|

काठमाडौं : ‘मैले रेगुलर हेर्ने र गर्ने फिल्मभन्दा एकदमै फरक छ। सबै एक्टरहरूले एकदमै राम्रो काम गर्नुभएको छ। कथा भन्ने शैली अझ फरक तरिकाको छ। एकदमै मज्जा लाग्यो।’ -खगेन्द्र लामिछाने।

‘चिसो एष्ट्रे हलिउडको फिल्मजस्तो रहेछ। कलाकारले जुन जुन क्यारेक्टर निर्वाह गर्नुभएको छ। पूर्ण न्याय गर्नुभएको छ। इन्टरटेन्मेन्ट छ, एक्सन छ, गीत सबैलाई मनपर्ने खालको छ। इट्स अ क्वाँटी।’ -सन्तोष पन्त

‘फिल्म ग्रिपिङ छ। युवाहरूको आकांक्षा, जित, हार, आक्रोश, माया सबै देखाइएको छ। रिलेटेबल छ। फिल्मको कथा काठमाडौं खाल्टोमा युवाहरूको कोणबाट भनिएको छ। मलाई लाग्छ पात्रहरू थ्रुबाट अन्य व्यक्तिहरूले पनि आफ्नो आफ्नो कथा, आफ्नो जीवनको उतारचढाव, आफ्नो सम्बन्ध, आफ्नो हार, आफ्नो जितसँग रिलेट गर्नुहुने छ।’ -राजेश हमाल

‘यो फिल्ममा देखिने चिजभन्दा सोचिने काम एकदम बेसी भएको छ। फिल्मको भिजुअल ल्याङ्ग्वेज, सिनेम्याटोग्राफी, अभिनय सबै राम्रो छ। केही कुरा अझै राम्रो हुन सक्थ्यो भन्ने मलाई लाग्छ। तर‚ जति मिहिनेत गरिएको छ, इट्स अ वेल मेड मुभी।’ -निश्चल बस्नेत

‘नेपाली सिनेमा लुटपछि एउटा धारमा गइरहेको थियो। त्यसलाई पनि ब्रेक गर्ने सिनेमा आउनुपर्छ भन्ने लागेको थियो। ओभरअल लुक्स, भिजुअल र स्टोरी टेलिङको हिसाबले नेपाली फिल्म इन्डस्ट्रिले एउटा अर्को फड्को मारेको छ। नेपाली सिनेमा हेर्दा हलिउड स्टाइलको भएन भन्नेहरूको लागि यो सिनेमा ठ्याक्कै हलिउडको लेभलको सिनेमा हो।’ -प्रदीप भट्टराई

भर्खरै प्रदर्शनमा आएको नेपाली फिल्म ‘चिसो एष्ट्रे’लाई फिल्म क्षेत्रका चर्चित व्यक्तिहरूले दिएको प्रतिक्रिया हो। फिल्मले प्रिमियरमा सबैबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो। यसको ट्रेलर हेर्दा, निर्देशक तथा कलाकारबाट फिल्म बनाउँदाका कथा सुन्दा म आफैं पनि चिसो एष्ट्रेका लागि निक्कै उत्साहित थिएँ। 

 

बिहानको पहिलो शो, एक पोका पपकर्न र एउटा मिल्क कफी बोकेर हल छिरेँ। दर्शक बसेका सिटभन्दा खाली सिट बढी थिए। तर, फिल्मजस्तो भए पनि निराश बनाउँदैन भन्ने लगभग पक्का थियो। 

विज्ञापन सकियो, प्रोजेक्टरको लाइट छोडेर हलका बाँकी बत्ती बन्द भए। भूपि शेरचनलाई समर्पित, उनकै कविताबाट प्रभावित फिल्म ‘चिसो एष्ट्रे’ सुरु भयो।  फिल्मको मुख्य पात्र मदन देखियो। जो भर्खरै गाउँ छोडेर सहर पसेको छ। पेसाले उ ट्याक्सी ड्राइभर हो। घरीघरी उसलाई आफू सन् १९७६ को मार्टिन स्कर्सेसको ट्याक्सी ड्राइभर (रोबर्ट डि निरो) जस्तो लाग्छ।

उसकै पछि लागेर, उसकै ट्याक्सी चढेर मैले काठमाडौं खाल्डो घुम्न थालेँ। उसले टेक्ने ठाउँ टेकेँ, उसले भेट्ने पात्र भेटेँ। घरी मदन यसो नगर, यो राम्रो गरेनौ भन्ने लाग्यो, घरी मदन यसै गर, ठिक गर्‍यौ भन्ने पनि लाग्यो। धेरैलाई लाग्यो होला, दृष्टिकोण आफ्ना आफ्ना। बुझाई आफ्ना आफ्ना। 

आँखामा आगो र ओठभरि ज्वाला बोकेर मदन काठमाडौं त छिर्‍यो। तर‚ उसले खोजेको गल्ली भेटेको थिएन। उसलाई योसम्म राम्रोसँग थाहा थिएन कि उसले खोजेको गल्ली कुन हो? त्यस्तैमा मदनले शालिनतालाई भेट्यो, रोनीलाई पनि भेट्यो। जो फरकफरक गल्लीका थिए। मदन दुवै गल्लीमा छिर्थ्यो। तर‚ आफू कुन गल्लीको खोजीमा आएको हो अझै पत्तो पाएको थिएन।

एकातिर शालिनता छ, जो विदेशमा पढेर आएकी हो। संसारका धेरै सहर देखेर पनि उसलाई काठमाडौं सबैभन्दा बढी मन पर्छ। यहाँको आत्माले उसलाई बाँधेर राखेको छ। जो बाहिर देखिनेभन्दा पनि भित्री मनले बोल्ने आवाजमा विश्वास गर्छे। कागजका पुतली बनाएर सबैलाई प्रेम बाँड्न खोज्छे। अर्कोतिर रोनी छ, अर्कोतिर ज्याकी। जसको जिन्दगीको बेग नै अर्को छ। 

मदनलाई शालिनता र उसको पुतली पनि मनपर्छ। पुतलीलाई नयाँ उचाइमा पुर्‍याउन मनैदेखि शालिनताको साथ दिन्छ। सँगै रोनीको स्टाइल पनि उसलाई मनपर्छ, ज्याकीको जस्तो ज्यान बनाउन पनि मन लाग्छ। दुई फरक दिशा, फरक लयमा बगेका जिन्दगी नजिकबाट देख्छ। तर, उसलाई आफ्नो लयबारे थाहा हुँदैन। 

एकातिर शालिनता र उसका साथीहरूको जीवनको लय सिङ्गिङ बलबाट निस्केको ध्वनी जस्तो छ। शान्ति, आशा, प्रेमको छ। अर्कोतिर रोनी, ज्याकी, विक्की भेजालगायतको दुनिया छ, एष्ट्रेजस्तो। जहाँ आक्रोश, प्रतिशोध, घात, स्वार्थ बलिरहेका छन्, खरानी भइरहेका छन्। चुरोट खरानी, धुवाँ, ठूटोजस्तै। 

एकातिर शालिनता जीवनलाई प्रकृतिसँग नजिक महसुस गर्छे। पुतलीसँग उडेर माथि माथि पुग्छे। जीवन छ, उडान छ। अर्कोतिर उड्नका लागि रक्सी, गाँजा, कोकिनजस्ता इन्धनको जरूरत पर्छ। इन्धन खतम फेरि भुइँमा। 

एकातिर शालिनता जो भन्छे, ‘जति जति तिमी यो सहरको वरिपरि घुम्दै जान्छौ नि, बिस्तारै-बिस्तारै आफ्नो मनभित्रको आवाज पनि सुन्दै जान्छौ। इट्स लाइक अ सिङ्गिङ बल।’ 

अर्कोतिर ज्याकी भन्छ, ‘केटिएम सिटीमा अलिकति कपाल ठाडो, अलिकति म साह्रो हुनैपर्छ।’ रोनी भन्छ, ‘ब्रो सिटीमा ट्राइ एभ्रिथिङ। बट डन्ट बि अ मास्टर।’

मदनले खोजेको गल्ली कुन हो? ऊ चिसो एष्ट्रेको चुरोटको ठुँटो हो या सिङ्गिङ बलको ध्वनीसँगै उडिरहेको पुतली? भन्ने प्रश्नको उत्तर फिल्म चिसो एष्ट्रे हो। जहाँ फिल्मको एउटा पात्रको मात्र नभएर फिल्म हेर्ने हरेक दर्शकले आफ्ना प्रश्नको उत्तर पाउन सक्छन्, आफ्नो पाउ कहाँ छन् हेर्न सक्छन्। 

चिसो एष्ट्रेका लागि सात वर्षदेखि लागिपरेका यसका लेखक तथा निर्देशक दिन्स पाल्पाली, फिल्मलाई जीवन दिएका दिव्य देव, सृष्टि श्रेष्ठ‚ निकुन श्रेष्ठ, नवीन लम्साल, सुशीलराज पाण्डे, रोविन तामाङ, रिनेक्स बस्नेत, इभोन जोशी, कृषा शाही, वर्षा थकाली, मोनिका गोले, शिशिर थापा, जाको वाको, प्रकाश खत्रीलगायतका कलाकार, छायांकार, निर्माता, सम्पादक तथा नेपथ्यमा रहेर काम गर्ने सबैको काम तारिफयोग्य छ भनेर सबैले भनेका छन्। म पनि भन्छु।

चिसो एष्ट्रे एउटा हेर्नैपर्ने फिल्म हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.