‘संघीय सरकारले रिङरोड बिस्तार नगर्दा मोनोरेल सञ्चालन गर्न सकेनौं’

|
तस्बिरहरू : शिला तिम्सिना

सरकारले  आगामी वैशाख ३० मा हुने गरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ। निर्वाचनको तयारीमा विभिन्न राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता जुटेका छन्।

निर्वाचनको तयारीमा जुट्नेमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पनि हुन्। आगामी निर्वाचनमा पनि महानगर प्रमुखमा उम्मेदवारी दिने इच्छा देखाएका शाक्यले पाँच वर्षे कार्यकालमा सम्झनालायक के के काम गरे? के के गर्न बाँकी छन्? बाँकी काम किन नभएका हुन् भनी थाहाखबरकर्मी सञ्जिता आचार्यले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँग गरेका कुराकानी

काठमाडौं महानगरपालिकाको प्रमुखको कार्यभार सम्हाल्नुभएको पाँच वर्ष पूरा हुन लाग्यो‚ आफ्नो कार्यकाललाई कसरी लिनुहुन्छ?

काठमाडौं महानगरपालिकामा प्रमुखको रूपमा बिताएको पाँच वर्ष सफल भएको महसुस गरेको छु। २०७४ सालको चुनावका बेला गरेको प्रतिवद्धता अधिकांश पूरा गरेको छु। केही पूरा नगरे पनि कतिपय भने प्रतिवद्धता नगरेका काम पनि गरेका छौं। महानगरपालिकाको पहिलो प्राथमिकता सम्पदा पुनर्निर्माण हो। अधिकांश सम्पदा पुनर्निर्माण गरिसकेका छौं। नसकिएका काम अब निर्वाचित हुने प्रमुखको कार्यकालमा पूरा होला। तर, सुरुवात मैले नै गरेको छु। 

महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने सडक निर्माण गरेका छौं। शिक्षाका क्षेत्रमा स्थानीय पाठ्यक्रम बनाएर पठनपाठन गरिरहेका छौं। हरियाली र स्वस्च्छ सफा महानगर बनाउन काम गर्दै आएका छौं। अतिक्रमण भएका सार्वजनिक जग्गालाई महानगरले संरक्षण गर्ने उद्देश्यले पार्क निर्माण गर्दै आएका छौं। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिको हकमा पनि विभिन्न काम गर्दै आएका छौं। स्थानीय बाजागाजा संरक्षणदेखि बाजा गुरूलाई सम्मान गर्नेसम्मका काम गर्दै आएका छौं।

यसरी हेर्दा पाँच वर्षे कार्यकाल उपलब्धिमुलक रह्यो। जनताको घर दैलोसम्म पुगेर काम गरेको छु। मेरो पनि खुसी छु। महानगरवासी खुसी छन्।

पाँच वर्षे कार्यकालमा विद्यासुन्दर शाक्यलाई महानगरवासीले सम्झिनुपर्ने के के काम भए?

काठमाडौं उपत्यका अझ भनौं काठमाडौं महानगरपालिका सांस्कृतिक सम्पदाले भरिपूर्ण सहर हो। सो सहर आफैंमा सम्पन्न छ। यसको स्वरूपलाई परिवर्तन गर्न जरुरी छैन। त्यसैले भएका कमिकमजोरीलाई हटाउने काम भएको छ।

जनताले आशा गरेका र मैले सोचेका अधिकांश पूरा भएका छन्। केही बाँकी छन्। सोचेका सबै पूरा भएन भनेर म निराश भने छैन। मिहनेत गर्दागर्दै पनि नसकिएका हुन्। मेरो कारणले मात्र नभएको भए म निराश हुन्थें होला। अन्य निकायको कारणले सफल नभएका हुन्।

पाँच वर्षे कार्यकालमा काठमाडौं सहरको ट्राफिक जाम हटाउन ‘पिक एण्ड ड्रप लागु’ गर्‍यौं। सडक र सरसफाइ व्यवस्थित  बनाएका छौं। अर्को कुरा मैले महानगर प्रमुखको जिम्मेवारी पाउँदा देशका विभिन्न स्थानमा २०७२ को भूकम्पले  ऐतिहासिक तथा सास्कृतिक सम्पदा ध्वस्त भएका थिए। विषेश गरी काठमाडौं उपत्यकाका सम्पदा ध्वस्त नै भएको थियो। ती सम्पदालाई पुनः जीवन दिने अवसर मैले पाएँ। 

 भूकम्पले ढलेका सम्पदाको पुनर्निर्माण मेरै कार्यकालमा सम्पन्न भए। मेरो कार्यकालमा १५० वटा सम्पदा पुनर्निर्माण मेरो कार्यकालमा सम्पन्न भएका छन्। रानीपोखरी, धरहरा, कमलपोखरी, काष्ठमण्डप पनि पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ।​

भूकम्पपछिको पुनर्निर्माण त तपाईंका लागि सुनौलो अवसर नै हो भन्छन्। तर तपाईंले अवसरलाई सदुपयोग गर्न सक्नुभएन भन्ने छ नि?

भूकम्पपछिको पुनर्निर्माण महानगरपालिकाका जनप्रतिनिधिका लागि सुनौलो अवसर हो। हामीले अवसर नै सम्झेर काम गर्‍यौं। सफल पनि भयौं। तर, पनि कतिपयमा सफल हुन सकेको छैन। धेरै पटक बजेट राख्दा पनि काम गर्न नसकेका सम्पदा पनि छन्। सबैको नजरमा परेको सम्पदा पुनर्निर्माण हुन सकेन।

जाइकाले बनाउने भनेको हनुमानढोकाभित्रको आगछे बन्न सकेन। वसन्तपुरको दमकल भवन, महानगरपालिकाको भवन रहेको कार्यालय पनि निर्माण गर्न सकेको छैन। पुरातत्व विभागले सहयोग नगर्दा चाहँदाचाहँदै पनि काम गर्न नसकिएको हो।

सम्पदा पुनर्निर्माण जस्तो काममा किन विवाद भयो?

मैले कार्यभार सम्हालेको पाँच वर्षमा १५० वटा सम्पदा पुनर्निर्माण भएको छ। ती पुनर्निर्माणका क्रममा मेरो कारणले भने विवाद भएको होइन। एकथरी मानिस मेयरलाई कसरी असफल बनाउने भन्नेतर्फ लागिरहेका छन्। काम गर्न नदिने अनि काम गरेन भनेर आरोप लगाउने गरेका छन्।

यस्तै‚ व्यवहारले रानीपोखरी पुनर्निर्माणमा ढिलाइ भयो। तर‚ विवादकै बीचमा काम गर्‍यौं। त्यसरी काम नगरेको भए अहिलेसम्म पनि बन्न सक्ने थिएन। काष्ठमण्डप पुनर्निर्माणमा पनि एक वर्ष ढिलाई भएको छ।। अहिले अदालतमा मुद्दा छ। पुरातत्त्व विभागले खण्डित मूर्ति राख्न हुँदैन भनेर डिजाइन दिएको थियो। अहिले अन्योलको बन्दी बनिदियो। विवादको मुख्य जड भनेको पुरातत्त्व विभाग हो। टुक्रा भए पनि राख्न हुन्छ भनिदिएको भए विवाद नै हुने थिएन। 

चुनावमा घोषणा गर्नुभएको १०१ योजना कति पूरा भए?

स्थानीय सरकारको निर्वाचनका बेला हरेक राजनीतिक दलले चुनावी घोषणा पत्रमा जितेर आए यस्ता काम गर्छौं भन्ने प्रतिबद्धता सार्वजनिक गरेका थिए। मैले पनि १०० दिनमा १०१ काम गर्ने घोषणा गरेको थिएँ। तीमध्ये अधिकांश पूरा भए। मोनोरेल सञ्चालन, साइकल लेन निर्माणलगायतका केही भने पूरा हुन सकेन।

अन्तर्राष्ट्रिय सम्मेलन गर्न होटल धाउनुपर्ने अवस्था छ। जसलाई सहज बनाउन मेघा हलको परिकल्पना गरेको थिएँ। त्यसका लागि प्रारम्भिक अध्ययन गरी महिला‚ बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई दिएका थियौं। तर‚ उक्त फाइलको जवाफ आएन। उतै उड्कियो। तीनकुनेमा बुद्धपार्क बनाउने योजना अगाडि सारेका थियौं। मुआब्जा विवादले बनाउन सकेनौं। फोहोरमैलाको व्यवस्थापनका लागि बञ्चरेडाँडा ल्याण्डफिल साइड अन्तिम अवस्थामा पुगेको छ। 

महानगरवासीलाई मोनोरेलको सपना देखाएर चुनाव त जित्नुभयो। तर‚ किन ल्याउन सक्नुभएन?

चुनावमा सबै राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा काठमाडौंमा मोनोरेल चलाउने उल्लेख थियो। लक्किल्ली मैले चुनाव जितें। घोषणापत्र अनुसार नै मोनोरेल ल्याउन प्रयास नभएको पनि होइन। काम भएको पनि छ। तर‚ आँखाले देख्ने गरी अझ भनौं काठमाडौको रिङरोडमा मोनोरेल कुदेको जनताले देख्ने गरी नभएका मात्र हो।

चाइनिज कम्पनी सिसिआरसी २५ ब्युरो भन्ने कम्पनीसँग सहकार्यमा काम गर्ने योजना अगाडि सारेका थियौं। उक्त कम्पनीले अध्ययन समेत गरेको थियो। कम्पनीको अध्ययनले मोनोरेल चलाउनका लागि चौडा सडक आवश्यक पर्छ भन्ने निष्कर्ष निकाल्यो। तर, रिङरोड बनेन।

अहिले संघीय सरकारको मातहतमा रिङरोड विस्तारको काम भइरहेको छ। रिङरोड नबन्दा मोनोरेल बनाउन सकिएन।

आफैंले साइकल चढेर उद्घाटन गर्नुभएको साइकल लेन किन निर्माण भएन

पहिलो कुरा त साइकल लेनका लागि सडक छनोट गरेको हो‚ उद्घाटन गरेको होइन। साइकल लेनका लागि महानगरले धेरै अध्ययन गरेको छ। ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागसँग सल्ल्लाह गरेका छौं। यातायात व्यवस्था विभाग‚ सडक विभाग र ट्राफिक प्रहरीले सहमति दिएको छैन। सडक पेटी सडक विभागको मातहतमा छ।

सडकमा पेन्टिङ गरी बनाइएको साइकल लेन उनीहरूले मानेका छैनन्। सडक पेन्टिङ गरी साइकल लेन बनाउन चार करोड रूपैयाँ बजेट पनि छुट्याएको थियो। तर‚ काम अगाडि बढाउन पाएका छैनौं।  

तपाईंको कार्यकाल उपप्रमुखसँगको बेमेल मै बित्यो भन्ने छ नि?

महानगरपालिकाभित्र कुनै विवाद छैन। बाहिरबाट हेर्दा प्रमुख र उपप्रमुखको झगडा मात्र देखियो होला। तर, किन यस्तो देखियो भन्ने मलाई जानकारी छैन। कुनै पनि काम कार्यपालिकाबाट निर्णय भएपछि हुने हो। कार्यपालिकामा अहिलेसम्म विवाद भएको छैन। सर्वसम्मत निर्णय भएको कुरामा बाहिर विरोध गर्न सुहाउँदैन। असहमति भए कार्यपालिकामै भन्दा भैहाल्छ नि। 

अर्को कुरा उहाँ (हरिप्रभा खड्गी) कांग्रेसको उपमेयर होइन‚ महानगरपालिकाको हो। त्यसअनुसार काम गर्ने हो। चित्त नबुझे कार्यपालिकामा भन्ने हो नि। मिडिया तथा अभियन्तालाई भनेर हुँदैन।

कार्यकालको अन्त्यमा उद्घाटनमा मात्र व्यस्त हुन थाल्नुभएको आरोप छ नि

यो नियमित प्रक्रिया हो। कुनै विरुवा रोपेपछि तत्काल फल पाइन्छ भन्ने होइन। भोलिलाई पर्खनु पर्ने हुन्छ। प्रकृयाअनुसार काम गर्दा कम्तीमा एक वर्ष त लागिहाल्छ। त्यसैले सबै काम मेरै कार्यकालमा सकिन्छ भन्ने हुँदैन। अर्का प्रमुख आउँदा पनि यही प्रक्रिया हो। 

पाँच वर्षे कार्यकालमा आफ्नै भवन बनाउन सक्नुभएन। अहिले पार्क, वडा कार्यालय आदिको उद्घाटनमा व्यस्त हुनुहुन्छ। किन?

महानगरको प्रमुखको कार्यभार सम्हालेसँगै पहिलो बैठकमा नै महानगरपालिकाको कार्यालय र वडा कार्यालय बनाउने निर्णय भएको थियो। जसअनुसार अधिकांश वडा कार्यालय निर्माण भइसकेका छन्। महानगरपालिकाको भनव भने निर्माण गर्न सकेका छैनौं।

प्रस्तावित नक्सा सार्वजनिक भयो। बाघदरबार भनिएको (हरि भवन) भएको ठाउँमा बनाउने तयारी थियो।  त्यसमा मुद्दा पर्‍यो। बनाउन पाएनौं। त्यससँगै महानगरको वातावरण विभाग भएको ठाउँमा  बनाउन भनी डिजाइन सुरू भयो। त्यसमा १ वर्ष लाग्यो।  टेन्डरमा गएपछि अख्तियारमा मुद्दा लाग्यो। मुद्दाको कुनै प्रभाव नदेखिएपछि काम सुरु भएको थियो। फेरि अख्तियारमा मुद्दा पर्‍यो। छानविन गरी पाँच जना कर्मचारीलाई मुद्दा चलाएको छ। काम अगाडि बढेको छ। मेरो कार्यकालमा सुरू भएको छ।

महानगरको प्रमुखको रुपमा अर्को कार्यकाल पनि आउनेबारे केही सोच्नुभएको छ

महानगरवासीको चाहना भनेको फेरि पनि मेयरको रुपमा आएर काम गरोस् भन्ने छ। यसअघि पनि स्वतन्त्र चुनाव लडेको होइन। नेकपा (एमाले)बाट निर्वाचित भएको हुँ। फेरि पनि पार्टीले विश्वास गरेको खण्डमा आउने छु। यो कार्यकालमा धेरै काम गरेको छु। कतिपय फेरि आएर पूरा गर्नुपर्ने छ। त्यसका लागि पनि आउनु पर्छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.