|

कञ्चनपुर : डडेल्धुराको आलितालमा रहेको घर जग्गा पहिरोमा परेपछि कञ्चनपुर झरेका दलबहादुर बोहरा तीन दशकदेखि वनहरा शिविरमा बस्दै आएका छन्।

पहिरोमा परेर घर जग्गा गुमाएपछि बासस्थानको खोजीमा बोहराको परिवार वनहरा नदी छेउको शिविरमा बस्दै आएका हुन्। बोहरासँगै पहिरोमा घर जग्गा गुमाएका सात परिवार शिविरमा बस्दै आएका छन्। सबै जनाले मजदुरी गरी जीविका चलाउँदै आएका छन्।

‘मजदुरी गरेको पैसाले साँझ बिहानको छाक टार्ननै पुग्दैन’ मानबहादुर बोहराले भने, ‘कहिले काँही दातृ निकायले दिएको राहतले जीविका चलाउनुपर्छ।’

शिविरमा बस्दै आएको झोपडीमा राखिएको प्लाष्टिकको त्रिपालमा निकै गर्मी हुँदा सुत्नै नसकिने अवस्था रहेको उनी भन्छन्।

‘वर्षाका बेला झोपडी नै चुहिने भएपछि वनहरा नदी माथिको पुल मुनि ओतलाग्नका लागि जाने गरेका छौँ’ तुलाराम बोहराले भने, ‘गर्मी सुरु भएसँगै लामखुट्टेका कारण राति सुत्नसमेत सकिने अवस्था छैन।’

पुनःस्थापनको आसमा सुकुम्बासी परिवार वर्षौंदेखि शिविर बनाएर बस्दै आएका हुन्। केही परिवार वनहरा नदीको पुलमुनि बस्दै आएका छन्।

बैतडीको सिगास गाविस ढुङ्गाड क्षेत्रबाट केही वर्षअघि कामको खोजीमा तराई झरेका मानध्व लुहारसमेत सोही शिविरम बस्दै आएका छन्।  पहाडमा छदा बाजेकै पाला देखि अरुको घरमा हलिया बनेर लुहारले काम गर्दै आएका थिए।

उनका बुवाले समेत सोही बिडोलाई थामे। उनले समेत केही समय हलिया बसेरै कार्य गरे।

सरकारले हलिया मुक्त घोषणा गरेपछि मालिकको घरबाट उनी बिदा भए। खालि हात परिवार बालबालिकासहित। उनले भने, ‘केही समय भारतमा होटलमा भाँडा माझ्ने कार्य गरेँ। साथी भाइसँगै स्वदेशमै फर्कें पछि घरवास नहुँदा नदीको बगरलाई बास स्थान बनाएर बस्नु परेको छ।’

देशको कुनै ठाउँमा आफनो घर र जग्गा भएको सम्झनासमेत उनलाई छैन।  उनी भन्छन्, ‘बिहान छ बजेदेखि मजुदरी गरेर साँझको झिमिक्क साँझ नपर्दासम्म कार्य गरेर दैनिक दुई सय रुपैयाँ कमाई हुने गरेको छ।’

‘मजदुरीको पैसाले राम्ररी खानसमेत पुग्दैन। वर्षमा एकपटक खरिद गरिएका लुगाले वर्षै धान्नुपर्ने बाध्यता छ’ उनी भन्छन्।

मालिकले साँझ ज्याला नदिए नजिकैको नदीको पानी पिएर बालबालिकासँगै भोकै कैयौँ रात सुतेको पीडा उनको रहेको छ।

शिविरमा वषौंदेखि बस्दै आएका मथुरा दमाईं पुर्खौंदेखिका हामी सुकुम्वासी रहेको बताउँछिन्। ‘डडेल्धुरामा गुठीको जग्गामा बस्थ्यौं। गुठीको जग्गाबाट हटाइएपछि दुई दशकदेखि शिविरमा बस्दै आएका छौं’ उनले भनिन् ‘अरुको मल बोक्ने, खेत जोत्ने र बाली भित्र्याउने कार्य पुस्तौंदेखि गर्दै आएको कार्य गर्दै आएका छौं।’

‘गुठीको जग्गाबाट बेदखल गरिएपछि  खानाको खोजी र ओत लाग्ने ठाउको खोजीमा बगरमा बस्न बाध्य छौँ’ उनले भनिन्, ‘सुकुम्बासीलाई पुनः स्थापन गरी घर जग्गाको व्यवस्था गर्नका लागि आयोग बनेको सुनेर सुकुम्बासीको फाराम भरेका छौं।  फाराम भरेपछि जग्गा पाउने आस जागेको छ। कहिले जग्गा पाइन्छ। त्यसकै पर्खाइमा छौं।’

शिविरमा बस्दै आएकी कलावती दमाईंले गाउँगाउँमा अन्न मागेर कपडा सिलाईको कार्य गर्दै आएकी छिन्। श्रीमानका दुवै आँखामा आएको खराबीका कारण उनको दिन चर्या निकै कष्टमय भएको छ।

घरबासका लागि जग्गा र घर नभएकाले उहाँ पनि अरु जस्तै उक्त शिविरमा बस्न आइपुगेको उनी बताउँछिन्।

‘कमाइ गर्ने उमेरका दुई छोरा मजदुरीका लागि भारत पसेको दशक बढी भइसक्यो‘ उनले भनिन् ‘घर फर्केर नआएकाले नदी किनारबाट दाउरा संकलन गरेर नजिकैको बजारमा सस्तोमै बेचेर एक छाकको खाना खर्च जुटाउने गरिएको छ।’

शिविरमै आश्रय लिएका मोहनसुनार खुट्टाका अपाङ्ग छन्। उनकी श्रीमतीले संसार नै छाडेर बिदा भएपछि सानै उमेरका दुई छोरी र एक छोराको पालनपोषणको जिम्मा उनकै काधँमा  आएको छ।

दिनभरि गाउँगाउँ लठ्ठीको सहाराले पुगेर अन्न र लुगाफाटो माग्दै बालबालिकालाई साँझ बिहानको खर्च चलाउँदै आएको सुनाउँदै उनी भन्छन्, ‘बालबालिकाकै लागि बाँच्नु परेको छ।’ “घर जग्गा नभएकाले नदीको बगर नै सबैथोक  मेरा लागि छ’ उनी भन्छन्।

शिविरमा झोपडी बनाएर बस्दै आएका एक दर्जन बढी भूमिहीनका चालिस बढी बालबालिकासमेत शैक्षिक सामग्री र  विद्यालय पोशाकका लागि खर्चको जोहो गर्न नसक्दा विद्यालय जानसमेत पाएका छैनन्।

पुस्तौंदेखि सुकुम्बासी रहेका शिविरमा बस्दै आएका परिवारले भारतमा दरवान र कुल्ली बनेर कार्य गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ।

युवाहरू सबै भारतका काम गर्छन्। बुढापाका, महिला र बालबालीकाहरु दोदा नदीमा बालुवा चाल्ने र कृषि मजदुरका रुपमा काम गर्दै आएका छन्।

थोरै ज्यालामा काम गर्नु पर्दा साँझ विहानको छाक टार्नसमेत यहाँ बस्दै आएका परिवारलाई हम्मेहम्मे छ। शिविरमा बस्दै आएकाहरूसँग आफनो जमिन भएको सम्झनासमेत छैन। बाजेभन्दा अगाडिको पुस्तादेखि नै उनीहरू अरूको घरमा काम गरेर जीवन चलाउँदै आएका हुन्।

शिविरमा बस्दै आएका परिवार भन्नु हुन्छ, ‘ओत लाग्नका लागि घर, अन्न उब्जाउ गर्नका लागि जग्गा र घर खर्च चलाउनका लागि सीपमूलक रोजगारीको  व्यवस्था भए जीवन सहज हुन्थ्यो।’ शिविरमा पहिला १२ परिवारको बसोबास थियो। हाल बढेर २४ पुगेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.