‘राजेशमान’ एक महिनामा तीन पार्टीका नेता

|

वीरगन्ज : सत्ता गठबन्धन दलभित्रको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन नेतृत्वकर्ता दल कांग्रेससँग मञ्चबाटै गुनासो गरेका छन्। जसपा नेपालमा वीरगन्जका चर्चित युवा नेता राजेशमान सिंहसहित सयौं स्थानीय नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले गुनासो गरेका हुन्।

जसपाको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सोमबार वीरगन्जमा सम्बोधन गर्दै अध्यक्ष यादवले अब रहेको चारदलीय सत्ता गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले न्यूनतम साझा कार्यक्रम पनि कार्यान्वयन नगरेको गुनासो गरे। ‘काँग्रेसलाई खै के भएको छ? सत्ताबाहिर हुँदा सबै सम्झौता र कागजमा हस्ताक्षर गर्छ तर सत्तामा पुगेपछि कार्यान्वयन नगरी अन्देखा गर्छ’ उनले भने।

नागरिकता, संविधान संशोधन, समावेशी संघीय प्रणाली लगायतका मुद्दा कार्यान्वयन गर्ने नीति कार्यक्रममा रहेको दाबी उनले सयौं नेता कार्यकर्ता र सहभागीमाझ गरे। ‘गठबन्धन दलको सामान्य नीति तथा कार्यक्रम त कार्यान्वयन हुनु पर्छ नि,’ उनले भने।

निर्वाचनलक्षित गरी उनले जसपा पहिले पनि सबै सिटमा एक्लै लडेको भन्दै निर्वाचनमा कुनै गठबन्धन नभए पनि फेरि जसपा एक्लै सबै सिटमा लड्ने दाबी पनि गरे। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वीरगन्ज पुगी एमालेमा पार्टी प्रवेश गराउन ठिक्क पारेका राजेशमान सिंहसहितका सयौं नेता कार्यकर्ता जसपामा प्रवेश गरेपछि अध्यक्ष यादव निकै प्रफुल्ल देखिएका थिए।

सो बृहत पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले कांग्रेस कम्युनिष्टले विभिन्न जातजातिको पहिचान मेटाउने गरी प्रदेशहरुको नाम नदीको नामका आधारमा राखेको पनि तर्क गरे। ‘कम्युनिष्टमा पनि केपी ओली ब्राण्डको कम्युनिष्ट पार्टी झन् कुनै समयका राजा महेन्द्रका पक्का अनुयायी भए’ उनले आरोप लगाए।

‘बागमती’बाट आएको भनी कसैले भन्यो भने नुहाएर आएको भनी भन्ने प्रदेशको नाम बागमती, गण्डकी र कर्णाली नामकरण गर्नु जातीय पहिचान मेटाउने काम भएको उनको तर्क छ। जसपा नेपालले नेतृत्व गरेको तत्कालको प्रदेश नम्बर २ मा भने मधेशीको पहिचानसहितको मधेश प्रदेश नामकरण गरिएको उनको दाबी छ।

भारतमा अछाम, नागाल्याण्ड, पंजाब लगायतका प्रदेशको नाम पहिचानको आधारमा भएको भन्दै उनले कांग्रेस कम्युनिष्टभन्दा जसपा जनहितको पार्टी भएको जिकिर गरे। अर्को प्रसंग जोड्दै अध्यक्ष यादवले ओली नेतृत्वको गैरलोकतान्त्रिक चरित्रको निरंकुश सरकार ढाल्न वर्तमान गठबन्धन दलहरुमा जसपाले अगुवाई गरेको पनि दाबी गरे। जसपाकै कारण गठबन्धन बनेर निरंकुश ओली नेतृत्वको बहिर्गमन भएको उनको भनाइ छ।

राजनीतिमा विकृति

निर्वाचनको खर्चतर्फ लक्षित गर्दै अध्यक्ष यादवले राजनीतिमा विकृति बढेकोले निर्वाचन प्रणाली समानुपातिक प्रणालीको बनाउनुपर्ने बताए। 'प्रशासन प्रणाली, न्याय प्रणाली र निर्वाचन प्रणाली सबैको सुधारका लागि पहिले सडकमा मात्र रहेको जसपा अहिले सदन र सरकारबाट पनि संघर्ष गरिरहेको छ। जनजाति, भाषाभाषीका मुद्दा जसपाबाहेक अरुबाट समाधानको सम्भव छैन,' उनले तर्क गरे।

अध्यक्ष यादवले सहभागी स्थानीय नेता कार्यकर्ताहरुलाई अहिले सबै कुरा बिर्सेर जताततै ‘जसपा जिताओ’को अभियान लिएर हिँड्न सुझाव दिए। ‘बाँकी काम र कुरा चुनावपछि गरौँला’ उनले भने।

अब जसपा वैकल्पिक शक्ति : भट्टराई 

जसपाका संघीय परिषद् संयोजक बाबुराम भट्टराईले मुलुकको वैकल्पिक शक्ति अब जसपा मात्र रहेको दाबी गरे। विविध भाषाभाषी राज्यमा त्यसैअनुसार राज्यका अंगहरुमा त्यही प्रतिशतका आधारमा सबैलाई समेट्नुपर्ने उनले तर्क गरे। ४० मिनेट लामो भाषणका गरेका

संयोजक भट्टराईले दक्षिण भारतसँग साह्रै राम्रो सम्बन्ध राख्न पर्छ भनी दोहोर्‍याइरहे। हिन्दीमा भाषण गरेका भट्टराईले चीन तथा महाशक्ति राष्ट्र अमेरिकासँग पनि अझ सम्बन्ध नजिक्याएर जानुपर्ने तर्क गरे।

मेयर बन्ने हुटहुटीले जसपा पुगे सिंह

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, संघीय सांसद प्रदिप यादव लगायतले राजेशमानसहितको आगमनले आगामी निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाको जित सुनिश्चित भएको दाबी गरे। वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी हप्ता दिनअगाडी एमाले प्रवेश नगरेका भए राजेशमान सिंह मंगलबार (चैत ८ गते) एमालेमा प्रवेश गर्ने पूर्ण तयारी थियो।

वीरगन्ज महानगरको मेयर बन्ने हुटहुटीले नेता सिंहलाई पनि वीरगन्ज महानगरका अहिलेका मेयर सरावगीझैं नेता सिंहलाई ओली निवास बालकोट हुँदै जसपाको ढोकाभित्र पुर्‍याएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.