फागू पूर्णिमा, रंगसहित रमाइलो गरेर मनाइने फागु वा होली असत्यमाथि सत्यको विजयलाई हर्षोल्लासपूर्वक मनाउने पर्वका रुपमा बुझिन्छ । त्यसमा पनि रंग नै रंगको पर्व र उमंगको वातावरण बिच हुने भएकोले जीवनमा हर्ष र उल्लास नै जीवनको लक्ष्य हो।
वसन्त ऋतुको आगमनसंगै वसन्तका रंगहरूले सबैलाई प्रभावित पारेकै हुन्छ। रंगीचंगी प्रकृतिको सृजना देख्दा र हेर्दा सबैलाई आनन्द लाग्छ। यसको अर्थ हो जीवन रंगिन र आनन्दमय होस् । जीवनमा पनि त्यस्तै व्यक्तिको संगत गर्दा आनन्द लाग्छ जो उमंग र प्रसन्न रहन्छ।
फागुपूर्णिमालाई लिएर अनेक किंवदन्ती भएपनि रंगहरूको पर्व भएकोले जीवनका सबै रंगलाई अनुभूति गरेर शान्त, प्रेमिल र आनन्दित जीवन बाँच्ने प्रेरणा जगाउन वर्षको एकपटक यो पर्व आउने गर्छ । प्रकृतिका सबै रंगमा शान्ति, प्रेम, दया, अहिंसा र करूणा नै महसुस गर्न सकिन्छ।
हिंसा, अराजकता, अमानवीय र अनैतिकता प्रकृतिका कुनै रंगमा भेटिन्न। यि सबै मानव भ्रमका उपज हुन्। भ्रमले मानव जीवनलाई दुःखमा धकेलिरहेको हुन्छ। जागृत अवस्था महसुस गर्न सकिए जीवन जिउनुको आनन्द मिल्छ ।
लौकिक प्रेमको रंगमा चुर्लुम्म डुब्न सक्नेले कहिल्यै हिंसाको मार्ग अपनाउन सक्दैन। त्यही मानवीयताको गुण पारलौकिक प्रेमसम्म पुग्दछ। प्रेम लौकिक होस् या पारलौकिक लुकाएर लुक्दैन। प्रेमलाई लुकाउनु नै किन त्यो त दया, करुणा सहित इमान्दार बनेर प्रत्येकको जीवनमा रंग छर्न सफल भएको हुन्छ।
मान्यताको इशारा अहंकारको त्याग
नेपालमा मनाइने बिभिन्न चाड –पर्वहरूका आफ्नै किंबदन्ती र मान्यताहरु छन्। वसन्त ऋतु संगै आउने फागु पूर्णिमालाई पनि नेपालका पहाडी भेगमा र तराइमा दुई दिनसम्म मनाइन्छ। वसन्त उत्सव, होली, रंगोली, होलिका दहन आदि नाम दिएर नेपाल लगायत भारतका केहि प्रान्तमा समेत यो पर्व मनाइन्छ। हिन्दु धर्म अनुसार राजा हिरण्यकश्यपू एक घमण्डी राजा थिए र उनी आफू देवता भएकोले सबैले आफ्नो पूजा गरुन भन्ने चाहन्थे।
उनकै पुत्र प्रल्हाद भगवान विष्णुका भक्त थिए र आफ्ना पिताजीको घमण्ड पटक्कै उनलाई मन पर्दैनथ्यो। यो कुरा थाहा पाएर राजा हिरण्यकश्यपूले आफ्नी बहिनी होलीकासंग मिलेर राजकुमार प्रल्हादलाइ आगोमा जलाएर मार्ने उपाय निकाले। होलीकालाइ अग्निले केहि गर्न सक्दैन उनी सुरक्षित छन् भन्ने मान्यता थियो। तर प्रल्हादलाई जलाउन रचिएको अग्निमा होलिकाको मृत्यु भयो।
होलीका अर्थात् दानव प्रवृतिको दहन (नष्ट ) भएकोले होलीका दहन भनेर यो पर्वको विकास भयो भन्ने किम्बदन्ती प्रचलित छ। किम्बदन्ती सहि या गलत, आ –आफ्नो अर्थले पुष्टि गरिएको हुन् सक्छ तर वसन्त ऋतुसंगै आउने होलीले सामाजिक र साँस्कृतिक महत्व पनि बोकेको छ।
रंगको रोजाइ र जीवनको भोगाइ
जीवन त जसरी पनि चल्छ त्यो रोजाइ आफ्नै हुन्छ। निम रोपेर आँप फलाउन किमार्थ सकिन्न। गुनासो नै गुनासो बोकेर खुसी अवश्य आउदैन। स्वीकार र संकल्पनाको विज्ञान जान्यो भने जीवनको भोग त्यही आयाममा अघि बढ्छ।
उमंग र उल्लासको रंगले जीवन रंगिन पायो भने मनुष्यले आफ्नो जीवन आफूले चाहेको जसरी बाँचेको महसुस गर्दछ। वास्तवमा मनुष्यको दैनिकी र जिउने तरिका हेर्दा लाग्छ भयपूर्ण र प्रेमपूर्ण दुइ तरिकाले मात्र जीवन जिउन सक्छ।
पुरानो संस्कार, काम, क्रोध, लोभ, मोह, इर्ष्या, द्वेषमा जिउने मानिसहरु भयपूर्ण जीवन नै गुजारिरहेका हुन्छन्। आम्दानी, घाटा, नाफा, भ्रष्टाचार, सम्मान, धन आदि मापदण्डले आफ्नो जीवनको महत्वलाई अर्थ्याएका हुन्छन्। कहीं कमजोरी र अपेक्षा अनुसार प्राप्ति भएन भने दोष अरुलाई दिन्छन्।
त्यसको बाहेक प्रेमपूर्ण जीवन जिउनेहरु वर्तमानको जीवन जिउछन्। संसार सुधार्न होइन पहिले आफू सुध्रेर त्यसको रुपान्तरण संसारमा देखाउन चाहन्छन्। मानिसको अहंकारले आफ्नो दोष अरुले थाहा पाओस अर्थात आफैंले थाहा पाएर पनि सुध्रिने प्रयास गरूँ भनेर सिधै प्रयासमा त ऊ जान सक्दैन।
फागुपूर्णिमा जस्ता पर्वले मानिसभित्र रहेको अहंकारलाइ साथी–भाईमा रंग खेलेर भएपनि रेचन गर्न, भित्रको मैला, कुण्ठा फ्याक्न मद्दत गर्दछ। मानिस सिधै आफ्ना साथी –भाईसँग आफ्नो कमजोरी देखाउन, गल्ती स्वीकार गरी माफ माग्न सक्दैन, अंकमाल गर्न सक्दैन। तर होलीले यो छुट दिएको छ। होलीको दिन मानिस सबै कुरा बिर्सेर प्रेमको रंगमा समर्पित हुन सक्दछ।
बर्षका ३६४ दिन संसारको भागदौड र कुण्ठा,शरीर भित्र र बाहिर संगालिएको फोहोर रंग खेलेर रंगकै रुपमा पवित्र बनाउन यो एकदिनको पर्वले अर्को रंग थपिदिन्छ। वर्तमान समय मानिसको भागदौड, नाफा –घाटामै बितेको छ वर्ष दिन।
चाहेर पनि उसले समय निकाल्न सक्दैन साथी –भाई, मित्र–जनको लागि, होली पर्वले वर्षमा १ दिन भने पनि यो अवसर जुटाईदिएको हुन्छ।
सहजताको रंग
सरल बन्न कठिन छ र कठिन बन्न अनेक बाहाना निकालेर भएपनि कठिन मार्ग र द्वन्दमा मानिस रमाउन चाहन्छ। जे छ त्यस्तै देख्न र आफ्नो आन्तरिक स्वभाव जस्तो छ त्यसमै बाँच्न हिनता बोध गर्छ मानिस।
भिडको प्रतिष्पर्धामा आफूलाइ मिसाउन पाउँदा सार्थकता बोध गर्दछ मानिस। जसरी प्रकृतिको सृजनामा अलग अलग चिजको अलग महत्ता र गुणवत्ता छ त्यसैगरी। यो सृजनाको अलग गुणवत्ता हूँ म भनेर स्वयंलाई स्वीकार्न सक्दैन मानिस। आफ्नो परिचय स्व–सत्तासंग होइन राज्यका सत्ता मार्फत खोज्दछ मानिस। सहजता उसको लागि हिनता बोध बन्दछ।
झुठ, देखावटी, द्वैध चरित्रमा आफूलाई स्थापित गराउन सक्यो भने सबैलाई झुक्क्याउन सफल भएँ भन्ने बोध गर्दछ। क्षणिक फाइदा र निम्न गुणमा आफ्नो सारा ऊर्जा खर्च गरिरहेको हुन्छ। अनेक अपेक्षा र वासनाको माध्यमबाट स्वयंलाई बाँधेर राखेको हुन्छ अनि मुक्ति अरूबाट चाहन्छ मानिस।
प्रकृतिका कुनै जीव जन्तु भोकमरीले मरेको उदाहरण छैन र पनि मानिस आफ्नो सहज जीवनलाई मात्र नभएर अति संग्रहको लागि मरिहत्ते गरिरहेको छ। जीवनको एउटा क्षणमा आएर आफूले गरेका कर्म मध्ये सही र गलत थाहा नहुन्जेल मृग तृष्णामा बाँचिरहेको हुन्छ र त्यही नै जीवनको लक्ष्य ठानेको हुन्छ।
जीवनमा त्यो क्षण नै आउदैन उसको जुन क्षणले जीवनको महत्त्व र जिउनुको आनन्द अनुभूति दिलाउन सकोस्। जीवनमा के शुभ र के अशुभ कर्म गरियो थाहै नपाई सत्यको चाहना राख्दछ मानिस। सत्य त यही छ पहिले देखि नै त्यसलाई असत्यको रंगले छोप्नु भएन। निष्काम कर्म योगको मर्म बुझ्नै नखोजी कि त अति कर्म कि त आलसी र भाग्यवादमै जीवनलाई दोष दिइरहेको हुन्छ मानिस। एकाध मानिस भौतिक सफलताको कथा सुनाएर दोस्रोलाई हिनताबोध गराउनमा रमाइलो मान्छन्।
केहि प्रतिशत मात्र आफ्नो आत्मबोधमा रमाउन सकेका हुन्छन्। भिडको पछि लाग्ने आदत भएको मानिसलाई हिनताबोधका रंगहरूमा रमाउन मन लाग्छ आत्मबोध उसको लागि कठिन मार्ग महसुस हुन्छ।
रंगिन जीवनका सूत्र
परिवार बनेपछि जीवनले एउटा पूर्णता पाएको अनुभूति हुन्छ। सामाजिक प्राणी भएको नाताले मित्रजन र आफन्तको सहयोग अनि परस्पर सम्बन्ध आफैंमा महत्त्वपूर्ण हुन्छन्।
आफ्नो शरीर र स्वास्थ्य, मनोभावना र आत्मिक विकास त्यो प्राकृतिक चाहना हुन्। ति सबै प्राप्तिको सहजताको लागि व्यापार, नोकरी या अन्य पेशा अपनाउन मानिसलाई सिकाउनु नै पर्दैन। तर, मानिसले आफ्नो केन्द्रको परिवार र स्वाथ्य बिर्सेर परिधिका व्यापार, व्यवसाय र नोकरीलाई सम्पूर्ण ऊर्जा खर्चेको हुन्छ।
सन्तुलनको नियम र आचरणमा चल्ने बानीले परिधिका सबै कर्मलाई व्यवस्थापन गर्दछन् नै तैपनि, मानिसले केन्द्रलाई भुलेको हुन्छ। कसैले दिएको नोकरी र कसैले दिएको पद एकदिन नरहन पनि सक्छ । तर आफ्नो गुणवत्ता, स्व–बोध, अन्तर चेतना र सृजनात्मकता कसैले खोस्न मिल्ने र कसैसंग सट्टापट्टा गर्न सकिने चिज पनि होइनन्।
आफ्नो आत्मसम्मान छोडेर अरूको चाकडी, चाप्लुसी, भ्रस्ट आचरणमा जीवन ऊर्जा खर्च गर्ने तरिका किन र कसरी आउँछ मानिसमा रु कहिले जाग्दछ मानिस, कहिले अनुभूतिमा उत्रिन सक्दछ मानिस कि कसैको शक्तिको आडमा होइन आफ्नै आत्मबलमा जिउन सकूँ।
जो भावनामा जिउन सक्दछ, उसको जीवनमा नै अमृत रसपान सम्भव हुन्छ। जो जीवनका सबै रंगमा उमंगित हुन सक्छ, ऊ नै हृदय केन्द्रित भएर बाँच्न सक्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।