई घाँसको मुठा फुकाएर दिनुपर्ने रहेछ। मुठो सहित भैंसीको अगाडि लगेर राखि दिएछु। फेरि गाली खाएँ। गरेकै थिएन मैले कसरी जान्नु! काम गराउनुअघि सिकाउनुस् न भन्न पनि नसक्ने। 

कति कुरा महिलाले आफ्नो परिवार सुन्दर बनाउनका लागि सहेको पनि राम्रो हुन्छ। किनभने महिलाले घर सम्हाल्नु, परिवारलाई प्रेम दिनु, संस्कार दिनु जत्तिको ठूलो काम अरू हुँदैन। घर बिगारेर महिला अधिकारका लागि नारा दिएको पनि सुहाएको छैन।

जानेकी छ कि छैन सोध्ने र सिकाउने चलन पनि नभएको। बुहारी भएपछि त जान्नै पर्छ नि जस्तो, अर्थात् छोरीले गर्भदेखि नै जानेर आउनुपर्छ भन्ने सोच थियो। बिस्तारै सबैले गरेको देखेर काम सिक्दै गएँ।

साँझको समयमा अँध्यारो आँगनको डिलमा बसेर भाँडा माझ्नुपर्ने, डर लाग्थ्यो भन्न सक्दिनथें। ससुराले कसरी थाहा पाउनुभएछ २–४ दिनपछि साथी दिएर भाँडा माझुञ्जेल साथ दिनुहुन्थ्यो।

घरअगाडि नाकको टुप्पोमै अग्लो डाँडा थियो। सबै प्रकाश छेक्ने जस्तो रात परेपछि झन् झिलिकमिलिक बिजुली चम्किने उज्यालो मनमनै भूत भनेर डराउँथें । के, किन, कसरी कति नजानेका कुरा, डर लागेका कुरा, खान मन लागेका कुरा भन्नै नसक्ने। महिनावारी भयो‚ गाईको दुध खानुहुन्न भनेर खान नदिने। महिनावारीमा मीठो र पोषिलो खाना नै खान नदिने। यो प्रचलन सही होइन भन्ने जान्दाजान्दै पनि बोल्नै नसक्ने।

आफ्ना कुरा सुनाउनै नसक्ने। बच्चाबच्ची साना, घरमा खान लाउन दुःख नभए पनि भित्र कति हुन् कति मनमा गुम्सिएका कुरा। मैले मात्र होला र सबै दिदीबहिनीको त्यही अवस्था थियो नि। यो सही हो यो गलत हो भन्ने आँट नै नआउने। अहिले भए कति बोल्दो हुँला।

महिलाका कामको अवमूल्यन

हुन त अहिलेका महिलालाई जागिर पनि गर‚ घरको काम पनि हेर‚ धेरै दुःख छ। बाहिर र घर व्यवस्थापन गर्न। तर, हाम्रो पालामा बिहान उठेदेखि साँझसम्म घरको काम एकपछि अर्को कहिल्यै नसकिने।

दाउरामा खाना पकाउँदै बिहान जाने। भैंसीलाई घाँस काट्नु, टाढाको कुवादेखि पानी बोक्नुपर्ने। सुत्केरी र महिनावारी भएको बेलामा गह्रुँगो भारी उचाल्नुपर्ने। यसबारेको ज्ञान कसैमा थिएन। आफूलाई त थाहा थियो नि तर बोल्न र भन्न नसक्ने। छोराले खाने खाना र बुहारीले खाने खाना फरक। दुध, घिउ पोषिलो कुरा छोरालाई। उहिलेका मानिस त बुहारीलाई मात्रै होइन छोरीलाई पनि पोषिलो खाना नदिने भन्या।

छोरी‚ बुहारीले घरका परिवार सबैलाई खुवाएर पुगे खाने, नपुगे यसोउसो त्यत्तिकै टार्ने। निभिसकेको दाउरा र अँगेनो बालेर फेरि खाना कसले पकाउनु र! थाहा त थियो नि पोषिलो खाना सुत्केरी र महिनावारी भएकी महिलालाई बाढी आवश्यक छ भनेर तर बोल्न सकिएन।

मानौं कि छोरा बाहिर जागिर खान जान्छ‚ त्यसैले उसलाई धेरै सुरक्षा र स्याहारको आवश्यक छ। घरमै बस्ने महिलालाई किन र भन्ने सोच थियो।

अहिलेका महिला भाग्यमानी

अहिले टिभी हेर्छु, पत्रिका पढ्छु, महिलाहरु निर्धक्क बोलेको देख्छु। ओहो! कति स्वतन्त्र छन् जस्तो लाग्छ। हुन त फेरि दूरदराजका महिलाको समाचार आउँछ अझै पनि बोक्सीको आरोप लगाउने, घरेलु हिंसाद्वारा पीडित बनाउने। त्यो देख्दा र सुन्दा त दिक्क लाग्छ।

पिछडिएका महिलाको जीवनस्तर उकास्न र उनीहरूका पीरमर्का बुझिदिने भए महिला दिवस नमनाए पनि सेवा हुन्छ। अन्यथा, भाषण र नाराले महिला उत्थानका कुरा मात्र गरेर हुँदैन।

शहरमा र पढेलेखेका महिलाकै मात्र छ दिन जस्तो लाग्छ। अहिलेको समयमा पनि छोरी नपढाउने बाआमा त मूर्ख नै हुन्। तर, कति महिलाले आफ्नै श्रीमानलाई धोका दिने, सम्बन्धविच्छेद गर्ने, महिला अधिकारका नाममा सडकमा उर्लेर नाराबाजी गर्ने पनि राम्रो त मान्दिन भो।

महिलाले घरभित्र या कार्यक्षेत्रमा भूमिका निर्वाह गरेकै राम्रो देखिन्छ नि। महिला पुरुषजस्तो बनेको पनि त्यति सुहाउँदैन। महिला महिलाजस्तै शान्त, धैर्य, सरल हुनुपर्दछ। आफूलाई अन्याय परे बोल्ने, भन्ने त्यो त आजकल सबैले गर्छन्। तर‚ आन्दोलन नै गर्नुपर्छ जस्तो त लाग्दैन।

कति कुरा महिलाले आफ्नो परिवार सुन्दर बनाउनका लागि सहेको पनि राम्रो हुन्छ। किनभने महिलाले घर सम्हाल्नु, परिवारलाई प्रेम दिनु, संस्कार दिनु जत्तिको ठूलो काम अरू हुँदैन। घर बिगारेर महिला अधिकारका लागि नारा दिएको पनि सुहाएको छैन।

जीवनमा सन्तुलन होस्, खुसी मिलोस्, सन्तान असल बनून्‚ त्यसमा महिलाले ध्यान दिनैपर्छ। किनकि‚ पुरुष बहिर्मुखी स्वभावका हुन्। आफ्ना बाआमा र सासु ससुरालाई उस्तै व्यवहार गरून्। आधुनिकताको नाममा वृद्ध बाआमा र सासु ससुरालाई वृद्धाश्रम लगेर नराखून्।

प्रेम ठूलो कुरा हो त्यसो भएपछि हाँसीखुसी जीवन बित्छ। अहिले आएर सबै बुझियो नि। पिछडिएका महिलाको जीवनस्तर उकास्न र उनीहरूका पीरमर्का बुझिदिने भए महिला दिवस नमनाए पनि सेवा हुन्छ। अन्यथा, भाषण र नाराले महिला उत्थानका कुरा मात्र गरेर हुँदैन।

सबै कुरा सन्तुलनमा राखेर अघि बढ्ने प्रेरणा दियो भने मात्र महिला दिवसले महिलाको हितमा बोलेको छ भन्ने अनुभूति गर्न पाइन्छ। अन्यथा, महिला वर्गमा पनि हुने र नहुने बीचको खाडल र दुःख पाउनेले दुःख पाएकै हुन्छन्। मजस्तै महिला दिवस नबुझ्ने कति होलान् नि। क्यालेन्डरमा रातो छुट्टीको चिह्न देखेर महिला दिवसको मर्म कसरी बुझ्नु र?

सधैं घरमै बस्ने महिलालाई, बाहिरका समाचार सुन्ने र थाहा पाउने माध्यम नभएका, पहुँच नभएका महिलालाई के को महिला दिवस? पढेलेखेकाले मात्रै बुझ्ने र छुट्टी मनाउने महिला दिवस होइन कि नबुझेका, नजानेका महिलाले यो दिवसबारे थाहा पाए भने मात्र महिला दिवसको महत्व रहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.