रमितकी आमा भन्छिन् : डाक्टरले ३० लाख लाग्‍ने सुनाएका छन्

|

काभ्रे : गर्भमा हुँदा बुवाको निधन,दिदी युद्धमै शहीद। १२ वर्षीय भतिजी ब्लड क्यान्सरबाट अस्ताइन्। पीडाको सागर तर्नै बाँकी रहेछ रमित थिङलाई।  हाल उनी आफैँ दुवै मिर्गौला फेल भएर अस्पतालमा जीवन र मरणको अवस्थामा छन्।

काठमाडौंको महाराजगञ्‍जस्थित टिचिङ अस्पतालमा उपचार गरिरहेका थिङको विवरण यस्तो छ :

नामः रमित थिङ

ठेगाना : महाभारत गाउँपालिका–१ छोटेसाहन, काभ्रे

उमेर २१ वर्ष

शिक्षा : प्रमाणपत्र तह उत्तीर्ण

रोग : दुवै मिर्गौला फेल

मिर्गौलाको बिरामी नभएको भए उनी  हाल बुढ्यौली लागेकी आमा लक्ष्मीमाया थिङको मुहारमा खुशी ल्याउन विदेशको कुनै क्षेत्रमा काम गरिरहेका हुन्थे। तर, विडम्वना आमाको सहारा हुनुपर्ने रमितको सहारा बनिरहेकी छिन् लक्ष्मीमाया।

शिक्षण अस्पतालमा भेटिएकी लक्ष्मीले आफ्ना पीडाको कहानी फेहरिस्त सुनाउन थालिन्। 'छोरो रमित पेटमा हुँदा उसको बुबाको निधन भयो। हुर्केकी छोरी युद्धमा शहीद भई। सार्है दुःखले हुर्काएको छोरो अस्पतालमा छ', उनले भनिन्।

नियतिले उमेरभन्दा छिटो परिपक्व बनेका रमित पारिवारिक गरिबी हटाउन २१ वर्षमा हरियो पासपोर्ट बनाए। अनि उड्न एअरपोर्ट पुगे।  विडम्बना, ठिक यही बेला यता १२ वर्षीय भतिजी ब्लड क्यान्सर भएर अस्ताएपछि उनी जहाज चढ्न छोडेर भतिजीको दाहसंस्कारको लागि फर्किए।

केही दिनमै उनलाई आँखासम्बन्धी समस्या भयो। अस्पताल पुग्दा उनलाई डाक्टरले भने, 'तपाईंको दुवै मिर्गौला फेल भएका छन्। छिट्टै उपचार नभए जे पनि हुन सक्छ।'

झट्ट सुन्दा, पढ्दा कथा जस्तो लाग्ने तर वास्तविक यस्तो बज्रपात सहन बाध्य छन्, पीडित रमित र उनका परिवार यतिबेला।

उनको उपचारको लागि ३० लाख लाग्ने डाक्टरले बताएको उनले सुनाइन्। आफूसँग भएको रकमबाट डायलासिस गर्दै आए पनि अब असम्भव नभएकाले दयालु दाताहरूलाई सहयोगको अपिल गर्नुपरिरहेको उनले बताइन्।

थाहाकर्मीसँग कुराकानीको क्रममा मिर्गौलापीडित रमितले मर्न मन नभएको तर आर्थिक समस्याकै कारण बाँच्ने आधार पनि नदेखिएको सुनाए। आफूले सकेसम्म उपचार गर्दै आए तर अब आफूसँग उपचार गर्न सक्ने आर्थिक क्षमता शून्यमा झरेको पीडा पोखे।

‘आम्दानीको स्रोत खेतिपातीसमेत अरूको भरमा छोडेर आमा र दिदी मेरै लागि यहाँ बस्नु परेको छ,’ गहभरि आँशु पार्दै उनले पीडा पोखे, ‘यता आफ्नो अवस्था हेरौँ कि, भर्खरै भतिजी गुमाएको पीडा बोकिरहेको र म पनि गुमाउनुपर्ने हो कि भन्ने पीरले दिनहुँ कमजोर हुँदै गएकी आमालाई सम्झाऊँ। उपचार कसरी गरौँ निकै समस्यामा छु।’

उनीलाई आफूभन्दा पनि आफ्नो हालत देखेर कमजोर हुँदै गएको आमाको पीडाले बढी पिरोलिरहेको छ। 'आमाको पीडा म देख्न पनि सक्दिनँ। तर, देखेर पनि नदेखेको जस्तो गर्न बहुतै गाह्रो हुने रहेछ। सबैले सक्दो सहयोग गरिदिए म अझै बाँच्छु होला ...’ रमितले अघि बोल्नै सकेनन्।

दिनहुँ हजारौँ रुपैँयाको औषधि किन्नुपर्छ। हप्ताको दुईपटक डाइलासिस गर्नुपर्छ। एक पटक डाइलासिस गरेको ७ देखि १५ हजार रुपैयाँसम्म पर्छ। चाबहिलस्थित एक घरमा भाडाको कोठा लिएर उपचार गराइरहेको  उनको परिवारलाई कोठासँगै औषधि र आउजाउ भाडा तिर्न पनि मुस्किल छ।

रमित भन्छन् ‘मर्न मन छैन, बाँच्ने आधार देखिन्न’

यतिवेला उनीसँग न पैसा छ, न त प्रत्यारोपणका लागि निशुल्क मिर्गौला दिने मान्छे, दुवै छैन्। उनमा भने बाँचे जीवनमा केही गर्नुपर्छ भन्ने सोचसँगै अझै संसार हेर्ने रहर छ।

रमित डाक्टरले जतिसक्दो छिटो अप्रेसन गर्न सुझाव दिएको बताउँदै डाइलासिसले मात्र बाँचिएला जस्तो नलागेको सुनाउँछन्। स्लाइन जोडेको हातले आँसु पुस्दै उनले भने, ‘कोही दयालु हातहरू भेटिन्छ कि भन्ने झिनो आशासहितको खोजीमा छु, मृत्युसँग हरेक दिन मर्दै बाँच्नु परेको छ, यसरी डाइलासिसले धानेको जिन्दगी कति दिन चल्ला र?’

उनको उपचारको लागि सहयोग गर्न चाहनेले सनराइज् बैंकमा आमा लक्ष्मीमाया थिङको नाममा रहेको खाता ०१४१०२१४५६३०१००१ मा रकम जम्मा गर्न सक्नु हुनेछ। त्यस्तै पीडितको दाइ भीमबहादुर थिङको मोबाइल नम्बर ९७४०७११६७३, दिदी प्रगति थिङ ९८४०४११०९९, सयहोग रकम जुटाइरहेका आफन्त अमृत लामा ९८४१५०२८९७ लाई सम्पर्क गर्न सक्नुहुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.