|

धनकुटा :  धनकुटा नगरपालिका-६ बीचबजारस्थित विजयशेखर श्रेष्ठको घरको बाहिरी आवरणले जो कोहीलाई लोभ्याउँथ्यो। घरको बाहिरी भागमा रहेको कलात्मक बुट्टे झ्याल र झिँगटी छानो देख्ने प्रायले फोटो खिच्ने गर्थे।

तर‚ मर्मतसम्भार गर्न सिकर्मी नपाउँदा उनले झिँगटीको छाना हटाएर युपिभिसीको छानो लगाएका छन्। पितापुर्खाले लगाएका झिँगटीको छानो फेर्न मन नभए पनि सिकर्मी अभावले मर्मतसम्भार हुन नसकेकाले युपिभिसीले छाउनु परेको उनले बताए। पानी पर्दा छानो चुहिएकाले बाध्यताले हटाउनु परेको उनको भनाइ छ।

झिँगटीको छानो परिवर्तन गरी युपिभिसीको छानो लगाउन मन नमाने पनि बाध्यता रहेको श्रेष्ठको भनाइ छ। ‘पुरानो शैलीको छानोसँगै पिता पुर्खाले निर्माण गरेको कला कृति गुमाउनुपर्दा को नै खुशी होला र!’ उनले भने‚ ‘झिगटी घरको काम गर्ने कालीगढको खोजी गरे पनि नपाएपछि पुरानो शैली परिवर्तन गर्न बाध्य भयौं।’

धनकुटा–५ तल्लो कोप्चेका आशीष कर्माचार्यको झिँगटीको छानो प्रयोग गरी बनाइएको घर छ। त्यो घर उनका पुर्खाले बनाएका हुन्। बाहिरीबाट हेर्दा घर आर्कषण रहे पनि भित्री पीडा पनि छ। मर्मतसम्भार गर्ने सिकर्मीको अभाव भएकाले घर जोगाउन नै हम्मेहम्मे परेको आशीष बताउँछन्। तल्लोकोप्चेकै विकास प्रधानले सात वर्षअघिदेखि घर चुहिन थालेपछि टालटुल गरेर काम चल्दै गरे पनि अब फेर्ने सोचमा पुगेको बताए।

तीन दशक अघिसम्म धनकुटा सदमुकामका बजार क्षेत्रमा नेपाली मौलिकता झल्किने घरहरू पर्याप्त थिए। ती घरले धनकुटाको पहिचान र मौलिकता झल्किएको थियो। तर‚ पछिल्लो समय सदमुकाम क्षेत्रमा झिँगटीका छानो भएका घरहरू हराउँदै गएका छन्।  झिँगटीका घर भएका स्थानमा अहिले रड र सिमेन्टका पक्की घर ठडिएका छन्।

आधुनिकताको नाममा कर्कटपाता, आरसिसी ढलान गरिएका घर मात्र बनाउन थालेपछि झिँगटीका छाना लगाउने कालीगढहरूको रोजगारी गुमेको थियो। रोजगारी गुम्न थालेपछि जीविकोपार्जन सम्भव नभएपछि उनीहरू अर्को पेशा रोज्न बाध्य भएका थिए। जसका कारण पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण हुन पाएन। यस कारण धनकुटा बजारक्षेत्रबाट झिँगटीका छाना भएका घर विस्तारै हराउँदै गएको स्थानीयहरू बताउँछन्।

धनकुटामा खासगरी नाला, कान्तिपुर‚ भक्तपुर, र ललितपुर क्षेत्रका कलाकृतिले भरीपूर्ण भएका झिँगटीका घर देख्न पाइन्थ्यो। माटो, झिँगटी तथा काठपात प्रयोग गरी निर्माण गरिने घर अहिले भने धनकुटामा दुर्लभ भइसकेको छ। ४/५ को संख्यामा पनि झिँगटीले छाएकf घर भेटिँदैन। झिँगटी घरसँगै झ्याल, ढोका बार्दलीलगायतको स्थानमा प्रयोग हुने मल्लकालीन काष्ठकलाका विभिन्न कलाकृति समेत लोप हुन थालेको छ।

झिँगटी घरको इतिहास धनकुटाको इतिहाससँग जोडिएको छ। धनकुटामा करिब ४०० वर्षअघि बस्ती बस्न थालेको पाइन्छ। त्यो बेलादेखि केही व्यक्तिले काठमाडौंबाट कालीगढ झिकाइ मल्लकालीन शैलीका कलात्मक झिगटी घर निर्माण गर्ने गरेको धनकुटाका पुराना मूर्तिकार श्रीकृष्ण जोशी बताउँछन्।

उनका अनुसार पूर्वका गौडाहुँदासम्म यो क्रमले निरन्तरता पायो। त्यो बेलाको साननै झिँगटी घरमा हुने गरेको उनी बताउँछन्। २०२० साल यता भने यस्ता घर मासिन सुरु भयो। जस्तापाता तथा पक्की घरका कारण धनकुटामा लोकप्रिय झिँगटी घर अहिले भने हराउँदै गएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.