विश्लेषक भन्छन् : सिद्धान्तहीन भएपछि जुन पार्टीमा गए पनि फरक पर्दैन

|

काठमाडौं :

उदाहरण १ : 

वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी शनिबार नेकपा (एमाले) प्रवेश गरे। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाएर पार्टीमा भित्र्याए। 

सरावगी २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयर निर्वाचित भएका थिए। उनी हाल जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय समस्य समेत थिए। व्यापारिक पृष्ठभूमिका मेयर सरावगी कांग्रेस प्रवेश गर्न चाहन्थे। तर, उनी आगामी निर्वाचनमा ‘टिकट’कै लोभमा एमालेतिर मोडिए। 

फेरि मेयर बन्ने अथवा प्रदेश वा संघीय सांसद बन्ने धोको पार्टीबाट पूरा हुन नसक्ने उनको बुझाइ प्रष्ट देखियो। शेरबहादुर देउवाले पनि पार्टीमा भित्र्याउन चाहना स्वरुप वार्ता गराएका थिए। उनले कांग्रेसबाट टिकटको सुनिश्चितता खोजे। तर, त्यहाँ कुरा नमिलेपछि एमालेतर्फ लागे। 

उनको यस कार्यकालको अलोकप्रियताका कारण कांग्रेस हच्कियो। तर, मधेशमा कमजोर देखिएको एमालेलाई मेयर नै भित्र्याउन पाउँदा एमालेलाई प्रचारका हिसाबमा राम्रै फाइदा हुने देखिन्छ। मेयर सरावगीलाई एमालेमा ल्याउन पूर्वमन्त्री तथा उद्योगी मोती दुगडले भूमिका खेले। 

उदाहरण २ :

सिन्धुपाल्चोक बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भए। तर, पछिल्लो समय माओवादी केन्द्रसँगको एकता र पार्टी विघटनसम्म आउँदा धेरै उतारचढाव आए। 

उनी एमालेमा हुँदा माधवकुमार नेपाल निकटका हुन्। त्यसो त सिन्धुपाल्चोकमा एक समय एमाले अध्यक्ष ओली निकट नेताहरुको उपस्थिति कमजोर नै थियो। तर, पछिल्लो समय विकसित भएको छ। 

एमाले विभाजनपछि पनि १० बुँदे सहमतिपछि एमालेमै रहेका अध्यक्ष क्षेत्रीले एमालेमा व्यक्तिवादी प्रवृत्ति हावी भएको भन्दै चौतारामा पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरे। उनले एमाले त्याग्नुको एकमात्रै कारण हो एमाले जिल्ला अध्यक्ष नपाउनु। 

१० बुँदे पक्षधरबाट उनले अध्यक्ष दाबी गरेका थिए। तर, उनी सफल भएनन्। जिल्ला अध्यक्ष बन्न नपाएको झोँकमा एमाले छाडेर क्षेत्री माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जाने अन्तिम तयारीमा थिए। तर, उनको पनि अन्तिममा बाटो मोडियो। 

कांग्रेसले आगामी निर्वाचनमा प्रदेशसभा सांसदको टिकट दिने आश्वासन दिएपछि उनी कांग्रेसमा प्रवेश गरेको उनी निकटस्थहरु बताउँछन्। उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा भित्र्याए। 

अध्यक्ष क्षेत्री सदस्यसहित एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य सुभाष सुन्दास र युवा नेता कृष्ण क्षेत्री कांग्रेसमा प्रवेश गरेका थिए। व्यापारिक पृष्ठभूमिका उनका भाई कृष्णलाई कांग्रेसले पालिका अध्यक्षको टिकट दिएको बुझिएको छ। 

उदाहरण ३ :

मोरङ रंगेली नगरपालिकाका मेयर र उपमेयर दुवैजना गत बुधबार माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरे। माओवादी निर्वाचित मेयर दिलीपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाललाई एमाले अध्यक्ष ओलीले पार्टीमा भित्र्याए। 

मेयर उपमेयरसहित रंगेली १ का वडाध्यक्ष महेशकुमार खनाल र वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल पनि एमालेमै प्रवेश गरे। उनीहरु पनि माओवादीबाटै निर्वाचित भएका थिए ।

ओलीले मेयर, उपमेयर र दुईजना वडाअध्यक्षसहित करिब ५ हजारलाई पार्टी प्रवेश गराएको एमालेको दाबी छ। 

उदाहरण ४ :

नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेशसभा सांसद ठम्मरबहादुर विष्टले शुक्रबार पार्टीबाट राजीनामा घोषणा गरे। माओवादी संसदीय दलका प्रमुख सचेतक समेत रहेका विष्टले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा गरे। 

विष्ट क्षेत्र १ ‘क’ सुर्खेतबाट निर्वाचित भएका थिए। एमसिसी पारित गर्नमा पार्टीले सहयोग र पार्टी नेतृत्वले दलीय अधिकार संकुचित गरेर अगाडि बढेको उनको भनाइ थियो। 

यी माथिका उदाहारण पछिल्ला समय राजनीतिमा देखिएको सामान्य परिदृश्य मात्रै हुन्। 

स्थानीय तहको चुनावको मिति नजिकिएसँगै सबै राजनीतिक दलहरु निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित छन्। ठूला राजनीतिक दलका शिर्ष नेताहरु अन्य पार्टीबाट नेता भित्र्याउने ध्याउन्नमा केन्द्रित भएर लागिरहेका छन्। तर, टिकटको लोभमा नेता पार्टीमा तान्ने गतिविधि पनि कम छैन। 

प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि साना दलहरु समेत नेता कार्यकर्ता पार्टीमा भित्र्याउने दौडमा छन्। 

तर, निर्वाचनको मुखमा नेताहरुलाई निर्वाचनमा टिकटको लोभ देखाउँदै शीर्ष नेताहरु नै पार्टीमा तान्ने अभियान नै चलाइरहेका छन्। तर, पछिल्लो समय टिकटको बार्गेनिङमा पार्टी परित्याग गरेर अर्को पार्टीमा प्रवेश गर्नेले सिद्धान्तमा केन्द्रित राजनीति नै समाप्त भएको भन्ने प्रश्न उठ्न थालेको छ। 

चुनावको मुखमा दल फेर्नु राजनीति दलको नियमित धन्दाको रुपमा विकसित भइसकेको बताउँछन् राजनीतिक विश्लेषक प्रा. कृष्ण खनाल। 

उनी भन्छन्, ‘यो नियमित धन्दाको रुपमा राजनीतिक दलले लिन थाले। पछिल्लो परिस्थितिअनुसार यसलाई कुनै नौलो रुपमा लिनु पर्दैन।’ 

'सिद्धान्त आर्यघाटमा पुर्‍याए'

त्यसो त अर्का राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पनि नेपाली राजनीतिमा सिद्धान्त पहिल्यै आर्यघाटमा पुर्याएको अवस्थामा पुगिसकेको टिप्पणी गर्छन्। 

उनी भन्छन्, ‘नेपालमा राजनीति छुद्र हुँदै गइरहेको छ। एउटा पार्टी छाडेर अर्कोमा जानु भनेको अवसरको खेल हो। अहिले भइरहेको भन्दा अर्कोमा अवसर पाएपछि अर्कोमा,त्यहाँभन्दा पनि अर्कोमा स्थान देखिएपछि त्यता लाग्ने सामान्य प्रक्रिया जस्तो नै भइसक्यो।’

पछिल्लो समय नेपालको राजनीति सिद्धान्त र विचार केन्द्रित नभएको उनको ठम्याइ छ। 

‘सबै पार्टी उस्तै भए। त्यसो भएपछि जुन पार्टीमा गए पनि भयो। अवसर जहाँ पाइन्छ त्यहीँ’ उनले भने, ‘अवसरको खेलको रुपमा राजनीतिलाई लिइयो विचार र सिद्धान्त आर्यघाटमा पुर्याउनुको परिणाम हो यो।’  ​

'राजनीति स्वार्थ केन्द्रित भइसक्यो'

निर्वाचनको मुखमा दल फेर्न प्रवृत्ति छिमेकी मुलुक भारतमा ७ दशकदेखि चल्दै आएको राजनीति विश्लेषक पुरञ्जन आचार्य बताउँछन्।

उनी भन्छन्, ‘नेपालमा हेर्दा यो नर्मल देखिछ। भारतमा पनि यो यस्तै छ। पछिल्लो परिस्थितिअनुसार नेपालमा दुईवटा मात्रै पार्टीको सम्भावना छ। एमाले र कांग्रेस। यहाँ अवसर र प्रतिस्पर्धा पनि धेरै छ।’

भारतमा बढी हुने भएकाले पछिल्लो समय दल फेर्ने प्रवृत्ति मधेशमा मौलाएको उनको बुझाइ छ। 

उनले भने, ‘नेपालका दुई ठुला पार्टी कांग्रेस र एमाले दुवै पार्टीमा तराईमा कमजोर छ। अहिले त्यस क्षेत्रबाट यो पार्टीमा आउनेहरुको लहर जागेको जस्तो देखिन्छ। अहिले रंगेलीका मेयर माओवादी छाडेर एमालेमा आए, वीरगञ्जको पनि आए।’

निर्वाचन केन्द्रित भएर नै उनीहरु पार्टी परिवर्तनमा लागेको उनको भनाइ छ। 

‘उसले आफ्नो लोकल वेश बनाएको हुन्छ। अर्को पार्टीबाट जोड्दा चुनाव जित्न सजिलो हुन्छ। यसलाई सैद्धान्तिक र विचारमा केन्द्रित नभएर निर्वाचन मुखी भएजस्तो देखिन्छ। जित्नका लागि आफ्नो लोकप्रियता र अर्को पार्टीको मतलाई तान्न रणनीति भएजस्तो देखिन्छ’ उनले थपे। 

नेपाली समाज नै राजनीतिमुखी भइसकेको उनले औंल्याए। 

विश्लेषक आचार्यले भने, ‘कुनै पार्टी संगठन सदस्य नभएको मान्छेलाई सरकारी कार्यालयमा कर तिर्न जान समेत समस्या पर्ने भइसक्यो। नेपालको अवस्था त्यो छ। समाज एकदमै राजनीतिमुखी भएको छ। व्यक्तिगत सुरक्षाका लागि समेत समाजमा मान्छे पार्टीको झण्डा ढाक्छन्। ठुलो समुदायमा प्रवेश गर्ने रहर सबैको हुन्छ।’

चुनावको मुखमा पार्टी परिवर्तन गर्नु भनेको राजनीति स्वार्थ बाहेक अरु केही नहुने उनले बताए। 

‘यो तराई क्षेत्रमा बढी देखिन्छ। सिद्धान्त गोलमटोल भइसक्यो कसको के फरक छ र? यहाँ अवसर नै हो। सबैको सिद्धान्त नै सरकारमा जाने निर्वाचनबाट बहुमत ल्याउने भइसक्यो’ उनले भने, ‘यो एउटा आवरण मात्रै हो। नाम विभिन्न भएपछि कम्युनिष्ट र कांग्रेस हुँ भनिरहेका छन्। सबैकुरा चाहिँ एउटै छ। त्यसले गर्दा सबैले संसदीय व्यवस्था मानेकै छ।’

जुन दलमा बसेपनि सिद्धान्तहीन भएको कारणले जुन पार्टीमा जाँदा पनि फरक नपर्ने उनको बुझाइ छ। 

‘कांग्रेस, कम्युनिष्ट र मधेशवादी दलमा बस्नु के फरक भयो र? भारतको यही प्रक्रिया सात दशकदेखि छ। त्यहाँ त यो भन्दा धेरै ठुला ठुला हुन्छन्।  नेपालमा पनि यसलाई स्वभाविक रुपमा लिनुपर्छ’ उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.