न पढ्न पाए‚ न सँगै बस्न

|
सिस्ने गाउँपालिका-१ स्थित ठूलो सिस्ने गाउँ

रुकुम पूर्व : सिस्ने गाउँपालिका–१ की रमिता बुढाले कक्षा ९ मा पढ्दै गर्दा १५ वर्षकै उमेरमा आफ्नै कक्षाका समान उमेरका अजित बुढासँग भागी विवाह गरिन्। उनीहरूले विवाह गरेपछि विद्यालयमा खैलाबैला मच्चियो। दुवैजनाले पढाइ छाडे।

विवाहपछि रमिता गर्भवती भइन्। १६ वर्ष समेत नपुगेका अजित धन कमाउन भारत लागे। किनकि‚ उनलाई श्रीमती र बच्चाको हेरचाहको जिम्मेवारी थपियो। उमेर नपुग्दै विवाह गर्दा उनीहरूको पढाइ मात्र छुटेन‚ कलिलै उमेरमा घरायसी काम, पारिवारिक जिम्मेवारी, आर्थिक भारसमेत थपियो।

अजितले भारतमा होटलमा भाँडा माझ्ने काम गरेर घरमा खर्च पठाउन थाले। कलिलै उमेरमा आमा बनेकी रमिताले राम्ररी स्याहार गर्न नसक्दा बच्चा कुपोषित बन्यो। हाल बच्चा अस्वस्थ छ।

‘बच्चालाई नियमित औषधि गरिरहनुपरेको छ। सँगै बसौँला भनी विवाह गरेका हामी आर्थिक समस्याले सँगै बस्न पाएनौँ‚’ रमतिाले भनिन्, ‘अहिले छिटो विवाह गरेकोमा पछुतो भएको छ। भागेर विवाह गरेकी भनेर माइतीले पनि सहयोग गर्दैनन्। घरमा पनि काम गरिन भनेर झगडा भइरहन्छ, घर न घाटको भइयो।’

सिस्ने–१ कै ओख्रेनकी मनीषा बुढा २७ वर्षकी भइन्।  उनका चार छोराछोरी छन्। जेठी छोरी त १३ वर्षकी भइन्। कक्षा ७ मा पढ्छिन्। सोही वडाकी लाम्पाखाकी दीपा बुढाको उमेर २२ पुग्दै छ। उनका तीन छोराछोरी छन्।

सिस्ने–१ ठूलो सिस्नेकी प्रेमा बुढा १८ वर्ष पुगिन्। उनको एउटा बच्चा दुई वर्षको पुग्नै आँट्यो। अर्को भर्खरै जन्मेको छ। सिस्ने–१ की प्रेमा मात्र होइन, त्यहाँका अन्य धेरै महिला सानै उमेरमा आमा बनेका छन्। वडा नम्बर १ मा पाँच गाउँ छन्। सबै गाउँका अधिकांश किशोर उमेरमै आमा बनेका छन्।

यहाँका धेरैको विवाह १३ देखि १५ वर्षको उमेरमा नै भइरहेको वडाध्यक्ष मानबहादुर बुढाले बताए। कक्षा ६, ७ र ८ मा पढ्दापढ्दै विवाह गर्ने गरेका छन्।

‘छिटफुट मात्रै कक्षा ९ र १० मा पुगेपछि विवाह गर्छन्‚’ वडाध्यक्ष बुढाले भने, ‘सानै उमेरमा विवाह गरेर सानैमा आमा बन्ने पुरानो चलन कायमै छ।’

नेपालको कानुन अनुसार विवाह गर्न २० वर्ष उमेर तोकिएको छ। स्वास्थ्यको हिसावले पनि आमा बन्न कम्तीमा २० वर्ष पुग्नुपर्छ। यी कुराहरू सर्वसाधरणलाई सुनाए पनि व्यवहारमा लागु नभएको वडाध्यक्ष बुढा बताउँछन्। ‘हामीले बुझेका छौं,’ उनले भने‚ ‘विद्यार्थीले पनि नबुझेको होइनन् होला तर कलिलैमा विवाह र आमा बन्ने क्रम भने रोकिएको छैन।’

सोही वडाकी करिष्मा बुढा १८ वर्ष पुगिन्। यो उमेरसम्म विवाह नगर्ने उनको व्याचमा उनी मात्रै हुन्। गाउँदेखि टाढाको विद्यालयमा सिभिल ओभरसियर अध्ययन गरिरहेकी उनले आफ्ना साथी र अरू धेरैले उमेर नपुगी विवाह गर्ने गरेको बताइन्।

‘घरमा अभिभावक, विद्यालयमा सर–मिसहरूले भन्नु पनि हुन्छ। तर‚ धेरैले कलिलैमा विवाह गरिहाल्छन्‚’ उनले भनिन्‚ ‘हाम्रो ब्याचका पनि सबैले विवाह गरिसके।’

पहिल्यैदेखि यस्तै चलेकाले यसकै निरन्तरता हो कि जस्तो करिष्मालाई लाग्छ । सानै उमेरमा विवाह गर्नुहुन्न भन्ने जान्दा जान्दै पनि विवाह भइरहेको उनले सुनाइन्।

यो वडाका गन्न सकिने मान्छेले मात्रै उमेर पुगेर विवाह गरेका छन्। बाँकी सबैले कलिलै उमेरमा विवाह गरेका छन्। पछिल्लो पटक दुई बालविवाहलाई अभिभावकले रोक्न खोजेका थिए। तर‚ त्यो सम्भव भएन। विवाह गर्न भनेर भागेका केटाकेटीलाई आ–आफ्नो घर राख्दा पनि उनीहरू पटक–पटक भागेपछि अन्ततः अभिभावक विवाह गराइदिन बाध्य भएको पाखापानीकी कमला बुढाले बताइन्। शिक्षा, चेतना बढ्दै गए पनि कलिलैमा विवाह हुने र आमा बन्ने क्रम भने नरोकिएको उनको बुझाइ छ।

सानैमा आमा बनेका कारण धेरैमा समस्या देखिएको स्वास्थ्य चौकी भट्टेचौरकी अनमी राधिका केसीले बताउँछिन्। ‘यहाँको चलन नै त्यस्तै रहेछ जस्तो लाग्छ‚’ उनले भनिन्‚ ‘कलिलैमा विवाह र कलिलैमा आमा बन्नुपर्ने अनिवार्य जस्तो हो कि भन्नेजस्तै अवस्था छ।’

धेरै जना भर्खर विवाहको उमेर पुग्ने समयमा प्रजनन स्वास्थ्य समस्या लिएर स्वास्थ्य चौकी आउने गरेको अनुभव अनमी केसीको छ। सानै उमेरमा आमा बनेको, आमा बन्दा पनि नियमित काम गरेको जस्ता कारणले अधिकांश महिलामा प्रजननसँग सम्बन्धित रोग देखा परेको र बालबालिकामा पनि बेलाबेला त्यस्ता समस्या दोहोरिरहने गरेको उनले सुनाइन्। स्वास्थ्य चौकी, वडा कार्यालय तथा गाउँपालिकाले पनि बेलाबेला सचेतनामूलक कार्यक्रम गरे पनि त्यसले खास काम गरिरहेको केसीको अनुभव छ।

सिस्ने–१ को मात्र नभइ रूकुम पूर्वका अन्य दुई गाउँपालिका पुथाउरत्तरगंगा र भूमेमा पनि बालविवाह गर्नेको संख्या उच्च छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.