|

काठमाडाैं : मासु पसलबाट राम्रो आम्दानी नभएपछि मासु पसल बेचेर ट्याक्सी निकाल्ने सोच बनाएका कमरेड वायु आफ्नी पत्नी (कमरेड ऊर्जा) लाई सुनाउँछन्। पतिको कुरा मन नपरेपछि पत्नी भन्छिन्, 'सात वर्षमा सातथरी सोच आइसक्यो उँभो लाग्ने केही गरी होइन। अब टेउसी किनेर शहरका सेउसी बोकेर उँभो लागिएला! खुरुक्क विदेश जान छोडेर..'

'मैले कति पटक भनिसकेँ म विदेश जान्न भनेर? भोकै मर्न परे पनि यही देशमा मर्छु,' पतिलाई विदेश जाने कुरा चित्त बुझ्दैन। 

'अनि छोरीलाई पनि भोकै मार्छौ?' पतिको कुरा नसकिँदै पत्नी बोल्छिन्, 'हामीलाई छैन देशको माया? यी.(कोखामा गोलीको दाग देखाउँदै) यी देश र जनताको लागि भनेर गोली खा'को होइन? के पाइयो खोइ?'

'गणतन्त्र'

'नापियो। मेरा बाआमाले तिमीलाई ज्वाइँ स्विकारे। न मैले छोरीलाई पेटभरि दूध ख्वाउन सकेँ। न तिमीले छोरीलाई पेटभरी भात ख्वाउन सक्यौ। गणतन्त्र...! खुरुक्क विदेश जाउ नत्र म जान्छु।' 

'गए हुन्छ त।' 

'जान्छु त भनेको छु नि। आइमाइ जान हुँदैन र? गा'छन् त....,' पतिलाई मेरो पासपोर्ट बनाइदेऊ भन्दै पत्नी कोठाबाट बाहिर निस्किन्छिन्। निदाइरहेकी छोरी नराम्रो सपना देखेझैँ गरेर ब्युँझिन्छिन्।

पत्नी जिन्दगीभरिको पीडा, आक्रोश, असन्तुष्टि ट्युबेलको ह्याण्डल थिचेर निकाल्न खोज्छिन्। पति झ्यालबाट निरीह हेराइ हेर्छन्। 

भोलिपल्ट झिसमिसेमै पत्नीको पासपोर्ट बनाउन छोरी बोकेर दुवै जना राहदानी विभागका लागि निस्किन्छन्। सँगसँगै गीत शुरु हुन्छ,

बस्नीलाई पिर परेर हुनसम्म भ'छ
जानीलाई नजाऊ भन्न नसकिनी र'छ
तिम्रो मयाले मलाई पिर दियो
कमलो मुटु कमलो छाती 
चिर दियो 
तिम्रो मयाले मलाई पिर दियो..
ऐया ऐया...

शुक्रबार सार्वजनिक प्रकाश सपूतको 'पिर' बोलको गीत यतिवेला चर्चामा छ। प्रकाशको शब्द, संगीत तथा स्वर रहेको गीत र प्रकाशकै कथा, पटकथा, निर्देशन एवम् अभिनय रहेको गीतको भिडियो दर्शकले निकै मन पराएका छन्। गायनमा प्रकाशलाई सम्झना भण्डारीले साथ दिएकी छन् भने भिडियोमा प्रकाशसँगै सुरक्षा पन्त, केशु पुन केसरी, लोकेन्द्र लेखक, पुष्पा अवस्थी, विशाल घिमिरेलगायत कलाकारको मुख्य भूमिका रहेको छ। ​

एकातिर दर्शकले गीत, कथा, अभिनय सबै कुराको प्रशंसा गरिरहेका वेला केही माओवादी नेताले गीत युट्युबबाट हटाउन चेतावनीसमेत दिएका छन्। भिडियोमा देखाइएको कथा र त्यहाँका पात्रले समाजमा जनयुद्धसम्बन्धी नकारात्मक सन्देश दिने भन्दै उनीहरूले आपत्ति जनाएका हुन्। 

भिडियोमा ४ जना पूर्वलडाकु रहेका छन्। जसमध्ये ३ जनाले आफ्ना कमान्डरलाई बचाउने क्रममा आफूले गोली खाएका छन्। जसको खत अझैसम्म छ। र, जसका लागि उनीहरूले गोली खाए उनी उच्च ओहदामा पुगेका छन्। तर, जसले आफ्नो लागि गोली खाए उनीहरूलाई चिन्दैनन्। लाल सलाम गर्दा पनि, फोटो देखाउँदा पनि चिन्दैनन्, चिन्न चाहँदैनन्।

पत्नी विदेशीएको ३ महिनासम्म पनि कुनै खबर नआएपछि कमरेड वायु साथीको सल्लाहमा पिर बिसाउन यौनकर्मी महिलाकोमा पुग्छन्। अनुहार देखेपछि थाहा हुन्छ कमान्डर बचाउन गोली खाने तीनजनामध्ये एउटी साथी उनै हुन्। 

आत्तिँदै लाल सलाम गर्दै, आफ्नै विवाहको दिन भएको आक्रमण जहाँ उनीहरूले गोली खाएका थिए, सम्झँदै कमरेड वायु कोठाबाट निस्कन्छन्। 
त्यतिवेलै गीत बज्छ,

एउटै घटना कोहीलाई फाइदा कोहीलाई भयो हानी
कतै मर्‍यो आत्मसम्मान कतै स्वाभिमानी
तिम्रो मयाले मलाई पिर दियो...

आयको कुनै स्रोत नभएपछि देह व्यापार गर्न बाध्य भएकी उक्त पात्रको भूमिकामा देखिएकी छन् केशु पुन केसरी जो आफैँ पनि पूर्वमाओवादी लडाकु हुन्। र, जीवनयापनका लागि लामो समय दोहोरी साँझमा नाचेको उनको व्यक्तिगत अनुभव छ। 

गीत सार्वजनिक भइसकेपछि एक अन्तरवार्तामा उनले भनेकी छन्, 'पैतालाको छाला जाने गरी सडकमा नाचेका छौँ, त्यही सडकमा अहिले चिल्लो गाडी चढेर हिँड्ने उहाँहरू (माथिल्लो ओहदामा पुग्ने) ले हामीलाई चिन्नुहुन्न। पहिले एउटै रोटी बाँडेर खाएको, अहिले त्यही मान्छेलाई भेट्न दुई महिनाअघि अपोइनमेन्ट लिनुपर्छ।'

गीतमा देखाइए जस्तो अवस्था नरहेको भन्दै गीतको आलोचना गर्नेहरूलाई १६ मिनेटको भिडियोमा देखिएको ५ सेकेन्डको दृश्यले नडराउन तथा शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि पूर्वलडाकुहरूको अवस्था कस्तो छ भनेर खोज्न उनले आग्रह गरेकी छन्। 

परिवारको स्तर उकास्न काखकी छोरी छोडेर विदेश गएकी कमरेड ऊर्जा विदेशमै फस्छिन्। आफ्नी पत्नीलाई स्वदेश फिर्ता ल्याउन अनेक कोशिस गर्दा पनि नसकेपछि कमरेड वायु आफैँ पनि विरक्तिन्छन् र देशै छाड्ने निष्कर्षमा पुग्छन्। 

देशै छाड्ने सोचे पनि कमरेड वायुलाई माटोको माया भने अझै हुन्छ। रुमालमा माटो पोको पार्दै गर्दा छोरीले सोध्छिन्, 

'बाबा, हामी काँ जान लाको?' 

'यो देशलाई तिम्री आमा र मैले धेरै माया गरेम् छोरी। ज्यानकै बाजी थापेर माया गरेम्। तर हामीले लिन जानिएन कि देशले दिन जानेन कि कुन्नी। देशको माया कहिल्यै महशुस गर्न पाइएन। त्यसैले यो देशै छाडेर जाने छोरी। बिरानो देशको न माया लाग्ला न आश।' 

'बाबा, देश भनेको के हो?'

छोरीको प्रश्नले कमरेड वायुको मथिङ्गल हल्लिन्छ। 

उनी पनि आफैँलाई सोध्छन्, 'साँची के हो देश भनेको?' 

त्यसपछि गीत बज्छ, 

देश भन्नु त के रैछ र चार किल्लाको माटो
त्यै माटो नि उनकै मात्रै जो छन् टाठो बाठो
तिम्रो मयाले मलाई पिर दियो
कमलो मुटु कमलो छाती
चिर दियो
ऐया ऐया.., ऐया ऐया

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.