|

अदुवा भन्नेबित्तिकै हामी, हाम्रो भान्छामा तयार हुने तरकारीमा हाल्ने मसलाको रूपमा सम्झन्छौं।

सदियौंदेखि प्रयोगमा आइरहेको अदुवाको महत्व हामीलाई कसैले सिकाउनु पर्दैन तर पनि यसको उत्पादन, प्रयोग र भण्डारणमा विशेष ज्ञान नहुँदा हाम्रा किसानहरूले उत्पादन गरिरहेको अदुवाको फाइदा हामीले लिन सकिरहेको छैनौँ।

सामान्यतया नेपालमा यसको उत्पादन मध्यपहाडी क्षेत्रमा बढी हुने गर्दछ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सन् २०१८ को तथ्यांक हेर्ने हो भने इलाम जिल्लाले मात्रै ४५ हजार टन अदुवा उत्पादन गर्दछ।

त्यस्तै, सल्यानले लगभग २५ हजार टन, पाल्पा, नवलपरासी, पाँचथर, डोटी, कैलाली, मनाङ, सिन्धुली लगायतका जिल्ला प्रत्येकले लगभग १० हजार टनको हाराहारीमा उत्पादन गर्छन्।

विश्व अदुवा उत्पादनको बजार हेर्ने हो भने नेपाल, भरत, चीन र नाइजेरिया पछिको चौथो ठूलो उत्पादक हो। नेसनल मास्टरको तथ्यांकलाई हेर्ने हो भने नेपालले मात्रै २९३ हजार टन अदुवा उत्पादन गर्दो रहेछ। 

त्यस्तै, यसको उत्पादन इन्डोनेसिया, थाइल्याण्ड, बंगलादेश, क्यामरून , जापान लगायत देशहरूमा पनि हुने गर्दछ। 

अदुवालाई चाहिने वातावरण हुँदाहुँदै पनि उत्पादन कम हुनुमा नेपाल सरकारको पहिलो प्राथमिकता नहुनु, कृषकलाई चाहिने गुणस्तरीय बिउबिजन विकास गर्न नसक्नु, वास्तविक किसानले अनुदान नपाउनु र उत्पादित अदुवाले बजार नपाउनु मुख्‍य समस्या हो। त्यस्तै, बिचौलिया मात्र मोटाउने नीति, बिक्री भएको अदुवा निकासीमा भारतले रोक लगाउनु तथा निर्यात झन्झटिलो हुनुले पनि यो व्यवसाय फस्टाउन नसकेको हो।

वर्ल्ड इन्टेग्रेटेड ट्रेड सोलुसन (world integrated trade solution) 2019 को आयात निर्यातको तथ्यांक हेर्ने हो भने चीनले मात्रै लगभग ५२ हजार मेट्रिक टन अदुवा निर्यात गर्दछ। त्यस्तै, नेदरल्याण्डले मात्र ५२ हजार टन निर्यात गर्दछ।

सबैभन्दा धेरै उत्पादन गर्ने भरतले पनि जम्मा जम्मी १० हजार २७ हजार मेट्रिक टन मात्र निर्यात गर्दछ। त्यसो त यो तथ्यांकलाई आधार मान्ने हो भने नेपालले पनि जम्मा १० हजार मेट्रिक टन मात्र निकासी गर्दो रहेछ।

त्यसो हो भने बाँकी उत्पादित अदुवाको बजार नेपालमै छ त? भन्ने प्रश्न खडा हुन्छ। त्यसैगरी, अदुवा आयातको तथ्यांक हेर्ने हो भने संयुक्त राज्य अमेरिका, पाकिस्तान, जापान, नेदरल्याण्ड र युएई देश प्रमुख आयातकर्ता हुन्।

अमेरिका र पाकिस्तानले बराबरी लगभग ९० हजार मेट्रिक टन आयात गर्दछन् भने जापान तथा नेदरल्याण्ड प्रत्येकले ६४ हजार मेट्रिक टन हाराहारीमा आयात गर्दछन्।

त्यसैगरी खाडी मुलुक मलेसिया, युएई जस्ता देशहरूले पनि क्रमश: ६०,४८ र २८ हजार मेट्रिक टन आयात गर्ने गरेको तथ्यांकले देखाउँछ। तथ्यांक हेर्ने हो भने नेदरल्याण्डले मात्र निर्यातको लागि आयात गर्दछ भने जापान उत्पादन गर्ने आठौँ ठूलो भए तापनि विश्व बजारको दोस्रो ठूलो आयातकर्ता हो।

कृषि सूचना तथा तालिम केन्द्रको २०२० को प्रतिवेदनअनुसार २२ हजार १३२ हेक्टरमा अदुवा उत्पादन २ लाख ८४ हजार टन उत्पादन भएको थियो, जसलाई प्रियंका जोशी र शोभित खनालले भर्खरै प्रकाशित आफ्नो शोधपत्र Archives of Agricultural and environment science मा अभिलेखमा पनि उल्लेख गर्नुभएको छ। त्यसमा ४.३ प्रतिशत नेपाली अदुवा उत्पादनमा संलग्न रही कुल गार्हस्थ उत्पादन (जिडिपी) को २८. ७९% भूमिका रहेको देखाउँछ।

यसरी कुल गार्हस्थ उत्पादन र रोजगारीमा महत्वपूर्ण भूमिका खेल्ने अदुवालाई सरकारले प्राथमिकतामा नराखेको देख्दा आगामी दिनमा यसको उत्पादनमा कमी नआउला भन्न सकिँदैन।

यी तथ्यांकलाई आधार मानेर हेर्ने हो भने नेपालले प्रतिहेक्टर १२.२ मेट्रिक टन, विकसित मुलुक जापानले २६ दशमलव ७ मेट्रिक टन र चीनले ४० मेट्रिक टन अदुवा उत्पादन गर्ने गरेको थियो भने भारतले सबैभन्दा कम प्रतिहेक्टर ५ मेट्रिक टन मात्र अदुवा उत्पादन गरेको थियो।

सन् २००६ मा चीनको उत्पादन ११.३ मेट्रिक टन प्रतिहेक्टर रहेको अदुवा २०२० सम्म आइपुग्दा चार गुणा बढेर ४० मेट्रिक टन पुगेको छ भने जापानले दशकौंदेखि हरेक वर्ष २५ मेट्रिकको हारहारीमा कायम राख्न सकेको छ। झ्वाट्ट हेर्दा भारतको तुलनामा नेपालमा प्रतिहेक्टर उत्पादन बढी भएको देखिए पनि मध्यप्रदेश, गुजरात, केरल र अन्य राज्यको तुलनामा कमै हुन आउँछ।

उत्पादन र व्यवस्थापन

अदुवा उत्पादनमा संक्रामक रोग, बीउ बिजन, मल जल एवं व्यवस्थापनले पनि ठूलो असर गर्ने गर्दछ त्यसका साथसाथै विभिन्न वातावरणीय प्रकोपले पनि ठूलो असर गर्छ।

जापान, चीनलगायत देशमा हरित गृह बनाई खेती गरिने,दुईदेखि तीन बाली लगाउनाले पनि प्रतिहेक्टर धेरै फरक भएको हुन सक्छ। नेपाल तथा भारतमा वार्षिक एक मात्र बाली लगाउने गरेकोले पनि वार्षिक उत्पादन प्रतिहेक्टर फरक पर्न सक्छ।

अदुवालाई चाहिने वातावरण हुँदाहुँदै पनि उत्पादन कम हुनुमा नेपाल सरकारको पहिलो प्राथमिकता नहुनु, कृषकलाई चाहिने गुणस्तरीय बीउबिजन विकास गर्न नसक्नु, वास्तविक किसानले अनुदान नपाउनु र उत्पादित अदुवाले बजार नपाउनु मुख्य समस्या हो।

त्यस्तै, बिचौलिया मात्र मोटाउने नीति, बिक्री भएको अदुवा निकासीमा भारतले रोक लगाउनु तथा निर्यात झन्झटिलो हुनुले पनि यो व्यवसाय फस्टाउन नसकेको हो।

 नेपालमा प्रयोगशाला नहुनु, जसले गर्दै महिनौं लगाएर भारतीय प्रयोगशालाको रिपोर्ट पर्खि रहनुपर्ने बाध्यताले पनि हुनु किसानले बजार पाउन सकेका छैनन्।

एकातिर सरकारको गैरजिम्मेवारीपन र अर्कोतिर परम्परागत कृषि प्रणाली त्यसमा बजार अभाव, उचित मूल्य नपाउनु, उचित भण्डारणको अभावले पनि निर्यातको चौथो ठूलो हिस्सा बोकेको अदुवाको भविष्य पश्मिना र गलैँचा जस्तो एकादेशको कथा जस्तो हुने त होइन भन्ने चिन्ता छँदैछ।

अदुवाको सिजनमा अदुवाले कुनै मूल्य नपाएको र खेतमा खेती छोड्नु पर्‍यो भन्ने खबरले यसको भविष्यमा चाँडै संकट निम्तिने संकेत गरेको छ।

यसरी खेतबारीमै कुहिनुबाट बचाउन, अदुवा बजार स्वदेशमै बजारीकरण गर्न तथा विदेशमा निर्यात गर्न अदुवाको व्यावसायिक अनुसन्धान गर्नु जरुरी छ।

जापानमा अदुवा खेती

अदुवा एक जडिबुटीजन्य पैदावर हो। सामान्यत यसको उत्पादन नोभेम्बर-डिसेम्बरमा लिने गरिन्छ। मार्च-अप्रिलमा रोपेर नोभेम्बर-डिसेम्बरमा खन्‍ने गरिन्छ।

जापानमा अदुवा रोप्नु अघि यसलाई १–२ पटक माटो मिल्चिङ गरेर मल हाली फुइमिगेसन गरिन्छ, प्लाष्टिकले छोपेर ३ हप्तासम्म राखेर पुन: खेत जोतिन्छ त्यसपछि ४ फिटको दूरीमा ठाडो ड्याङ बनाइ एक हात जतिको फरकमा पारेर तेर्सो रोपिन्छ।

हरेक कृषकलाई अदुवाको पूर्ण ज्ञान भएकाले हरेक वर्ष उनीहरुको उत्पादनमा खासै परिवर्तन हुँदैन। जापानीहरू अदुवा खेतीलाई धेरै संवेदनशील मान्छन्। तिनीहरू बाह्य प्रजातिको अदुवा रोप्न डराउँछन् र बाहिरी व्यक्तिलाई आफ्नो खेतमा छिर्न पनि दिँदैनन् र आफू पनि सधैं खेतमा प्रयोग हुने जुत्ता र पञ्जा लगाएर मात्र काम गर्छन्। जसले गर्दा क्रस कन्टामिनेसन भई अदुवामा लाग्ने रोगको निवारण गर्न मद्दत गर्दछ।

रोग लागेको खेतमा ५–६ वर्ष अदुवा लगाउन नसकिने हुनाले त्यसमा विशेष ध्यान दिन्छन्। यहाँ अदुवा किन्ने कम्पनीले आफ्ना किसानको अभिलेख राख्छन् र कति समयसम्म प्रयोग गर्ने भन्ने पनि त्यही अभिलेख हेरेर निर्धारण गर्छन्, जसले गर्दा बिग्रने जोखिम कम हुन्छ।

नेपालमा २ देखि ३ महिनासम्म प्रयोग गरिने अदुवा जापानमा वर्षभरिसम्म प्रयोग गरिन्छ भनेको सुन्दा पत्यार नलाग्न सक्छ। 

सामान्यत अदुवालाई तरकारी मसलाको धेरै रूपमा प्रयोग गरिन्छ। वर्षभरि नपाइने हुनाले बाह्रै महिना प्रयोग गर्न खासै पाइँदैन। त्यसले यसलाई केमिकल मिसाएर पेस्टको रूपमा पनि प्रयोग गरिन्छ। अदुवा सुकाएर बनएको सुठो पनि धेरै ठाउँमा जस्तै चिया, चटपटे, चकलेटमा पनि प्रयोग गरिन्छ जुन लामो समयसम्म प्रयोग गर्न सकिन्छ।

अदुवा स्टोर कसरी गर्ने त?

अदुवा सामान्यत: २-३ महिनासम्म रहन्छ, विस्तारै यसमा भएको पानीको मात्र उडेर जाने हुनाले चाउरी पर्दै जान्छ र यसको गुणस्तर खस्किँदै जान्छ।

जैविक अर्गानिक रूपमा उत्पादन गरिएको अदुवा छ भने, यो तीन-चार महिनासम्म रहन सक्छ।

माटोमै छोड्ने हो भने २-३ महिनामै टुसा पलाउन र कुहिन थाल्छ। त्यसैले उचित समयमै उत्पादन र भण्डारणमा विशेष ध्यान दिनुपर्छ।

खनिसकेको अदुवा सुरुमा सेतो हुन्छ. विस्तारै भण्डारण गर्दै जाँदा बोकेर खैरो हुँदै जान्छ र बोट भएको भाग कुहिन थाल्छ। यदि रोगले ग्रस्त छ भने १-२ महिनामा सड्न थाल्छ र त्यतिबेलै छुट्याउनु पर्दछ।

अदुवालाई लामो समयसम्म राख्नको लागि, १२-१४ डिग्री फरेनाइटको फ्रिजर भएको कोठा भण्डारण गरिन्छ। यसको आर्द्रता घट्न नदिन पोलिथिन झोला सामान्य तवरले मुख बन्द गरेर राखिन्छ।

यसरी भण्डारण गरेको अदुवा वर्षभरि नै मागअनुसार पखालेर बेच्ने गरिन्छ। भौगोलिक अवस्था र परिस्थितिलाई मध्यनजर गरी नेपाल सरकारले अदुवाको भण्डारण र प्रशोधनमा सहयोग गर्ने हो भने किसानले उत्पादन गरेको अदुवा वर्षभरि बेच्न सकिन्थ्यो कि?

जापानमा अदुवाको बजार रेफ्रिजरेसन प्रणालीको विकास हुनुभन्दा अगाडि नै भएको हुँदा त्यतिबेला पहाडको सेपिलो ठाउँमा सुरुङभित्र कोठा बनाएर तापक्रम सन्तुलन गरिन्थ्यो। जसले गर्दा बाह्रै महिना प्रयोग गर्न र माग अनुसारको पूर्ति गर्न सकिन्थ्यो भन्ने कुरा जापानका व्यापारी तथा सरोकारवाला बताउँछन्।

नेपालमा पनि भौगोलिक अवस्था सबन्धित ध्यान दिई यस क्षेत्रमा लागेका व्यक्तिहरूबाट राय सुझाव लिइ काम गर्न सकेमा अदुवा निर्यात तथा बजार व्‍यवस्थापनमा सहयोग पुग्ने थियो।

अदुवाको प्रयोग र वैज्ञानिक महत्व

परापूर्व कालदेखि आयुर्वेद र घरेलु उपचारमा अदुवाको प्रयोग हुँदै आएको छ। आयुर्वेदमा मात्र नभई पुरानो चिनियाँ उपचार पद्धतिको उपचार विधिमा पनि अदुवालाई विशेष महत्वको साथ हेरिन्छ।

त्यसले मात्र आर्थिक रूपमा बलियो बनाउन सक्दैन त्यसैले अदुवालाई अर्थ व्यवस्था जोड्ने हो भने प्रयोग तथा प्रशोधनमा विशेष तदारुकता देखाउन जरुरत छ।

सामान्यत अदुवालाई तरकारी मसलाको धेरै रूपमा प्रयोग गरिन्छ। वर्षभरि नपाइने हुनाले बाह्रै महिना प्रयोग गर्न खासै पाइँदैन। त्यसले यसलाई केमिकल मिसाएर पेस्टको रूपमा पनि प्रयोग गरिन्छ। अदुवा सुकाएर बनाएको सुठो पनि धेरै ठाउँमा जस्तै चिया, चटपटे, चकलेटमा पनि प्रयोग गरिन्छ जुन लामो समयसम्म प्रयोग गर्न सकिन्छ।

घाँटी दु:खेको, रुघाखोकी, सर्दी, मर्की लागेको बेला पनि प्रयोग गरिन्छ। अदुवामा मह मिसाएर खाँदा रुघाखोकीबाट मुक्ति मिल्ने जनविश्वास पनि छ।

अदुवामा पाइने एन्टिअक्सिडेन्टले मुटुरोग, उच्च रक्तचाप, फोक्सोको रोगजस्ता दीर्घकालीन रोगहरूलाई कम गर्छ, पाचनमा मद्दत गर्छ, चिसो कम गर्न मद्दत गर्छ र चिसोबाट बचाउँछ।

यसमा प्रयोग हुने बायोएक्टिभ यौगिकहरू, जिंजरोल र शोगोल जस्ता औषधीय गुणहरू बोकेका यौगिकहरू छन्, त्यसैले तिनीहरूलाई हाम्रो आयुर्वेदमा प्राचीन कालदेखि प्रयोग गरिँदै आएको होला।

अदुवाको प्रयोगले मधुमेहको जोखिम कम गर्ने, खराब कोलेस्टेरोल घटाउने मस्तिष्कमा रगत को संचार बढाइ अल्जाइमर जस्ता मस्तिष्क रोगहरूबाट बचाउने विभिन्न अध्ययनहरुले देखाएको छ।

त्यति मात्र होइन, अदुवा सेवनले क्यान्सर रोकथाममा विशेष भूमिका रहेको विभिन्न अनुसन्धानले देखाएको छ।

अदुवाको तेल जापान, थाइल्याण्ड र चीन जस्ता देशहरूमा दुखाइ कम गर्न मसाजको लागि पनि प्रयोग गरिन्छ। अदुवाको प्रयोग गरी बनाएको स्याम्पो तथा साबुनले छालाको रोग र कपाल झर्ने समस्यालाई समाधान गर्ने वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ।

अदुवा एक मसला मात्र होइन, धेरै तरिकाले प्रयोग गर्न सकिन्छ। जापानमा अदुवाका पारखीहरू धेरै छन्।

अदुवा धेरै तरिकामा प्रयोग गर्न सकिन्छ, माछाको गन्ध हटाउन, मिठाई र जडीबुटी बनाउन, हेल्थ सप्लिमेन्ट बनाउन पनि यसको प्रयोग प्रचुर मात्रामा हुने गर्दछ।

चीन तथा जापानमा अदुवा भिनेगरमा डुबाएर अचार बनाउने चलन पनि परापूर्व कालदेखि नै चल्दै आएको हो। त्यस्तै, नुडल्स खाने ठाउँमा पनि भिनेगरमा डुबाएर राखेको अचारले विशेष स्थान ओगट्ने गरेको छ।

यी कुराहरूलाई मध्यनजर गरेर प्रशोधन तथ प्रयोगमा आधुनिकता ल्याउने हो भने नेपाली बजारमै अदुवाको माग बढ्ने र त्यसको साथसाथै वैदेशिक बजार पनि निर्यात बढ्ने कुरालाई नकार्न सकिँदैन। यस्तो प्रचुर सम्भावना बोकेको र औषधीय गुणहरू बोकेको अदुवा उत्पादन र बजार विस्तारमा सरकारले तत्काल तदारुकता देखाउनु जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.