‘कमल थापाले छाड्दा पार्टीलाई कुनै असर गरेको छैन’

|

स्थानीय तहको चुनावको मिति नजिकिएसँगै सबै राजनीतिक दलहरू निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित छन्। ठूला राजनीतिक दलका शीर्ष नेताहरू अन्य पार्टीबाट नेता तथा कार्यकर्ता भित्र्याउने ध्याउन्नमा लागिरहेका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका ठूला-साना राजनीतिक दलहरू चुनाव केन्द्रित कार्यक्रममा छन्।

स्थानीय तहको निर्वाचनको मिति आइसक्दा राप्रपाको चुनावी योजना कस्तो छ? कस्ता एजेण्डा लिएर जनता सामु जाँदैछ? हिन्दु राष्ट्र र राजसंस्थाबारे जनताको प्रतिक्रिया कस्तो छ? पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि कस्तो असर पुग्यो? लगायत समसामयिक विषयमा केन्द्रित रहेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग थाहाखबरकर्मी रमेश पराजुलीले गरेको कुराकानीः 

स्थानीय तहको निर्वाचनको मिति आइसक्यो‚ तपाईंहरूको पार्टीको तयारी कस्तो छ

स्थानीय तहको निर्वाचनको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सम्पन्न भएलगत्तै हामीले स्थानीय निर्वाचन परिचालन समिति गठन गरेर निर्वाचन प्रारम्भिक तयारी गरिसकेका छौँ। अहिले पहिलो चरणको उम्मेदवार चयनको काम भइरहेको छ। र, हामीले यसपटक स्थानीय तहको वडासम्म आफ्नो उम्मेदवार उठाउने तयारी गरिरहेका छौँ। 

चुनावीमा जनता सामु कस्ता एजेण्डा लिएर जाँदै हुनुहुन्छ

स्थानीय तहको निर्वाचनपछि सिंहदरबारको अधिकार गाउँमा जान्छ भन्ने हो। तर‚ अधिकार मात्रै गएन‚ सिंहदरबारमा भएको भ्रष्टाचार पालिका र वडा तहसम्म पुगेको छ। त्यसकारण भ्रष्टाचारविरुद्ध, भ्रष्टाचार न्यूनीकरण गर्दै शून्यमा झार्न जनप्रतिनिधिलाई सचेत गराउने र आफ्ना जनप्रतिनिधिलाई कटिबद्ध बनाउने हाम्रो एजेण्डा हुन्छ।

लामो समयसम्म सँगै हिँडेको‚ सहकार्य गरेको, नेता मानेको मान्छेले पार्टी परित्याग गर्नु र आफ्नो सिद्धान्तबाट विचलित हुनु हाम्रा लागि दुःखद् हो। तर, हाम्रो यात्रालाई कुनै प्रभाव पार्न सक्दैन।

अर्कोतर्फ शिक्षा तथा स्वास्थ्यलाई जनताको अधिकारको रूपमा स्थापित गर्ने। कृषि पूर्वाधार विकास गर्ने, रोजगार अभिवृद्धि गर्नका लागि सिपमुलक तालिमको व्यवस्था गर्ने योजनाको साथ अहिलेको निर्वाचनमा हामी जनताको बीचमा जाँदैछौँ।

हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा वकालत गर्दै आइराख्नुभएको छ। त्यसलाई जनताले अझै स्वीकार्छन्

स्थानीय तहको निर्वाचन र यो एजेण्डाबीच खास सम्बन्ध त हुँदैन। तर, हामी जुन स्थानीय तहमा जहाँ चुनाव जित्छौं‚ त्यहाँ यो मुद्दामा जनमत निर्माण गर्न लागिपर्छौँ। जनताले यो एजेण्डालाई स्वीकार गर्छन् र भन्ने होइन। जनताले उच्च प्राथमिकताका साथ यो हेरिरहेका छन्।

विगतमा नेताहरूको लहैलहैमा लागेर गणतन्त्र, संघीयता र धर्म निरपेक्षताजस्ता विषयलाई आत्मसात् गर्दा अहिले कस्तो स्थिति व्यहोर्नु परिरहेको छ भन्ने आम जनतालाई महसुस भएको छ। राजसंस्था र हिन्दु राष्ट्र कुनै व्यक्तिलाई राजा बनाउने, कुनै जातिको मान्य धर्म स्थापित गराउने मात्रै होइन यो नेपालको स्थायित्वसँग सम्बन्धित विषय रहेछ, नेपाली जनताको एकता र विचारसँग सम्बन्धित रहेछ भन्ने जनताहरूले महसुस गर्न थालिसकेका छन्। त्यस कारण मुद्दाको कारणले हाम्रो पक्षमा जनमत बढ्छ भन्नेमा विश्वस्त छौँ।

राजतन्त्रको एजेण्डा तपाईंहरूले गणतन्त्र घोषणा भएदेखि नै उठाउनुभएको हो। तर‚ त्यस यताका चुनावमा तपाईंहरूलाई जनताले खोइ पत्याएको?

२०६२/६३ को राजनीतिक परिवर्तनपछि हामीले आफूलाई राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा उभ्याएर त्यसको पक्षमा वकालत गर्दै आइरहेका छौं। त्यतिबेला परिस्थिति प्रतिकूल थियो। जनतामा पनि योजनाबद्ध ढंगले भ्रमहरू सिर्जना गरिएको थियो।

जनतालाई गणतन्त्र, संघीयता, धर्म निरपेक्षता चाहिँ सबै बिमारको उपचार अथवा समस्याको समाधान गर्ने अचुक औषधि हुन्छ भन्ने लागेको थियो। तर, समयक्रमले ती सबै गतल सावित हुँदै गएका छन्। अहिले हाम्रो भनाइ सत्य सावित हुँदै गइरहेको अवस्था छ। त्यसैले हिजो र आजमा फरक छ। 

पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाले पार्टीलाई असर पारेको नजिता निर्वाचनमा देखिएला नि

उहाँले पार्टी परित्याग गर्दा दुःख लागेको छ। लामो समयसम्म सँगै हिँडेको‚ सहकार्य गरेको र आफूले नेता मानेको मान्छेले पार्टी परित्याग गर्नु र आफ्नो सिद्धान्तबाट विचलित हुनु दुःखद् कुरा नै हुन्छ। तर पनि यसले हाम्रो यात्रालाई कुनै प्रभाव पार्न सक्दैन।

हामी कहिले काहीँ भन्छौँ नि‚ श्रापलाई बरदानमा परिर्वतन गर्न सकिन्छ। कहिले काहीँ कसैले दिएको श्राप पनि बरदान हुन्छ भन्छन् नि। हामीले त्यसैगरी शक्तिमा रुपान्तरण गर्ने अवसरको रुपमा प्रयोग गरिरहेका छौँ। राप्रपा अझै सशक्त र बलियो भएको छ। हामी भन्छौँ अझै सशक्त र बलियो भएर जान्छ पनि। 

पार्टी छाडेपछि थापाले पछिल्लो समय गतिविधि सशक्त बनाउनुभएको छ। उहाँले राप्रपाबाट धेरै मान्छे लिएर जानुभएको देखिँदैछ नि! 

त्यस प्रकारको कुनै प्रभाव छैन। म धेरै उहाँको आलोचना पनि गर्न चाहन्न। तर, त्यसपछि राप्रपामा लाखौँ मान्छे जोडिनुभएको छ। राप्रपा अहिले देशको बलियो शक्तिको रूपमा उदय र विकास भइरहेको छ। जुन कुरा मैले भन्ने भन्दा पनि आम जनताले र देशले अनुभूति गरिरहेकै कुरा हो। 

तपाईंको पार्टीका पदाधिकारीहरू पनि थापाका मान्छे छन्‚ उपयुक्त समयमा राप्रपाबाट बाहिरिन सक्छन् भन्ने चर्चा छ नि

पार्टीमा उहाँका मान्छे र मेरा मान्छे भन्ने छैन। राप्रपाको महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार भएर विजयी भएका मान्छे र राप्रपाकै मान्छे पो हुन्छ त। त्यसकारण महाधिवेशनबाट निर्वाचित भएका नेताहरूलाई कुनै व्यक्तिको मान्छे भन्नु महाधिवेशनको निर्णय र पदाधिकारीहरूको अपमान गर्नु हो। उहाँहरू पार्टीबाट बाहिरिने कुनै सम्भावना ‍छैन। हामीले त्यसरी हेरेका पनि छैनौँ। 

तपाईंले पार्टी प्रवक्ता करिब आधा दर्जन व्यक्तिलाई मनोनीत गर्नुभएको छ‚ किन

हाम्रो विधानले प्रवक्ताको संख्या आवश्यकताअनुसार राख्न पाउने व्यवस्था गरेको छ। हामीले प्रवक्ताहरूलाई विभिन्न प्रकारको जिम्मेवारी दिएका छौँ। कसैलाई प्रचार हेर्नुहुन्छ। कसैले प्रचारभित्रको अन्तर्राष्ट्रिय र सुशासनको क्षेत्र हेर्नुहुन्छ। संख्या धेरै भएर कुनै असर गर्दैन। सबैको आ-आफ्नै काम गर्नुहुन्छ। त्यसले पार्टीमा सबैलाई जिम्मेवार पनि बनाएको छ। 

राष्ट्रिय पार्टी नभएको बहानामा चुनाव चिह्नबाट बञ्चित गर्ने षड्यन्त्र भइरहेको छ भन्ने तपाईंले सार्वजनिक रुपमा राख्दै आउनुभएको छ। यसअघिको चिह्न दिएन भने राप्रपाले के गर्छ?

राष्ट्रिय मान्यता प्राप्त दल बन्न नसकेका दलहरूलाई उनीहरूले यसअघि प्रयोग गर्दै आइरहेको चुनाव चिह्न प्रयोग गर्न दिइँदैन भनेर बजारमा हल्ला चलाइएको छ। हामीले निर्वाचन आयोगसँग भनेका छौँ- तपाईंहरूले स्थानीय निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने‚ निर्वाचन चिह्न रोज्न लगाउने अनि निर्वाचनको बेला चाहिँ चुनाव चिह्न प्रयोग पाउँदैन भन्ने काम नगर्नुहोला।

यस्ता कार्य त्यो अनुचित हुन्छ मात्रै होइन‚ त्यो सर्वसत्तावादी सोच हो। अन्य दललाई निषेध गरेर सीमित राजनीतिक दललाई निरन्तरता दिने दुष्प्रयास हो। त्यसको हामी प्रतिवाद गर्छौँ।

निर्वाचन आयोगको काम निर्वाचन गर्ने मिति तोक्ने, भोट गराउने र भोट गन्ने मात्रै होइन। निर्वाचन सहज बनाउने, मतदातालाई सहज बनाउने, राजनीतिक दललाई सहयोग गर्ने पनि हो। त्यसैले हामीले राजनीतिक दललाई सहयोग गर्नुस्‚ आ–आफ्नो चुनाव चिह्न लिएर जनताबीच जाने वातावरण बनाउनुस् भनेका छौँ। मलाई विश्वास छ‚ आयोगले यो झन्झट व्यहोर्दैन। निर्वाचनलाई नै प्रभावित हुने गरी दलहरूलाई निषेध गर्ने कोसिस गर्दैन।

सबैलाई आ-आफ्नो चुनाव चिह्न लिएर नै जनताको बीचमा जाने वातावरण बनाउँछ। यदि निर्वाचन आयोगले त्यो वातावरण बनाउँदैन। हामीले आफ्नो चुनाव चिह्न लिएर जनताबीच जान नपाउने परिस्थिति बन्यो भने निर्वाचन बहिष्कार मात्रै होइन‚ निर्वाचन नै हुन दिँदैनौँ। 

भनेपछि हलो चुनाव चिह्न पाउनुभएन भने आन्दोलनमा जानुहुन्छ?

हो, हामी सशक्त रुपमा आन्दोलनमा उत्रिन्छौं। हामीले हाम्रो चुनाव चिह्न नपाएसम्म स्थानीय तहको निर्वाचन हुनै दिँदैनौँ। 

गत चुनावमा एमालेसँग तालमेल गरेर संघीय संसदमा तपाईं राप्रपाको एक्लो प्रतिनिधि हुनुभयो। यसपटक पनि तालमेल हुन्छ?

अहिले गठबन्धनसम्बन्धी कुनै सोच बनाएको छैन। संघीय संसद तथा प्रदेशको निर्वाचनमा १६५ वटै संसदीय निर्वाचन क्षेत्र ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवार उठाउने तयारी गरिराखेका छौँ। आवश्यकताअनुसार अन्य राजनीतिक दलहरूले गठबन्धन गर्न उपयुक्त ठानेर कुरा गरेमा स्वीकार्न तयार छौं। तर, अहिले नै कुनै राजनीतिक दलसँग गठबन्धन गर्ने भन्ने योजना छैन। 

अहिलेको परिस्थितिमा कुन पार्टीसँग गठबन्धनको सम्भावना धेरै देख्नुहुन्छ?

गठबन्धन आवश्यकताको आधारमा हुने भएकाले कुनै पनि बेला कुनै पनि दलसँग हुन सक्छ। वैचारिक रुपमा कुनै दलहरूको गठबन्धन हुँदैन। सिटका लागि हुने हो। जितका लागि गठबन्धन हुने भएकाले कसो गर्दा आफ्नो दललाई फाइदा हुन्छ त्यहीँ हिसाबले सबैले गठबन्धन गर्दै आइरहेका छन्। हामी पनि त्यही गर्ने हो। कुनै पनि राजनीतिक दलले गठबन्धन गर्न उपयुक्त ठानेर प्रस्ताव गरे र उक्त प्रस्ताव सही लागे हामी गर्न सक्छौँ। तर, यही पार्टीसँग भन्ने छैन। 

संघ र प्रदेशको चुनावको कुरा गर्नुभयो। स्थानीय तहमा चाहिँ गठबन्धन हुँदैन

हामीले सबै वडासम्म पार्टीको उम्मेदवारी उठाउने तयारी गरिरहेका छौँ। संघ र प्रदेशमा मात्रै होइन स्थानीय तहमा पनि आवश्यकताअनुसार गठबन्धन बन्न सक्छ। त्यो स्थानीय तहकै आवश्यकता र प्राथमिकताअनुसार हुन्छ। तर, देशव्यापी कुनै पनि दल विशेषसँग मात्रै गठबन्धन नबन्ला कि भन्ने लाग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.