आक्रामक एमाले, गठबन्धनको मोर्चाबन्दी पनि यथावत्

|

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूले चुनावी दौड तीव्र बनाएका छन्। स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रमक रूपमा निर्वाचनको तयारीमा होमिएको हो। 

प्रतिपक्षी दल मात्रै नभएर सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा)मा पनि निर्वाचन केन्द्रित गतिविधिको विकास भइरहेको छ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि बनेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म लाने प्रयास भइरहेको छ। भने, एमालेले आफू एक्लै गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्ने बताइरहे पनि आवश्यकताअनुसार मधेश केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा नेपालसँगको सहकार्यको सम्भाव्यता अध्ययन गरिरहेको छ। 

निर्वाचनको मुखमा आएपछि टिकटको लोभमा जनप्रनिधि र नेताहरू पार्टी परित्याग गर्नेको लहर पनि उतिकै बढिरहेको छ। नेता कार्यकर्तालाई पार्टीभित्र भित्र्याउन प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सक्रिय भएर लागिरहेका छन्। 

ठूला राजनीतिक दलका शीर्ष नेताहरू चुनाव लक्षित कार्यक्रमका लागि देशभर विभिन्न कार्यक्रममा सहभागी हुँदै आइरहेका छन्। 

कांग्रेसको अभियान 

नेपाली कांग्रेसले आजदेखि एकमहिने चुनावी अभियान सुरु गरेको छ। स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कांग्रेसले ‘घर–घर जाऔँ, जनता जिताऔँ’ एकमहिने अभियान सुरु गरेको हो। 

अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालित भएको  कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताए। 

उनले भने, ‘चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव संकलन गर्ने निर्वाचनको लागि माहोल बनाउनेलगायत आठ वटा मुद्दामा अभियान केन्द्रित हुन्छ।’ 

पार्टीका नेता–कार्यकर्ताहरूलाई जिम्मेवारी बाँडफाँट, एमसीसी सम्झौता पारित गरेको बारेमा यथार्थ कुरा नागरिकलाई जानकारी गराउने, कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने र नेकपा सरकारको गएको तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण नागरिक समक्ष राख्ने कांग्रेसको चुनावी योजना छ। 

एमाले आक्रामक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अहिलेको परिस्थितीमा सबैभन्दा धेरै निर्वाचन चाहेको छ। अध्यक्ष ओलीले दुईपटक संसद् विघटन गरेर निर्वाचन जान खोज्दा सर्वोच्च अदालत बाधक बन्यो। त्यसमा पार्टीभित्रकै नेताहरू सडकमा निस्किएर सिंगो कम्युनिष्ट पार्टी विभाजित अवस्थामा पुग्यो। 

नेकपा विघटनपछि पनि एमालेबाट माधव नेपालले पार्टीबाट विद्रोह गर्दासमेत एमालेलाई निर्वाचनकै पक्षमा छन्। सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्ने आलटाल गरिरहेको बेलामा सडक आन्दोलनमा भातृ संगठनलाई उतारेको एमाले अहिले देशव्यापी चुनावी अभियानमा छन्। 

निर्वाचनको माहोल एमालेको पक्षमा ल्याउन अध्यक्ष केपी शर्मा ओली आफैँ सक्रिय भएर नेता कार्यकर्ता पार्टी प्रवेशको लहर ल्याइरहेका छन्। अहिलेको समस्याको समाधान नै ताजा जनादेश नै भएकाले निर्वाचनमा जानुको कुनै विकल्प नभएको बताउँछन् एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ। 

उनले भने, ‘हामी तयार छौँ। एमालेले जनताको नहुँदो र बिगार्दो केही गरेको छैन। जति गरेका छौँ राम्रो नै गरेका छौँ। जति गर्न सकिन्थ्यो तर, अरूको कारणले केही गर्न सकिएन। तर, गरेको कारणले जनताको शिर निहुरिने काम गरेका छैनौँ। देश र जनतालाई नै ध्यानमा राखेर सबै निर्णयहरू गरेको छौँ।’

माधव नेपालहरूले पार्टी विभाजन गरे पनि तल्लो तहसम्म ठूलो असर नगरेको उनको भनाइ छ। 

‘पार्टीबाट असन्तुष्ट भएर फरक पार्टी पनि बनाउनुभएको छ। त्यसले ‘खासै असर गर्छ जस्तो पनि लाग्दैन। नेकपा कालमा माओवादी केन्द्रका ठूलो हिस्सा एकीकृत पार्टी एमालेमै बस्छौँ भनेर बस्नुभएको छ। त्यसैले तल्लो तहसम्म ठूलो क्षति त भएको छैन। जनता लेबल पनि एमालेको पक्षमा मतदान गर्न आतुर भएर बसेका छन्’  उनले भने। 

अब जुनसुकै बेलामा निर्वाचन भए पनि एमालेले एकल बहुमत लिएर आउने उनको दाबी छ। स्थानीय तहको निर्वाचनपछि आगामी निर्वाचनको  एउटा  रिजल्ट आउने उनको भनाइ छ।

माओवादीकाे आफ्नै तयारी 

माओवादी केन्द्र पनि आफ्नो पार्टीभित्रको गतिविधिलाई थाति राखेर चुनावी अभियानमा होमिइसकेको छ। पार्टीभित्र अमेरिकी सहयोग एमसिसी अनुमोदनपछि देखिएको विवाद, पदाधिकारी चयन लगायतको विषयलाई राखेर माओवादी चुनावी अभियानमा होमिएको छ। 

एमसिसी विवादले माओवादीबाट नारायणकाजी श्रेष्ठ समूहले विद्रोह गर्नेसम्मको विकल्पबारे छलफल थालेको थियो। तर, हालै बसेको केन्द्रीय कमिटीको बैठकबाट सहमति जनाएर एमसिसीबारे स्थानीय तहको निर्वाचनपछि मात्रै छलफल गर्नेगरी अगाडि बढेको छ। 

केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार प्रचण्ड चुनावी माहोल बनाउन प्रदेशस्तरीय भेला तथा सम्मेलनलाई सम्बोधनका लागि देश दौडाहामा छन्। 

आइतबार मात्रै प्रेस संगठन नेपाल प्रदेश समितिद्वारा आइतबार मोरङको विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ।’

आफ्नो विचार, एजेण्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्ने प्राथमिकतासहित जनतासमक्ष जाने उल्लेख गर्दै चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरू र लेनदेन गर्न सहज हुनेहरूबीच गठबन्धन पनि हुनसक्ने बताए। 

प्रधानमन्त्रीले गठबन्धन पार्टीबीच मिलेर चुनावमा जाने भनेकाले यसलाई गठबन्धनले सकारात्मक रुपमा लिएको समेत औल्याएका थिए। उनले माओवादी आफ्नै बलले निर्वाचनमा जाने तयारी अवस्थामा रहेपनि आवश्यकताअनुसार गठबन्धन गरेर जाँदा उपयुक्त स्थानमा पुग्ने उनको विश्वास छ। 

समाजवादीको दाबी 

एमालेबाट विद्रोह गरेर पहिलोपटक निर्वाचनमा जान लागेको एकीकृत समाजवादी पार्टीलाई ठुलो चुनौती छ। तर, अध्यक्ष माधव नेपालले पाँच दलीय गठबन्धनको साथ निर्वाचनमा जाने भएकाले आफ्नो पार्टीले राम्रो स्थान पाउने दाबी गर्दै आइरहेका छन्। 

एमालेबाट असन्तुष्ट भएका, कांग्रेस, माओवादी लगायतबाट पार्टीमा नेताहरूलाई भित्र्याइरहेका छन्। 

त्यसो त त नयाँ पार्टी भएपनि आगामी निर्वाचनबाट नयाँ वैकल्पिक पार्टीको रुपमा स्थापित गर्ने दाबी गर्छन् प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडा। 

हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीलाई निर्वाचन होमिने निर्णय गरेको उनले बताए। 

उनले भने, ‘हामी देशव्यापी रुपमा संगठन विस्तार गरेका छौँ। समाजवाद र देशभक्तिपूर्ण एजेण्डा हामीसँग छ। कुशासन र भ्रष्टाचारको विरुद्धका एजेण्डा छन्। गाउँगाउँमा जतिपनि संगठन बन्दैछन्। सबै नेता कार्यकर्ता चुनावी अभियानमै हुनुहुन्छ।’ 

जनताबाट राम्रो विश्वास जित्न सफल भएकाले आगामी निर्वाचनमा राम्रो नतिजा आउने उनको विश्वास छ। 

 ‘हाम्रो सम्मानजनक उपस्थिती रहन्छ। जनताले धेरै माया र विश्वास गर्नुभएको छ। सबै जिल्लामा संगठन निर्माण भएको बलियो पार्टीको रुपमा स्थापित भइसकेका छौँ। हामीलाई सुरुमा कसले के भन्छ भन्नेमा मतलव छैन’ उनले भने। 

जसपादेखि राप्रपासम्म 

सरकारले तोकेको स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा साना दलहरू पनि निर्वाचनको तयारीमा छन्। मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, राष्ट्रिय जनामोर्चालगायत सबै दल चुनाव लक्षित कार्यक्रममा व्यस्त छन्। 

जसपा पनि निर्वाचनबारे छलफल गर्न केन्द्रीय समितीको बैठक बसिरहेको छ। बैठकमा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै शक्तिमा चुनावमा जाने वातावरण बनाउन लाग्नुपर्नेमा जोड दिएका छन्। 

अध्यक्ष डा. भट्टराइले पेश गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘आगामी चुनावहरूसम्म संघीय र प्रदेशिक गठबन्धन सरकारहरू कायम रहनु पर्दछ भन्ने कुरामा पार्टी प्रष्ट छ तर, चुनावहरू गठबन्धनबाट लड्ने कि एक्लाएक्लै त्यो अहिल्यै भन्न सकिन्न। गठबन्धन सरकार चलाउनु र चुनावी गठबन्धन गर्नु भिन्नाभिन्नै राजनीतिक घटना हुन्। कुनै अमुक पार्टीको मात्र प्रयासले चुनावी गठबन्धन हुन सक्दैन’

‘हाम्रो पार्टीको चाहना र प्रयासले मात्रै ५ दलीय गठबन्धनलाई चुनावसम्म सँगै लान सम्भव हुँदैन। यसका अरु दलको पनि इच्छा, आवश्यकता र तत्परता हुनु पर्दछ। त्यसैले पार्टीले आफ्नै वलवुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नुपर्दछ।’

त्यसो त जसपाबाट विद्रोह गरेपछि जसपाविरुद्धको माहोल बिथोल्दै मद्येशका आफ्नो पकड जमाउन लोसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो पनि सक्रिय भएर लागेका छन्। 

यता, पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट विद्रोह गरेर हिँडेपछि अध्यक्ष राजेन्द्र लिङ्देन पनि चुनावी माहोल बनाउन केन्द्रित भएर लागेको प्रवक्ता मोहन श्रेष्ठ बताउँछन्। 

उनी भन्छन्, ‘राप्रपा पार्टी सुदृढिकरण निर्वाचनमा होमिसकेको छ। यो तागतलाई भोटमा रुपान्तरण गरेर हामी अगाडि जान चाहान्छौँ।’

गठबन्धन के होला? 

प्रचण्ड-माधवले आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धनलाई लानुपर्ने अडानमा छन्। उनीहरूलाई जसपाको पनि साथ छ। 

प्रधानमन्त्री देउवा पनि त्यसको लागि सकारात्मक छन्। तर, गठबन्धनलाई कायम राख्नेबारे कांग्रेसमा दुई धार छ। कांग्रेसबाटै गठबन्धनबारे देउवालाई चर्को दबाब भइरहेको बेलामा प्रचण्ड-माधवले देउवाले गठबन्धन गर्ने प्रतिबद्धता जनाएकोमा आश्वस्त छन्।  

तर, गठबन्धनबारे देउवालाई पार्टीभित्रबाटै चर्काे दबाव छ। कांग्रेस संस्थापनइतर पक्षले देउवालाई आगामी निर्वाचनमा गठबन्धन गर्ने नहुने भन्दै दबाब बढाइरहेका छन्। तर, कांग्रेस नेताहरूले त्यसबारेमा अहिल्यै निर्णय गर्न हतार हुने बताउँदै आइरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.