प्रचण्ड-माधव पनि छैनन् ढुक्क

|

काठमाडौं : ​सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्मै कायम राख्नेबारे नेपाली कांग्रेसका नेताहरूको मत फरक-फरक आइरहेको छ। सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरू भने गठबन्धनलाई निरन्तरता दिने सहमति भइसकेको बताउँदै आएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसिसीभित्र खेलेर गठबन्धन तोडाउने अस्त्र प्रयोग गरे पनि सफल हुन सकेन।

एमसिसीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको संशोधनको अडानले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग सहकार्यको प्रस्ताव गरे। तर, एमालेले सहजै साथ नदिने भएपछि देउवाले ओलीलाई प्रधानमन्त्री दिएर भए पनि एमसिसी अगाडि बढाउन राजी भए। 

त्यति मात्रै नभएर ओलीको शर्त अनुसार माधव नेपालसहित एमालेले कारबाही गरेका १४ सांसदमाथिको कारबाही सर्वोच्च अदालतबाट सदर हुने, सभामुख अग्निप्रसाद सापकोटा हटाउने, एकीकृत समाजवादीको वैधानिकता अन्त्य गर्ने र गठबन्धन टुटाउने एमालेको शर्त थियो। त्यसमा देउवा राजी भइसकेपछि प्रचण्ड–माधवलाई एमसिसीको पक्षमा उभ्यायो। र, गठबन्धन जोगियो। 

यही गठबन्धनलाई आगामी निर्वाचनसम्म लाने प्रचण्ड–माधवको चाहना मात्रै छैन बाध्यता पनि छ। पार्टी विभाजनको बेला आफ्नो पार्टीको अस्तित्वको लागि भएपनि प्रचण्ड–माधव गठबन्धन तोड्न चाहदैंनन्। त्यसमा प्रधानमन्त्री देउवा समेत सकारात्मक छन्। 

तर, गठबन्धनबारे देउवालाई पार्टीभित्रबाटै चर्काे दबाव छ। कांग्रेस संस्थापनइतर पक्षले देउवालाई आगामी निर्वाचनमा गठबन्धन गर्नै नहुने भन्दै दबाव बढाइरहेका छन्। भलै, त्यसबारे कांग्रेसले कुनै निर्णय गरेको छैन। पार्टीभित्र चर्काे दबाव बढिरहेको बेलामा देउवाले गठबन्धनको दललाई चित्त दुख्नेगरी कुनै अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन्। ​

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्थानीय तह चुनावसम्बन्धी अभियानका लागि केन्द्रीय प्रतिनिधिसँगको छलफलको क्रममा देउवाले भने, ‘गठबन्धन दललाई चित्त दुख्ने गरी कुरा नगर्नू। त्यसो गर्दा उहाँहरूलाई शंका हुन्छ।’ 

त्यसो त देउवाले पार्टीका बैठक तथा कार्यक्रमहरूमा गठबन्धनप्रति सकारात्मक रहेको देखाउँदै आइरहेका छन्।

बिहीबार वीरगञ्जमा कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘स्थानीय तहदेखि संघीय चुनावसम्म गठबन्धन गर्ने विषयमा छलफल हुन्छ। हामीले सबैको सहयोग लिएर अगाडि बढ्नुपर्छ, एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो?’ यता, माधव नेपाल पनि सत्तारूढ दलहरूबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दाबी गर्छन्। 

बुधबारदेखि काठमाडौंमा सुरू भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो सम्पूर्ण ध्यान अब निर्वाचनमा केन्द्रित हुनेछ। हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरूसँग पनि कुराकानी गरिरहेका छौँ। हाम्रो सहमति रहेको छ। निर्वाचनमा पनि हामी मिलेर जान्छौँ। सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने।’

त्यसो त माधव नेपालले मात्रै नभएर माओवादी अध्यक्ष प्रचण्डले पनि हालै सम्पन्न भएको केन्द्रीय समितीको बैठकमा गठबन्धन कायम राखेर निर्वाचन जाने बताएका थिए। 

कांग्रेसको नीति

निर्वाचन लक्षित गरेर कांग्रेस पार्टीले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्दैछ। बुधबार पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता प्रकाशशरण महतले फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म अभियान सञ्चालन गर्ने बताए। 

प्रवक्ता महतले भने, ‘एमसिसीको बारेमा अत्यन्त नकारात्मक प्रचार गरिएको छ। दुष्प्रचार गरिएको छ। भ्रम फैलाइएको छ। त्यो भ्रमलाई चिर्नु हाम्रो जिम्मेवारी हो। त्यसपछि गठबन्धनको बिषयमा हामीले अहिल्यै बोल्नु हतार हुन्छ। अहिले गठबन्धनको चुनावी तालमेलबारे बोल्नुपर्ने आवश्यकता छैन। कसो गर्दा बढी सिट जितिन्छ त्यसैअनुसार अघि बढ्ने निर्णय हुन्छ।’

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा अहिले कांग्रेसले कुनै निर्णय नगरेको प्रष्ट पारे। 

उनले भने, ‘गठबन्धनबारे निर्वाचन प्रक्रियाको छलफलका क्रममा हाम्रो पार्टी केन्द्रीय कार्यसमितिको बैठक बस्छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्छ। कार्यसमितिको बैठकले चुनावका बारेमा, चुनावी तालमेलका बारेमा, चुनावी गठबन्धनका बारेमा व्यापक छलफल गरेर निष्कर्षमा हामी पुग्छौँ। पार्टीको त्यो निष्कर्षभन्दा अगाडि अहिले गठबन्धन हुन्छ कि हुन्न? तालमेल हुन्छ कि हुन्न? भनेर छलफलको विषय हामी बनाउँदैनौँ। त्यो अपरिपक्व छलफल हुन्छ।’ गठबन्धन चुनावी तालमेलको सम्बन्धमा सर्वसहमतिले निर्णय गर्ने उनको भनाइ छ। 

आश्वस्त तर, असन्तुष्ट 

गठबन्धन गर्नेबारेमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी मात्रै होइन मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पनि आश्वस्त छ। 

प्रचण्ड-माधवले बारबार गठबन्धनको कुरा उठाइ राख्दा जसपालाई पनि फाइदा पुगेको छ। जसपा अध्यक्ष उपेन्द्र यादव पनि आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमै छन्। 

उनले भने, एमसिसी अनुमोदनपछि गठबन्धन छाडेको निर्णय गरेको भए पनि जनमोर्चाले सरकारमा दिएको समर्थन भने छोड्न सकेको छैन। गठबन्धन गरेरै राष्ट्रियसभाको निर्वाचनमा एक सिट जित्न सफल भएको जनमोर्चालाई पनि फाइदा नै छ। 

गठबन्धनलाई निरन्तरता पाउने सभापति देउवाबाट आश्वस्त बनेका प्रचण्ड अन्य नेताहरूको अभिव्यक्तिप्रति असन्तुष्ट बनेका छन्। 

बुधबार बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,‘हामी एक्लै चुनाव लड्न पनि सक्षम छौँ। कांग्रेसको प्रत्यक्षतर्फ हाम्रोभन्दा १० सिट कम हो। तर, हामीले नै बोकेर सिंहासनमा पुर्‍याइदिएका छौँ। अहिले हामीलाई नै अपमान गर्ने? यस्तो सहन सकिँदैन।’

गत शनिबार कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई हात्तीको संज्ञा दिँदै गठबन्धनमा सामेल रहेको माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी चमेरो भएको टिप्पणी गरेका थिए। 

प्रचण्ड-माधव नेपाललाई लक्षित गरेर उपसभापति गुरुङले भनेका थिए, ‘कांग्रेस हात्ती हो र हात्तीको ठूलो कानमा चमेरोहरू ओत लाग्न खोजेका छन्। चमेरोहरूलाई हात्तीले सहयोग गर्न सक्दैन। त्यसले हात्तीलाई दुर्गन्धित बनाउन सक्छ। हामी लम्किँदा मुसाले बाटो काट्दैमा केही हुँदैन।’ 

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि गठबन्धनको बिषयमा गम्भीर भएर सोच्नुपर्ने बताएका छन्। ‘गठबन्धनको विषयलाई कांग्रेसले गहिरो अध्ययन गरिरहेको छ। देउवाजी त गठबन्धनकै पक्षमा हुनुहुन्छ। तर, पार्टीभित्र उहाँलाई दबाब छ। यस्तो अवस्थामा हामीले विचार गरेर कसरी अगाडि जाने भन्नेबारेमा निर्णय लिनुपर्छ। कांग्रेसभित्र महामन्त्री गगनकुमार थापा, र डा. शेखर कोइरालाहरूले गठबन्धन गरेर जाँदा ७० र एक्लै लड्दा १५५ सिट जित्ने कुरा गरेका रहेछन्’ खनालको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.